कतिपय राजावादी र अर्धराजावादी विज्ञहरू प्रश्न गर्छन - के फरक छ लोकतन्त्र र प्रजातन्त्रमा ? एउटा व्यक्तिको नाम रामकृष्ण राखे पनि हरेराम राखे पनि व्यक्ति उही होइन र ? राजावादीहरूबाट यस्तो कथन टेलिभिजनको पर्दा र छापा माध्यममा बराबर सुनिने र देखिने गर्छन । अझ यसलाई बिराटनगरमा गिरिजा प्रसाद कोइरालाले 'राजालाई लगाइने घुर्की' वाक्यांशको प्रयोग गरे पछि त यो घुर्कीको शब्द हो भन्ने पनि देखा परेका छन ।
भाषा मानिसले आफूलाई व्यक्त गर्न सक्ने सशक्त माध्यम हो । त्यसैले भाषामा प्रयोग हुने वाक्य, वाक्यांश, शब्द, शब्दांश, बोलीको आरोह-अवरोह, मन्दता-तिक्ष्णता, अनुहार र अङ्गहरूको हावभाव सबैले एक साथ मिलेर उसको अभिव्यक्तिको अर्थ, आशय प्रस्टयाइ दिन्छन । आमाले हप्काएर या माया गरेर छोरोलाई भनिने चोर शब्द र अदालतको कठघरामा उभ्याएकोलाई इङ्कति गरिने चोर शब्दको प्रयोगमा आकाश जमिनको अन्तर हुन्छ । एउटै शब्दको प्रयोगमा त यत्रो अन्तर आउछ भने एकै चिज दर्शाउने दुई शब्दको प्रयोगले भावार्थ या आशयमा फरक नपर्ने त कुरै हुदैन । इतिहास अनुसार शाह वंशिय राजाले राज्य विस्तारको क्रममा बन्धुहत्याको पापबाट जोगिन गोत्र परिवर्तन गरेका थिए रे । गोत्र परिवर्तनले क्यक्ति त बदलेन तर आशय त बदलियो । त्यसैले प्रजातन्त्र र लोकतन्त्रमा आशय एउटै छ कि छैन - त्यो हेरिनु पछै । दोश्रो, लोकतन्त्र शब्द नेपाली कांग्रेस या कुनै दलले निकालेको होइन र नेपाली कांग्रसले अहिले सम्म पनि यसलाई आत्मसात गरेको छैन, शायद घुर्कीको शब्द नै मानिरहेको होला त्यसका अध्यक्षले भने झैं । वर्तमान नेपाली राजनैतिका आन्दोलनको सन्दर्भमा लोकतन्त्र शब्दको जन्मदाता कुनै एउटा व्यक्ति होइन । कसैले पनि 'यो शब्द मैले प्रयोगमा ल्याएको हुँ' भनेर दावी गर्न सक्दैन । यो त जनसमूह बाट नै 'प्रजा' शब्द प्रति आएको वितृष्णाको उपज हो, आफूलाई प्रजा बनाउने, भनाउने इन्कारी हो । एउटा मानिसको समूहलाई प्रजा, जनता, लोक जे भने पनि त उही हो नि भन्ने धारणा त्यो बेला सम्म सत् हुन्छ जब सम्म त्यो सम्बोधन गर्नेको आशयमा इमान्दारी हुन्छ या त्यो समूहले त्यो सम्बोधनलाई इनकार गर्दैन । वहुमत, अल्पमतको गणना त जनमतमा गए थाहा होला तर आजको सर्न्दर्भमा प्रजा शब्दलाई इनकार गर्ने अथवा, प्रष्ट भन्नु पर्दा, राजाका प्रजा हुने या राजाको शाशन नचाहने एउटा सशक्त जनसमूह देखा परिसकेको छ र लोकतन्त्र त्यो समूहको अवधारणा हो ।
No comments:
Post a Comment