मेरा कलेजका सहपाठी र मित्रहरू
कलेजको मेरो जीवन विद्यालयकोजस्तो उत्कृष्ट पटक्कै होइन । मेरो गाउँमा मेरो
कक्षामा १० जना पनि थिएनौँ र म उत्कृष्ट मानिएको थिएँ तर काठमाडौँमा त मभन्दा
अव्बल धेरै धेरै थिए र त्यहाँ मेरो गणना हुनै सक्दैनथ्यो । फेरि गाउँको पढाइको उत्कृष्टता
सहरी पढाइसँग दाँजिन सक्ने कुरा पानि होइन तर मेरो कलेज त्यो समयमा उत्कृष्टहरूको
संगम पनि होइन । त्यो स्थान त त्रिचन्द्र कलेजको थियो । त्यसैले पढाइमा मेरो पानि
सहयोग खोज्ने १।२ देखा पर्थे त्यहाँ ।
मेरो कलेज देशका विभिन्न क्षेत्रका मानिसहरूको संगम पनि होइन । सयको
हाराहारीको संख्यामा २।४ जना मजस्तालाई छोडेर बाँकी सबै उपात्यकाभित्रका नै थिए ।
त्यो समयका छेत्री, बाहुन र नेवार मात्रै थिए त्यहाँ र सबैभन्दा ठुलो उपस्थिति
नेवारहरूको थियो । यति हुदाहुदै पनि ती तीन जातिकै पनि सहरीकाँठबाट विद्यार्थीको उपस्थिति
जनसंख्याको तुलनामा नगण्य थियो दुबै कलेजमा । सहरी अभिजात्यहरू र देशका गाउँका
केही हुनेखानेहरूका छोराछोरी पढ्थे कलेजमा । अरूको पढाइ त तलका विद्यालयमा नै
सीमित हुन्थ्यो अथवा साक्षरसम्म वा निरक्षर नै हुन्थे ।
मेरा कलेजका केटीहरूसँग बोलचाल नभई नै मेरो कलेज जीवन बित्यो । कलेजका वर्षभरि
नै कमिजसुरुवाल लगाउने म सुरुवालेसँग सहरिया केटीहरूले सम्पर्क गर्ने कुरा पानि
भएन । दोश्रो, कारण सहरिया केटीसँग कुरा गर्न नसक्ने मेरो हीनतावोध पनि थियो ।
तेश्रो, अति संकुचित थियो त्यो समाज जहाँ बोलेकै भरमा पनि बात लाग्न सक्थ्यो ।
केटा साथीहरू पनि सीमित थिए मेरा । त्यहाँ पनि त्यही मेरो लघुताभास र उनीहरूको
अभिजात भावनाले काम गरेको हुनु पर्छ ।
काठमाडौँ ज्ञानेश्वरका आत्मप्रकाश पनेरु आफूलाई एपीपी(अमृतप्रसाद प्रधान) नै
ठान्थ्यो । मित्रता थियो उसको र मेरो कलेजमा तर कलेज सिध्याएर ऊ पोल्याण्ड पढ्न गएपछि
त्यहीँ घरजम गरेर त्यतै हरायो । कुपन्डोलको उपेन्द्रपुरुष ढकाल अर्को मित्र हो सो
समयको । साइकल चढ्थ्यो ऊ सो समयको रवाफिलो सवारीसाधन र मैले पनि त्यसमा चढेथेँ ।
पढाइमा त ठिकै थियो ऊ । पछि शाही वायुसेवा निगममा जागीर खान पुग्यो । बेलाबेला भेट
भएर 'हाय, हलो' गरे खाश सम्बन्ध रहिरहेन । त्यो बेलाकी नारी अग्रणी पुण्यप्रभा
ढुंगानाको छोरो चाबेलको वद्रिविनोद ढुंगाना पनि थियो जमातमा र ऊ इन्जिनियर बनेर
पहिले नेपाल विद्युत कर्पोरेशनमा र पछि नेपाल विद्युत प्राधिकरणमा जागिरे भई सेवा
निवृत्त भयो र अहिले पानि भेट हुदा हाय, हेलो चलेकै छ । कविराज शिवप्रसाद रिमालका
कान्छा छोरा ___ सानोबाबु रिमालसँग पनि मित्रता थियो मेरो । मजस्तै केटाकेटीमै
विवाहित थियो ऊ र उसको कोठामा हामी पढ्न बसेको बेला उसकी पत्नी आउजाउ गर्दा असजिलो
अनुभव गर्थेँ म । उसको चाँडै मृत्यु भएको सुने मैले । चालिसको दशक पनि छोयो कि छोएन ।
खासै मित्रता नभए पनि तुलशी दिवससँगको परिचय धनकुटादेखिकै थियो म धनकुटामा
जाँच दिन आएका कारणले तर ऊ त्यो बेला दिवस नभएर जोशी नै थियो । भावुक कविता
पढ्थ्यो, गम्म फुलेर बस्थ्यो । यदाकदा त्रिचन्द्र कलेजको प्राङ्गणमा पछिका गायक
प्रेमध्वज प्रधान पनि गितार लिएर देखापरेथ्यो तर विज्ञान पढ्ने केही महिनामै ऊ हराएर
गयो । मेरा सहपाठी बुनु बस्नेत र मीरा जोशी अन्त्यमा सफल भए कि भएनन् थाहा छैन तर
दुई वर्ष कलेजमा टिके । शान्ती थापा भने गायिका बनिन् क्या रे । मेरो कलेजका
सहपाठीहरूमध्ये सिन्धुली कोटगाउँकाका नारायणविक्राम थापा र धनकुटा मुसाङ्खेलका
डिल्लीबहादुर खड्कासँग भने आधा शताब्दि मित्रता चलेकै हो ।
डिल्लीबहादुर खड्का छक्कापन्जा नजान्ने सोझो मानिस तर जे कुरामा पानि शंका र
खोट निकाल्न सधैँ तैयार । कसैले केही सहयोग गर्न खोज्यो भने मलाई बिगार्न गर्दैछ ऊ
भनी ठान्ने र कसैले कुनै काम गरी दिन सकेन भने मलाई बिगार्न जानीजानी गरी दिएन
भनेर सोच्ने । बाटोमा हिड्दा कुनै मानिस पछाडि आई रहेको छ भने कसैले मेरो चियो
गर्दैछ भनेर कसैसँग गाँस्ने । पढाइमा अव्बल नभए पनि एयर ट्राफिक कन्ट्रोलर भएर
माथिल्लै पदसम्म पुग्यो । सोझो छलकपट नजान्ने तर मुखको छुच्चो जागिरे । छुच्चै
मुखको कारणले ०४७ सालको प्रजातन्त्रपछिको सामुहिक निष्काशनमा पर्यो ऊ । काठमाडौँका
घरानियासँग नाता जोडेर आफूलाई कुलिन बनाउन खोज्ने प्रवल चाहनाले आफ्नो चालिसको
उमेरतिर ठुलो पदमा पुगेर बिहे गरे पनि ५।७ वर्ष नबित्दै उनकी श्रीमतीको दुखमय
अन्त्य भयो । सधैँ एक्लै बित्यो जिन्दगी उनको ।
नारायणविक्रम थापासँग मेरो चिनापर्ची म कलेज पसेपछिको १।२ महिनामा नै भएको थियो । हामीमा केही समानता थिए
र विषमता पनि । ६ फुट २ इन्च उचाइको गाहुँगोरो रङ्गको अल्पभाषी नारायाणविक्रम थापाकासामु
म फटफटे कृशकाय ५ फुटे मानिसको व्यक्तित्व शुन्यसम देखिन्थ्यो । आफूहरूलाई भीमसेन
थापाको हकदार माथवरसिंह थापाको सन्तान दावी गर्ने परिवारमा जन्मिएको तर राजधानीको
राजकिय परिवेशभन्दा पर सिन्धलीको गाउँमा हुर्किएको उसको चरित्र दोहोरो प्रकृतिको
हो भन्ने मलाई लाग्छ । मजस्तो गाउँलेसँग उसको सम्बन्ध अत्यन्तै राम्रो त थियो नै,
उच्च घरानियाहरूका बीचमा पनि उसमा हीनताभास थिएन । उसको नातासम्बन्ध घरानिया राणा,
शाह र थापासँग भए पनि उसले मलाई सधैँ नै आफ्नो समकक्षी मित्रको सन्मान नै दियो ।
म पक्कै गाउँले थिएँ । न मलाई सहरको परिवेश थाहा थियो, न घरानियाहरूको चालचलन
नै । नारायण थापाको नातासम्बन्ध नक्साले थापासँग थियो र सी क्लासका राणाहरूसँग पनि
। डम्बर शमशेर थापाकी पत्नी त फुपू नै थिइन् । पछि त उसको नाटककार बालकृष्ण समकी
नातिनीसँग बिहे भएपछि सम परिवारसँग पनि नाता जोडियो ।
शान्त थियो नारायाणविक्रम थापा आवेशमा कहिले पानि नआउने । हामी पढ्दा उसको सम्पन्नता
मेरोभन्दा कुनै गतिलो थिएन । उसको गैर्हिधारामा बाबुहरूको एउटा सानो घर थियो र
त्यसैमा बस्थ्यो ऊ कहिले एक्लै, कहिले परिवारको कुनै सदस्यसँग । मेरैजस्तो उसको
पनि पहाड घरबाट खर्च आउनु पर्थ्यो । कहिलेकहीँ त उसलाई पनि मेरैजस्तो चामलसाहुले
नपत्याउने दिन पनि आउथ्यो ।
२०१५ सालको दशैँमा म, नारायण र सिन्धुलि रातामाटेको केदार आचार्य नारायणको
घरतिर लाग्यौँ । सार्वजनिक यातायातको साधन थिएन कुनै त्यो बेला र भाडाका निजी गाडी
पनि १।२ वटा मात्रै थिए । म त हिड्नै पनि तयार थिएँ तर नारायाणले मानेन र काठमाडौँदेखी
बनेपासम्मको लागि जिप भाडामा लियौँ । साँगाको साँगुरो ठाडो उकालो गाडीमा पार गर्न
हाम्रो आँट आएन र हामीले त्यसलाई पैदलै पार गरेर भन्ज्याङ काटेपछि फेरि गाडी चढेर
बनेपा पुग्यौँ । दिन थोरै थियो तर साथीहरूले बनेपामा बस्ने इच्छा गरेनन् र हामी निकै अँध्यारो
भएपछि दाप्चा पुगेर काँचो कचिलो बनाई, खाई सुत्यौँ । भोलिपल्ट बिहान अँध्यारै
साथीहरूले मलाई बाटो लगाए र बाटोमा केही कट्याककुटुक खादै रोसीखोलाको किनारमा
बसेको मंगलटारको एउटा घरमा खाना पकाएर खायौँ । दुईतिर पहाडले छेकिएको रोसीमा कहीँ
पनि मानिसको अनुहार देखिन्नथ्यो । दशैँ ताका भएकोले पनि होला । त्यो नागबेलि परेर
घुम्ने रोसीखोलाको बाटो हिड्नु पर्दा पचासौँ पटक खोलो तरेँ मैले । जुत्ताबिना
हिड्न नसक्ने हुनाले जुत्तै लाएर खोलो तरेँ बाटोमा र त्यो एक जोर जुत्ता अर्को एक
महिना पनि टिकेन र मैले अविभावकको गाली खाएँ । दोभानमा बसेको दुम्जामा भने बाक्लै
बस्ती थियो र अर्को बस्ती रातमाटे पुगेपछि भेटिएको थियो । निकै अध्यारो भएपछि हामी
रातमाटे बोरेटार केदारको घरमा पुग्यौँ ।
म अति नै थाकेको त्यो दिनको हिडाइ मेरो सामर्थ्यभन्दा बाहिरको कार्य थियो ।
त्यो दिनको पहाडी हिडाइ १०।१२ कोस भनिए पनि ४० किलोमिटरभनदा कम थिएन होला । गएर
घरमा अडिएको मात्रै के थिएँ, मलाई निन्द्रा या बेहोसीले छोप्यो । खाना खाएको पनि मैले
थाहा पाइनँ । खुट्टा मालिस गरेर तेल लगाइ दिएको भनाइलाई भोलिपल्ट चिल्लो खुट्टा
देखेपाछि मान्नै पर्यो । मेरो त्यो दिनको हिडाइले भोलिपल्ट म हलचल गर्न नसक्ने
भएको थिएँ र एक घण्टामा नारायणको घर पुगिने बाटो पार गर्न मलाई पाँच घण्टा लाग्यो
। त्यसपछि पनि म कैयौँ दिनसम्म थलिएर बसेँ ।
हामी पुग्यौ नारायणको कोटगाउँको घरमा । नारायणका पुर्खा माथवीरसीं थापा
मारिएपछि उनकी आमा सानो नातिलाई लुकाउन विश्वासिला नोकरचाकरसहित सिन्धुलितिर लागेर
अहिलेको कोटगाउँमा पुगेर कोशीतिरको मूलबाटोबाट निकैमाथि कोटजस्तो चढ्न असजिलो
ठाउँमा पुगेर घर बनाई बसेका हुन् रे । ठाउँ र समय अनुसार त्यो घर दरबारकै रूपमा
बनाइएको भए पनि म त्यहाँ पुग्दा त्यो घर निस्तेज, निर्जन र हेरचाहविहीन देखिन्थ्यो
। त्यति ठुलो दरबारको एउटा कुनामा नारायणका बाबु, आमा र एउटी नोकर्नी थिए त अर्को
कुनामा उसका ठुलोबाबुका १।२ सदस्य । घरको प्लास्टर जहीँतहीँ उप्किएको थियो । दिवाल
नै पनि कति ठाउँमा सवुत थिएन । पलङ भनौँ या खाट ती पानि थिएनन् त्यहाँ । हामी
भुईँमा ओछ्यान लगाएर सुतेका थियौँ । शायद पुराना खाट मक्किएर गएका र एक्लो छोरो
घरबाहिर बस्ने भएकाले नयाँ बनाउने चासो पनि भएन होला । रित्तो र सुनसान लाग्थ्यो
घर । हामी तीन जना पुगेपाछि हाम्रो हल्लीखल्लीले केही रौनक आएको थियो त्यहाँ ।
कुनै समयको त्यो सम्पन्न घरलाई असम्पन्नताले थेग्न सकेन र त्यसपछिको एक दशक
नबित्दै त्यसलाई भत्काएर त्यही ठाउँमा सानो नयाँ घर बनाइयो ।
रमाइलो थियो कोटगाउँ आफ्नै विशेषता बोकेको । कोशीदेखि ठाडो उकालो चढेर आएपछि
समथर भाग थियो । समथर ठुलो भने होइन । त्योभन्दा दक्षिणतिर महाभारत लेकको ठाडो उकालो
र जंगल । दायाँ वायाँ पनि भिर, पहरा नै थिए । गडी या कोटकै हिसाबले सुरक्षित स्थान
ठानेर थापाहरू त्यहाँ बसेको हुनु पर्छ त्यो जमानामा । कोटगाउँबाट पारीपट्टि अर्को
डाँडोमा झुरुम्म बस्ती थियो र त्यसलाई देखाएर मेरा मित्रका पिताले भनेका थिए -
"त्यो तिम्रै दाजुभाइ दाहालहरूको गाउँ हो ।" तर म त्यहाँ पुगिनँ । कहिले
शिकार त कहिले माछा दुवालि भन्दै मेरा मित्रहरू जंगल खोलाहरू दौडिए तर तिनमा मेरो
सोख नभएकाले मैले दृश्यावलोकनमै दिन बिताएँ ।
मित्रका पितालाई छोराका लागि खर्च जोगाड गर्न समय लागेकाले हामी ढिलै गरेर
फर्कियौँ । पढाइ अघि बढी सकेको रहेछ र मेरा अविभावकको गाली खाएँ मैले - "आमाले
छोरो पढ्छ भनेर कति दुख गरेर पैसा पठाउछिन् । तिमी भने यसरी बरालिदै हिड्ने
?"
No comments:
Post a Comment