म बसेको रुस र सोभियत संघ
साठीको दशकको
शुरूमा म मस्को पुग्दा नेपाल र रुसको अन्तर आकाश र जमिनको बराबर थियो । राजनैतिक
रूपमा दुवै देशमा अधिनायकवाद, नेपालमा राजपरिवारको,
सोभियत संघमा कम्युनिष्ट पार्टीको, भए पनि
सामाजिक र आर्थिक नितिमा भने पत्याइ नसक्नु अन्तर थियो । रुसको सम्पन्नता अवश्य नै
पनि अमेरिकासँग दाँजिन सक्दैनथ्यो र उपभोग्य सामग्रीको उपलब्धता हेर्दा पश्चिमी
युरोपसँग पनि दाँजिन सक्दैनथ्यो तापनि कसैले पनि भोको बस्नु नपरोस् भन्ने त्यो
देशको प्रयास अवश्य नै प्रशंसनिय थियो । करोडौँ मानिसको लाशको पर्खालले रोकेर नाजी
जर्मनीमाथि पाएको विजयको उन्माद डेढ दशकपछि सेलाई सकेर लाखौँ आमाबाबु गुमाएका
सन्तानको र लाखौँ सन्तान गुमाएका आमाबाबुको पिडाको घाउमा क्रमश खाटा बस्दै गएको
थियो तापनि युद्धको राष्ट्रवादलाई सम्झाउने र कम्युनिष्ट आदर्श घोकाउने पोस्टर,
होर्डिङबोर्ड, प्रदर्शनी, नाटक, सिनेमा भने जहीँतहीँ छ्याप्छ्याप्ती थिए त्यो बेला
पनि । प्राव्दा(नेपालीमा सत्य नामको कम्युनिष्ट पार्टीको मुखपत्र)मा असत्य पनि
छापिन सक्छ भनेर समूहमा भन्नु त के सोच्नु पनि हुन्न भनी ठानिन्थ्यो रुसी समाजमा ।
क्रान्तिकारी कवि मयाकोभ्स्कीको जमाना बिते पनि उनकै समकालिन सेर्गेइ येसएनिनलाई
अझै स्वीकार गरिएको थिएन ।
सोभियत संघलाई
श्रमिकहरूको राज्य बनाइएको थियो । संपत्ती कसैसँग पनि थिएन । निजी उद्योग,
व्यापार, व्यवशाय कुनै थिएनन् । कल्खोज भनिने कम्युन जस्ता सामुहिक खेती भए पनि
जमिनमा कसैको पनि अधिकार थिएन । ती कल्खोजले मोहीले जग्गाधनीलाई कुत बुझाए झैँ
राज्यलाई ठेग बुझाउथे । कलकारखाना सरकारी र जग्गाजमिन सबै सरकारी । उत्पादन
श्रमिकहरू गर्थे । त्यसको संचालन, व्यवस्थापन, वितरण सबैमाथि राज्यको एकाधिकार
थियो । राज्य मालिक र जनता रैती भन्न सुहाउने त्यो शाशनमा राज्यको हर्ताकर्ता कम्युनिष्टहरू
थिए ।
राज्य आफैँ
चल्दैन । त्यसलाई चलाउन एउटा सबल संजाल चाहिन्छ र त्यो चलाउथ्यो राज्य । राज्यका
प्रत्येक अवयवमा, चाहे त्यो सरकारी प्रशासन होस् या उद्योग या व्यापार या सामाजिक
क्षेत्रहरू, जहीँतहीँ त्यसको उपस्थिति थियो । बालबालिकालाई मार्गदर्शन गर्न
पायोनियर(अगुवा) समूह, युवाहरूलाई अधिनमा राख्न कम्सामोल(युवा कम्युनिष्ट संगठन)
जस्तोसुकै विद्यालयमा पनि स्थापित भएकै हुन्थे र यसका पदाधिकारीहरूले बालक, युवा
सबैका गतिविधिमाथि कडा नियन्त्रण राख्थे । बालकदेखि बुढासम्म, गाउँ टोलदेखि केन्द्रसम्म
सबै नागरिक र राज्यका स्रोत र साधनमाथि नियन्त्रण राख्ने संजाल विशाल थियो र त्यो
संजालका प्रत्येक टुप्पामा कम्युनिष्ट पार्टी या उसको प्रतिनिधि सधैँ नै हुन्थ्यो
। त्यो पद प्राप्त गरेर सन्जाल संचाल गरे वापत उनीहरूले उनीहरू अधिनस्थ सामान्य
नागरिकभन्दा बढी सुविधा र सन्मान पाउथे । सोभियत संघमा कम्युनिष्ट पार्टीको
सदस्यता पाउनु नै सन्मान थियो । सदस्यहरूको उपस्थितिमा 'कहीँ केही गल्ती भई हाल्छ
कि' भन्ने त्रास हुन्थ्यो सामान्य नागरिक समाजमा । जर्ज अर्वेलले आफ्नो उपन्यास
'एनिमल फार्म(पशुफार्म)' मा "सबै बराबर हुन् तर कोही बढी बराबर हुन्" भने
जस्तै सबै बराबर भएको सोभियत संघमा कम्युनिष्टहरू बढी बराबर थिए ।
म शुन्यबाट
गएको मानिसले मस्कोमा ठूलो विकास भएको देख्नु स्वाभाविक थियो । ढिँडो होस् या चामल
जे जस्तोले होस् पेट सबैले भर्न पाएका थिए । धेरै होस् यो थोरै अस्पतालमा उपचार
निशुल्क भेटेका थिए । विभिन्न स्तरका विद्यालयहरू थिए तर धेरै र थोरै बराबरीका
हिसाबले प्रवेश पाए पनि शिक्षा निशुल्क नै थियो ।
सोभियत समाज
बाहिरी समजबाट चटक्क काटिएको थियो । बाहिरी रेडियो टेलिभिजनको कुनै पहुँच थिएन ।
सरकारले निर्देश गरेका बाहेक न त्यहाँ कुनै बाहिरी पर्यटक पुग्थे न कोही सोभियत
नागरिक बाहिर निस्कन पाउथे । स्वीकृति पाएर आउनेमाथि निगरानी हुन्थ्यो र बाहिर
गएकामाथि पनि । स्तालिनको मृत्युपछि ख्रुश्चेवको नेतृत्वमा बाहिर सम्पर्क बढाउन
थालेको सोभियत संघको छोत्रवृत्तीमा पढ्न म मस्को पुगेको थिएँ । अल्पविकसित
देशहरूलाई छात्रवृत्ति दिएर आफ्नो सिद्धान्त प्रचार गराउने अमेरिकी नीतिसँग दाँजिन
सोभियत संघले एशियाली, अफ्रिकी र ल्याटिन अमेरिकी विद्यार्थीहरूलाई सो सुविधा
दिएको थियो र विदेशी विद्यार्थीहरूको उपस्थिति सोभियत नागरिकहरूका लागि
कौतुहलपूर्ण पनि भयो । मेरो चुच्चो नाक, गोरो अनुहारले म खास अलग र विशेष नलागे
पनि अफ्रिकी मूलका मेरा विद्यार्थिमित्रहरूका वरिपरि सुरुसुरुमा त भिड नै जम्मा
हुन्थ्यो ।
सोभियत संघ १५
राज्यहरूको संघ थियो जहाँ १३ लाख जनसंख्या हुने इस्तोनियादेखि १५ करोड हुने
रुससम्म यसका सदस्य थिए । ती राज्यहरू भाषिक र जातिय आधारमा छुट्याइएका थिए र ती
राज्यहरूमा त्यो भाषा या जातिको जनसंख्या ७०% देखि ९५% सम्म थियो । राज्यमा जातिय
भाषा चले पनि रुसी भाषा सबैलाई अनिवार्य थियो । रुसीभाषा जान्नेका निम्ति पुरै
सोभियत संघ कार्यक्षेत्र हुने हुनाले सबैले रुसीभाषा अपनाउथे । विशालताको दृष्टिमा
झण्डै घाम नअस्ताउने र जनसंख्याको हिसाबमा बाँकी सबै राज्यको जोडे पनि त्यो
जनसंख्याभन्दा ठुलो हुने रुसको संघमा हालीमुहाली चल्नु स्वभाविक भए पनि सोभियत
संघमा भएकै कारणले त्यसका एशियाली राज्यहरूले विकास गर्न सकेको तथ्य भने
उनीहरूसँगै टाँसिएको अफगानिस्तानलाई हेर्दा प्रस्ट हुन्थ्यो । त्यही समयमा संघका
एशियाली राज्यहरू र अफगानिस्तानको भ्रमणबाट मैले त्यो भिन्नता देखेको थिएँ । रुस र
अरू युरोपेली राज्यहरूको सौहार्द्रताले ती एशियाली राज्यहरूमा युरोपेली स्तरको
विकास भएको थियो ।
द्वितिय
विश्वयुद्धले ध्वस्त सोभियत संघ, र खास गरी यसका युरोपेली राज्यहरू, दरिद्रताको
पराकाष्ठाबाट भर्खर निर्माणतिर लम्किएका थिए । त्यसैले आवास समस्या थियो
सर्वसाधारणका लागि । युद्धको विभिषिका, रुसी जाडो, खानापिनाको कमी, आवासको अपुग
आदिले रुसीसमाजलाई यति पियक्कड बनाएको थियो कि पहिलो ग्लास भोद्का एकै सासमा पिएर सितनको
रूपमा कालो पाउरोटी भाँचेर एक पल्ट सुँघ्दा नै चित्त बुझ्थ्यो अधबैँसेहरूलाई ।
संघको स्थापनाको शुरूमा नै एकै रातमा सर्वहारा बनाइएका सोभियत नागरिकमा कसैले
संचित गर्दैनथ्यो । गर्नु पनि केको निम्ति र ? खानु, लाउनु, पिउनु बाहेक अरू उपभोग
पनि थिएन संचितिको । अझ संचिति गर्न सकिने मजदुरी नै पाउथे कहाँ र ? त्यसैले एक
बोतल मस्कोभ्स्काया भोद्का किनेर एकै थलोमा तीन जनाले बोतल सिध्याउने चलन सामान्य
थियो त्यहाँ । त्यसलै पनि होला त्यो भोद्काको बिर्को खोली सकेपछि फेरि लगाउन
मिल्दैनथ्यो ।
रुसीसमाज अथवा
संघिय युरोपेली समाज उदार र मिलनसार थियो । पाहुनाको स्वागत गर्न उनीहरू पछि
पर्दैनथे र स्वागत पनि हार्दिकतासाथ गर्थे । युरोपेलीको तुलनामा संघिय एशियाली
समाज कम उदार थिए । हामीहरू जति कट्टर नभए पनि अन्तरजातिय विहेवारी, खानपिनमा
कतिपय स्थितिमा बन्देज थियो त्यहाँ । संचितिको लोभ थियो उनीहरूमा र राज्य तर्फबाट
केही छुट पनि थियो । मैले संघका १५ राज्यहरू मध्ये ११ वटामा घुम्ने मौका पाएँ मैले
। क्षेत्रका हिसाबले केन्द्रको शाशनमा युरोपेलीहरूको एकाधिकार जस्तै थियो ।
युरोपेली नागरिक समाज भने अलि अलमस्त किसिमको थियो । बाल्टिक राज्यका नागरिकहरू
आफूलाई विजित र अरू युरोपेलीभन्दा अलग्ग ठान्थे । ककेसियालीको प्रवृत्ति छट्टु
मिजासको पाएँ मैले । एशियालीहरू त यसै अनुदार थिए नै । जातिय हिसाबमा भने यहुदी
असाध्यै सतर्क जस्ता लाग्थे, ककेसियन दृढनिश्चयी तर असन्तोषि र इस्लामवहुल एसियाली
संघबाहिरका मुसलमान जति कट्टर नभए पनि संघका अरू निवासीका तुलनामा अनुदार नै थिए ।
नारीसमाज पनि त्यसै अनुरूप बनेकोले होला - मेरी उजबेकी केटीमित्र कुमारित्व संरक्षणमा
जोड दिन्थी, यहुदी केटीमित्र विहेपछि जीवन कस्तो बन्छ ? भन्ने तय गर्न खोज्थी भने
युरोपेली केटीमित्र तत्कालिन उपभोगको मात्र चिन्ता गर्थी ।
सोभियत संघको
निर्वाचन पद्धति पनि बढो रमाइलो थियो । एउटा मानिस उम्मेदवार बनाइन्थ्यो, निर्वाचनमा
मतदाताले ठिक या बेठिकमा मत हाल्थे । उम्मेदवार नचिनेको या बेठिक लागे पनि कोही
पनि मतदानमा गयल पर्न या बेठिक भन्न चाहदैनथ्यो । विकल्प नपाइने स्थितिमा किन गयल
पर्यो वा किन बेठिक भन्यो स्पष्टिकरण दिनु पर्ने झन्झट कोही पनि उठाउदैनथ्यो ।
साठीको दशकमा
नै सोभियत संघमा कुवृत्ति र विरोध देखा पर्न थाली सकेको थियो । गैर्हपार्टी सदस्य
नागरिकहरूको पार्टी सदस्यप्रति गुनासो गर्ने काम खुली रहेको थियो । उत्पादन उद्योग
भित्र पनि संगठना पदाधिकारीहरूको आलोचना शुरू भएको थियो । यो वा ऊ वहानामा काम
ठग्ने, कामबाट भाग्ने प्रवृत्ति पनि क्रमश बढ्दै थियो । विदेशी छात्रहरूको
उपस्थितिले स्वतन्त्र विश्वको ज्ञान पनि हुन थालेको थियो । ख्रुश्चेवको पतन पछि
त्यहाँको पार्टीले केही सन्तुलन बनाए पनि व्यवस्थामा धमिरा लाग्न शुरू गरी सकेको
थियो र मैले छोडेको दुई दसक पछि नै पार्टी अधिनायकवादी कम्युनिष्ट शाशनको अन्य भएर
विशाल सोभियत संघ टुक्राटुक्रा भयो ।
(अप्रकाशित "मेरो जीवनयात्रा" बाट उद्ध्रित)
राम दाहाल
जोरपाटी, काठमाडौँ
२०७० वैशाख १३