विक्रीमा छ मेरो पाण्डुलिपी
एकाएक मेरो मनमा उब्जियो - 'दाम कमिएन त के भयो ? नाम त कमाऊँ ।'
"लेखक भएपछि नाम कमाइन्छ ।" - मेरा एक जना मित्रले सल्लाह दिएपछि
सोचेँ - " हो त नि । महाकवि भोकै मरे पनि नाम त रह्यो । समले सर्वश्व सिध्याए
पनि नाम त उनकै छ ।"
फेरि मनले सोच्यो - "प्रशिद्ध बन्न उनीहरू जति समय त छैन मसँग । दोश्रो, नेपालीमा
लेख्ने त हजारौँ छन् । अझ सामाजिक संजालमा लेख्नेहरूलाई गन्न थाल्यो भने त लाखौँमा
पुग्लान् अनि पढी दिने चाहिँ कसले ? नेपालीले विदेशीभाषामा त थोरै लेख्छन् र
धेरैले पढ्छन् । मैले जानेको एउटै मात्र विदेशीभाषा अंग्रेजी हो । ज्ञान छ मलाई
अंग्रेजीको । मेरो त्यो गाउँको विद्यालयमा अंग्रेजी पढेको, मास्टर त के ? मुसो पनि
थिएन । त्यसैले सँस्कृतमा आचार्य गरेका मेरा गुरुले आफूसँगै अंग्रेजी रटाएका थिए मलाई
र मैले हिन्दी-अंग्रेजी भार्गव शब्दकोश पाणिनीका सुत्रभन्दा बढी रटेको हुँ ।"
ज्ञान के फुरेथ्यो, थालेँ मैले महाकाव्य रच्न । बाढी आएपछि बेर लाग्दो रहेनछ
खोलो समुद्रमा पुग्न पनि । महाकवीले 'शाकुन्तल' महाकाव्य लेख्न तीन महिना लगाएछन् तर
मेरो महाकाव्य टुंगिन त दुई महिना पनि लागेन, त्यो पनि अंग्रेजीमा ।
महाकाव्य के सिद्धिएथ्यो अठोट गरेँ त्यसलाई प्रकाशन गर्ने । पहिले विज्ञहरूलाई
देखाएँ त कोल्टे फर्केर लोठ पो लेप्र्याए । पस्दै पसेन तिनीहरूको दिमागमा मेरो
भावमय महाकाव्य । प्रकाशकहरूसँग सल्लाह गरेको त उनीहरू पनि "बिक्दैन
अंग्रेजी" भन्दै तर्किए । आफ्नो यत्रो महान कृति खेर जान लागेको झोकमा सबैको
गुनासो मैले मेरो सोर्ह वर्षे नातिसँग गर्न पुगेँ त उसले भन्यो - "हत्
हजुरबा पनि ! समय भने कहाँबाट कहाँ पुगी सक्यो तपाई भने कालिदासका पालाको कुरा
गर्नु हुन्छ । सधैँ कम्प्युटरमा बस्यो भनेर कराउनु हुन्छ नि अब हेर्नु हुनेछ मेरो
कम्प्युटरको कमाल !"
टट्याङ मट्याङ के के गर्यो नातिले मैले कुरो बुझिनँ तर एक हप्ता भित्र नै ऊ
भन्न आई पुग्यो - "हजुरबा ! कुरो मिल्यो । तपाईको महाकाव्य छापिने भयो
अमेरिकामा । छपाइ र वितरणको पाँच हजार डलर, सम्पादनको एक हजार, खात्राकखुत्रुक अरू
एक हजार गरी जम्मा सात हजार डलर भए पुग्ने ।"
ठण्डा भएँ म सात हजार डलरको नाम सुनेर र केही बोल्न सकिनँ । नाति भने भन्दै
गयो - "प्रकाशकका वितरक कहाँ ऊ आफैले पठाई हाल्छ । बाँकी अरूमा मेरो जिम्मा ।
मेरा साथिका ड्याडी सम्पादक छन् । सोर्स लाएर राम्रो समालोचना छाप्न लाउछु ।
पुस्तक पसलहरूमा त म आफै धाउछु । यी ट्विटर, फेसबुकमा तपाईको नाममा खाता नै खोली
सकेँ मैले । तपाईको परिचय सुन्नोस् त्यहाँ ।"
नातिको उत्साहलाई अलिकति रोकेर मैले भने - "त्यो मेरो परिचय पछि सुनौँला
। पहिले बरु त्यो सात हजार डलर कसरी जुट्छ ? त्यो सोचौँ न ।"
"सात हजारको संपत्ती पनि छैन तपाईसँग ?" - नातिले रित्तो अनुहारले
मतिर हेर्यो ।
"यो घर त छ तर यो बेच्ने हो भने तिमीहरू कहाँ बस्छौ फेरि ?" - मैले
वास्तविकता खोलेँ ।
मेरो नाति एकछिन घोरिएर सोच्यो र भन्यो - "पैसा त चाहिन्छ नै किताब छाप्न
। त, यसो गर्नोस् । एन्.जि.ओ. खोल्नोस् । डलर आउछ रे त्यहाँ । मेरा ठुलामामाका
ससुराले त्यसरी नै डलर कमाएका रे ।"
"उमेरमा खोलिएन । अब बुढेसकालमा खोलेर पार लाग्दैन, नाति ।" - मैले
निराशा मात्र देखाएँ ।
"मेरा बाबु राजदुत भएका भए पनि डलरमा किताब छापिने थियो । कति राजदुतका
छोराछोरी बाबुको पैसामा लेखक भएका छन् रे । छोराका पैसामा पनि त मिल्थ्यो होला नि
।" - मैले उसको बाबुलाई राजदुत बनाउन नसकेकोमा गुनासो पोख्यो ।
म के भन्न सक्थे ? चुपै लागी रहेँ । सोच्यो मेरो नातिले फेरि र सल्लाह दियो -
"पढाउन जानोस् विदेशमा । डलर आउछ ।"
हाँसो उठे पनि म हाँस्न सकिनँ । मुस्कुराउदै जवाफ दिएँ - "म गुरुकुलमा
पढेको पण्डित पनि होइन, न म मिसनेरी स्कूलले पढाएको अंग्रेजीवाज नै हुँ । कसले
पत्याउछ मलाई ?"
"तब के गरौँ त यो किताब ?" - नातिले अति निराश भएर भन्यो ।
"त्यो त तैँ जान् । म मरेपछि यो पाण्डुलिपी पाउने तैँले नै हो ।" -
मैले ठट्यौलो पारामा जवाफ दिएँ ।
"तपाई मरेपछि त मैले दश लाख नै पाए पनि के भयो र ? तपाईले पाउनु हुन्न, मलाई
चाहिएको छैन । बरु यसो गरौँ । बेची दिऊँ यो पाण्डुलिपी अहिले नै ।" - उसले
निस्वार्थ प्रस्ताव राख्यो ।
"हुन्छ बेची दिऊँ ।" - मैले पनि सहमति जनाएँ ।
"कतिमा बेचूँ ?" - राय माग्यो उसले ।
"तेरै ईच्छा । मैले तँलाई हक छोडी दिएकै छु ।" - मैले निर्णय उसैलाई
सुम्पी दिएँ ।
ऊ गणना गर्न थाल्यो ।
"महिनाको चार हजारको औषधीले वर्षमा अठचालिस हजार, कोट पुरानो छ सात
हजारको नया कोट, जुत्ता पनि त चाहियो नया त्यो दुई हजार, मोबाइल एउटा पाँच हजार र
बुढाको खात्राकखुत्रुक खर्च दश हजार गरी जम्मा बहत्तर हजार ।"
गणना पछि उसले मतिर फर्केर भन्यो - "हजुरबा ! हजार डलरमा बेचौँ । सतासी
हजार रूपयाँ आउछ । यो वर्षको खर्च कटाएर पनि अर्को वर्षलाई पन्द्रह हजार बच्छ ।
काम थाली हाल्छु आजै ।"
मेरो नातिले काम थाली सकेको छ । सित्तै विज्ञापन दिन पाइने हरेक माध्यममा पाण्डुलिपी
विक्रीको प्रचार गरेको छ उसले । पाण्डुलिपी किन्न तपाई पछि नपर्नोस् । लेखक बन्नु
होस् तपाई । खर्च तपाईको केवल ७०००+१००० डलर ।
राम दाहाल
जोरपाटी, काठमाडौँ
२०७० वैशाख ५
No comments:
Post a Comment