पहिलो विदेशयात्राको तयारी
एक डेढ वर्षपछि हेटौडा छोड्दा मसँग आफ्नो एक पैसा पनि थिएन । काठमाडौँसम्मको
भाडा पनि साथीभाइले हालिदिएका थिए । जीवनभर मेरो त्यही हालत रह्यो किनकि मैले
कमाएर संचिति गर्न कहिले पनि जानिनँ । भोलि चाहिन्छ भन्ने सोच ममा कहिले पनि आएन ।
दिन जानेँ, फिर्ता लिन जानिनँ । लिएपछि दिने मानिस मजस्तो नहुने हुनाले रिनपान
गरेर पनि तिर्नै पर्थ्यो, त्यही गरेँ मैले । त्यसैले जीवनभर मसँग रिण सधैँ नै
रह्यो । हो, नारायण थापा जस्तो मित्रले भने मैले नतिरे पनि सहयोग गर्न कहिले पनि
छोडेन र मैले नतिरेकोमा मसँग गुनासो पनि गरेन ।
मैले माग्न सक्ने र मलाई दिने मानिस मेरी आमा मात्रै थिइन् । त्यही समाचार
पठाएँ मैले । आमाको जवाफ आयो - "अहिले वर्षायाममा पैसा जुटाउन गार्हो छ ।
२।३ वर्ष भयो मधेसको खेतीको पैसा नलिएको । ससुरासँग त्यही पैसा मागेर लिएर जा
।"
बिराटनगर पुगेँ म ससुरासँग पैसा माग्न र ससुराले इन्कार गर्ने कुरा पनि भएन ।
पछि मलाई आमाले त्यो पैसा मिलाई दिएँ भनेकी हुन् । कति मिल्यो ? कसरी मिल्यो ?
मेरो स्वभावअनुरूप मैले चासो राखिनँ । कन्यादानपछि मैले ससुराबाट लिएको त्यही नै
हो । यसमा मेरो गुनासो पनि छैन किनकि १७ वटा छोराछोरीका बाबुले केही गर्न सकेनन्
भनेर गुनासो गर्न छोराछोरीलाई त सुहाउदैन भने जुवाइँले गर्नु त अपराध नै ठहर्छ ।
विदेश जाने विद्यार्थीलाई सुट नै चाहिन्छ भन्ने गलत धारणा कसले राखी दियो,
कुन्नि, हाम्रा मनमा कि हामी सबैले सुट पनि हाल्यौँ र टाई पनि किन्यौँ । काला
जुत्ता त यसै पनि भइ नै हाले । यस्तै यस्तैमा मेरो सीमित पैसा सकिदै गयो । आमा
आउने आश त गरेको थिइनँ मैले तर विरामी भाइलाई लिएर आमा आइपुगिन् । वर्षौँका निम्ति
विदेश जान लागेको छोरोलाई विदा नगरी चित्त बुझेन र हिडिछन् आमा काठमाडौँतिर । साथ
लिएर आएको कान्छो छोरो आउदा आउदै बाटैमा विरामी भएछ तिघ्रामा घाउ निस्किएर हिड्नै
नसक्ने गरी र शान्ता भवन अस्पतालमा उपचारको निम्ति राखियो ।
काठमादौँ आउदा मेरी आमाले भोगेको घटना सार्है दुखदायी हो भन्ने लाग्छ मलाई ।
आमासँग आउदा आउदै मेरो भाइको खुट्टा दुख्न शुरू गरेको थियो र धरानमाथिको
चिउरीवास आइ पुग्दा बलैले मात्र घिस्रदै थियो रे । त्यही समयमा सिपाहीहरू "ल,
मन्त्रीज्यूको सवारी आयो, बाटो छोडेर छेउ लाग ।" भन्दै भरिया, बटुवा, आइमाई,
केटाकेटी, बुढाबुढी, विरामी सबैलाई पाखा लगाउदै झरेछन् । नभन्दै राजा महेन्द्रका
मन्त्री कीर्तिनिधि विष्ट दलबल सहित ओरालो झरेछन् । पंचायतकाल, राजाका मन्त्री ।
कसैले केही बोल्न सकेनछ । मेरो भाइ प्रजातान्त्रिक वातावरणमा हुर्केको र अलि तिखो
स्वभावको । मन्त्रीको लस्कर झरेपछि उसले भनिहालेछ - "डाकाहरू ! मन्त्री भएँ
भनेर बाटामा हिड्ने जनतालाई दुख दिन्छन् । प्रजातन्त्र नभएको ठाउँमा यस्तै हुन्छ
।"
मेरो भाइको दुर्भाग्य ! सिआइडी कन्सुत्लेहरू पछाडि आउदै रहेछन् र यो
'अराष्ट्रिय तत्व' भन्दै लछारेर धरान पुलिस ठानामा ल्याएछन् । मेरी आमा रूदै
कराउदै ठानामा पुगेर विन्तिभाउ गरिछन् र अन्तत केही नलागेर मेरो सद्दे भाइलाई
'यसको दिमाग अलि ठिक छैन' सम्म भन्न पनि वाध्य भइछन् । जे भनेर, जे गरेर भए पनि
छोरो छुटाउनु थियो, छुटाइन् ।
यो घटना तानाशाही शाशनको एउटा उदाहरण मात्रै हो । एउटा नागरिकले, राजाको त
कुरै छोडिदिऊँ, मन्त्रीको आलोचना गर्नु पनि अपराध हो भन्ने तानाशाही प्रवृत्ति हो पंचायतकालको
र तानाशाही रूप जहीँ पनि एकै हुन्छ । हिटलरको समयमा नाजी कार्यकर्ताको पनि आलोचना
गर्नु हुन्नथ्यो सामान्य नागरिकले र सो गर्ने दण्डको भागी हुन्थ्यो । चाक पुछ्ने
टिस्युपेपर नहुने गरिब सोभियत नागरिकले झुक्किएर लेनिन या स्तालिनको तस्बिर भएको
पत्रिकाले पुछ्न पुग्यो भने त्यो पनि दण्डसजायको भागी हुन्थ्यो रे ।यो त मैले
भुक्तभोगीका मुखैबाट सुनेको हुँ ।
आखिर हामी बाटो लाग्ने स्थितिमा पुग्यौँ । हामी १४ जनाको हुलमा १।२ जना भारत
पुगेको भए पनि अरू कोही पनि नेपाल बाहिर गएका थिएनौँ । भाइ अस्पतालमै थियो । मेरो
जाने दिन आयो । काका, बडाबाका छोराहरूका जिम्मा आमा र भाइलाई छोडेर म डेराघरबाट
निस्किएँ ।
No comments:
Post a Comment