Sunday, December 11, 2005

पूर्वको एउटा शालिक



नौरङ्गी नखरा देखाएर एउटा पार्टी खोले पछि केशर बहादुर विष्ट त २०४७ साले प्रतिकार समिति जस्तो भिमकाय मंत्री परिषदमा छिरे भने सरकार बाहिर हुदा नै सरकारका अघोषित प्रवक्ता जस्ता कमल थापा, रोशन कार्की या अरु यस्तै पूव पञ्चहरू सरकारमा सामेल हुनु स्वाभाविक भएकोले यो पुनर्गठनलाई अब पूर्व पंच र आफ्नै दलहरूले निकालेका-दुत्कारेकाहरू (वद्रि मण्डललाई छोडेर) को पंच भेला भने हुन्छ । तर यो मंत्री परिषदको औचित्य पुनर्गठन भन्दा पहिलेको मंत्री परिषदको भन्दा बढी भने छैन । चार वटा गतिला गोरु पाइएनन भनेर ५० वटा बोका मियोमा बाँधेर दाइँ कही पनि भएको छैन । तिनीहरूले त बेकार बडकुल्याएर पराल मात्र फोहोर पार्छन । त्यो भन्दा त खलो धनीले एक्लै धान झाँटे धेरै उपलब्धि हुन्छ । यो बारे यति नै ।

पूवांचलको कोशी राजमार्गको धरान आइपुग्दा हामी धरानको भानुचोकमा भानुभक्तको शालिकले ठाउँ पाएको देख्छौं । राजमार्ग या सहरका ठूला चोकहरूमा आफूलाई राजभक्त देखाएर दुनौ सोझ्याउनेहरूले ठडयाएका राजा-महाराजाहरूका शालिक देख्ने बानी परेका नेपाली स्रष्टा प्रति विरलै देखिने यो सन्मानको निम्ति धरानवासी प्रति कृतज्ञ हुनै पर्छ । यो बाटोमा अरु पनि शालिक छन । यो बाटोले पूव-पश्चिम राजमार्गलाई काटने इटहरी चोकमा संवैधानिक राजतन्त्रका संस्थापक राजा वीरेन्द्रको शालिक छ तर यो शालिक गरिब रैती भानुभक्तको जस्तो छाती माथि टुसुक्क होइन, राजसी ठाँटको पुरै आदमकदको छ । त्यो असमानता बनाउनेहरू सँग भएको तस्विरको उपलब्धताले हुनसक्छ या उनीहरूले जुटाउन सकेको रकमको कारणले पनि । यो राजमार्गको अन्त्यको ५ किलोमिटर उत्तर बिराटनगरको महेन्द्र चोकमा पंचायत व्यवस्थाका प्रवर्तक राजा महेन्द्रको शालिक छ । बाबुछोरा राजाहरूको शालिकमा प्रत्यक्ष त्यति ठूलो अन्तर नदेखिए पनि राजा वीरेन्द्रको शालिकको नजिकै प्रत्यक्ष सुरक्षाकर्मी नदेखिने र राजा महेन्द्रको शालिकको १० मिटर मात्र पर संगिन सहितका सुरक्षाकर्मी तैनात देखिनाले शाशकवर्गले त्यो शालिक बढी असुरक्षित अनुभव गरेको हुनु पर्छ ।

यही राजमार्गमा सुनसरी र मोरङको सीमानामा दुहुवी भन्ने सानो बजार छ र बजारको पुछारमा सीमानाकै छेउमा सडकको विचमा भूपालमान सिं कार्कीको शालिक छ जसको नाम कतिपय इटहरीका युवाहरूलाई पनि थाहा छैन । त्यो शालिक किन त्यहाँ ठडियो - यो प्रश्नको जवाफ धेरैले दिन सकेनन र जसले दिए उनीहरूले यति मात्र भने - 'यो बजार उनले बसाएका रे ।' दुई राजाका बिचको यो शालिकको अर्को औचित्य कसैले दिएन ।

अमेरिकीहरू पहाडमा खोपिएका तीन मूर्तिलाई देखाएर गर्व साथ भन्छन - 'यी हाम्रा लोकतान्त्रिक गणतन्त्रका संस्थापक र संरक्षक हुन ।' त्यसै गरी भारतियहरू एउटा जिर्ण्र्ााय बुढाको शालिक अगाडि निहुरेर आदर साथ बरबराउछन - 'पिता † हाम्रो स्वतन्त्रताको लागि हामी तपाई्र प्रति रिणी छौं ।' सिंहदरबार अगाडि पुग्दा प्रत्येक नेपालीले भन्न सक्छ - 'उनी नभएको भए आजको नेपाल बन्ने थिएन ।' आफ्नो घर भित्र बाबु बाजेको आदमकद मूर्ति नै स्थापना गरे पनि कसैको चासोको विषय हुनसक्दैन तर र्सार्वजनिक स्थानमा ठडिने शालिकले त देशको, जनताको प्रतिनिधित्ज गर्छ । त्यो स्थान त सम्पर्णा देशवासीको भलोको निम्ति कार्य गर्ने सन्त र बहादुरहरूलाई दिइन्छ र यसको अन्यथा प्रयोग भनेको शक्ति र अधिकारको दुरुपयोग हो । यसै भनेर होला कुनै समयमा राजधानीका चोकचोकमा ठडिएका राणाशाशकका शालिकहरू कुनाकुनमा लगेर खाँदिए ।

राजा-महाराजाहरूका शलिक त शक्ति र सत्ताका प्रदर्शन हुन र शक्ति र सत्ता अन्त्य भए पछि राणाशाशकका शालिक झैं कुनामा मिल्किएर बस्दछन । संसारकै इतिहास यही भन्छ । त्यसैले ती शालिकका बारेमा अरु औचत्यको आवश्यकता पर्दैन । भूपालमान सिं कार्कीको शालिक भने ठडियो किन ? बस्ती बसाल्दैमा सार्वभौम नेपालीको छाती जस्तो राजमार्ग र सडकमा शालिक उभ्याउन पाइने भए अनगिन्ति ठडिने थिए शालिकहरू यो देशका बस्तीहरूमा । तर वास्तविकता त्यो भन्दा धेरै परको छ ।

भूपालमान सिं कार्की एउटा सामन्त हुन भन्ने कुरामा त कसैको दुई मत हुन सक्दैन । सामन्तहरूको काम जमिन आवाद गराउन बस्ती बसाल्नु, ती बासिन्दाले उब्जाएको मध्ये धेरै आफूले लिनु हो । आफ्नो र आफू समान सामन्तहरूको उत्पादन भण्डार गर्न र बेचबिखन गर्न गोदाम बनाउने र काँटा राख्ने काम गर्छन मूल सामन्त र कार्कीले सो भूमिका पुरा गरेका पक्कै हुन । दुहुवी बजार यही प्रकृयाको उपज हो । त्यो भन्दा पनि अझ भूपालमान सिं स्थानिय सामन्त भारदार प्रतिनिधि हुन । उनले राजसभाको अध्यक्षता झण्डै आधा शताब्दि सो भारदारी प्रतिनिधित्व गरे वापत पाएका हुन, कुनै राजनैतिक, सामाजिक या वौद्धिक गरिमाबाट होइन । तिनै सामन्त भारदारको प्रतिनिधि प्रतिमा स्थापना गराउने भारदारको चाहनालाई ऋषि धमलाको डबलीमा मात्र 'लोकतन्त्र' भनेर कुरा छाँटन सक्ने सामन्त सँस्कृतिका दलिय नेताहरूले भूपालमान सिं पुत्रलाई सरुवा र बढुवा गराउन कानुन नै मिचे झैं सार्वजनिक भूमिमा भूपालमान सिंको शालिक ठडयाउने स्विकृति दिए । एउटै सामन्त सँस्कृतिमा हुर्किएकाले जतिसुकै 'सीताराम कहो' भनेर घोके पनि जख्खु विरालोले समात्दा ती नेताहरूले 'क्याँक' बोलेर स्विकृतिमा सहीछाप गरे ।

लोकमान सिं सरुवा-बढुवा, भूपालमान सिं शालिक स्थापना यी व्यक्ति वा घटना होइनन, सामन्त सँस्कृतिमा लोकतन्त्रको कोठे हौवा बोक्ने अर्को एउटा विकृत सँस्कृति हो जो सामन्त सँस्कारबाट उम्कन सक्दैन । त्यो सँस्कारबाट उम्कन त कि दलित, पिडित परिवारको एउटा गुमनामले उठेर आउनु पर्छ या कृष्ण पहाडीले झैं आफ्नै दिदी या बहिनीको जागिर सिफारिस गर्न इनकार गरेर 'नामर्द, मुर्ख, अव्यवहारिक' आदिले गरिने पुरै परिवारको भर्त्सनालाई सुन्दै त्यही परिवारमा शिर निहुराएर दुई छाक खानु पर्छ र मुख छोपेर सुत्नु पर्छ । त्यसैले 'यो शालिकलाई त्यहाँ ठाउँ छैन, यसलाई आफ्नो निजी जमीनमा लैजाउ या यसलाई बुढी खोलोमा लगेर सेलाइने छ' भन्न त त्यहींको त्यस्तो तेश्रो पुस्ता उठेर भन्नु पर्छ, अनि मात्र थालिनेछ तेश्रो पुस्ताको आन्दोलन, त्यसले मात्र आन्दोलनको सुनामी र युग परिवर्तनको आँधि ल्याउन सक्छ । चुनौती हो भूपाल मान सीं कार्कीको शालिकको अस्तित्व वर्तमान दुहुवीको निम्ति, सुनसरी र मोरङको निम्ति र पुरै यो देशको अस्मिताको निम्ति । यही विकृति नै हो २०४६ सालका प्रतिकार समितिका उग्र निरञ्जन थापा, कमल थापा जस्तालाई २०४७ सालको सम्विधानका हामी संरक्षक हौ भनेर कुर्लन सक्ने सामर्थ्य दिने र प्रकाश कोइराला, राधाकृष्ण मैनाली, दुर्गा पोखरेल जस्तालाई सत्ताको भतेरमा सामेल गराउने । अब पनि तेश्रो पुस्ता नउठने हो भने भूपालमान सिं कार्कीको शालिक त्यही उभिएर हरेक नेपालीलाई गिज्याइ रहनेछ ।

राम दाहाल
ramdahal@hotmail.com

2 comments:

Anonymous said...

I really enjoyed looking at your site, I found it very helpful indeed, keep up the good work.
»

Anonymous said...

Super color scheme, I like it! Keep up the good work. Thanks for sharing this wonderful site with us.
»