Monday, November 28, 2005

अमलेख पछिको समाज



'हिन्दु राजाको आदेश सम्विधान सरह' भन्ने महान्यायाधिवक्ताको अभिव्यक्ति दाशताबाट मुक्त भए पनि दाशता स्विकार गर्ने समूहको सामुहिक प्रतिनिधि आवाज हो या दाशता स्विकार गराउने एउटा कडी हो भन्न गाहारो छ र यस्तो अभिव्यक्ति दिएर उनी अपराधि बन्छन कि बन्दैनन त्यो निर्णय गर्ने जनताको विशेषाधिकार हो । त्यसैले म त्यता तिर जान चाहन्न र केवल दाश उन्मुक्ति पछि जनमानस कस्तो हुन्छ? त्यो मात्र प्रस्टयाउने जमर्को गर्दछु ।

यो शताब्दिको शुरु तिर हाम्रो समाजमा तीन थरीका मानिसहकरू भेटिन्थेः १ असीको दशकमा दाशताबाट अमलेख भएर ६० उकालो काटेकाहरू, २ किशोर या युवावस्थामा अमलेख भएर अधवैंशे भएकाहरू र ३ स्वतन्त्र जन्मिएका तिनका सन्तानहरू । तिनीहहरूको बोली व्यवहार पनि तीन थरीको नै हुन्थ्यो । पहिलाहरू स्वतन्त्रता दिएकोमा मालिकहरू प्रति कृतज्ञ थिए तर मालिकको सहारा बिना बाँच्न सकिन्न भनि ठान्थे र उनीहरूमा मुक्ति पछि पनि दाशमनोवृत्ति यथावत हुदा मालिकका दुध चुस्ने नानीलाई पनि 'ख्वामित', 'खसम' आदि दाशानुचित सम्वोधन गर्दथे । मालिकहरूबाट आफ्ना चेलीबेटी माथि दुर्व्यवहार या छोरानाति माथि हातपात हुदा पनि पहिलो पुस्ता त्यसलाई उनीहरूको अधिकार सम्झन्थ्यो भने दोश्रो पुस्ता पनि आफ्नो स्वतन्त्र अस्तित्व अङ्गिकार गर्न नसकेर त्यो देखे पनि नदेखे झैं गर्दथ्यो । दोश्रो पुस्ता सँग केवल 'ए, बाबा, जे भए पनि कमाराकमारी त होइनौ नि ?' यति मात्र भन्ने आँट थियो र थिचोमिचोलाई नचाहेर पनि सहन्थ्यो । स्वतन्त्रता मात्र देखेको तेश्रो पुस्ता भने आफूलाई मालिक जत्तिकै स्वतन्त्र र अधिकार सम्पन्न ठानेर विद्रोही हुने हुदा आफ्ना बुढापाकाबाट गाली र मालिक भनिनेहरूबाट दण्ड-सजाय पनि पाउथ्यो ।

अर्को तिर थिए दाशमालिकहरू जसको पहिलो पुस्ता त्यो स्वतन्त्र जन्मिएकोलाई समेत दाशानुचित व्यवहार गर्दथे भने दोश्रो पुस्ता 'हाम्रै खटनमा बसे पनि कमारा कमारीलाई जस्तो गर्न त कहाँ हुन्छ र ?' भन्ने केही नरम धारणा राख्दथ्यो । मानिसको बेचबिखन नदेखेको दाशमालिकको तेश्रो पुस्ता सबैलाई आफू समान ठानेर आफ्ना बाबु-बाजेको इच्छा विपरित दाश सन्तान सँग घुलमिल भए पनि संस्कार र सँस्कृतिले आफूलाई दाशसन्तान भन्दा कुलिन र श्रेष्ठ भने ठान्दथ्यो ।

नेपालको इतिहासमा मानिसको स्वतन्त्र अस्तित्व स्विकारेर दाशप्रथा अन्त्य गरिए पछि नया विचार प्रवाह भयो र दाश सरह रैती बनेका नेपालीमा स्वतन्त्रताको लागि आन्दोलन शुरु भए । नब्बेको दशकमा त्यसलाई दबाइए पनि २००७ साल आइपुग्दा एउटा मालिकी प्रथाको अन्त्य भयो । सबैले सोचे जनअधिकार आएकै हो तर त्यो आएको अधिकारलाई बिचैमा अपहरण गरियो र चार दशक नेपाली जनता अधिकार विहिन प्रजा भएर अन्धकारको युगमा बसे । वास्तविक प्रजा अमलेख २०४७ सालमा भयो तर त्यसको अनुभव त १५ वर्षनबित्दै अधिकार अपहरण भए पछि मात्र भयो ।

दाशता र अधिनायकवादमा खास ठूलो अन्तर हुदैन । एउटा दाश या एउटा दाश समूहको एउटा मालिक हुन सक्छ र एउटा देशमा एउटा अधिनायक । दुवैले आफै कानुन या नियम बनाउछन, आफै जारी गर्छन र आफै लागु गर्छन । दुवै नै विधि, विधान र कानुन भन्दा माथि राख्छन आफूलाई र आफै आरोप लगाउछन, आफै दण्ड तोक्छन । दुवैको आफ्ना मातहतका दाश या शाशित प्रति जवाफदेहिता हुदैन । यसैकारण नेपाल राज्यको स्थापना देखि २०४७ साल सम्म - डेढ वर्षाई छोडेर - नेपाली जनता आङ्खना निर्वाचित प्रतिनिधि द्वारा शाशित कहिले पनि भएनन । .

२०४७ पछि नेपालको सामाजिक वृत्तमा दाश अमलेखको डेढ-दुई दशक पछिको मनोवृत्ति देखा परेको छ । नेपाली शाशितका बिचमा राजाको अस्तित्व बिना नेपाल र नेपाली जनताको अस्तित्व नदेख्ने पहिलो थरी, संवैधानिक राजतन्त्रको उपस्थितिले शाशन सजिलो देख्ने दोश्रो थरी र राजतन्त्रको उपस्थिति नै जनप्रतिनिधि शाशनको वाधक देख्ने तेश्रो थरी यी तीन थरी बिच वौद्धिक द्वन्द शुरु भएको छ । यो भावनाको विभाजनमा केही उमेरले, केही सँस्कार र सँस्कृतिले, केही सुविधाको उपभोगले आफ्ना आफ्ना भूमिका खेलेका छन । गिरिजा प्रसाद कोइराला, डा.केशरजंग रायमाझी, परशुनारायण चौधरी जस्ता उमेरमा क्रान्तिकारी नेताहरू उमेरका कारणले नाम मात्रका राजाका पक्षपाती छन भने किर्तिनिधी विष्ट, सूर्य बहादुर थापा, सच्चित शमशेर जबरा, भरत केशर सिंह, रमेश नाथ पाण्डे या अरु यस्तै पृथ्वीनारायण्शाह देखि सुविधा खाईपाई आएका ६ थर जस्ताहरू सुविधाका कारणले राजाको प्रत्यक्ष शाशनको वकालत गर्दछन । डा.तुलशी गिरी भने अपवाद हुन । बी. पी. कोइराला र राजाहरूले जतिसुकै सुविधा दिए पनि र बढाइचडाइ गरे पनि र जन्म र नागरिकताले नेपाली भए पनि भावनाले उनी नेपाल हितैषी भन्दा आङ्खनो स्वार्थ्य हितैषी हुन । सुविधा हुदा नेपाली बन्ने र सुविधा नपाउने वित्तिकै आङ्खनो झिटी-गुन्टा बोकेर विदेशिने प्रवत्तिका हुन उनी र नेपाली जनताको अधिकार, नेपालको राजनिति र राजतन्त्र सँगै पनि उनको कुनै लिनुदिनु छैन भन्दा हुन्छ ।

नेकपा एमाले नेतृत्व तहको जम्मै जसो र नेपाली कांग्रेसको दोश्रो तहको नेतृत्ववर्गका धेरै जसो दोश्रो थरीको धारणा बोक्दछन । राजाको हुकुम शिरोपर गर्ने पंचहरूको पार्टी भनिए पनि र डा.प्रकाशचन्द्र लोहानी, कमल थापा, पद्मसुन्दर लावती, रोशन काकी या भुवन पाठक जस्ता हस्तीहरू झण्डै प्रत्यक्ष शाशनका पक्षपाती जस्ता देखिए पनि खेमराज पण्डित जस्ताको एउटा समूह राप्रपा भित्र नाम मात्रका राजा भएको व्यवस्थाको पक्षपाती भएको देखिन थालेको छ ।

२०४७ सालले तेश्रो थरी एउटा ठूलो जमातको तयार गरिदिएकोछ । शाही सेना या माओवादीको बन्दुक होस या दलहरूको झण्डा, सबै बोक्ने समूह यही नै हो । हो, आवेश धेरै छ यसमा तर यो सबै भन्दा चेतनशिल समूह हो । राजाको सिपाही भनेर घोकाए पनि, माओवादी लडाकु भनेर पढाए पनि या दलका अनुशाशित कार्यकर्ता भनेर सिकाए पनि उसले 'म कसैको दाश होइन' भन्ने बुझेको छ र आइपर्ने बित्तिकै आफ्नो अधिकारको निम्ति ऊ युद्धमा होमिन सक्छ । कहिले यो आफ्नै दलका नेता या नाइकेको पिटाइ खान्छ त कहिले विपक्षिको बुट, लाठी र गोली भेटदछ । यो जमात राजधानी या सहरहरूमा मात्रै होइन गाउँ-गाउँका कुनाकुनामा पनि त्यति नै सक्रिय र सचेत छ र भोलिको संघर्षको जिम्मेवार समूह पनि यही नै हो । राजनितिका महारथी हुँ भनेर उभिने डा.गिरी, विष्ट, डा.रायमाझी, या देवकोटालाई सडकमा यही समूहका १६ वर्षो किशोरहरूले जनअधिकार मागेर दिइरहेको चुनौती भिष्मलाई अभिमन्युले द्रौपदीको सारीको मोल मागेर दिएको चुनौती जस्तो लाग्नेछ भोलि र महाभारतको अन्त्यको थालनी अभिमन्युको मृत्युबाट भएको हो । वृद्ध राजतन्त्र र किशोर लोकतन्त्र आफ्नाआफ्ना वौद्धिक हतियार समाएर आमनेसामने भइसकेकाछन । विजय कसको हुन्छ - त्यो आफ्नोआफ्नो मुल्याङ्कन हो ।

राम दाहाल
ramdahal@hotmail.com


No comments: