२०१५ साल र पछि
नेपालको इतिहासमा पहिलो चोटी आम निर्वाचन हुने भयो । राजाले दिएको संविधानलाई
नेपाली कांग्रेसले स्वीकार गरेर निर्वाचनमा जाने भएपछि वामपन्थी कम्युनिष्टहरूले
उसको पर्याप्त भर्त्सना गरे पानि निर्वाचामा भाग भने लिए र १०७ क्षेत्रमध्ये ४
स्थानमा जिते पानि । यही चुनावको सिलसिलामा लौहपुरुष गणेशमान सिंहले लैनचौरको
सभामा नेपाली कम्युनिष्टमाथ यसरी व्यंग्य गरेका थिए ।
" विष्णुमतीको किनारमा दिसा गर्न बसेको एउटा मानिस भटमास खाँदै रहेछ ।
अर्को दिसा बस्न आएको मानिसले सो देखेर भनेछ - 'थुइक्क गतिछाडा फोहोरी ! घिन
लाग्दैन तँलाई त्यसरी खान ?' भटमास खाने
नबोली भटमास खाँदै गएछ । अर्को पनि दिसा गर्न छेवैमा बसेछ । एकछिन अर्कोले भटमास
खाएको हेरेपछि भनेछ - 'मिठो छ जस्तो छ भटमास । खै खै, मलाई पनि एक मुठी दे त ।' हो
। कम्युनिष्ट पनि त्यस्तै हुन् । पहिले अर्कोले गरेकोमा बद्ख्वाइँ गर्छन् र पछि
आफू त्यही गर्छन् ।"
कम्युनिष्टहरूले नेपाली कांग्रेसलाई सत्तोसराप गरे । नेपाली कांग्रेस पनि के
कम । उसले पनि जहीँतहीँ व्यंग्य कस्यो । शुरुमा खुकुरीदल पछि गोर्खादल र पछि
निर्वाचनमा आइपुग्दा गोर्खा परिषदमा परिणत भएको राणाहरूको पार्टी त नेपाली
कांग्रसलाई, राजनैतिक प्रतिद्वन्दी होइन, शत्रु नै ठान्थ्यो राणा शाशन ढालेको इखमा
। निर्वाचनमा उसले पनि १५ ठाउँमा जित्यो । डा के आइ सिंहको पार्टीले पनि १।२ सिट
हात पार्यो । काठमाडौको शिक्षित भनिने क्षेत्रबाट नेपालि कांग्रेसका सूर्यप्रसाद उपाध्याय हारे
र के आई सिंहको पार्टीबाट उठेका राणाकालका बडाहाकिम लोचनशमशेर थापाले जिते ।
२०१५ फागुनमा भएको त्यो निर्वाचनमा म घर गइनँ । नेपाली कांग्रेसको तर्फबाट
लीलानाथबा उठे पनि म उनको निर्वाचन क्षेत्रमा गइनँ । पहिलो त, मेरो त्यो वर्ष
बिग्रिए पनि अर्को वर्षको लागि तयार गर्नु थियो । दोश्रो, मेरो वालिग मताधिकार पनि
थिएन । मलाई केटाकेटी ठानेर लीलानाथबाले लिएर जान पनि मानेनन् । 'तँ यहीँ काम गर्
।' - उनले भने तर १७ वर्ष केटो म के पो गर्न सक्थेँ र ? हो, बाले पठाएका २।४ वटा
चिठ्ठी भनेको ठाउँमा पुर्याई दिएँ । त्यति नै हो मैले गरेको काम त्यो बेला ।
नेपाली कांग्रेसले वहुमात ता ल्यायो तर राजा महेन्द्रले उसलाई सत्ता दिन
आनाकानी गरिरहे । अघिल्लो दिनसम्म त उनले जे भन्यो त्यही मान्ने कमजोर
प्रधानमंत्री थिए । निर्वाचित प्रधानमन्त्री त श्री ३ प्रधानमन्त्री जत्तिकै
शक्तिशाली हुन सक्थ्यो । बी पी कोइराला प्रधानमन्त्री बन्ने कुरा पचाउन नसकेर
राजाले नेपाली कांग्रेसकै अर्का नेता सुवर्णशमशेर राणालाई संसदिय दलको नेता
उक्साएका थिए र सुवर्णले मानेनन् रे । यो लीलानाथबाले सुनाएको कुरा हो ।
मेरो पढाइ चल्दै गयो । कक्षा जानु पारेको थिएन । सके आफै पढ्यो, नसके सहपाठ
भन्यो साथीभाइ सँगै बस्यो, पढाइ कम गफ धेरै गर्यो । ट्युसन पढ्न त मेरो आर्थिक स्थितिभन्दा
बाहिको कुरा थियो । त्यहि समयमा मैले चुरोट खान सिकेँ । कमिजसुरुवाल छोडेर
प्यान्टसर्ट लाउन सिकेँ । सिनेमा त बेलाबखत जानै पर्थ्यो । नारायण थापा र म
अत्यन्त नजिक हुदै गयौँ र मेरो र उसकोमा आउनेजाने, बस्नेखाने बराबर हुन थाल्यो । म
डेराकोठामा दलबलसहित बसेको र नारायण आफ्नै घरमा कोही न कोही परिवारको सदस्य बस्ने
हुनाले उसकोमा मिठोमसिनो बढी खान पाइने हुदा मेरो मन पनि त्यतै तानिन्थ्यो । हो,
आफूसँग न भएको बेला नारायणले पनि मसँग पैसा लिन्थ्यो पनि ।
०१५ सालको परिक्षा दिन नसके पनि ०१६ सालको परिक्षा दिएँ तर ०१७ सालको
शुरूतिरको परिक्षाफल मेरो पक्षमा आएन । प्रथम श्रेणी १।२ जनाको मात्र आउने सो
समयको परिक्षामा दोश्रो श्रेणीको उच्च परिक्षाफल आए पनि रसायनशास्त्रमा म गुल्टिएँ
। आफ्नो आशा विपरितको सो परिक्षाफलले म सार्है हताश भएँ र निराश भएँ । यदि
लीलानाथबा त्यो समयमा त्यहाँ नभएको भए र उनले मलाई सम्झाफ बुझाई नगरेको भए म जे
पनि गर्न सक्ने थिएँ होला ।
लीलानाथ मेम्बर अफ पार्लियामेन्ट(एम.पी.) भएकाले उनलाई हामीले एमपीबा भन्न
थाल्यौँ । हामी बसेकै घरमा एक तला भाडामा लिएर एमपीबा बसे । भान्सा भने साझा थियो
हाम्रो र हिसाब किताब आफ्नो आफ्नो । लेखपढसम्म गर्न जान्ने लीलानाथबाका निम्ति
संसदका लेख, कानुनका शब्द बुझ्न र पढ्न गाहारो र बुझिनँ, जानिनँ भनेर अरूसँग सोध्न
पनि गाहारो हुनाले मलाई सोध्ने गर्थे । म पनि सकेसम्म सहयोग गर्ने प्रयास गर्थेँ
तर मेरो आफ्नै सामर्थ्य नै कति थियो र ? कहिलेकहीँ चिठ्ठी लेखाउने काम पनि
हुन्थ्यो मबाट । सानातिना सल्लाह दिने काम पनि हुन्थ्यो मबाट राय मागेको खण्डमा ।
२०१७ सालको वर्षे संसद चलेको बेला एक दिन एमपीबाले मलाई बोलाएर भने -
"राम ! अमेरिकाको एउटा सिट इन्जिनियरिङको निम्ति अएको रहेछ । मेरो क्षेत्रको
मीनबहादुर राउतले पानि दर्खास्त दिएको रहेछ । उसलाई पाठाउने या नपठाउनेमा मन्त्रीले
मेरो राय मागेका छन् । उसका बाबुबाजेले मेरो घोर विरोध गरेर सूर्यबहादुर थापालाई
समर्थन गरेकाले अरू दाजुभाइ पठाउनु हुन्न भन्छन् । तँ के भन्छस् ?"
मैले खराङमनितिर कहीँ राहुतहरू बस्छन रे भन्ने सुनेको थिएँ । फेरि मीनबहादुर
त्यसै ताका मात्रै काकाहरूको डेराकोठामा आउनेजाने गर्थे । खासै चिनापर्ची थिएन ।
त्यसैले मैले राय दिएँ - "बा ! मीनबहादुरसँग मेरो निकटता त छैन । म उत्तिर्ण
भएको भए त्यो सिट मलाई दिनोस् भनेर दावी गर्ने थिएँ तर म दावीमा छैन । त्यसैले
त्यो सिट तपाईकै क्षेत्रमा रहोस् भन्ने सल्लाह दिन्छु म । एउटा इन्जिनियर बन्छ
त्यहाँ । बाबुबाजेले के गरे ? त्यसका लागि छोरानाति दण्डित हुनु हुन्न ।"
मेरो कुरा सुनेर बाले भने - "नानी ! तैले मेरै मनको कुरा भनिदिइस् । मैले
पनि त्यस्तै सोचेको थिए ।"
मीनबहादुर गए, इन्जिनियर बनेर आए । क्षेत्रका एम्पीले समर्थन नगरेका भए राणा र
शाहका भित्रिया सूर्यबहादुर थापाले पठाउन सक्थे वा सक्दैनथे ? त्यो अर्कै कुरा हो
तर एम्पीबाले रोकेनन् । त्यो मेरो भनाइले हुन पनि सक्छ, नहुन पनि ।
No comments:
Post a Comment