महानगरको एक रात
—— राम दाहाल
रात मध्यतिर छुन लागेको थियो र महानगर भनिने सहरहरू सुनसान र निस्प्राण हुनु
पर्ने समय अझ भई नसके पनि काठमाडौं सहर भर्खर प्रहरी छापा परेको रण्डीकोठी जस्तै निस्तेज र चिसो थियो। सडकको बत्तीको प्रकाशमा
देखिने धमिलो हुस्सुले त्यो भयावहता र चिसोपनमा अझै मात्रा थपिदिएको थियो। टोलका
भुस्याहा कुकुर छिडी, कोप्चो अन्तर
कन्तरमा लुक्न पुगिसके पनि कहींकहींबाट अल्छि पाराको भुक्क, भुक्क भने सुनिंदै थियो। हावा थिएन, त्यसैले तापको चिसोपन त कम
नै थियो तापनि वातावरणको गर्हुँगोपन भने सडकमै ओछ्याइए जस्तो लाग्थ्यो। यही आर्द्र र भारी सडकको छातीमा आङ्गफ्ना जुत्ताको डाम छोड्दै माधवी छिटो चालले पाइला
चालिरहेकी थिई। महानगर भन्दा पनि बत्ती बालेर सडक ओछ्याइएको गाउँ जस्तो निर्जीव र
निस्तेज काठमाडौं जो उसको जन्म थलो थियो, उसको कामकाजको थलो
थियो र यसलाई जति नै मन नपराए पनि छोडेर जान सक्दिनथी ऊ।