हाम्रो घरमा किचलो छ
माटो थियो बस्ती बिनाको
बस्तु बिनाको पाटो,
थरीथरी आए बास बनाए
आउने आफ्नै बाटो;
चराउदै भैँसी एउटा आयो
अर्को आयो चौँरी लखेट्दै,
यो पाखोमा छाप्रो हाल्यो
‘मेरो’ भन्दै अरू नभेट्दै ।
भाइभाइको कति हो माटो ?
फैसला नै फितलो छ,
मिलेको छैन अंशबण्डा
हाम्रो घरमा किचलो छ ।
जेठो भन्छ – “यो घर मेरो
पछि आएको भतुवा तँ ।”
कान्छो भन्छ – “घर यो सपारेँ
त्यो छाप्रोको लठुवा तँ ।“
पाखो एउटै बास छ तिनको
एउटै आँगन पानी,
पराइले बराली रहेछन्
तिनका आनीबानी;
छिमेकीले रमिता हेर्छन्,
हाम्रो घर यो छिचरो छ;
मिलेको छैन अंशबण्डा,
हाम्रो घरमा किचलो छ ।
भाइ भन्छ – “खेत गतिलो
दाजुले आफू खायो,
कहीँ नबिक्ने स्यालले मुत्ने
पाखो जिम्मा लायो ।“
दाजु भन्छ – “पक्की घरमा
कान्छो भाले बन्ने,
चुहुने थोत्रे घरमा मैले
राति तारा गन्ने ?
दाजुभाईको झगडा छ,
ऊभन्दा ऊ बिचरो छ;
मिलेको छैन अंशबण्डा,
हाम्रो घरमा किचलो छ ।
कान्छो भन्छ – “दाजुलाई
किन पहिले जन्मायौ ?”
जेठो भन्छ – “भाइलाई
किन धेरै माया लायौ ?”
बुढिया रुन्छे बसी कुनामा
भत्कदैको घर हेरी
टुक्राटुक्रा हुन लागेको
बीच माझ मझेरी ।
कसले पो देला बचाई,
जग आफैँ फितलो छ;
मिलेको छैन अंशबण्डा,
हाम्रो घरमा किचलो छ ।
--- राम दाहाल
२०६९ कार्तिक १३
No comments:
Post a Comment