प्रविधिसँग मेरो
सहवास
साठी नाघेका बुढाहरूको जमघटमा म आफूलाई कहिले कहीँ एक्लो पाउछु । बुढाहरू
हरिकिर्तनमा गएको कुरा सुनाउछन्, प्रवचनमा सुनेको कुरा बखान्छन् र स्वर्गप्राप्ति
कसरी हुन्छ ? त्यसका उपमा ल्याउछन् । पल्टनमा जुनी बिताएका एउटा बुढा रामायण र
सुखसागर आद्योपान्त सुनाएर सबैलाई मख्ख पार्छन्, पल्टने उपदेश दिन्छन् र भन्छन् -
"भाग्यको लेखा हो सबै । नलेखेको त कहाँ पाइन्छ र ?" दिनभरि ढुंगा बोकेर
ज्याला कमाउने बाबुको प्रयासलाई उनी मानिसको भाग्यको कर्म भनेर पन्साउछन् र बाटोमा
उसको सानो छोरोले भेटेको सुनको औँठीलाई स्वर्गको बाटो देखाउने हरिभजनसँग दाज्दछन्
। उनको कुरा सुनेर कुनै न कुनै रोगले पिडित बुढाहरू मृत्युको डर मानेर 'हरि, हरि'
भन्न थाल्छन् ।
'सत्तरी नाघी सके पछि पनि म ती बुढाहरूजस्तो किन हुन सक्दिनँ ? कहिले कही म
आफैलाई अचम्म लाग्छ । उनीहरूकाभन्दा धेरै रोगव्याधि मसँग छन् र मेरो समय धेरै छैन
भन्ने पनि मलाई थाहा छ तैपनि किन मृत्युको डर मानेर उनीहरूको बाटो समात्न सक्दिन ?
कालाजयी म होइन त किन म बुढौतीको लय झिक्न सक्दिन ?
प्रश्न ती सडकछाप बुढाहरूको मात्र होइन । मेरा समकालिन वरिष्ठ विद्वानहरूको
दिनचर्यालाई नियाल्दा पनि मैले ती दुईमा त्यति ठुलो अन्तर पाइनँ । आधुनिक विश्व र
आधुनिक समाजबाट उनीहरू प्रस्ट अलग्ग देखिन्छन् । हो, तन्देरी जस्तो काम गर्ने
सामर्थ्य अवश्य नै उनीहरूमा छैन तर हातखुट्टा चलाउन सक्ने झिनो बल त अझै पनि
उनीहरूमा छ र सोच्न र व्यक्त गर्न अझै पनि सक्छन् । तैपनि गर्दैनन् उनीहरू ।
भन्छन् - "हामी बुढा भयौँ ।" दौडन्छन् पुराण सुन्न, रुद्रि पाठ गराउन,
महात्माहरूक प्रवचन सुन्न । शायद मृत्युसँगको डर हो यो उनीहरूको ।
कुराको थालनी त अर्कैतिरबाट भएको हो । मेरा एकजना भाइ मुकुलमणी दाहालले
फेसबुकमा लेखे - " दाइ ! तपाई बुढो भएर पनि आधुनिक प्रविधि प्रयोग गर्नु
हुन्छ ।" प्रयोग गरेकोमा उनले मेरो सराहना पनि गरेका छन् । त्यसको निम्ति म
उनलाई धन्यवाद दिन्छु । तर आधुनिक प्रविधिको उपभोग सबै बुढाबुढीले गरी रहेका छन् ।
कुनै दिन ढिकीमा कुटेको चामल खाइन्थ्यो, आज मिलमा कुटेको । दाउरा या गुइँठाले पकाइन्थ्यो
भात, आज ग्यासमा पकाइन्छ । समाचार लिएर कुदाइन्थ्यो मानिस उहिले, आज सेलफोन उठाएर
संसारसँग बोलिन्छ । ढुंगा र माटोले घर बन्थ्यो उहिले, आज कंक्रिटले बन्छ । यी सब
प्रयोग गर्न बुढाहरू पछि छन् र ? छैनन् तर बुढाहरू छोरानातिले समाए पछि मात्रै
समाउछन् कर लागेर समाए झैँ गरेर । लाज लाग्छ उनीहरूलाई पहिले समाउन । हीनताबोध छ
उनीहरूमा कहीँ छोराछोरी, नातिनातिनीहरूले 'पात्तिएको बुढो' भनी दिन्छन् कि भनेर । मैले
कम्प्युटर चलाउन साठी पार गरी सकेपछि सिकेको हुँ
र मेरो घरमा यो भाँडो छोराछोरी या नातिको मागले होइन मेरै चाहनाले आएको हो
। मेरो घरमा कम्प्युटर नहुदा इ-मेल र हटमेलमा के अन्तर छ ? थाहा नहुदा 'मेरो
विदेशमा बसेको छोरोलाई हटमेल गरिदेउन' भनेर साइबर केन्द्रमा पुग्दा त्यहाँ बस्ने
सबैले हँस्यौली गरेका थिए मेरो । अहिले मेरो १३ वर्षे नाति मभन्दा धेरै जान्दछ
कम्प्युटर बारे र मलाई लाज लाग्दैन ऊसँग सिक्न ।
कम्प्युटरको माध्यमाट म आधुनिक विश्वसँग सम्पर्क राख्न सक्छु । कुनै पनि चिज
पढ्न सक्छु । केटाकेटीसँगै उच्छ्रिङ्खल पनि भई दिन्छु । म बिथोविन पनि सुन्छु, पप
संगित सुन्न पनि हिचकिचाहट छैन । रोमियो म हुन सक्दिन तर बुढाको पनि प्रेम हुन्छ
भन्ने म ठान्छु । रोगले म मिठो खान सक्दिन भन्दैमा हलुवाई पसलमा नै छिर्नु हुन्न
भन्ने त छैन नि ।
म फेसबुकमा हेर्छु । त्यहाँ मेरा मित्रका पङ्तीमा ९०% युवाहरू छन् । ट्विटरमा छिर्छु । झन
त्यहाँ त तन्देरी गफ चली रहेका हुन्छन् । ट्विटरमा त झन् के कुरा ? तर साठीको दशक
नाघेका त औँलामा गने पुग्छ होला त्यहाँ पनि। नामोनिसान छैन बुढाहरूको । त्यसैले
पनि धेरै जसो लेखनी म युवाहरूका निम्ति लेख्छु र मेरो बुढा मित्रहरूबाट पात्तिएको
बुढोको नाम पनि कमाउछु तर जे होस्, मलाई इन्कार दुवै थरीले गरेका छैनन् । मलाई
यसैमा सन्तोष छ ।
राम दाहाल
जोरपाटी, काठमाडौँ
२०७० वैशाख १२
No comments:
Post a Comment