मानव विकासमा संवृद्धि
नुनिलो
माहासागरमा एउटा जीवाणुको उत्पत्ति शायद घटनावस भयो होला तर उसको वंशवृद्धि भने गुणनवर्गको
अनुपातमा भयो । उसका वरिपरि पर्याप्त खाद्यसामग्री थियो तापनि बलियो र छिटोले
त्यहाँ पनि अरूलाई लखेटेर आफू पहिले खान्थ्यो । भाले र पोथीको विकास भएपछि त
बलियोले प्रजननको अधिकार पनि आफूमा सीमित राख्न चाहन्थ्यो र आफ्ना प्रतिद्वन्दीलाई
लखेट्थ्यो पनि । पशुका त कुरै छोडौँ, आदिम मानिस पनि यस्तै आचरण देखाउथ्यो । मानिसको
मानसिक विकास हुन थालेपछि मात्रै मानिसमा अरू प्राणीभन्दा फरक आचरण देखा पर्न
थाल्यो ।
कतिपयले भन्छन्
- आदिमयुगमा आदिम साम्यवाद थियो; सबैले आफ्नो सामर्थ्य अनुसार शिकारमा सहभागिता जनाउथे
र आफूले खान सक्ने लिएर खान्थे । अवश्य नै पर्याप्त र छताछुल्ल शिकार पाउदा त त्यो
सम्भव थियो होला तर कम मासु भएको दिन बलियो मूली आफू भोकै बसेर अरूलाई पक्कै
बाँड्दैनथ्यो । परिवारका बलिया सदस्य पहिला अघाउथे अनि मात्र कमजोर आइमाई र केटाकेटी
त्यसमा भिड्थे । 'आवश्यकता अनुसार' को सिद्धान्त अधिकताको समयमा मात्र सम्भव छ,
न्यूनताको समयमा होइन ।
भोजनको अधिकता
भएको समयमा कुकुर जातिका प्राणी भविष्यका निम्ति खाना गाडेर राख्छन् तर तिनीहरू
पनि भविष्यमा उत्पादन प्राप्तिको जोहो गर्दैनन् । मानिस भने गर्छ । एउटा आदिम
मानिसहरूको समूहले एउटा बाख्राको पाठो फेला पार्छ र त्यसलाई तुरुन्तै मारेर खानुको
साटो त्यसका सन्तानवृद्धि गर्नतिर लाग्छ । अथवा, जंगली फलको बिरुवा देखेर भविष्यमा
फल पाउने आशामा बिरुवा ल्याएर आफ्नो ओडार छेउमा रोप्छ । किन गर्यो उसले त्यो लेठो
? किनकि, पाठो पोलेर खाँदा त्यो समयको भोक मर्थ्यो र फल खाए उसको वर्तमान पूर्ति हुन्थ्यो तर
भविष्यको लागि उसको जोहो थिएन । ऊ भोलिको दिन आजभन्दा बढी सुरक्षित होस्, भोलि कम
दुख होस् र छिमेकको ओडारमा बस्ने समूहभन्दा आफ्नो परिवार बढी सम्पन्न होस् भन्ने
चाहना राख्थ्यो । मानिसको यो पहिलो उत्पादनमूलक सन्चितिको सोच थियो र यो सम्पन्नता
वृद्धिको पहिलो प्रयास थियो । त्यो नहुदो हो त न पशुपालन हुन्थ्यो, न खेती चल्थ्यो,
न आजसम्मको विकास नै सम्भव थियो ।
सामन्तकालमा
सामन्ति आधिपत्यको विकास पनि सम्पन्नतावृद्धिको चाहनाबाट नै शुरू भएको हो ।
आदिमयुगदेखि सामन्तयुगसम्म एउटा समूहले एउटा भूमिक्षेत्र ओगटेर बसेको हुन्थ्यो ।
त्यहाँ खेती सामुहिक हुन सक्थ्यो या एउटा परिवारको निम्ति एउटा सानो टुक्रा हुन पनि
सक्थ्यो । क्रमश ती समूहहरू ठूला हुदै गए र तिनीहरूलाई व्यवस्थित राख्न
समाजभित्रकै एउटा बलियो र जान्ने व्यक्तिलाई जिम्मेवारी दिइयो । उसको काम
समूहभित्र हुने आफसी असमझदारी या झगडा या यस्तै असजिला काम समाधान गर्ने र समाजमा
असुरक्षाको स्थिति देखिए त्यो हटाउने बन्दोवस्त गर्ने हुन्थ्यो । उसको त्यो कामको
लागि समूहले आफ्नो उब्जनीको केही भाग उसलाई दिन्थ्यो । यस्ता कार्यका निम्ति दक्ष
मानिस चाहिने हुनाले ऊ पछिको उत्तराधिकारी सो कार्यको ज्ञाता उसकै परिवारको सदस्य
हुन पुग्ने हुनाले यस्तो जिम्मेवारी पुस्तैनी हुन थाल्यो र क्रमश जमिनको करको
रूपमा परिणत भएर त्यो परिवारको हकमा पुग्यो । समाज प्रदत्त अधिकारको आडमा त्यो
परिवार शक्तिशाली हुन पुग्यो र आफूलाई सामन्त रजौटा या राजा घोषणा गर्यो । अझ
आफ्नो छरछिमेकका सामन्त राजा, रजौटामाथि विजय प्राप्त गर्दै उनीहरूलाई हटाएर या
आफ्नो आधिपत्य स्वीकार गर्न लगाएर ऊ महासामन्त या महाराजा बन्न पुग्यो । नेपाल
होस् या जर्मनी, बेलायत होस् या भारत, फ्रान्स होस् या चीन, सबै राज्यको स्थापना
यसै आधारमा भएको थियो । सामन्त होस् या माहासामन्त सबैको प्रयाश सम्पत्ती, शक्ति र
सत्ता बढाएर सम्पन्नतावृद्धि गर्नु नै थियो । सामन्त र महासामन्तहरूको जमिनमाथिको
आधिपत्यले राज्यहरूको विकास भयो र तीनका सीमानाहरू निर्धारण हुदै गए । आजका
राज्यहरू तिनै सामन्त, महासामन्तहरूका क्षेत्रभूमि हुन् ।
वाष्प इन्जिनको
उत्पत्ती पछि शिल्पले उत्पादन उद्योगको रूप लियो र सहरीकरणको तिव्र विकास भयो ।
सहर र गाउँलाई चाहिने गैर्हकृषिजन्य सामग्री उत्पादन गर्न स्वतन्त्र मजदुरको
आवश्यकता भयो र उद्योगले कृषिमा आधारित जनशक्तिलाई आफूमा तान्न थाल्यो । सीमित
समयसम्म काम गरेर आफू स्वतन्त्र बन्न सक्ने अवसर देखेर कृषिमा आश्रित युवापुस्ता
उद्योगमा स्थानान्तरित भयो । बढी स्वतन्त्रता र सहरी सुविधाको लोभमा कृषिमा आधारित
युवा जनशक्ति उद्योग तिर पलायन भए । रैती र जमिन्दार बीचको संघर्ष त्यसको कारण नै
थिएन । नत्र अहिलेको साम्यवाद उन्मूख(?) चीनजस्तो विशाल राज्यका कृषिमा आधारित
युवा जनशक्ति सामूहिक खेती कम्युनबाट उद्योग तिर पलायन हुनुलाई संघर्षको परिणाम
मान्नु पर्ने स्थिति आउँछ । त्यसैले न अहिलेको पलायन कम्युन विरुद्धको विद्रोह हो,
न त्यो समयको त्यस्तो पलायन सामन्त मालिक विरुद्धको विद्रोह हो । यो त सम्पन्नता
वृद्धिको निम्ति प्रतिस्पर्धात्मक परिवर्तन मात्रै हो । उत्पादन विधिमा परिवर्तन नआई पुरानो विधि छोडिदैन र त्यो विधिमा परिवर्तन प्रविधिले
मात्रै ल्याउन सक्छ । वाष्पचालित इन्जिनको प्रविले उद्योगलाई कृषिभन्दा अगाडि
पठायो ।
पूँजिवादको
विकास वाष्पचालित मेसिनसँगै शुरू भयो । पहिले एक व्यक्तिले केवल एक व्यक्तिले उत्पादन
गर्न सक्ने जति मात्र उत्पादन गर्क्थ्यो भने मेसिनको सहयोगमा उसले कैयौँ व्यक्तिले
उत्पादन गर्न सक्ने जति वस्तु उत्पादन गर्दा उत्पादित वस्तु सस्तो पार्न लाग्यो ।
उत्पादित वस्तुको बिक्रीले लागत मात्र फिर्ता गरेन, पूँजि सञ्चिति पनि हुन थाल्यो
। यहीँ आएर उतपादन विधिका तीन अवयव - पूजि, व्यवस्थापन र श्रम - अलग्ग अलग्ग र
स्पष्ट देखिन थाले ।
उन्नाइसौँ
शताब्दीको औद्योगिक उत्पादन विधिलाई हेरेर कार्ल मार्क्सले पूँजि र श्रमलाई अलग
दुई वर्गशत्रु ठहर्याएर साम्यवादी नया व्यवस्थाको कल्पना गरे । साथै प्रविधिको
प्रयोगबाट समाज परिवर्तनको बाटो छोडेर बलद्वारा समाज परिवर्तन गर्न सकिने धारणा पनि
उनले अघि सारे । बलद्वारा पूँजिपतिको अन्त्य गरिने धारणा अघि त सारे तर अर्को
वैकल्पिक उत्पादन विधि नदेखाएकाले उद्योगमा पूजि अवयवको संरक्षण कसले, किन र कसरी
गर्छ ? त्यो खुलासा गरेनन् । उनले त केवल यति मात्र भने कि यो परिवर्तन सर्वहारा
श्रमिकवर्गको अधिनायकत्वमा हुनेछ र त्यो अधिनायकत्वको नेतृत्व सर्वहारा श्रमिकहरूको
दल कम्यनिष्ट पार्टीले गर्नेछ तर त्यो अधिनायकवाद पौने शताब्दि चल्दा पनि सोभियत
संघ सफल भएन र ढल्यो र चीनले पूँजिवादी बाटो समात्यो ।
कार्ल
मार्क्सको 'सर्वे भवन्तु सुखिनः' को दर्शन सिद्धान्तमा दुई वटा कमीहरू देखा परे,
१. सत्तामा पुगेका अधिनायक सर्वहाराहरूले आफ्नो वृद्धि भएको सम्पन्नता कसरी
छोडलान् ? त्यो उनले वाख्या गरेनन् र २. सर्वहारा अधिनायकवादबाट साम्यवादमा ओर्लने
बाटो उनले देखाएनन् । सत्ताले सामग्री, सुविधा, सम्मान सबै दिने हुनाले सत्तामा
बसेको अधिनायक आफ्नो सम्पन्नता छोड्न तयार भएन । स्तालिनका उत्तराधिकारीहरूलाई
लखेट्ने ख्रुस्चेवको ताल या उनी आफै लखेटिएको घटना या सत्ताधारीहरूलाई लखेट्न
माओद्वारा गरिएका साँस्कृतिक क्रान्ति एउटा अधिनायकत्वाकांक्षीले सत्तामा बसेको
अधिनायकलाई ओराल्ने प्रयाश मात्र भयो । सर्वव्यापी सिद्धान्त देखा परेन । दोश्रो, रुसले
भएको व्यवस्था भताभुंग पारेर कम्युनिष्ट पार्टीको अधिनायकत्वमा तीन चौथाइ शताब्दि
पार गरेर तेश्रो पुस्ता पनि पार त गर्यो तर साम्यवादतिर जाने निकास नपाएर उल्टो
बाटो फर्कियो । चीन, क्युबा, उत्तर कोरिया, भियतनाम, कम्बोडिया सबै यही नियति भोगी
रहेका छन् ।
मार्क्सको
चिन्तन त सही थियो तर उनको चिन्तनको आधार फराकिलो थिएन । उनले एउटै मात्र आयामलाई
अगाडि सारे । 'आवशयकता अनुसार माम' को सिद्धान्त पशुजन्य आवश्यकतासम्म मात्रै
लाग्छ भन्ने सोचेनन् अथवा उनको समयमा भोकै परेका श्रमिकलाई देखेर उनले त्यो
निष्कर्ष निकालेको हुन सक्छ । मानिस त संवृद्धि चाहने प्राणी हो । साधन पर्याप्त छ
भने ऊ सबैलाई पुगोस् भन्ने कामना राख्छ । केही थोरै छ भने मेरो परिवार नछुटोस्
भनेर जोड गर्छ । अति नै थोरै छ भने ऊ आफू बाँच्न चाहन्छ, आफू उपभोग गर्छ । फेरि, पशुजन्य
आवश्यकताको उपभोगको एउटा सीमा हुन्छ जो चाहेर पनि मानिसले नाघ्न सक्दैन । त्यसैले
त्यहाँ 'आवश्यकता अनुसार माम' लागु हुन सक्छ । मानवजन्य आवश्यकताको कुनै सीमा
हुदैन र त्यसलाई आँकलन गर्न पनि सकिदैन । यसै छिद्रमा मार्क्सवादी
अधिनायकवादीहरूले आफ्ना उपभोगका सामग्रीहरूको सीमा बढाए आफ्नो सम्पन्नता वृद्धी गरे
।
संवृद्धि
सिद्धान्तले भन्छ - संपन्नता सम्पत्ती, सत्ता र शक्तिले ल्याउछ । यो त्रि-आयामिक
सुविधामध्ये मार्क्सले सम्पत्ती मात्र वहिष्कार गरे । राज्य शाशनमा बाँकी दुई
वटालाई पनि वहिष्कार गरेर शाशनको अस्तित्व
मेटाउन संभव थिएन । फलतः मार्क्सवादी शाशकहरूले यही छिद्रमा टेकेर आफ्नो सम्पन्नता
बढाए र त्यसलाई छोड्न पनि चाहेनन् ।
मानिस स्वभवत
नै आफ्नो सम्पन्नता वृद्धि गर्न चाहने प्राणी हो । आफूले अरूको भन्दा बढी श्रम,
शिल्प र बुद्धि लगाए पछि त्यसको प्रतिफल पनि ऊ बढी नै चाहन्छ । कामचोर बराबर नै
उसले पाउने हो भने उसले बढी लगाउने नै किन ? विकासको प्रतिस्पर्धात्मक दौडमा जसको
जति देन छ उसले त्यही अनुरूप पाए मात्रै सम्पन्नता वृद्धि हुन्छ, विकास अघि बढ्छ ।
प्राकृतिक विकासको क्रममा प्राणीहरूका बीचमा क्षारसागरदेखि र मानिस बीचमा उसको
उत्त्पत्तिदेखि चलेको प्रतिस्पर्धात्मक दौडलाई रोके पछि अगाडि जाने बाटो पनि रोकिन्छ
र जो छ त्यसैमा भर पर्नु र त्यसैलाई बाँडीचुँडी खानु मात्र विकल्प रहन्छ ।
साम्यवादतिर झर्ने क्रममा भयो पनि यही नै ।
अब विकल्प के त
? त्यसलाई अर्को लेखमा विवेचना गरौला ।
No comments:
Post a Comment