लोकतन्त्रका दुई बालक
चिकित्सकको आदेशानुसार म बिहान मेरो टोलको एक फन्को सधैँ लगाउने गर्छु र आज
पनि त्यही फन्कोमा बाटोमा मैले चिनेका दुई बालकहरूलाई भेटेँ । उमेरका हिसाबले पनि
उनीहरू समवयस्क नै हुन् र शायद विद्यालय फरक भए पनि कक्षास्तर पनि एकै छ दुईको ।
लोकतन्त्र दिवसको दिन दुवै जना छुट्टीको मुडमा थिए नत्र त तिनीहरूलाई बिहान ९ बजे सडकमा भेट्ने
सम्भावना हुने थिएन । मैले तिनीहरूलाई १०।१५ पाइलाको फरकमा भेटेको थिएँ । दुवैका
हातमा प्लास्टिकका झोला थिए । पहिले भेटिनेको झोला सेतो थियो भने दोश्रो भेटिनेको केही
कालो । पहिलो भेटिनेलाई मैले सोधेँ - "छुट्टी छ, बाबु, आज तेरो ?"
"छ ।" - उसले अलि लजाएर जवाफ दियो ।
"केको छुट्टी नि ?" - मैले उसको ज्ञानको परिक्षण गरेँ ।
"आज लोकतन्त्र दिवस नि, त्यसैले ।" - अहिले भने उसले फुर्तीसाथ जवाफ
दियो किनकि उसले मलाई त्यो दिवस थाहा नभएकोमा आफ्नो ज्ञान प्रदर्शन गर्ने मौका
पायो ।
"के लिएर आइस् त आज लोकतन्त्र मनाउन ?" - मैले हाँसेर सोधेँ ।
"आमाले मोही लिएर आइज भन्नु भयो अनि एक लिटर लिएर आएको ।" - उसले
मोही अलिकति उचालेर देखायो ।
"ल त ल । आज मोहीसँग लोकतन्त्र मना ।" मैले उसलाई मुस्कुराउदै जिस्क्याएर
अघि बढेँ ।
१०।१५ कदम अगाडि मैले पहिलेको केटो जस्तै अल्छि पाराले हातमा अलि कालो झोला
झुन्ड्याउदै हिडने दोश्रोलाई भेटेँ र पहिलेको जस्तै पारामा भनेँ - "आज
लोकतन्त्रको छुट्टी तेरो, बाबु ?"
"हो ।" - उसले पनि अलि लजाउदै जवाफ दियो ।
"के ल्याइस् त लोकतन्त्रमा खान ? अनि कति ल्याइस् ?" - कालो झोलामा
पहिलेको बालकको जति नै झोल पदार्थ हल्लिएकोले मैले सोधेँ ।
"एक लिटर निगार ।" - उसले सहज जवाफ दियो ।
कालो झोलामा सेतोपन देखिएकोले मैले सोचेको थिएँ - त्यो झोलामा पनि मोही नै
हुनु पर्छ तर बालकको जवाफ सुनेर खंग्रङ्ग भएँ र त्यो बालकबाट मैले अरू सोध्नु
पर्ने कुरा पनि रहेन । म आफ्नो बाटो लागेँ ।
अब ती बालकका अभिभावकका बारेमा पनि छोटो टिप्पणी गर्न चाहन्छु । पहिलोको बाबु
कुनै साहुजीको गोदाममा चौकिदारी गर्छ । घर चलाउन, छोराछोरी पढाउन त्यसले पुग्दैन ।
त्यसैले आमा कसैकोमा १।२ ठाउँ जुठोचौकोको काम गर्छे । बाहुन हुन् तिनीहरू ।
दोश्रोको बाबु तामाङ माइक्रो बस चलाउछ र आमा पनि थप आमदानीका निम्ति कहीँ कसैकोमा
जुठोचौकोको काम नै गर्छे । दुई परिवारलाई हेर्यो भने बाहुन छोराछोरीको पढाइमा
बाहेक अरू ठाउँमा लोभी किरन्टोकी भएर गुजारा गर्छ । तामाङ पढाइ पट्टि त्यति ध्यान
नदिए पनि खान भने टन्न दिन्छ ।
त्यो मोही खाने र त्यो निगार खानेका बीचमा भविष्यमा अवश्य नै प्रतिस्पर्धा
हुने छ । त्यो जीवनको त्यो दौडमा को अगाडि होला ? म भन्न सक्दिनँ । त्यो निर्णय
गर्न पाठकलाई नै छोडी दिन्छु ।
राम दाहाल
जोरपाटी, काठमाडौँ
२०७० वैशाख ११
७तौँ लोकतन्त्र दिवस
No comments:
Post a Comment