Sunday, September 29, 2013

विमल निभाको लेखः एक सन्दर्भ

विमल निभाको लेखः एक संदर्भ

ठ्याक्कै सम्झना त भएन। शायद वेतालपच्चिसीमा होला। एउटा कथा छ। गत शनिवारको कान्तिपुर दैनिकमा विमल निभाको लेख पढ्दा मलाई उहिले पढेको त्यो कथा झलक्क सम्झना आयो । 

एक दिन एउटा जोगी पाँच वर्षको नानी हुने एक युवा जोडीको घरमा बास बस्न आई पुग्छ । त्यही रात त्यो घरको नानी एकै छिनको व्यथाले पुक्लुक्कै मर्छ । नानीकी आमा भक्कानिएर रुँदै नानीको लाश बोकेर बाहिर निस्कन्छे र जोगी अगाडि तेर्स्याएर भन्छे - "बाबा ! तपाई सर्वज्ञानी, शक्तिवान सन्यासी । ममाथि दया राखेर मेरो छोरोलाई प्राणदान दिनोस् ।"

सन्यासीले सम्झाए - "माता ! म त्यस्तो सर्वज्ञाता, सर्वशक्तिमान होइन । म त साधारण जोगी, सन्यासी । म मृतलाई जीवित पार्न कहाँ सक्छु र ?"

जोगीले हरतरहले सम्झाए तर नानीकी आमाले जिद्दी छोडिन । अन्ततः लाचार भएर जोगीले भन्यो -"कहीँकतै सुनेको छु - 'यदि तीन जना मानिसले कसैलाई पनि नभनिएको आफ्नो जीवनको कटुसत्य लाशलाई सुनायो भने लाशलाई सुनायो भने त्यसले पुनर्जीवन पाउँछ ।' यसैलाई हामी प्रयोग गरौँ । भई हाल्छ कि केही ।"

बाबुआमाले मञ्जुर नगर्न कुरै थिएन । तब जोगीले भन्यो - "शुरू गर्न तपाईहरीलाई असजिलो लाग्ला । त्यसले म नै मेरो सत्य पहिले भन्छु ।"

"तन्देरी थिएँ म र जोश थियो मेरो धेरै । जोगी सन्यासीलाई हाम्रो घर खुला थियो । उनीहरू आएर मुक्तिका कुरा गर्थे, स्वर्ग पुग्ने बाटो नै त्यही हो भन्थे । हृष्टपुष्ट र तेजस्वी देखिन्थे उनीहरू । म आकर्षित भएँ उनीहरूप्रति र २० वर्ष पनि नपुग्दै उनीहरूकै बाटो समाएर जोगी बन्न पुगेँ । जोगी, सन्यासी बखानिएको सुखशान्ति, मुक्ति, स्वर्ग, भगवान खोज्दाखोज्दै अहिले ५० नाघेँ । त्यो पाइनँ । जहाँ गए पनि 'काम नगरी सित्तै खाने फुस्रो' को नाम पाएको छु । जान्दछु म यो मिथ्या बाटो रहेछ तैपनि म गृहस्थीमा फर्कन सक्दिनँ किनकि त्यहाँ पनि 'के के न पाउँला भनेर गएको फुस्रो खान नपाएर आए छ भन्ने छन् । मैले कसैलाई पनि नसुनाएको सत्य यही हो ।"

जोगीको यो सत्य सुन्ने बित्तिकै बालकको लाशमा तातो आयो रे । बाबु र आमाले आफ्नो सत्य भनेपछि बालक जीवित भएर उठ्यो रे । यो लेखको प्रशङ्ग आमाबाबुको सत्यसँग नभएकाले त्यो यहाँ भनी रहन्नँ ।

अवश्य नै विमल निभालाई जुन समयमा साम्यवादको पाठ पढाइएको थियो त्यो बेला उनी त्यो जोगी बन्ने बालकको नै उमेरका थिए होलान् । उनीलाई गाउँ या टोलको साहुको घर देखाएर भनिन्थ्यो होला - "यो शोषकको घर हो । सबै धनी शोषक हुन् । साम्यवादले यस्ता शोषक निमिट्यान्न पारेर सबैलाई धनी बनाउछ । यस्तो काम कम्युनिष्टको रक्तरञ्जित क्रान्तिद्वारा मात्र सम्भव हुन्छ, आदि इत्यादि ।"

सबै युवाहरूलाई साम्यवादी दिक्षा यस्तै कुराले दिइन्छ, भाषा मात्र फरक हुन्छ । मैले पनि भोगेकै कुरा हो । समय बित्दै गएपछि सबै कम्युनिष्टलाई पनि जोगीलाई जस्तै ज्ञान प्राप्त हुन्छ र कुण्ठा शुरू हुन्छ । डा.केशरजंग रायमाझी, मोहनचन्द्र अधिकारी, निलाम्बर आचार्य जस्ताहरू त खुलेर नै त्यो धारबाट बाहिर निस्कन्छन् र कहीँनकहिँ स्थापित हुन्छन् तर सबै आस्थामा जस्तै पछौटे भएर बस्नु पर्ने विमल निभाहरू जस्ताले भने त्यो जोगीलेझैँ अँध्यारोमा कुण्ठ पोख्नु बाहेक अरू उपाय पनि हुदैन ।

आस्थाको बिचल्ली यहाँ मात्र होइन जहीँतहीँ देख्न पाइन्छ । कम्युनिष्ट शाशनमा कम्युनिष्टको नाममा ९०% मत दिने जनता सोभियत संघ ढलेको भोलिपल्ट नै १०% पनि बाँकी रहेनन् । पुरै सन्यासाश्रम ढल्यो युरोपमा र पुरै युरोप झण्डै कम्युनिष्टबिहीन हुन पुग्यो । जोगीका सपना पुरा हुदैनन् भन्ने चिनका ल्यु साओ ची देखिका हजारौँ लाखौँ चिनियाहरू महान साँस्कृतिक क्रान्तिमा बली दिइए । तैपनि देङ स्याओ पिङले सत्तामा आउने बित्तिकै जोगीले घरगृहस्थी समाएझैँ फर्केर पूँजिवादी उत्पादन व्यवस्था लागु गरे । विमल निभा रोएझैँ रुने चिनमा लाखौँ होलान् । अझ करोडौँ पुग्न सक्लान् । असमानता बढ्दो छ त्यहाँ र बढि रहने छ यदि विकास भई रहोस् भन्ने चाहना भए ।

धर्माधिकारीहरूले देखाएको बाटोम हिड्दैमा स्वर्ग पुगिने भए मानिस सबै स्वर्गमा पुग्थे र यो पृथ्वी रित्तै हुने थियो । दुर्भाग्य ! त्यस्तो हुदैन र कम्युनिष्टहरूले पनि आफूलाई समायानुसार परिवर्तन गर्नै पर्दो रहेछ । एमाले, एमाओवादी या अरू कुनै कम्युनिष्ट पार्टीले आफूलाई समयानुसार परिवर्तन नगरे प्रजा परिषद बन्ने डरले बदलिन वाध्य भएका हुन् । २००७ सालको नेपाली कांग्रेस र २०७० सालको नेकाको पनि त्यही रूप हो । आज एक क्षणको निम्ति वैद्य या विप्लव उग्रवादी देखिएलान् र कसैले यसलाई समाउलान पनि तर ती पनि एमाले र एमाओवादी नै बन्न वाध्य हुन्छन् । 

सर्वसमानता युगौँदेखि देखिएको मृगतृष्णा हो, अनुभवहीन युवालाई उचाल्न सकिने सजिलो हतियार हो जसलाई कम्युनिष्टहरू जहाँ र जहिले पनि समाउछन् । भएकोलाई बाँडेर मात्र खाने हो भने त्यो संभावना छ तर विकास गर्नलाई त उद्योग चाहिन्छ, श्रमले मात्र हुदैन पूँजि पनि चाहिन्छ । श्रमको हातमा पूँजि राखेर उद्योग चल्छ भन्ने सपना देखेर नै कम्युनिष्ट असफल भएका हुन् । हो, सबै नागरिकका प्राणीजन्य आवश्यकता पूर्ति भने हुनु पर्छ भन्ने मान्यता राख्नु अलग्गै कुरा हो ।

राम दाहाल
जोरपाटी - १ काठमाडौँ
२०७० आश्विन १३

Tuesday, September 24, 2013

कार्की बारे एक लेख

बोकाको मुखमा कुभिण्डो
(वि.सं. २०६२ सालमा यही ब्लगमा प्रकाशित लेखलाई पुन प्रकाशित गरी दिएको छु ।)

सच्चित शमशेर जबरा , भरतकेशर सिंह र टंक ढकाल भन्दा पनि अझ राजावादी भएर अहिले मुख्य सचिव लोकमान सिं कार्की कुर्लदै राज्यका कर्मचारीहरूंलाई तर्साउन अगाडि आएका छन । जसले जे जस्तो राजनैतिक आस्था राखे पनि राज्यको नियम कानुन पालना गरेर राज्य व्यवस्थामा सहभागी हुनु सरकारी कर्मचारीहरूको कर्तव्य हो र यो भन्दा पर गर्न व्याध्य हुनु नपर्ने उसको अधिकार पनि हो । १२ वर्षे प्रजातान्त्रिक पद्धतिले उनीहरूलाई यो कुरामा सचेत बनाएको छ । हिजो सम्म राणा, सिंह र ढकाल त्रिमूर्तिले पंचायत सँगै पाखा लागेको 'देश नरेश' को नारा निकालेर देश र राजालाई एउटै धागोमा उने र राजाको विरोध भनेको देशको विरोध भन्दै राजाका कदमका विरोधिलाई देशद्रोहीको पगरी भिराएर राजा विरोधि खेमाको कित्ता फराकिलो पारिरहेका थिए । आज 'राजमुकुटमा निष्ठा नराख्ने कर्मचारीको दोहोलो काडने' सन्देश प्रवाहित गरेर मुख्य सचिवले दुई फराकिला पाटा तयार गरिदिएका छन जसमा एकातिर देश रक्षार्थ बन्दुकको मोहोरी सामु छाती थाप्न तयार बहादुर सैनिक जवानले पाउनु पर्ने जर्नेली पद बन्दुकको मोहोरी पनि नदेखी हुकुम प्रमाङ्गीले हत्याउन सक्ने बाबुका छोरो हुनाले कर्मचारीले नियुक्ति र बढुवाको निम्ति पार गर्नु पर्ने लोकसेवा आयोगको ढोका पनि नदेखाइ नियम र कानुन र आम जंगी र निजामति कर्मचारीहरूको आस्थालाई बेवास्ता गरी हुकुम र निगाहले नै चाकडीको भरमा नियुक्ति र बढुवा पाएका लोकमान सिं कार्कीहरू जस्ता हुनेछन भने राज्यका नियम र कानुनका दायरा भित्र बसेर देश र जनता प्रति वफादारी राख्दै कर्तव्य पालनगर्ने कर्मचारीहरू अर्को तिर । यो त प्रस्ट हुदै जाला नै तर निगाहले मंत्री भएका ढकालले र सेवा निवृत्त राणा र सिंहले राजनिति गर्नु एउटा कुरा हो तर पंचायतकालिन मुख्य सचिवले पनि तठस्थता देखाएर राखेको पदको गरिमा र राजनैतिक निश्पक्षताको खिल्ली उडाउने बुद्धि मुख्य सचिवलाई आयो कहाँ बाट ? यो कसैलाई खुशी पार्न आफूले उडाएको परेवा आफ्नै थाप्लोमा बसाएर हाँस्ने सर्कसको जोकरको जस्तो विदुषकिय शैली हो कि क्षमता परिक्षण बिना नै माथि उक्लिएकाले बोकाका मुखमा कुभिण्डो ठुलो भएको हो ?

राम दाहाल
जोरपाटी काठमाडौ
५ भाद्र २०६२

Sunday, September 22, 2013

यौन व्यवहार


बलत्कार कति अप्राकृतिक ?

विपरितलिङ्गीप्रतिको यौन आकर्षण प्रकृतिजन्य स्वभाव हो । सबै प्राणीमा समर्थ भालेपोथी बीचको आकर्षणका माध्यम आ-आफ्ने किसिमका हुन्छन् । कहीँ गन्धद्वारा, कहीँ शब्दद्वारा, कहीँ प्रकाशद्वारा, कहीँ स्पर्शद्वारा भालेले पोथिलाई या पोथीले भालेलाई आकर्षण र उत्तेजित गर्ने प्रकृया प्राणी उत्पतत्तीको शुरूदेखि नै भएको हुनुपर्छ । प्रजननको निम्ति भालेपोथीको दुवैको सहभागिता अनिवार्य भए पनि सो सहभागिता भालेको जिम्मेवारी डिम्ब सिम्बसेचनसम्म मात्र सीमित हुन्छ र सो पछिको सबै जिम्मेवारी पोथीको काँधमा आई लाग्छ । त्यसैले नै पोथी भ्रुणवाहक हुन पुगी र भाले विर्यदाता मात्र । बच्चाको जन्मपछि कतिपय प्राणीमा भालेपोथी दुवै मिलेर बच्चाको पालनपोषण गरे पनि वहुसंख्यक प्राणीमा त्यो जिम्मेवारी पनि पोथीमा मात्रै निहित हुन्छ ।

प्रकृतिको नियमानुसार पोथी गर्भधारण योग्य भएपछि उसमा भाले(हरू)लाई आफूतिर आकृष्ट गर्ने र उसलाई उत्तेजित गराउने विशेष गन्ध, शब्द या रङ देखा पर्न थाल्छ र भाले यौन समागमको चाहना लिएर पोथीलाई पछ्याउन थाल्छ । यसरी दुवैको स्वीकृतिमा हुने समागमलाई सामान्य यौनसमागम भनिन्छ । त्यही स्थितिमा पनि प्राणको यौनसमागमलाई हेर्ने हो भने भालेको व्यवहार आक्रामक देखिन्छ । बलियो भालेले पोथीसँग समागमको चाहना लिएर नजिकिएका अरू भालेलाई लखेट्छ । भर्सक पोथीलाई भाग्न नसक्ने कुनाको स्थितिमा पुर्‍याउछ केही बल त गरी नै हाल्छ । यसो गर्नुको कारण एकातिर समागममा गर्भाधान सुरक्षित गराउन पोथी एक्लैको प्रयासले सम्भव नहुदा सो उपयुक्त स्थानमा ल्याउनु हो भने अर्कोतिर भालेलाई चरम उत्तेजनाको स्थितिमा ल्याइसकेपछि पोथीको आनाकानी या तटस्थता देखाउने प्रवृत्तीको विरोध पनि हो ।

पोथीको इच्छा या आवश्यकता नभई भालेले जबर्जस्ती यौनआशनमा ल्याएर समागम गर्नुलाई बलत्कार भनिन्छ । मानिस बुद्धिजीवी प्राणी भएकोले उसको बलत्कारमा सम्बन्धमा पछि विशेष विश्लेषण गरौँला । पहिले अरू प्राणीहरूको सम्बन्धमा नै छलफल गरौँ ।

भालेपोथी जोडा भएर बस्ने प्राणीहरू बीच बलत्कारको स्थिति उत्पन्न हुन सक्दैन किनकि किनकि उनीहरू बीचको हार्दिक सम्बन्ध नै उनीहरू बीचको युगल सम्बन्ध हो र बलत्कारको स्थिति आउने बित्तिकै त्यो सम्बन्ध रहिरहन सक्दैन । दोश्रो, विशेष असम्भव परिस्थितिमा बाहेक पोथीले भालेको र भालेले पोथीको अनुरोधलाई अस्वीकार गर्दैनन् । घरपालुवा परेवाको जोडीमा यस्तो सम्बन्ध देखिन्छ ।

समूहमा बस्ने प्राणीहरूखो बीचमा भने बलत्कारक स्थिति यदाकदा देखिन्छ र त्यो बलत्कार समूहको नाइके भन्दा अरू सदस्यबाट भएको पाइन्छ । मूलनाइकेको यौनतृप्तिको निम्ति त कुनै न कुनै वयस्क पोथी उपलब्ध भई नै हाल्छे तर हरू वयस्क भालेहरूले मूलनाइकेको पेलाइले योग्य पोथी नपाउनाले बलत्कारको सहारा लिन्छन् । यसमा पोथिको पूर्ण सहमति नभए पनि केही सहमती त आवश्यक पर्छ नै ।

वयस्क र उत्तेजित पोथीमाथि भालेको बलपूर्वकको समागमलाई बलत्कार भन्न सकिदैन । त्यसैले प्राणी बीचको समागममा बलत्कारको परिभाषा दिदा सतर्कता अपनाउनु पर्छ । वयस्क भएर पनि पोथी समागम अयोग्य हुन सक्छे, वयस्क देखिए पनि वयस्क नभएकी हुन सक्छे अथवा उसका अनिच्छाका कारण अरू पनि हुन सक्छन् । यिनैहरूको आधारमा प्राणी बीचको बलत्कारलाई तीन भागमा विभाजित गर्न सकिन्छः १.बाल बलत्कार २.अनुपयुक्त बलत्कार ३.बिजातिय बलत्कार ।

प्राणीहरूमा बलत्कारको समस्या भालेको तुलनामा पोथी अति न्यून भएको स्थितिमा आउछ । यस्तो स्थितिमा भने उपरोक्त तीनै किसिमका बलत्कारहरू देखीने गर्छन् । पर्याप्त निरिक्षण गर्दा देखिन्छ कि घरपालुवा पशु र पन्छिमा यस्ता स्थिति बराबर देखा पर्छन् । वयस्क कुखुराको भाले भएको ठाउँमा वयस्क पोथीहरू छैनन् र हुर्की नसकेका पोथीहरू मात्र छन् भने त्यो भालेले गर्ने बलत्कार हेर्दा उसलाई निर्दयी भन्न कर लाग्छ । भालेले बच्ची पोथीलाई अधमरो बनाएर छोड्छ किनकि चल्लो आफूलाई समर्पण गर्न जान्दैन र भाले समर्पण चाहन्छ ।

अनमेल र अनुपयुक्त बलत्कार एउटा सामान्य कुरा हुन थालेको छ । यौनमा वयस्क भए पनि उमेर र बनौटले सानी पोथीसँग यौन सम्बन्ध बनाउन कतिपय स्थितिमा भालेले बलत्कार गर्छ । माउको दुध खादै गरेकी पाठीमा यौन उत्तेजना परेको ठुलो भिमसेने बोको पछि लागेर लखेटेको देखिएको छ  र थकाइले चुर भएर उभिन बाध्य पाठीसँग बलज्फ्ती यौनसमागम गरेको पनि देखिएको छ । घरमा भएको डाँगो भोटेकुकुरले सानी बेलायति कुकुर्नीलाई ठुला कुकुर्नी छैनन् भने बलत्कार नै गर्छ रगत्याम्म हुने गरी । साना डाँगा बेलायती कुकुर छन् भने पनि तिनीहरूलाई हटाएर बलत्कार गर्छ । कुकुर्नी आफ्नो इच्छाले रोज्न पाउदिन । 

अनुपयुक्त बत्कार पनि स्वजातिय बलत्कार हो । पोथी गर्भिणी या ओथारा बसेकी छ भने ऊ समागमको निम्त अयोग्य ठहरिन्छे । यो प्रकृतिको नियम हो तर अरू पोथि नभएको समयमा उत्तेजित भालेले यो प्रकृतिको नियमलाई मिचेर पोथिलाई बलत्कार गर्छ । यो सबै प्राणीमा पाइन्छ । कुखुराको भाले त यति निर्दयी हुन्छ कि ८।१० दिन ओथारा बसेर चारो टिप्न निस्किएकी पोथीलाई उत्तेजित भालेले लखेटी लखेटी गाँज्दछ र पोथिले आफूलाई समागमको निम्ति समर्पण नगरुन्जेल ङ्याकी नै रहन्छ । घरपालुवा पन्छीमा पोथिलाई लखेटिने यस्ता दृश्यहरू बिरला होइनन् ।

विजातिय यौन बलत्कार पनि पशुपन्छी सबैमा देखा पर्छन् । वनैया पशुपन्छी दुई थरी एकै ठाउँमा नबस्ने हुनाले विजातिय यौन समागम संभव हुदैन । घरपालुवा पशु र पक्षीमा भने विजातिय समागम बराबर देखिने गर्छ । हुनत भाले बलत्कार नै गर्छ तर पोथीको समर्पण बिना विजातिय समागम सम्भव नहुने हुनाले त्यस्ता बलत्कारलाई स्वीकृत समागम भने पनि हुन्छ । राँगाहरू नभएको भैँसीगोठमा सँगै साँढे छ भने साँढेले यस प्रकारको बलत्कारी समागम गर्दछ । शुरूशुरूमा भैँसीले त्यसको प्रतिरोध गरे पनि यौनतापमा आएको बेला उसले त्यसलाई सहजै स्वीकार गर्दछे । यस्तै सम्बन्ध पोथी हाँस र भाले कुखुराका बीचमा पनि देखीन्छ । भिन्न जातिका प्राणी बीच यस्तो सम्बन्ध भए पनि त्यसबाट गर्भाधान नहुने हुनाले त्यो सम्बन्ध एउटा अन्त्यहीन सम्बन्ध हुन पुग्छ ।
उपरोक्त तथ्यहरूबाट के देखिन्छ भने पशुपक्षी पनि बलत्कार गर्न सक्छन् र गर्दछन्  र असम्भव स्थितिमा बाहेक कतिपय बलत्कार, चाहे त्यो स्वजाति बीच होस् या विजाति बीच,  विस्तारै विस्तारै सामान्य यौनसमागममा परिणत हुन पुग्छन् । त्यसैले प्राणीमा बलत्कार अप्राकृतिक भन्न पनि गाहारो हुन्छ । बरु यसलाई अनियमित आक्रामक प्रवृत्ति भन्दा हुन्छ । मानिसमा बलत्कारी प्रवृत्ति देखा पर्‍यो भने त्यसलाई पशुवत अनियमित आक्रामक प्रवृत्ति भन्नु पर्छ ।
क्रमशः

Friday, September 13, 2013

२० वर्ष पुरानो कविता





जब आँखाले नंग्याउछ

सडकमा हिडेकी एउटी आइमाई नंग्याउछ मेरो आँखाले र पाउछ -
जिर्ण छ ऊ अपमानले, अत्याचारले अतितको र वर्तमानको
जन्मकैदको कैदीले दिनगिन्तीमा खोरको भित्तो कोरेझैँ
हजार ठाउँ खुम्चिएको छालामा उसको दुख कोरिएको छ
तत् तत् दिनका पुरुष अभिभावकलाई लामो बाटो विदा गरेर
उनीहरूका निम्ति गहभरि आँशुले अविरल तर्पण दिएर
सुकाएकी छ उसले विश्वामित्र पतन हुने आफ्ना वक्ष र जङ्घाहरू
र पुर्ख्यौली सम्पत्तीको नासो एउटा पिलपिल बत्ती जस्तै नाति छोपेर
अनन्ततिर लम्किरहेकी छ ऊ ।

सडकमा हिड्दै गरेकी एउटी आइमाई नंग्याउछ मेरो आँखाले र पाउछ ‍-
गानिएका दुध बोकेकी एउटी आमा हतार हतार घर फर्किरहिछ
थकाइ छ उसको अनुहारमा पेट दाब्रिएको छ, खाली छ
गर्भिणी हुदा सञ्चित थोरै बोसो पनि पग्लीसकेको छ
पातलिएको छालामा एक दुई धर्का कोर्दै छ समय
तरुनी त अब ऊ रहिन नारित्व उसमा अझै बाँकी छ ।

सडकमा हिडेकी एउटी आइमाई नंग्याउछ मेरो आँखाले र पाउछ -
हजार आँखाका डाम जिउभरि छन् उसका
फर्फराउछन् मासुका कणकण लोभी दृष्टिका चोटले
सधैँ नंग्याएका छन् पुरुष आँखा र भावले उसलाई
पुष्ट उरुहरू लुलिन्छन् यौवनको बोझ थाम्न गाहारो भएर
र बन्दकोठाको सिरक भित्र पनि असुरक्षित छ उसको मासु
प्रेमी या लोग्नेको अँगालोमा पनि निशङ्क हुन सक्दिन ऊ
मासुको लोभ छ तिनका दृष्टिमा पनि, चोखो मासुको लोभ
र वक्षको चोट भन्छ 'त्यो मासु जुठिएको छ।'

सडकमा भर्खर देखा परी अर्की एउटी
कहाँ नंग्याउनु उसलाई ? ऊ त नाङ्गै छ
गाईको बाछो जस्तो, मृगको पाठो जस्तो
फूलको कोपिला जस्तै
निर्मल, निश्छल र सुन्दर छ ऊ
पारदर्शी छ ऊ पानीको थोपाझैँ
तर उसले अझै डर बोक्न बाँकी छ, कर बोक्न बाँकी छ
बैँसमा पुग्ने रहर बोक्न बाँकी छ
जुठिने र लुटिने व्यथा पनि बोक्न बाँकी छ
नारीको पिडा बेहोर्न उसको त त सिंगै जीवन बाँकी छ ।

राम दाहाल
कुलेश्वर, काठमाडौ
२०४९ माघ ४

Tuesday, September 10, 2013

उठ लाश उठ



उठ लाश हो ! उठ

उठ लाश हो  उठ !
समय आएको छ अब
आफ्नो व्यथा आफै पोख
आफ्नो साक्षी आफै बक ।

संग्राममा गयौ तिमीहरू
इच्छाले कि अनिच्छाले ?
मैदानमा ढल्यौ तिमीहरू
रहरले कि वाध्यताले ?
कुन डोको बोकेका थियौ ?
कुन डोकोमा बोकिएर आयौ ?
जिउदा मानिस तिमीहरू
कसरी लाश भयौ ?

उठ लाश हो उठ !
समय आएको छ अब
आफ्नो व्यथा आफै पोख
आफ्नो साक्षी आफै बक ।

कसरी मर्‍यौ तिमीहरू ?
कसले तीमीहरूलाई मार्‍यो ?
केका निम्ति मर्‍यौ तिमीहरू ?
कसले के निम्ती मरायो ?
के पायौ तिमीहरूले ?
गुमायौ के तिमीहरूले?
जसका निम्ति मर्‍यौ तिमीहरू
तिनले के के पाए ?

उठ लाश हो उठ !
समय आएको छ अब
आफ्नो व्यथा आफै पोख
आफ्नो साक्षी आफै बक ।

स्वर्ग पाइन्छ धर्तीमा नै
यही वाचा दिएथे
बलिदान उत्सर्ग हो
यही नै मंत्र भनेथे
पायौ कि कुनै स्वर्ग ?
वैतर्णी पनि कुन तर्‍यौ ?
आफ्ना लालावालाको निम्ति
कहाँ के के जोहो गर्‍यौ ?

उठ लाश हो उठ !
समय आएको छ अब
आफ्नो व्यथा आफै पोख
आफ्नो साक्षी आफै बक ।

बाबुको किरियामा
आफ्नै किरिया थपेथ्यौ
बिना बाबुका सन्तानको
भारी पनि खपेथ्यौ
साबालक भएर खाउला भनी
नाबालकमा नै मरेथ्यौ
फूल पनि नबनी
कोपिलामै झरेथ्यौ
कति पायौ तिमीले ?
कति लायौ तिमीले ?
आमाको आँशुको मोल
कति खायौ तिमीले ?

उठ लाश हो उठ !
समय आएको छ अब
आफ्नो व्यथा आफै पोख
आफ्नो साक्षी आफै बक ।


राम दाहाल
जोरपाटी - १ काठमाडौँ
२०७० भाद्र २५