Sunday, December 18, 2005

चिहानडाडा नरसंहार ः शाहीसेनाको निम्ति चुनौती


गाउँघरका धार्मिक जात्रा, मेला बुढाबुढीका निम्ति तिर्थ गर्ने स्थल हुन्छन भने युवायुवतीका निम्ति नाचगान गर्ने मनोरञ्जनका अवसरहरू र केटाकेटीका निम्ति हँसीखुशीका चाहाड । यस्ता जात्राका मध्य रमझममा युवायुवती बिच मर्यादा भित्रका छेडखानी चल्छन, घोचपेच हुन्छन । यो सामान्य कुरा हो । तर त्यसमा कसैले मर्यादाको सीमा अतिक्रमण गर्‍यो भने उसले भनाइ खान्छ र कहिले कही त पिटाइ नै पनि । यस्ता भनाभन या झगडालाई 'जात्रे झगडा' भनिने हुनाले कसैले पनि यसलाई गम्भिरता साथ लिएर प्रतिशोध पट्ट लाग्दैन । भारदार, राजा, महाराजाहरू नपुग्ने तर आमजनताको सहभागिता हुने पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका जात्रा, मेलाहरूको रूप यस्तै हुन्छ जहाँ सबै समान हुन्छन र जहाँ कसैले पनि आफ्नो पदिय मान खोज्दैन र खोजे पनि पाउदैन । नगरकोटको चिहानडाडामा लाग्ने मेला पनि यो भन्दा फरक हुनसक्दैन । त्यहाँ पनि गाउलेको मर्यादा अतिक्रमण गर्ने सिपाही (हरू?)ले अवश्य नै भनाइ या पिटाइ नै पनि खायो । त्यो सिपाहीले 'जात्रेझगडा' भनेर त्यसलाई बिर्सिदिएको भए हुन्थ्यो तर आफूलाई सामान्य नागरिक भन्दा माथिको सिपाही ठान्ने स्वगर्वले उसलाई प्रतिशोध तिर पठायो । सामान्यतः व्यारेकको नजिकै हुने गाउले सँग सिपाहीको गुनासो भए झैं त्यहाँ पनि त्यो गुनासो बोक्ने मानिसले उसलाई उक्साए होलान - 'राजाको सीन्दूर पहिरेको सिपाही छोरोले गाउलेको कुटाइ खाएर आएको !' अति सामान्य त्यो युवालाई यस्तै एउटा सामान्य भनाइ पनि अपराधिक कार्य तिर धकेल्न पर्याप्त भयो होला ।

ब्यारेकको सिपाहीलाई मेलामा जाने छुट दियो कसले ? आधा रातमा सादा पोशाकको सिपाहीलाई हतियार लैजान स्विकृति किन र कसले दियो ? घटनास्थलको प्रहरी मुचुल्का हुनु अगाडि नै शाही सेनाले त्यो ठाउँको सरसफाइ गरेर र गोलीका खोका या यस्तै अरु सामान हटाएर घटनाका दशी, प्रमाण नष्ट गर्‍यो किन ? यी सब कुरा त गठित आयोगहरूले केलाएर जन समक्ष ल्याउला नै तर त्यो भन्दा अगाडि नै चर्को रूपमा संचारका विभिन्न माध्यममा 'मारिने जनजाती तर मार्ने खस, आयोग बनाउने खसहरू र आयोगका सदस्य जम्मै खसहरू' भन्दै आयोगहरूलाई नै अविश्वासको घेरामा तान्न थालिएको छ । अर्को तिर सरकारद्वारा गठित आयोगका अध्यक्षद्वारा प्रस्तुत कतिपय पूर्व प्रतिवेदनहरूमा सरकारले कुनै कारवाही त के ? तिनलाई सार्वजनिक नै पनि नगरेकाले यो आयोग पनि सत्य पत्ता लगाएर कारवाही गर्न भन्दा मुख टाल्न गठित भएको भन्ने त यसै पनि छदैछन । शुरु हुदै शङ्काको दायरामा बेरिएका आयोगहरूमा जनजातीका प्रंतिनिधिलाई सहभागी बनाइएन भने त्यसको औचित्य र तटस्थता प्रमाणित गर्ने काम फलामको चिउरा सरह हुनेछ र आयोगमा त्यो प्रमाणित हुन सकेन भने शाही सेनाको विश्वासनियता धरापमा पर्न सक्छ ।

प्रश्न उठछ - सामान्य विवादले त्यत्रो रूप लियो किन त - यो प्रश्नको उत्तरको खोजीमा सेनाको गठन विधि तिर हेर्नु पर्छ । एउटा काँचो माटो जस्तो १८ वर्षे युवालाई कुनै एउटा आस्थाको संरक्षणको निम्ति पोलेर, पिटेर, ठोकेर पाइन चडाइएको व्यक्तिको नाम सिपाही हो र अनुशाशन र मर्यादाको सीमामा बाँधेर राखिएका यस्ता सिपाहीहरूको समूह नै सेना हो । मध्ययुगिन सामन्तकालमा यस्ता सेनाको आस्था राजभक्ति हुन्थ्यो र उनीहरू राजा र राजाको स्वामित्व भनिने राज्यलाई संरक्षण दिन्थे । रैती, प्रजा या जनता भनिने समूह नासिए अर्को समूहले त्यो स्थान भर्छ भन्ने धारणा थियो त्यो समयमा । तर आजको सिपाही र सेनाको आस्था जनताको सर्वोच्चता हो र सेनाको जिम्मेवारी उनीहरूको संरक्षण गर्नु हो । शाशकको संरक्षण त ऊ जनप्रतिनिधि शाशक भएकोले मात्रै हुने हो । त्यसैले लोकतान्त्रिक शाशन व्यवस्थामा एउटा सिपाहीलाई उसको तालिमको समयमा नै 'तेरो मालिक जनता हो र तँ जनताको सेवक सिपाही होस' भनेर जनताको सर्वोच्चता घोकाइन्छ । हाम्रो शाही सेनाको जवानलाई त 'तँ राजाको सिन्दूर पहिरेको सिपाही होस र देश(राजाको राज्य) र नरेश (राजा)को संरक्षण तेरो जिम्मेवारी हो' भनेर पढाइन्छ । अझ 'राजाको सिपाही कसैको सामु हारेर र्फकदैन, एकको बदला चार दिन सक्नु पर्छ' पनि भनिएको हुन्छ । यही जनता सँग नहार्ने मानशिकताले एउटा सिपाहीले जात्रेझगडालाई आफ्नो अपमान ठान्यो र चिहानडाडामा नरसंहार मचायो ।

सिपाही ब्यारेकमा रहुन्जेल यस्तो मानशिकता सुसुप्त थियो तर सेना सडकमा ओर्लिए पछि त्यो मानशिकता र जनमानशिकता बिच द्वन्द शुरु भएको परिणाम हो यो नरसंहार । यस्ता घटना संचार माध्यमको दृष्टि भन्दा पर जिल्लाहरूमा नभएका होइनन तर राजधानीको संघारको यो घटनाले देशका सारा संचारमाध्यम, मानवअधिकारवादी समूह र राजधानी स्थित विदेशी निकायहरू समेतको दृष्टि एकै चोटी पुगेकोले घटना छताछुल्ल भएको हो र भोलि यस्तै घटना राजधानीको मुटुमा हुन सक्ने सम्भावना सेनाको अहिलेको नै टाउको दुखाइ हो । सेनाले आफूलाई जनसर्वोच्चता मातहतका जनसेवक र जनसंरक्षक सेनाको रूपमा परिवर्तन गर्न सकेन भने सेनाका प्रत्येक व्यक्तिले आफूलाई आफ्नै आमाबाबु, दाजुभाइ, दिदीबहिनी भन्दा परको शाशकको रूपमा मात्र पाउने छन । सोच्ने बेला आएको छ शाहीसेनाका सबैले ।

राम दाहाल
ramdahal@hotmail.com

1 comment:

Anonymous said...

साँचै नै एउटा विचारोत्तेजक लेख हो ।