मेरो पढाइ
मेरो पढाइ जेनतेन चलिरहेकै थिए । पढाइ धेरै राम्रो थिएन र नराम्रो नि भन्न
सकिन्नथ्यो । मेरो कक्षामा त म अव्बलहरूमा पर्थेँ तर मेरो कक्षा अव्बलहरूको जमात त
थिएन । त्यहाँ त एक दुई जनालाई छोडेर बाँकी सबै एस एल सी परिक्षाका तीन धर्केधारी
मात्र थिए । त्यसैले नै १७ दिन पछि राजधानी आइपुग्न सकिने एउटा कुनाको गाउँको
विद्यार्थी म पनि जान्ने ठहरिएको थिएँ ।
भोलादाई हिडी सकेका थिए । पढाइ चल्दै थियो र मेरो डेरा कोठामा एक्लै बस्ने
गर्थे । नजिकैका काकाहरूसँग बसेको भए पनि हुने थियो तर मैले एक्लै बस्न रुचाएँ
किनकि त्यो बेलासम्म म कसैनकसैको संरक्षणमा मात्र बसेको थिएँ र स्वतनत्र जीवनको
आनन्द लिन चाहन्थेँ तर सधैँ अरूको अनुशाशन र नियममा बस्ने मेरो निम्ति स्वतन्त्रता
र स्वच्छन्दता फलिफाप भएन । नारायण थापाको घरबाट फर्केर आएको केहि महिनापछि नै खान
रुच्न छोड्यो, बान्ता हुन थाल्यो र म डा सिद्धिमणी आचार्य दिक्षितकोमा पुगेँ ।
केही बेरको प्रतिक्षापछि उनले मलाई जाँचेर भने - "ल, तैँले पनि समाइछस् जण्डिस
।"
मैले वाल्ल परेर डाक्टरको मुख हेरेँ । मैले उनको भनाइ नबुझेको थाहा पाएर उनले
व्याख्या गरे - "जण्डिस भनेको कमलपित्त । अझ गाउँघर पहाडतिर त हरिताल पनि
भन्छन् ।"
गाउँघरतिर मैले सुनेको थिएँ - 'हरिताल लागेपछि मान्छे बाँच्दैन ।'
डाक्टरको भनाइ मलाई मृत्युघण्टाभन्दा कम लागेन र त्यो भाव मेरो अनुहारमा पक्कै
देखा पर्यो । मेरो त्रशित अनुहार देखेर होला, डाक्टरले सम्झाउदै भने - "डराउनु
पर्दैन । निको भइहाल्छ नि । चक्की तँ
विद्यार्थी मानिसलाई महंगो पर्छ । मिक्स्चर लेखिदिन्छु । जनसेवा सिनेमाहल छेउको
औषधि पसलमा गएर औषधि लिनु र खानु अनि एक हप्ता पछि आउनु नि फेरि ।"
डाक्टरले यो खानु, त्यो नखानु, यो गर्नु त्यो नगर्नु आदिका नियम बताइ दिए जो म
एक्लै बसेर पालन गर्न सम्भव थिएन । त्यसैले म मेरा पहिलेका विद्यालयका सहपाठी काकाहरू
कृष्णप्रसाद, फणिन्द्रनाथ र लक्ष्मीप्रसादको डेरा कोठामा बासाइँ सरेँ ।
डेढ दुई महिनामा मेरो जण्डिस त निको भयो तर मैले परिक्षा दिन भने सकिनँ । मेरो
एक वर्ष खेर गयो ।
No comments:
Post a Comment