पहिचान
र अधिकार
दुई दाजुभाइको सम्पत्ती हडप्नु
पर्यो भने उनीहरूको कुभलो चाहनेले उनीहरू बीच छुल्याइँ हालेर विभाजन ल्याउछ र
तिनीहरूमाथि आफ्नो अधिकार जमाउछ । दाजुभाइका बीचमा केही असमानता हुनु नौलो कुरा
पनि होइन । त्यस्तो विभाजनले नोक्सानी ल्याउने सधैँ दाजुभाईलाई नै हो । समानता कहीँ पनि छैन र सम्पूर्ण समानता त
कहीँ पनि हुन सक्दैन । यसरी
दाजुभाइ भिडाउनेको आफ्नो निजी स्वार्थ हुन्छ त्यो विभाजनभाट फाइदा उठाउने ।
सामान्य जीवनमा परिवारमा यस्तो समस्या देखा परी नै रहन्छन् । राज्य पनि परिवारको एउटा विशाल रूप
मात्रै हो । त्यहाँ पनि परिवारमा जस्तै असमानता देख पर्दछन् । कही क्षेत्र बीच असमानता
हुन्छ, कहीँ जाति बीच र कहीँ वर्ग बीच । व्यक्ति व्यक्ति बीचका असमानता त असंख्य नै हुन्छन् त्यहाँ ।
राज्यले यस्ता असमानताहरूलाई न्युनिकरण गर्न सक्छ, निमिट्यान्न पार्न सक्दैन तर
यस्तो असमानतालाई नै वैमनश्यताको विज बनाएर विभाजन गर्न र फाइदा उठाउन एक थरी
मानिस, समूह, दल या राज्य नै पनि सधैँ तयार रहन्छन् ।
नेपालको सन्दर्भमा पनि यस्तै
लागु भइरहेको छ । यो देशमा असमानता छन् जातिय, क्षेत्रिय, वर्गिय सबैतिर । ती
असमानताका समाधानका विभिन्न उपायहरू छन् तर वर्गियद्वन्दका पक्षपाती माओवादीहरूले वर्गसंघर्षको साटो जातिसंघर्षलाई
बढावा दिएर आफ्नो स्वार्थको लागि यस्तो असमानताको अपव्याख्या गरेर जातिजाति बीच
द्वन्दको विजारोपण गरे । खसआर्यहरूको विरुद्धमा आदिवासी र जनजाति भावनालाई उक्साएर
आफू सत्तामा पुग्ने प्रपञ्च रचे जसको परिणाम सयौँ वर्षदेखि विद्यमान जातिय सद्भाव
खल्बलियो र जाति बीच द्वन्द बढ्ने संभावना बढ्दै गयो ।
माओवादीको जातिय विभाजनको पहिलो
आधार हो जातिय पहिचान । वास्तवमा के हो त जातिय पहिचान ?
मानिसको उत्पत्तीको समयदेखि
बिभिन्न जातिका मानिसहरू देखा परे जसमध्ये अहिले ककेसियन भनिने नाकचुच्चे आर्यसमूह, नाक नेप्टे
मंगोलसमूह र ओठल्याब्रे निग्रोसमूह तीन प्रमूख पहिचान हुन् आजको विश्वमा ।
उनीहरूको पहिलो पहिचान भन्नु नै उनीहरूको शारीरिक बनोट हो । तर त्यतिले मात्रै
विभाजनको अन्त्य भएन । जो जहाँ बस्यो त्यो क्षेत्रको नाममा अर्को पहिचान शुरू भयो
। ककेसियन युरोपेली भए, भारतिय भए, अरब भए र त्यसरी नै बाँढिए अरू समूह पनि । एक अर्काबाट धेरै टाढा बसेपछि
बोली, लवज, शब्द, व्याकरण सबै नै फरक हुदै गएर एक अर्काले बुझ्नै नसक्ने गरी परिवर्तन
भए । भाषा तेश्रो पहिचान बन्न पुग्यो । फरक बोली, फरक स्थान र फरक वातावरणमा बसेका
मानिसका समूह बीच आचारविचार, रहनसहन, रितिरिवाज पनि फरक बन्दै गए जसले सँस्कृतिको
नाम पायो । यो अर्को पहिचान हो । यतिमा पनि पहिचानको अन्त्य भएन । सबै चिज एकै
हुदाहुदै पनि समूहमा कबिला(clan) भन्ने पहिचान देखा पर्यो । कबिलाभित्र पनि कुन खाल, कसको
सन्तान भन्ने वंशगत पहिचान स्थापित हुन पुग्यो भने प्रत्येक व्यक्तिको 'म फलानो'
भन्ने नाम उसको अन्तिम पहिचान भयो । यसरी हेर्दा म फलानो व्यक्ति हुँ भन्ने पहिचान
नै मूल पहिचान हो र व्यक्तिको परिचय नभए उसलाई अरू पहिचानले कहीँ पनि पुर्याउदैनन् । व्यक्तिको
विकासले मात्रै समूह विकास हुन्छ र व्यक्ति विकासको लागि समयको चालसँगै परिवेश
अनुरूप मानिस पनि परिवर्तन हुदै जान्छ । आधुनिक मानिसको रूप ऊ जहाँ पुग्यो त्यहीँ
अनुरूप ढाल्न सक्ने विशेषता हो ।
एउटा सामान्य व्यक्ति, चाहे ऊ
नेपाली होस् या जर्मन, फ्रेन्च होस् या इन्डोनेसियन, जीवन धान्नको निम्ति कहीँ
अन्जान मुलुकमा पुग्यो भने उसको पुरानो पहिचान रहदैन । उसले त्यहाँको रैथाने
समूहको भाषा, सँस्कृति, अँगालेर आफूलाई त्यहाँको परिवेशमा मिलाउनै पर्छ । त्यो व्यक्तिको
भाषा, सँस्कृति र सँस्कार परिष्कृत भए पनि त्यसलाई उसले त्याग्नै पर्छ, अन्यथा ऊ
त्यहाँ बाँच्न सक्दैन । त्यस्तै एउटा ठुलो जमात २।४ जनाको मात्र समूह भएको
रैथानेहरू बीच पुग्यो भने रैथानेहरू सँस्कृति हराएर आगन्तुकहरूको भाषा, सँस्कृति
रैथाने बन्न पुग्छ । आगन्तुक रैथानमा परिणत हुनु या आगन्तुकले रैथानेलाई परिणत
गर्नु यो प्राकृतिक नियम हो । विजेता सँस्कृतिले विजित सँस्कृतिलाई मेटाउन खोज्छ
तर उसको सफलता उसको समूहको संख्या, उलको सँस्कृतिको स्तर र उसको स्थायित्वमा भर
पर्छ । हुणहरूले रोम त जिते तर उनीहरू त्यही रोमन सभ्यतामा बिलिन भए । साँस्कृतिक
रूपमा उच्च र संख्यात्मक हिसाबले धेरै रोमवासीहरूको तुलनामा उनीहरूको उपस्थिति, र
विजय नै पनि, नगण्य भयो ।
नेपाली समाज पनि अपवाद होइन । हजारौ वर्षको अन्तरालमा
पूर्व, पश्चिम, ऊत्तर, दक्षिण चारैतिरबाट नेपाल छिरेको कुरा इन्कार गर्न सकिदैन ।
राईलिम्बु किरातिहरू उत्तर र पूर्वबाट छिरे । यसरी नै छिरे शेर्पा, तामाङ, भोटे र
लेप्चाहरू उत्तरबाट र मगर गुरुङ उत्तर-पश्चिमतिरबाट नेपाल पसे । त्यहीबाटो समाएर
आएका हुन् खसआर्य भने आदिआर्यहरू दक्षिणबाट पसे । खोज्दै जाने हो कतिपयको
पुर्ख्यौली दक्षिण भारत पुग्न सक्छ, कतिपयको मध्यएसियाको खसक्षेत्र र कतिपयको गोभी
मरुभूमिभन्दा माथि पुग्न सक्छ । यति ठूलो अन्तरालमा मानिस यसरी मिसिदै र फैलदै गए
कि वर्तमानमा नेपालमा एउटा अति सीमित क्षेत्रभन्दा बाहिर कहीँ पनि र कसैको पनि वहुमत
रहेन । त्यसैले कुनै क्षेत्र कुनै पनि जातिको सबै नै साझा बन्न पुग्यो । नेपालको
अहिलेको वास्तविकता यही नै हो र समूह विशेषले कुनै क्षेत्रमा विशेष अधिकार लिनु नै
अरू समूहलाई समानतको अधिकारबाट व़ञ्चित गर्नु हो तर कुनै समूहको भाषा, सँस्कृतिको
विकासको लागि विशेष सुविधा लिने कुरा भने न्यायसंगत देखिन्छ ।
No comments:
Post a Comment