Monday, May 27, 2013

खण्डकाव्य



सौदामिनी
—— रामप्रसाद दाहाल
१
आकाशको छाती चिरेर झर्ने
सौदामिनीको चमकै ठूलो छ
स्वर्गिय शौन्दर्य सबै समेटी
बाटो ऊ झर्ने त हिलो गिलो छ ।
झलक्क देखें एक दिन मैले 
सौदामिनीको झरिलो छटामा
कहीँ पनि देख्न नपाइएको 
दैविय शौन्दर्य छिँडी कुनामा ।
सौदामिनी त्यो सखी भेट्न आई
आकाशदेखि तल धर्तीसम्म
छुट्याउनै पो अब पर्छ गार्‍हो 
कुन चाहिं सौदामिनी हो, अचम्म !
आकाशकी त्यो सौदामिनीले
धर्तीकी सौदामिनीलाई छुन्छे
चमक, दमक, रुप र चञ्चलेपन 
आफू मिटाइ उसलाई दिन्छे ।
“आयौ कहाँबाट तिमी यहाँ किन
छोडेर बाटो यस ठाउँ रल्लिन?
के लाज लाग्दैन ठूलो बडो भै
सुटुक्क अर्को घरभित्र च्याउन ?”
चम्केर बम्की, हप्की र दप्की
उसले सकेसम्म डरै देखाई
परन्तु त्यो सावकको फुटानी
के गर्न सक्थ्यो म अटेरीलाई  ?
ऊ झन अटेरी छिडीँका बलैले
सम्भाव्य बाटा सब थुन्न थाली
अटेरी मेरा पाइलाहरूमा
वाचाल जालो ऊ त बुन्न थाली । 
 “मलाई टेर्दैनौ तिमी अटेरी
आमाको गाली खाने भयौ नि
कि भेटछौ बाबासँगको पिटाइ
मैले भन्याछु रुने भयौ नि ।
अस्ति नै यस्तै भुन्टे अटेरी
हेपी मलाई कल गर्न लाग्यो
पायो कि झापट बाको डरैले
आमा पछाडि ऊ लुक्न भाग्यो ।
बाको त झापट सार्‍है ठूलो छ
गालाभरिमा अटाउदैन
एकपल्ट भेटे पछि थाहा होला
बा हेर्ने आँटै पनि आउदैन ।
छन् बाबा ठूला आकाश छुने
द्यौता सँगै कुस्ती परे नि जित्छन्
दुई काँध राखी भुन्टे मलाई
आमा अगाडि ऊ कुद्न सक्छन् ।
ठूलै रहेछौ तिमी पनि  त
बा जत्तिको त कहाँबाट हुन्थ्यौ ?
कुस्ती परे नि बाले नै जित्थे
बाले पछार्दा तिमी पक्कै रुन्थ्यौ ।”
“बा तिम्रो खै त?” – यो प्रश्न सुन्दा
अचम्म मान्दै अनुहार हेरी
म मुर्ख, अज्ञानी, अजानलाई
गम्भीर भै ज्ञान सुनाइ फेरि ।
“कस्ता नजान्ने मान्छेहरू छन
खै, स्वाँग पार्छन् कि बुझ पचाई
के गर्न बस्छ घर छोरो मान्छे
हामी के खान्छौं नगरे कमाइ ?
बा कस्तो भन्ने चिनेकै छैनौ
एक टनको ठेला बा एक्लै ठेल्छन्
कमाइ ल्याए त पुग्थ्यो रे खान
तर, गर्नु पो के ? बा खोप्पी खेल्छन् ।
कमाइ गर्छन् माया नि गर्छन्
परे सबैका सेवामा जुट्छन्
बिर्सन्छु उनका गतिला ती बानी
मातेर आई जब आमा कुटछन् ।”
“आमा पनि काम कहीं क्यै गर्छिन् ?”
कुरो चलेकोमा कुरो उठाएँ 
वाचाल भन्नै थी तयार जस्तै
फटाफटी फेरि जवाफ पाएँ ।
“पुगेन नि त बाको कमाइले
भुन्टे विरामी, बा खोप्पी खेल्ने
बा जाँड घिच्छन आँखा नहेरी
आमाले मात्रै के चाल थेग्ने ?
थाकेर पस्छिन् घर भित्र आमा 
साहुले ज्याला अति थोरै दिन्छ 
आफूले रक्सी घिच्नै नभेटे
त्यै पैसा बाले खोसेर लिन्छ ।
आमा चुलो छेउ बसेर रुन्छिन्
हामी डरैले कुनामा पस्छौं
खुवाउछिन् राति उठाई आमा
आमा नसक्दा निख्लाम सुत्छौं ।
छ्या ! सुद्धि कस्तो ! के काम आयौ ? 
भने त हुन्थ्यो नि म हेरिदिन्थें
आमा नहुदा घरै म थाम्छु
गर्जो त तिम्रो पनि टारिदिन्थें ।”
“बालाई तिम्रो भेट्नु थियो नै
क्यै काम मेरो गर्ने थिए कि?
भेटिनँ भोलितिर आउँला नि
आउने लेठो दोहोरियो नि ।
तर मान्नु के दुख म आउनुमा
मन्दीर जानु दुख भक्तिमा के ?
देवी जहाँ रुप र वाणी, श्रीकी
त्यो ठाउँ पुग्न किन दुख मान्थें ?”
भनाइ मेरो उसले बुझिन
स्वभावले जिल्ल परेर हेरी
खुम्च्याइ आँखा र भनी – “नबुझ्ने 
लाटो कुरा गर्छ बुझूँ कसो’री?”
ढोका थुनी त्यो छिंडीका बलैले
भयो अध्यारो अनि चाल पाएँ
दियो बले झैं कहीं छाती भित्र
शौन्दर्य सम्झी घर फर्की आएँ ।

Tuesday, May 21, 2013

सौरभ लेख

सौरभको लेखः तथ्य र अतथ्य

सौरभको लेख पढ्दा सामान्य त सार्‍है गम्भीर जस्ता लाग्छन् र चाख लाग्दा पनि तर उनका भनाइहरूमा शब्दहरूको खेल हुन्छ र तथ्य भनिएकाहरूका आधार हुदैनन् । कान्तिपुर दैनिकले छापी दिएकै भरमा ती लेखहरू भरपर्दा अनुसन्धात्मक या विश्लेषणात्मक हुनु पर्छ भन्ने केही छैन र  उनकाजस्ता उपमा र उदाहरणलाई मान्ने हो भने म बबुरो नेपालको दाहाल (DAHAL) ले स्विडेनको दाह्ल (DAHL) बनेर त्यहाँको एउटा पुरानो जातिको प्रतिनिधित्व गर्नु पर्ने हुन्छ ।  कुनै दिन उनले नेपालको नाम इटलीको नेपल्सबाट या नेपल्सको नाम नेपालबाट भएको हो भने भने आश्चर्य नमाने हुन्छ ।  भनी दिनु न हो । भनी दिदैमा प्रमाण दिई रहनु या कसैको तोरीबारी फाँड्नु पर्दैन । 

कान्तिपुर दैनिकमा सौरभका लेख छापिने गरेका समयदेखिका सबै लेख हेर्ने हो भने उनी राजावादी भएकोमा शंका छैन र उनले सबै भन्दा बढी गाली गरिने नेपाली कांग्रेस हो ।  पत्रिकाको ग्राहक बनेको खण्डमा एक धार्नी सुन पाइने आशा देखाउने राष्ट्रिय भनिएका दैनिकका विज्ञापनजस्तै - चित्त नदुखोस् पत्रिकाहरूसँग सम्बन्धित मेरा फलोअर्सहरूको - एक पल्ट खगेन्द्र संग्रौला र अर्को पटक सौरभजस्तालाई ओछ्याएर तथ्य र अतथ्यको खेती गर्नु पत्रकारिता हुन थालेको छ । त्यसमा पनि माओवादीको त दोषै नदेख्ने युग पाठक थपी दिएपछि अचुक रंगशाला नै बन्छ गैर्‍ह राजावादी र गैर्‍ह-माओवादीलाई हिलो छ्याप्न ।

मेरा एउटा मित्र भन्छन् - "स्कन्दपुराणका दक्ष प्रजापति भनेका ठिमी या असनतिरका प्रजापतिहरूका पुर्खा हुन ।" प्रमाण के ? भनेर कसैले सोध्यो भने भनी दिन्छन् - "थर मिली सक्यो त्योभन्दा ठुलो प्रमाण के चाहियो ?" सौरभलाई त त्यति प्रमाण पनि चाहिदैन । उनले त बोन शब्दलाई मगरको निम्ति पुन बनाई दिए, तामाङ ब्लोन र बोम्जन भए । छन्त्यालको भलन्जा र गुरुङको पलन्जा, थाकालीको भ्लाम्तन र भ्लेन्तन, लिम्बूको पान्दाक, थारूको बान्तर बनाई दिए । भाषाको यस्तो दुरुपयोग थुप्रै छन् उनका लेखमा । कुनै दिन उनले 'आहालमा बसेर सातु खाएकोले सत्याल भएको हो' भने भने पनि अचम्म नमाने हुन्छ ।

अतथ्यलाई तथ्यसँग मिसाएर अतथ्यलाई तथ्य बनाउने प्रयास हुन्छ सौरभको । विद्वान हुन् सौरभ तर उनको विद्वत्ताको दुरुपयोग सौरभ आफैँ पनि गर्छन् र अरूलाई पनि गर्न खुला छोड्छन् । उनको लेख 'अक्ष षः एक उदारहरण' मा कुनै तुक छैन । उनको लेख उही पुरानो बटाराइ शैलीको लेख हो, अर्थ न वर्थ भाषा चपाइको एउटा नया रूप हो र नेपाली कांग्रेसलाई गाली गर्न तयार गरिएको एउटा विद्वत पर्चा हो । आवश्यक थियो त्यो कान्तिपुर दैनिकलाई, छापी दियो । भोलि नेकपा एमालेलाई गाली गरेर खगेन्द्र संग्रौलाको कुनै लेख छापियो भने अचम्म नमाने हुन्छ या दुवैलाई होच्याएर लेखेको युग पाठक या हरि रोकाको लेख छापिए पनि नौलो हुने छैन ।

Tuesday, May 14, 2013

सत्य लेख



कान्तिपुर दैनिक र हिमाल खबर पत्रिका

आफूलाई श्रेष्ठ ठान्नेहरूमा, चाहे ती अधिनायक हुन् वा लोकतन्त्रवादी या चाहे पदाधिकारी हुन् वा सडकछाप,  जहिले पनि श्रेष्ठताभास टाँसिएर बसेको हुन्छ । सर्वोच्च अदालत तलव खानेहरूमा पनि सर्वोच्च अदालतको श्रेष्ठताको आडमा अरू बाँकि सबैभन्दा आफूलाई श्रेष्ठ ठान्छन् । केही दिन अघि मात्र रिट दर्ता गर्न जानेलाई "सम्बन्धित सँस्थासँग जवाफ लेऊ पहिले" भनेर दरपिठ गरी दिनेले अदालतको मानहानीको रिट दर्ता गरिदा "कान्तिपुर दैनिक, विजयकुमार या सिरोहियाबाट जवाफ लिएर आऊ पहिले" भनेनन् । 'न्यायका नौ सिङ हुन्छन्' भन्थे उखानमा । के दुईटा सिङ पलाएकै हुन् त ?

हाम्रो समाजमा सम्पत्तीवाल, पदाधिकारीले आफूलाई श्रेष्ठ ठान्ने त परंपरा नै हो तर यस्ता परंपरालाई खोतलेर छताछुल्ल पार्ने आफूलाई स्वतन्त्र र लोकतन्त्रवादी ठान्ने संचारमाध्यम पनि यो रोगबाट अछुतो छैन । अरू त अरू दैनिक पत्रिकामध्ये ठुलो ठानिएको कान्तिपुर दैनिक पनि आफ्नो श्रेष्ठताभास देखाउन पछि पर्दैन । पत्रिकाको आलोचना गरेर झुक्किएर पनि तपाईले इ-मेल पठाउनु भयो भने कि तपाईको ठेगाना स्प्याममा पर्नेछ या ब्लक गरिने छ । नक्कली पाठक बनाएर आफूले चाहेजस्तो पाठकपत्र पठाउनु त 'द राइजिङ नेपाल' का पालादेखिनै चलेको हो र कान्तिपुर दैनिकले मात्र यसलाई छोड्ने कुरा हुदैन । आखिर पाठक के भन्छ ? त्यो संपादक मण्डलका निम्ति महत्वपूर्ण होइन । पाठकबाट के भनाउनु पर्छ त्यो महत्वपूर्ण हुन्छ । आखिर सम्पादक पनि त पाठक नै हुन् केवल डाडुपुन्यु हातमा भएका पाठक ।

ठुला पत्रिका ताक न तुकका कुनै सार नभएका लेख पनि छाप्छन् कहिले कहीँ पाठकको स्वादको निम्ति होइन लेखकको सुविधाको निम्ति । पछिल्लो समयमा कान्तिपुर दैनिकमा छापिएको खगेन्द्र संग्रौलाको हलेसी पुगेको लेख, खगेन्द्र संग्रौलालाई मैले सम्मान गर्दागर्दै पनि भन्न कर लाग्छ र उनले यसलाई अपमान नठानुन्, संध्याकालिन पत्रिकामा पनि छापिन योग्य छैन तर लेखलाईभन्दा लेखकको महत्व बुझेर पाठकलाई कोचियो किनकि दलहरूलाई गाली गर्न सौरभलाई अगाडि सारिए झै भोलि गैर्‍ह-एनेकपा(माओवादी) दलहरूलाई गाली गर्नु पर्ने समयमा संग्रौलालाई बोलाइनु पर्ने हुन्छ । एक समय आफूलाई कान्तिपुर दैनिकभन्दा श्रेष्ठ ठान्ने संग्रौलालाई पाठक खन्याएर मानमर्दन गरेको हो कान्तिपुरले । खालि यति मात्रै हो कि तीमध्ये कति वास्तविक थिए कति स्वनिर्मित । त्यो बेला खगेन्द्र संग्रौलाको नाक केशव पिंडाली शब्दमा भन्दा 'स्याप्पै सुकेको' थियो ।
अब मेरा आफ्नै कुरा । म हिमाल पत्रिकाको ग्राहक र कान्तिपुर दैनिकको पनि ग्राहक म । पछिल्लो आइतवार मैले 'हिमाल' बिहानभरि कुरेँ, आएन र आएन कान्तिपुर दैनिक पनि । मैले हिमाल कार्यालयमा फोन गरेँ । 'ल सबै कुरा बुझेर फोन गर्छु' - कसैले भन्यो तर न फोन आयो न पत्रिका । दोश्रो दिन त्यही प्रकृया दोहोरियो र तेश्रो दिन बिहान पनि आएन । कान्तिपुर दैनिकले पनि वितरककोमा बुझेर फोन गर्ने भाकामा फोन नम्बर लियो तर न फोन आयो न पत्रिका । दोश्रो दिन त एउटाले भनी नै हाल्यो - "तपाईको म्याद २।४ दिनमा सकिने रहेछ ।" मानौँ कि २।४ दिन मेरो पत्रिका रोकेपछि म वाध्य भएर फोन गर्ने छु र उनले म्याद सकिन लागेको सुनाउन भ्याउने छन् ।
तेश्रो दिन पनि पत्रिका नआएपछि म छिमेकी पत्रिका पसलमा गएँ । पसलेसँग मेरो दोस्ती राम्रै छ र पसल भित्रको कुर्सीमा नै गएर जम्ने गर्छु । मैले 'पत्रिका देऊ न' भन्दा उसले जिस्क्याउने पारामा पत्रिका दिदै भन्यो - "आज फेरि पत्रिका ल्याएन, बा ?"

काकताली भनूँ या अरू केही, त्यही समयमा एक व्यक्तिले २।४ वटा पत्रिका बटारिएको मुठो पसलेलाई दिएर गयो । पत्रिका बटारिएको देखेर मैले सोधेँ - "के हो त्यो बटारिएको ?"

"तपाईहरूकोमा आई पुग्न नसकेको कान्तिपुर हो यो ।" - उसले हाँसेर नै जवाफ दियो ।

"त्यसोभए मेरो हिमाल खबर पत्रिका पनि आई पुग्यो होला नि तिमी कहाँ ?" - मैले जिज्ञासा राख्नै पर्‍यो ।

"केको हतार ? पाँच दिनपछि तपाईकोमा नै आई पुग्छ नि त्यो । २। ४ जनाले पढून् न त्यो बेलासम्म ।" पसले मरीमरी हाँस्न थाल्यो ।

मैले ५५ रूपयाँ घाटा बेहोरेँ नै । हजारौ ग्राहकले दिनहुँ यस्तो घाटा बेहोरेकै होलान् । केवल यो भ्रष्टाचारको जालो सुबथाले भने झैँ संस्थागत भएर कनकमणी दिक्षित र कैलाश सिरोहियासम्म नपुगोस् । यही मेरो कामना छ ।

रामप्रसाद दाहाल
जोरपाटी
२०७० वैशाख ३१

Thursday, May 09, 2013

संवृद्धि १



 शक्ति, सत्ता र सम्पत्ती -१
मानिस जन्मदा ऊ आफूमा केही पनि होइन र ऊसँग केही पनि हुदैन । त्यसैले भनिन्छ - मानिस सर्वदा निरिह र नाङ्गो जन्मिएको हो । तैपनि उसको समय-मुल्य शुन्य भने हुदैन र उसको धेरथोर सम्पन्नता त हुन्छ नै । उसको फोक्सोले काम गर्छ भने पहिलो प्राणीजन्य आचश्यकता उसले पाउछ । जन्मदिने आमा जिउदै छ भने दुधको रस पनि पाउछ उसले । ऊ केही समय-मुल्य भएको परजीवी प्राणी हुन्छ । त्यसै आधारमा ऊ बाँच्नका निम्ति संघर्ष गर्छ र उसको संभावना उसका संरक्षकहरूको समय-मुल्यमा भर पर्छ । 

वयस्कतामा पुगेपछि मानिस पराश्रित हुन छोडेर स्वतन्त्र हुन थाल्छ । त्यहाँ पनि उसको समय-मुल्य उसका पूर्वसंरक्षकको सम्पन्नताको एउटा भाग हुन सक्छ । तर मानिस त्यतिमा नै सीमित रहन चाहदैन । ऊ आफ्नो समय-मुल्यको या आफ्नो सम्पन्नताको वृद्धिमा अथक प्रयाश गरी रहन्छ । यो उसको जीवन संघर्ष हो । यही जीवन संघर्षको क्रममा देखा परेका अन्तरद्वन्दलाई मार्क्सवादीहरू वर्गसंघर्षको नाम दिन रुचाउछन् । औद्योगिक उत्पादन क्रममा विभिन्न व्यवशाय अँगाले पछि मानिसको समय-मुल्य फरक हुने हुनाले एउटा व्यवशायिक समूहलाई वर्ग भनिने मार्क्सवादी परिभाषा हो । अझ सजिलोको निम्ति औद्योगिक उत्पादनका तीन अवयव पूँजि, व्यवस्थापन र श्रममध्ये पूजी र श्रमलाई वर्गको नाममा एक अर्कोको विरुद्ध उभ्याई दिए मार्क्सले । उपभोग्यताको वितरणमा भएका कमीकमजोरीका आडमा  ती दुई बीचको सम्पन्नतालाई दाँजेर औद्योगिक उत्पादनका अभिन्न अंगलाई एक अर्काको शत्रुमा परिणत गरी दिए उनले । उनले यो सोचेनन् कि एउटा अवयव नहुने बित्तिकै औद्योगिक उत्पादन ठप्प हुन्छ । उनले त एउटै व्थक्ति पूँजिपति, श्रमिक र व्यवस्थापक हुने आदिम उत्पादनको व्याख्या गरे अथवा वर्गविहीन र शोषणविहीन साम्यवादमा पूँजीको लगानी कहाँबाट आउछ ? यसको संचालन कसले गर्छ ? पुरै उद्योगको व्यवस्थापन गर्ने को ? यी प्रश्नमाथि उनले गोलमटोल वाख्या गरे । 

कार्लमार्क्सको चिन्तन डेढ दुई सय वर्ष अगाडिका युरोपिय श्रमिकहरूको स्थितिलाई हेरेर शुरू भएको हो । आजका श्रमिकलाई हेरिएको होइन । सोर्‍ह घण्टा काम गरेर पनि उनीहरूलाई खान लाउन पुग्ने स्थिति थिएन । उनीहरूको माग पनि गाँस, बास र कपासमा सीमित थियो । यी तीनै चिजको उपभोगको मात्रा मानिसले चाहेर पनि बढ्न सक्दैनथ्यो । त्यसैले मानिसको आवश्यतानुसार ती चिज उपलब्ध गर्न सम्भव थियो । काम त मानिसको क्षमताभन्दा बढी लगाउन यसै पनि सकिदैन । त्यसैमा नै "मानिसलाई आवश्यकता अनुसार, मानिसबाट क्षमता अनुसार" को सिद्धान्त आधारित छ ।

मार्क्सले संपत्ती र पूँजिको व्याख्या गरे, सम्पन्नताको गरेनन् । उनले कमाइको व्याख्या गरे, समय-मुल्यको गरेनन् । हो, पूँजीको शोषणबाट सम्पत्ती आउछ र केही सम्पन्नता पनि दिन्छ । पूँजिले शोषणबाट पूजिको मालिकको सम्पन्नता वृद्धि नगरी दिने हो भने त्यो पूँजि केवल भविष्यको निम्ति लगानी भएर बस्ने थियो । तर सम्पन्नता संपत्तीबाट मात्रै आउदैन । त्यत्ति नै सम्पन्नता शाशनको हालीमुहालीमा बस्ने सत्ताधारीले पनि पाउछ र झन हातमा बन्दुक हुने शक्तिवालाले त त्योभन्दा बढी पाउछ । यसको उदाहरण, साम्यवादतिर लम्केका भनिएका माओको चिन र किमको उत्तर कोरियालाई नै लिन सकिन्छ । आन्तरिक मंगोलियाको एउटा किसान या संघाइको पेटीको सुत्ने एउटा गैर्‍हआवासिय श्रमिक र महलमा सुतेर वासमतीका भुजा खाने चिनिया कम्युनिष्ट पार्टीका अध्यक्षको हैसियत(सम्पन्नता) एकै हुदैन । झन उत्तर कोरियामा किम् परिवार त राजपरिवा नै भई हाल्यो । उसको सम्पन्नताको तुलना गाउँको आधापेट खाने किसानसँग गर्नु त्यो किसानको घाउमाथि नुन थप्नु मात्रै हो । त्यसैले समय-मुल्यको अन्तरलाई न्यूनिकरण गर्न सकिन्छ, निमिट्यान्न पार्न संभव छैन । मानिसलाई संपन्नतावृद्धिको मौका दिइएन भने मानिसले विशेष प्रयाश गर्नु पर्ने आवश्यकता ठान्दैन र विशेष प्रयाश विना मानिस र समाज दुवैको प्रगति हुदैन किनकि आजको मानवसभ्यता गाँस, वास र कपासमा सीमित छैन ।

Monday, May 06, 2013

व्यंग्य




चारचतुरमान्य लोकमान

जति गफ लडाए पनि, जति आफूलाई धुरीमा चढाए पनि हामी भारतिय सँस्कृतिमा हुर्किएका प्राणी हौँ । हिन्दुहरूका त ३३ कोटी देवता नै भारतवर्षमा छन् भने हिमालमा बस्ने बौद्धधर्मावलम्वीहरू समेत लुम्बिनी दर्शन गर्न ओर्लीयो कि भारतको बौद्धगया नपुगी तीर्थाटनको फल पाउदैनन् । अरू त अरू, शैली पनि हामी विहारीशैली मन पराउछौ र त्यसैलाई अपनाउछौँ । त्यसैले हाम्रो, राजनीति मात्रै होइन, सँस्कृति पनि भारतपरस्त छ भन्दा अत्युक्ति नहोला । फेरि खान नपाएर अनिकाल पर्दा झर्ने ठाउँ पनि त्यतैतिर हो र रोटीबेटीको नाता पनि त्यतै तिर पर्छ । रिस उठ्यो कि सुरुङयुद्धको घोषणा पनि त्यतैतिर गर्छौ र आफू लुरे भइयो भने "प्रभू ! रक्षा गर" भन्दै लम्पसार पनि त्यतैतिर पर्छौँ । तैपनि भारतप्रतिको हाम्रो सोचाइ भने छोटो छ । हामी भारत भनेको काश्मीरदेखि कन्याकुमारीसम्म छ भन्ने बुझ्दैनौ । हामीले अहिलेसम्म बुझेको भारत त्यही विहार हो । तर हेर्‍यौँ भने उत्तर भारतभन्दा दक्षिण भारतको सँस्कृति उच्च भएकाले त्यसलाई पछ्याउनु पर्छ भन्ने लाग्छ मलाई । दक्षिण भारतले मान्यजनहरूलाई सधैँ सन्मान गर्छ । बाबुको नामसँग आफ्नो नाम जोडेर "म बाबुको छोरो हुँ" भनेर गर्व गर्छ । हरिदासको छोरो मुकुन्दले आफ्नो नाम 'हरिदास मुकुन्द' राख्छ । अझ आफ्नो गाउँको नाम, आफूलाई सधैँ संरक्षण दिने धर्मपिताको नाम जोड्छ आफ्नो नामसँग । हाम्रो देश संचालनको ठेक्का लिएका चारचतुरले सबैको कल्याण गर्ने, हाम्रो रक्षामा सधैँ तत्पर हुने र हाम्रा लागि नभई नहुने लोकमानलाई हाम्रा अगाडि उभ्याई दिएका छन् । हामीले पनि आफ्नो नाममा ती अलौकिक दिव्यपुरुषको नाम जोडेर दक्षिण भारतियले झै उनलाई सन्मान गर्नु पर्छ भन्ने म ठान्छु । त्यसैले यसको थालनी यो देश चलाउने चारचतुरका नामबाट शुरू गर्छु ।

१.लोकमान पुष्पकमल
२.लोकमान सुशिल
३.लोकमान झलनाथ
४.लोकमान विजयकुमार

फेरि माओ, लेनिन, स्तालिन, गान्धी, पिनोसे आदिको नाम राखेर दलको गरिमा बढाउन सकिन्छ भने यो मौकालाई पनि हामीले उम्कन दिनु हुदैन । त्यसैले दलहरूको गरिमा बढाउनका लागि दलहरूको नाममा पनि निम्न परिवर्तन गर्नु आवश्यक देख्छु म ।

१.एकिकृत नेपाल कम्यनिष्ट पार्टी (माओवादी-लोकमानवादी)
२.नेपाली कांग्रेस (लोकमानतान्त्रिक)
३.नेपाल कम्युनिष्ट पार्टी (एकिकृत मार्क्सवादी-लेनिनवादी-लोकमानवादी)
४.मधेसी जनअधिकार फोरम (प्रजातान्त्रिक-लोकमानतान्त्रिक)
५.संघिय मधेस मञ्च (लोकमानमञ्च)

समय र स्थानको अभावले अरू नेता, नागरिक र दलहरूको नाम यहाँ राख्न नसकेकोमा क्षमाप्रार्थी छु म । यसमा मेरो अनुरोध छ कि देश संचालक हाम्रा चारचतुरको मनोकांक्षा अनुरूप सबै नागरिक र दलहरूले आफ्नो नामसँग चारचतुरमान्य लोकमानको नाम सधैँ नै जोडेर आफ्नो देशको नाम उज्वल राखौँ ।


राम दाहाल
जोरपाटी, काठमाडौँ
२०७० वैशाख २३