Saturday, June 07, 2014

जातिवादमा रुवाण्डा



रुवाण्डामा नरसंहार

एक करोड दश लांख जनसंख्या भएको मध्यअफ्रिकी देश रुआण्डामा १% जति अरू जाति भए पनि ८४% हुतु र १५% तुत्सीहरू बस्छन् । पहिले जर्मनी र पछि बेल्जियमको उपनिवेश भएको त्यो देशमा उपनिवेशकालमा नै यी दुई जातिहरूलाई अलग अलग परिचयपत्र दिएर जातिका रूपमा प्रस्ट विभाजन गरिएको थियो । दुवै जाति काला भए पनि तुत्सीहरू हल्का काला र हुतुहरू गाडा काला भएकाले युरोपियहरूले तुत्सीहरूलाई तुलनात्मक रूपमा आफूनजिक ठहर्‍याएर शाशनमा सहभागी गराएकाले उनीहरू बढी सम्पन्न र शिक्षित पनि थिए भने हुतुहरू कृषीमा आधारित गरिब र अशिक्षित थिए ।

बेल्जियमबाट स्वतन्त्र भएपछि रुआण्डामा आमनिर्वाचन भयो र हुतुवादी दलले जातिय नारामा वहुमत ल्याएर विजय प्राप्त गरेर तुत्सीवाहुल्य भएको प्रशाशनमा क्षमताको आधारमा नभएर समावेसिता भन्दै अन्धाधुन्ध जातियकरण शुरू गर्‍यो जसलाई तुत्सीहरूले विरोध गर्नु स्वभाविक थियो । राज्यका प्रत्येक क्षेत्रमा आफ्नो आधिपत्य कायम राख्न तुत्सीहरूलाई सजिलै निकाल्न सकिने नदेखेपछि हुतु उग्रवादीहरूद्वारा तुत्सीहरूको आमहत्या गर्ने योजाना बन्न थाल्यो । तुत्सीविरोधि मिलिसियाहरू गठन भए र तिनीहरूलाई हतियार पनि जुटाइयो । स्वयम् सरकारका कतिपय उच्च पदाशिनहरू समेत त्यसमा संलग्न भए । तुत्सीहरूमाथि दमन शुरू भयो र तुत्सीहरले पनि उत्तरतिरबाट सशस्त्र विद्रोह शुरू गरे । सन १९९४ मा त्यो देशलाई गृहयुद्धबाट जोगाउन छिमेकी देशहरूको पहलमा एउटा सम्झौता भयो तर त्यो सम्झौता लिएर राजधानी आई पुग्नै लाग्दा राष्ट्रपतिको जहाज कसैले रकेटद्वारा खसाल्यो र त्यसको दोष तुत्सीमाथि लाग्यो । त्यसपछि त सत्तामा भएका हुतुहरूद्वारा तुत्सीहरूको नरसंहार शुरू भयो । सो नरसंहारमा नरमपंथी हुतुहरू पनि मारिए । अरू त अरू तत्कालिन प्रधानमन्त्रीसमेत त्यसको शिकार भए । १०० दिनको बिचमा आठ लाख तुत्सी र नरमपंथी हुतुहरू मारिएको गणना छ । नाजी जर्मनीमा यहुदीको आमनरसंहार पछि रूआण्डाले नै अर्को ठुलो नरसंहार भोग्यो  र त्यो नरसंहार उत्तरतिरबाट आएको तुत्सी सैनिक राजधानी किगाला पसेपछि थामिन शुरू गर्‍यो । उग्रवादी हुतु नेताहरू देश छोडेर अरू देशहरूमा लुक्न पुगे ।

रुआण्डाकै नरसंहारलाई लिएर टांजानियामा अंतरराष्ट्रिय अपराध अदालत खडा भयो र अपराधी नेताहरूमाथि मुद्दा चलाउन थालियो । देशभित्रै पनि स्थानिय अपराध अदालतहरू खडा गरिए र तर त्यहाँ न्यायाधिशको कमी भयो । भनिन्छ - देशका ७५० न्यायाधिश मध्ये १०० दिनको नरसंहारपछि केवल ५० जना मात्र बाँकी थिए । अहिले सवा लाख मानिसहरू जेलमा फैसला कुरेर बसिरहेका छन् र १५ वर्षको दौरानमा केवल ६००० जति मात्र फैसला भएका छन् । मूल अपराधिमध्ये ९ जना अझै पनि पक्राउ पर्न सकेका छैनन् ।

Wednesday, June 04, 2014

अर्थनीति डा.महतको



डा. रामशरण महतको अर्थनीति

केही भए केही हुने थियो । यो आशावादीको आशा हो । बजेटमा केही नया आए देशका लागि केही नया आउने हो कि भन्ने आशा थियो । त्यो पनि अब आशा आशामा नै बित्ने जस्तो देखिन्छ । हुनत डा.रामशरण महतबाट नयाँ आउछ भन्ने आशा गर्नु नै गलत थियो होला किनकि उनको ढर्रा ढाँचा ओइलाएको उदारवादमा सीमित हुन्छ । उनी सोच्छन् - दिनु केही पर्दैन । उद्योगपतिहरू धमाधम यो देशमा उद्योगमा धन ओइर्‍याउन आउछन् । केवल विदेशी सामान यहाँ ओइर्‍याउन बाटो मात्रै खोली दिए पुग्छ । आज देशमा उद्योगको निम्ति त के ? घरमा बत्ती बाल्नकै निम्ति पनि एक तिहाइ पनि बिजुली नहुनुमा २५% माओवादी जिम्मेवार छन् भने ७५% डा.रामशरण महत जिम्मेवार छन् । म नेपाली कांग्रेस पनि भन्दिनँ किनकि अर्थव्यवस्थापनको मामिलामा सधैँ डा.रामशरण महतले नै नेपाली कांग्रेसलाई ओगटेका छन् ।
उद्योग डा.महतको प्राथमिकता होइन । झन् विद्युत त हुदै होइन । उनको प्राथमिकता पैसा कमाउनुमा हो, पैसा ल्याउनुमा हो  र त्यो पैसाले सामान किनाउनुमा हो । युवाहरूको विदेश निकाशी र लाशहरूको पैठारीमा फेरि त्यही २५% माओवादी र ७५% डा.महतको नै जिम्मेवारी छ । डा.महतको उदारवाद र माओवादीको हिंसाले न हामीसँग उद्योग छन्, न उद्योगका लागि पूर्वाधार नै । छन् त विदेश पठाइने युवाहरू र भित्र्याइने लाशहरू ।

Tuesday, June 03, 2014

खसबाहुन

 खसबाहुन

नेपाल मण्डलको नेपाल उपत्यकामा जयस्थिति मल्लले वर्ण विभाजन गरेका हुन भन्ने इतिहासकारको भनाइलाई मान्ने हो भने त्यो भन्दा पहिले उपत्यकाका राज्यमा जात विभाजन थिएन भन्नु पर्ने हुन्छ । अर्को शव्दमा भनिदा त्यो समयको राज्यभाषा नेवारी बोल्ने समुदायमा हिन्दु प्रवेशले जातिय मान्यता जयस्थिति मल्ल पछि मात्र पाएको हो र नेवार समुदायका गैर्‍हहिन्दुहरू गैह्रनेवार समुदाय बाट छिरेका हुन भन्न पनि सकिन्छ । यसरी एउटा भाषाभाषी अर्को भाषाभाषीमा समाहित हुने कुरा नौलो पनि होइन । तर मैले भन्न खोजेको कुरा भाषाका वारेमा होइन, समाजमा सँस्कार या कुसँस्कारको विकाश र त्यसको निराकरणका उपायमा हो ।

हिन्दु धर्ममा जात विभाजन आफै उव्जिएको होइन । यो त हिन्दुधर्मिय पद्धतिले सयौं र अझ हजारौं वर्ष लगाएर समाजमा स्थापित गरिदिएको सँस्कार र सँस्कृति हो । गलत हो वा ठीक ? आफ्ना आफ्ना पक्षकाले जे जस्तो तर्क पेश गरे पनि आजको  विश्वमा शुद्र या दलितको परिभाषा दिएर एउटा समुहलाई मिल्काउनु नैतिक र मानविय दुवै हिसाबले अनैतिक र अमानविय हो । तर हजारौं वर्ष लगाएर समाजमा स्थापित भएको कुसँस्कार या कुरिति केही दिन, केही महिना या केही वर्षा नै बदलिन सक्दोरहेनछ भन्ने किरियापुत्रि आगनमा ल्याएर गिडदा पनि मानिसले किरिया गर्न नछाडेका र एकनिष्ठ बाहुनलाई गाई मारेर मासु कोचाउदा पनि बाहुनहरूले गाईको मासु खान शुरु नगरेका घटनाले नै प्रस्ट पारिदिएको छ । एउटा व्यक्तिलाई बल, धम्की र आतंक देखाएर केही क्षण परिवर्तन गरे पनि सिंगो समाजको सँस्कार र आस्था बाट त्यति सजिलै टस बाट मस हुदो रहेनछ भन्ने द्वन्दका समयमा अनुभूत भइ नै सकेको छ । सत्तरी वर्षसम्म धर्म अफिम हो भनेर राज्य द्वारा अपहेलित र नियन्त्रित भएको धर्म नमानी बसेको ठानिएको रुसी समाजमा कम्युनिष्ट शाशन ढलेको भोलि पल्ट नै त्यो समाजका गिर्जा घरका घण्टाहरू पूजिवादी देशका घण्टा भन्दा चर्को स्वरले बजे र त्यहाँका नागरिकहरूको धार्मिक आस्था कुनै पनि पूजिवादी देशको भन्दा कम देखिएन । त्यसैले सँस्कार परिवर्तन त जुग नै लगाउने प्रकृया रहेछ भन्ने यसै बाट बुझन सकिन्छ ।

हिन्दु समाजमा गरिनु पर्ने परिवर्तनको लागि हिन्दुधर्मको विशेष स्वरुपलाई बुझन आवश्यक हुन्छ । हिन्दुधर्मको आदिम ग्रन्थ वेदमा व्राह्मणलाई आदि व्रह्मको मुख बाट, क्षत्रियलाई वाहु बाट, वैश्यलाई जङ्घाबाट र शुद्र पैताला बाट उत्पत्ति भएको मानेर व्राह्मणलाई सबै भन्दा उचो स्थान दिइएको छ । त्यही अनुरुप नै हिन्दु सँस्कार, सँस्कृति र पद्धति स्थापित भएको हो । अर्को धर्म मान्न गए अर्कै कुरा नत्र हिन्दु समाजमा बसेर व्राह्मणको धार्मिक श्रेष्ठतालाई नकारिदैन । बरु को व्राह्मण, को क्षत्रिय, को वैश्य या को शुद्र भनेर पुनः परिभाषित गर्न सकिन्छ । गैह्रहिन्दुले समाजमा व्राह्मणको आवश्यकता देख्न र बुझन पनि सक्दैन । हिन्दु समाजमा त जन्म देखि मृत्यु सम्मका सबै धर्म र संस्कार कार्यमा व्राह्मणको आवश्यकता हुन्छ र उसको निर्णय नै अन्तिम मानिन्छ । हिन्दु धर्म अरु धर्म जस्तो आस्था मात्र होइन, यो त धर्म भन्दा पनि सामाजिक र व्यक्तिगत जीवन पद्धति हो, संस्कार विधि हो ।

यस्तै पद्धति नेपालका पहाडी हिन्दु समाजमा पनि छ । पहाडी बाहुन (जसलाई कतिपय नृवंशशास्त्रीहरू खस बाहुन भन्न रुचाउछन र म यही शव्दावली प्रयोग गर्न चाहन्छु) हरूको उत्पत्ति खोजिगर्ने सबै वंशावलीहरूले
वर्तमान नेपाल भित्र आफ्ना पर्खाहरूको प्रवेश महाकाली पारि बाट भएको हो भनेर टुंग्याएकाछन । त्यो भन्दा परको थलो भारतको कान्यकुव्ज र सारस्वत क्षेत्र तिर औल्याउछन । आफू ती स्थान बाट नआएकै भए पनि ती क्षेत्र बाट आएको धर्म अँगालेको हुनाले उनीहरूले आफूलाई त्यता तिर जोडनु आवश्यक ठाने ।

पहाडी हिन्दुहरूको वर्ण विभाजन पनि बढो अनौठो छ । बाहुनहरू चुच्चो नाक गरेका आर्य नश्लका देखिन्छन भने नेप्टा नाक हुने मंगोल समुदायलाई वैश्यको समुदायमा हालेका छन । दई थरी छेत्री मध्ये एका तिर बाहुन बाबु र मंगोल आमाको सन्तानलाई खत्रीको दर्जा दिएर छेत्री समान बनाएका छन भने अर्को तिर मंगोलियन नश्लका ठकुरीहरू आफूलाई उचो दर्जाको छेत्रीमा दावी गर्दछन । शुद्ध मंगोल नश्लका छेत्री हिन्दुहरू भारतिय आर्य मूलका हुन नसक्ने हुनाले हिन्दर्धर्मको विस्तारको क्रममा बाहुनहरूले आफ्नो संरक्षण र सुरक्षार्थ तत्कालिन जनजातीका सानाठूला सबै शाशक वर्गका सदस्यलाई तागाधारी व्राह्मण कर्म गराएर क्षत्रिय वर्ण दिई धर्म विस्तार गरेको हुनु पर्छ । पुरातन सिन्जा क्षेत्र मानिएको अहिलेको कर्णाली र सो आसपासको क्षेत्रमा जनजातीहरूको तुलनामा बाहुन, अझ क्षेत्रीहरूको, वाहुल्य त्यतै तिर सङ्केत गर्दछ ।

पहाडे हिन्दु समुदायको शुद्र वर्णमा राखेर अछुत मानिएका कामी, सार्की र दमाई अपवाद वाहेक मूलतः आर्य नश्लको देखिन्छ । यिनीहरूको भाषा बाहुनको जस्तै खस नेपाली भाषा  हो । यिनका रिति, रिवाज, चाल, चलन, कर्मकाण्ड सबै नै खस बाहुनका जस्तै छन । अरु त अरु, त्यो समुदायको गोत्र र थर पनि बाहुन सँग मिल्छन र जहाँ बाहुन छन त्यहाँ मात्र उनीहरूको उपस्थिति छ र बाहुन द्वारा संरक्षित छन भने यसलाई बाहुनको एउटा हाँगो मान्नुको विकल्प पनि देखिदैन ।

हिन्दुधर्ममा मानिस मात्र होइन सबै प्राणी नै ऋषि कश्यपका सन्तान मानिन्छन र सबै जीव कश्यप गोत्री हुन भन्ने गरिन्छ । कालान्तरमा वंश वंशमा युगपुरुषका नामका आश्रमहरू जन्मदै गए पछि तिनै आश्रमका अनुयायीहरूले युगपुरुषको नामका गोत्रहरू लिए । त्यसैले कुनै गैर्‍‍ह हिन्दुले हिन्दुधर्ममा प्रवेश गर्न चाहे या हिन्दुले गोत्र परिवर्तन गर्न चाहे उसले शुरुको काश्यप गोत्र लिन पाउछ । त्यसैले आफ्नो अलग्गै गोत्र हुने खस दलितहरू गैर्‍ह हिन्दु बाट प्रवेश गरेका होइनन । खसहरूमा तागाधारीका मात्र विभिन्न गोत्र छन र त्यति नै गोत्र छन खस दलितका पनि । वैश्य भनिएका जनजातीका त गोत्र हुने कुरा पनि भएन र भए पनि उनीहरू काश्यप गोत्री मात्र हुने भए । उत्तरी भारतका हिन्दु, गैर्‍ह हिन्दुको आफ्नो समूह चिनाउने प्रचलन भनेको थर हो । थर विभिन्न कारणले स्थापित हुन्छन । दुई गोत्रिय बाहुनका कहिले कहीं एउटै थर हुन सक्छ र थर कहिले कही जनजाती सँग पनि मिले पनि सबैको सबै सँग सधैं मिल्छ भन्ने छैन तर खस बाहुन र खस दलितको थर सधै मिल्नु संयोग मात्र पक्कै पनि होइन । त्यसैले खस बाहुनको उत्पत्ती खस दलित बाट हुन नसक्ने हुदा खस दलितको उत्पत्ती खस बाहुनमा खोज्नु पर्ने हुन्छ ।

खस बाहुनहरू विजेता राजाले जस्तै आफूलाई चाहिने जति सबै नोकर चाकर, होमे-डोमे आदि लिएर पसेका होइनन । त्यसैले खस दलित उनीहरू सँगै आएका होइनन र खस बाहुनका थरहरू नेपाल बाहिर नपाइने हुनाले तिनीहरू यहीं उब्जिएका हुन भन्न कर पनि लाग्छ । आफूलाई चोखो ठान्ने बाहुनहरूले वाध्यता नभइ दलितलाई आफ्नो गोत्र र थर चलाउन दिन तयार हुने थिएनन र त्यो वाध्यता पनि कि त राजदण्डको भयले कि मायाले मात्र उत्पन्न भएको हुनु पर्छ । सो समयका समाजच्युत दलितलाई बाहुनले गोत्र, थर दुवै दिनु पर्छ भनेर वाध्य गराउन सक्ने सामर्थ्य सो समयको राज्यको थिएन र त्यो आवश्यकता पनि देखिदैन । बाहुनहरूले आफूखुशी स्वविवेकले नै दलितलाई गोत्र र थर दिएको निश्चित छ । तर, कारण के थियो त बाहुनले दलितलाई त्यत्रो माया गर्नु पर्ने ?

नेपाल अधिराज्यको मुलुकी ऐन जंग बहादुर कुँवरले स्थापित गरे पनि हिन्दु धर्मव्यवस्था सिन्जा राज्य कालमा पनि थियो र जात च्युत गराउने व्यवस्था पनि थियो हिन्दु धर्मव्यवस्थामा । धर्म छोडने, म्लेच्छ संसर्ग गर्ने, अभक्ष खाने, हाडनाता करणीमा पर्नेहरूलाई जात च्युत गराइन्थ्यो र राज्य विरोध गर्नेहरू पनि त्यो समूहमा पर्दथे । जनजातीमा जातच्युतको व्यवस्था नै नभएकोले राज्यले जातच्युत भनिदिए पनि त्यो लागु हुन सक्ने समाज त बाहुन मात्रै थियो र जातच्युत भएर अछुत हुने बाहुनको जाने ठाउँ पनि कही नहुदा ऊ त्यही बाहुन समाजमा त्यही गोत्र र थर लिएर बस्थ्यो । आफ्नो स्वजन भएकाले बाहुन समाजले त्यसको विरोध गर्ने कुरा पनि भएन । सबै किसिमले खस बाहुन र खस दलितमा समानता देखिनुको कारण यो भन्दा अर्को हुनै सक्दैन ।

अब आएर खस बाहुनको परिभाषा भित्र खोजी शुरु गरौं । उपाध्याय र जैशी दुई समूह त यसै पनि बाहुन भित्र परिरहेकै कुरा हो । पितृ सत्तात्मक हिन्दृ समाजमा खत्री छेत्री त बाहुनको परिभाषा भित्र पर्ने नै भए । कुनै समयमा पुर्खा बाहुन बाट च्युत भए पनि बाहुनकै समाज भित्र राखिएका बाहुनका सन्तान पनि बाहुन भन्दा फरक कसरी हुन सक्छन र ? फेरि जुन कारणले सो समयमा उनीहरू जातच्युत भएका थिए आज तिनै कारण बाट बाहुन जातच्युत भएर अछुत बन्दैनन भने त्यो समयको कारणलाई अहिले मान्यता दिनु सरासर वेइमानी हुन्छ । त्यसैले बाहुनका यी चार समूह एकै हुन भन्ने मान्यता स्थापित गर्दा हुन्छ । तर मान्यता आफै स्थापित हुदैनन । मान्यता खोज्नेले मान्यताको दावी गर्नु पर्छ र मान्यता दिन त्यो समाज पनि तयार हुनु पर्छ । उपाध्याय, जैशी र खत्री समुदायले त आफू बाहुन भएको दावी गरेकै हो र त्यो पाएको पनि छ । अब खस दलित मात्र बाँकि रहेकोले खस दलितले पनि आफू खस बाहुन भएको कुरा दावी गर्नु पर्‍यो र अरुलाई मनाउन प्रयाश पनि गर्नु पर्‍‍यो ।

शुरुमा नै भनियो – हिन्दुधर्म व्राह्मणमा आधारित धर्म हो र हिन्दुधर्म भित्र रहुन्जेल यो मान्यतालाई इन्कार गर्न सकिदैन । थरका आधारमा मात्रै हिन्दु हुने भए व्राह्मण जातीलाई बुझाउने 'शर्मा' थर समाएर क्रिश्चियन पादरी बनेका यहीं भेटिन्छन । त्यसैले खस दलितहरू पनि बाहुन हुन भन्ने मान्यता अरु तीन समूहले दिनु पर्छ भन्ने मेरो जिकिर हो । जसरी भगवान देखि मानिस सम्म सबैले क्षत्रिय बाट तपोबलले बनेको विश्वामित्र व्राह्मण समूहलाई व्राह्मण मानिदिदा पनि वशिष्ठ व्राह्मण समूहले नमान्दा सम्म उनीहरू व्राह्मण बन्न सकेनन त्यसरी नै खसबाहुन समाजले नमानुन्जेल अरु जोसुकैले मान्यता दिए पनि खसदलित बाहुन समाजमा पस्न सक्ने छैनन । त्यसैले खस दलितले जनै पूणिर्माको डोरो बाँधिदिएनन भनेर बाहुन कुटुनु भन्दा बाहुन समाजको हुँ म भनेर दावी गर्नु बढी फलदायक हुन्छ र खसबाहुनले पनि आफ्नो एउटा अंगलाई काटेर फाल्नु भन्दा त्यसलाई आफूमा समाहित गराउन श्रेयकर छ । हिन्दु बिचको जातिय विभेद यसरी मात्रै मेटिदै जान्छ , कटुता बढाएर होइन ।

जोरपाटी - १
काठमाडौ

prem amar? - poem

के छ अमर ?  

थोपा थोपा पानी बाढी बन्यो कसरी ?
 मन्द शितल हावा आँधी बन्यो कसरी ?
जुगौँदेखि अडेको तारा टुट्यो कसरी ?
सधैँ गर्छु भनेको मायाँ छुट्यो कसरी ?
पाइतालाले आफ्नै बाटो मेट्यो कसरी ?
सुख खोज्ने मनले दुख भेट्यो कसरी ? '
सत्य हो वाचा' भन्थे फरक पर्‍यो कसरी ?
'अमर छ मायाँ' भन्थे मायाँ मर्‍यो कसरी ?

Thursday, May 29, 2014

विद्युत उत्पादन




हाम्रो विद्युत उत्पादन लक्ष

हाम्रा बिजुलीविज्ञहरूले कहिले कही हामी सोझो हिसाब गर्नेलाई अलमल्ल पारिदिन्छन् । एकातिर घोषणा गर्छन् कि ३ वर्षपछि लोडसेडिङ हुदैन त अर्कोतिर कसरी हुदैन त ? भन्दा यसमा आधरहरू पर्याप्त दिदैनन् । हामीले भेटेसम्मका तथ्याङ्कले अहिले हाम्रो स्थापित विद्युत क्षमता(installed electric capacity) ७०० मेगावाटको हाराहारीमा छ । हिउदका दिनमा लोडसेडिङ हुदा हामीले एक दिनको सक्रिय समय विहान ५ बजेदेखि बेलुका ९ बजेसम्मको १६ घण्टाको समयमा जम्माजम्मी एक तिहाइ समय बिजुली पाएका थियौ । अर्को शब्दमा भनिदा त्यो सक्रिय समयको एक समयमा देशका बिजुलीका एक तिहाइ उपभोक्ताले मात्र बिजुली पाएका थिए । बाँकी दुई तिहाइ उपभोक्ता बिना बिजुली बसेका थिए । सोझो हिसाबमा ती दुई तिहाइ उपभोक्ताको निम्ति हालमो क्षमताको दुई गुणा अर्थात् १४०० मेगावाट क्षमताको आवश्यकता पर्ने देखिन्छ । दिइएका तथ्याङ्क अनुसार तीन वर्षमा वृद्धि हुने क्षमता ७०० मेगावाट पनि नाघ्दैन त बाँकी ७०० मेगावाट आउने ठाउँ पनि छैन । सो बाहेक वर्षेनी १०० मेगावाटका ग्राहक थपिई रहन्छन् । त्यो हिसाबले अर्को तीन बर्षमा ३०० मेगावाट माग यसै पनि बढ्छ । यसरी हामी तीन वर्षमा २४०० मेगावाटको आवश्यकतामा पुगिसक्छौँ । पर्याप्त बिजुली प्राप्त हुन्छ भन्ने जानेपछि घरेलु विद्युत उपकरणहरू वृद्धि हुन्छन् र उद्योगहरूले पनि विद्युत उर्जाको माग गर्दछन् । त्यसैले अर्को १० वर्षमा विद्युत माग कम्तिमा पनि ४००० मेगावाट त हुन्छ नै । त्यसैले यो दशकमा ५ हजार मेगावाट विद्युत उत्पादनको लक्ष राखेर राज्यका स्रोतहरू त्यतैतिर केन्द्रित हुनु पर्छ ।

Tuesday, May 27, 2014

परदेशी माया (कविता)




परदेशी माया

जिन्दगी पनि के जिन्दगी बैँसभरि एक्लै हुने ?
झण्डै आयु बितेपछि त्यही बैसको लागि रुने ।
तनले भोग्न पाएन भने मन मारेर के हुने ?
चालिसेले छुन नपाई बुढोलेझैँ झोक्रिने ।
माया पनि के माया तनले स्पर्श पाएन भने ?
बजारका मिठाई सम्झी घरमा नै मुख मिठ्याउने ।
कमाइ पनि के कमाइ आफैँ भोग्न पाएन भने ?
बबुरो जवानी के जवानी मायाप्रिति लाएन भने
घरको जोडी पनि के जोडी सागर वारी पारी भए ?
कति पो चित्त दुखी हाल्ला भई बिरानो छोडी गए ?
आशा नै पनि के आशा दिन फर्केला कि भनी कुर्ने ?
आशा आशै बैँस बितेको जीवन बितेको पत्तो नहुने ।

Saturday, May 24, 2014

विद्युत र वातावरण



विद्युत र वातावरण

कतिपयले सोच्छन् कि बत्ती बाल्ने पुगे बिजुली भई हाल्यो नि । फर्पिङको बिजुली चन्द्रशमशेरले बत्तीकै निम्ति मात्र बनाएका थिए । यस्तै समझ आज पनि वहुसंख्यक नागरिकहरूमा छदै छ तर आजको युगमा बिजुली बत्ती या घरेलु उपभोगभन्दा उद्योगको आवश्यकता र विकासको पूर्वाधार हो । बिनाबिजुली आजका उद्योग चल्दैनन् र विकास पनि हुदैन । त्यसैले विकासको निम्ति बिजुली प्राथमिकता हो । उद्योगमा विकसित देशहरूमा त बिजुलीले घरेलु प्रयोजनको स्थान पनि पुरै ओगटेको छ । विकसित आधुनिक सहरमा बिजुली नभए जीवन चल्दैन । आफ्नो फ्ल्याटमा पुग्ने लिफ्ट  चल्दैन, खाना पाक्दैन, फ्रिज चल्दैन र घरेलु उपभोगका निम्ति बनाइएका आधुनिक उपकरणहरू कुनै पनि चल्दैनन् । त्यसैले बिजुली प्राथमिकता हो भन्ने यसै छर्लङ्ग छ र नेपालको बिजुली निकाल्ने जलउर्जास्रोत पर्याप्त भएको र खनिजस्रोत नभएकोले जलविद्युत विकास अनिवार्य छ तर कतिपय वातावरणविदहरू जलस्रोत दोहनले पर्यावरण बिगार्छ भनेर यसको विरोध गर्छन् । अवश्य, जुनसुकै दोहनकार्यले वातावरणमा प्रभाव त पार्छ नै तर त्यसले नया वातावरण पनि सिर्जना गर्छ । उदाहरणमा यसरी हेरौँ ।

एउटा ४ जनाको परिवारलाई दुई छाक पकाएर वर्षदिन खान कम्तीमा पनि १ क्युबिक मिटर सुकेको दाउरा चाहिन्छ । त्यो भनेको ४ फुट परिधि(गोलाइ) को ३० फुट उचाईको वयस्क रूख हो । यसैमा अब विश्लेषण गरौँ ।
१ क्युबिक मिटर(क्युमि) सुकेको काठ ताप क्षमता ‍= ५८७०३७‍ बृटिस थर्मल युनिट (BTU) को बराबर=
                      = २३५.५ केजी लिक्विड पेट्रोल ग्यास kg LPG) को बराबर =
                      = १६९६ किलोवाट आवर (kWh) को बराबर
चार जनाको एक परिवारको हिसाबले नेपालमा झण्डै ६० लाख परिवार पर्न आउछ र प्रति वर्ष ६० लाख रूख मासिने रहेछन् । ग्यास लिए पनि १ अर्ब ४१ करोड केजी ग्यास आवश्यक पर्ने रहेछ र प्रति केजीको ५० रूपया दाम राखे पनि प्रतिबर्ष ७० अर्ब रूपयाँ ग्यासमा पर्ने रहेछ । ६० लाख परिवारको निम्ति विद्युत खर्च गरे ६० लाख परिवारको निम्ति दुई छाक खान पकाउन बिजुली  ६०लाख x  १६९६ = १० अर्ब १७ करोड ६० लाख युनिट(kWh) पर्दो रहेछ । ०.५ क्यापासिटि फ्याक्टर(FC) काम गर्दा २३२० मेगावाट(MW) क्षमताको विद्युत केन्द्रले प्रतिवर्ष सो विद्युतउर्जा उपलब्ध गराउदो रहेछ । यही लक्षलाई लिएर जाने हो भने पर्याबरणमा प्रतिबर्ष ६० लाख वृक्ष जोगिने र सो बराबरको इन्धन दहनबाट उत्पन्न हुने कार्बन ग्यासबाट वातावरण पनि जोगिने रहेछ । अभ भन्नोस् यसले बातावरण बनाउछ कि बिगार्छ ?

जोरपाटी, काठमाडौ
२०७१ जेठ १०