Monday, January 13, 2014

झुल्किइन उनी(कविता)

Tuesday, September 03, 2013


कविता



कही झुल्किइन् उनी 

उनी झुल्किइन् परेवाको जुन जस्तै कही परपर
रूप पनि देखेको छैन मैले
बोली पनि सुनेको छैन मैले
स्पर्शको अनुभूति पनि पाएको छैन  
उनी छन् यतिले नै सन्तोष गरेको छु मैले ।

प्रतिच्छायाको रूपमा टल्केकी छन् उनी
केवल प्रतिध्वनीझैँ बोलेकी छन् उनी
देख्दैमा मोह लाग्ने छालको चालझैँ
क्षितिजमा कोल्टे परेर नाचेकी छन् उनी
सशरीर त उनलाई भेटेको छैन मैले
उनी छन् यतिले नै सन्तोष गरेको छु मैले ।

पूर्णीमाको दिन आउला, उनको रूप देख्न पाउँला
मेरो घरको आँगन जुन ज्योतिले छाउला
बारीका फूलहरू उनको डाहले ओइलाउलान्
पातका घुम्टो ओडेर जुनकिरी लाजले च्याउलान्
पर्खेको छु त्यो दिन मैले तर अहिले
उनी छन् यतिले नै सन्तोष गरेको छु मैले ।

शक्ति, सत्ता र सम्पत्ती(लेख)



शक्ति, सत्ता र सम्पत्ती -१

मानिस जन्मदा ऊ आफूमा केही पनि होइन र ऊसँग केही पनि हुदैन । त्यसैले भनिन्छ - मानिस सर्वदा निरिह र नाङ्गो जन्मिएको हो । तैपनि उसको समय-मुल्य शुन्य भने हुदैन र उसको धेरथोर सम्पन्नता त हुन्छ नै । उसको फोक्सोले काम गर्छ भने पहिलो प्राणीजन्य आचश्यकता उसले पाउछ । जन्मदिने आमा जिउदै छ भने दुधको रस पनि पाउछ उसले । ऊ केही समय-मुल्य भएको परजीवी प्राणी हुन्छ । त्यसै आधारमा ऊ बाँच्नका निम्ति संघर्ष गर्छ र उसको संभावना उसका संरक्षकहरूको समय-मुल्यमा भर पर्छ । 

वयस्कतामा पुगेपछि मानिस पराश्रित हुन छोडेर स्वतन्त्र हुन थाल्छ । त्यहाँ पनि उसको समय-मुल्य उसका पूर्वसंरक्षकको सम्पन्नताको एउटा भाग हुन सक्छ । तर मानिस त्यतिमा नै सीमित रहन चाहदैन । ऊ आफ्नो समय-मुल्यको या आफ्नो सम्पन्नताको वृद्धिमा अथक प्रयाश गरी रहन्छ । यो उसको जीवन संघर्ष हो । यही जीवन संघर्षको क्रममा देखा परेका अन्तरद्वन्दलाई मार्क्सवादीहरू वर्गसंघर्षको नाम दिन रुचाउछन् । औद्योगिक उत्पादन क्रममा विभिन्न व्यवशाय अँगाले पछि मानिसको समय-मुल्य फरक हुने हुनाले एउटा व्यवशायिक समूहलाई वर्ग भनिने मार्क्सवादी परिभाषा हो । अझ सजिलोको निम्ति औद्योगिक उत्पादनका तीन अवयव पूँजि, व्यवस्थापन र श्रममध्ये पूजी र श्रमलाई वर्गको नाममा एक अर्कोको विरुद्ध उभ्याई दिए मार्क्सले । उपभोग्यताको वितरणमा भएका कमीकमजोरीका आडमा  ती दुई बीचको सम्पन्नतालाई दाँजेर औद्योगिक उत्पादनका अभिन्न अंगलाई एक अर्काको शत्रुमा परिणत गरी दिए उनले । उनले यो सोचेनन् कि एउटा अवयव नहुने बित्तिकै औद्योगिक उत्पादन ठप्प हुन्छ । उनले त एउटै व्थक्ति पूँजिपति, श्रमिक र व्यवस्थापक हुने आदिम उत्पादनको व्याख्या गरे अथवा वर्गविहीन र शोषणविहीन साम्यवादमा पूँजीको लगानी कहाँबाट आउछ ? यसको संचालन कसले गर्छ ? पुरै उद्योगको व्यवस्थापन गर्ने को ? यी प्रश्नमाथि उनले गोलमटोल वाख्या गरे । 

कार्लमार्क्सको चिन्तन डेढ दुई सय वर्ष अगाडिका युरोपिय श्रमिकहरूको स्थितिलाई हेरेर शुरू भएको हो । आजका श्रमिकलाई हेरिएको होइन । सोर्‍ह घण्टा काम गरेर पनि उनीहरूलाई खान लाउन पुग्ने स्थिति थिएन । उनीहरूको माग पनि गाँस, बास र कपासमा सीमित थियो । यी तीनै चिजको उपभोगको मात्रा मानिसले चाहेर पनि बढ्न सक्दैनथ्यो । त्यसैले मानिसको आवश्यतानुसार ती चिज उपलब्ध गर्न सम्भव थियो । काम त मानिसको क्षमताभन्दा बढी लगाउन यसै पनि सकिदैन । त्यसैमा नै "मानिसलाई आवश्यकता अनुसार, मानिसबाट क्षमता अनुसार" को सिद्धान्त आधारित छ ।

मार्क्सले संपत्ती र पूँजिको व्याख्या गरे, सम्पन्नताको गरेनन् । उनले कमाइको व्याख्या गरे, समय-मुल्यको गरेनन् । हो, पूँजीको शोषणबाट सम्पत्ती आउछ र केही सम्पन्नता पनि दिन्छ । पूँजिले शोषणबाट पूजिको मालिकको सम्पन्नता वृद्धि नगरी दिने हो भने त्यो पूँजि केवल भविष्यको निम्ति लगानी भएर बस्ने थियो । तर सम्पन्नता संपत्तीबाट मात्रै आउदैन । त्यत्ति नै सम्पन्नता शाशनको हालीमुहालीमा बस्ने सत्ताधारीले पनि पाउछ र झन हातमा बन्दुक हुने शक्तिवालाले त त्योभन्दा बढी पाउछ । यसको उदाहरण, साम्यवादतिर लम्केका भनिएका माओको चिन र किमको उत्तर कोरियालाई नै लिन सकिन्छ । आन्तरिक मंगोलियाको एउटा किसान या संघाइको पेटीको सुत्ने एउटा गैर्‍हआवासिय श्रमिक र महलमा सुतेर वासमतीका भुजा खाने चिनिया कम्युनिष्ट पार्टीका अध्यक्षको हैसियत(सम्पन्नता) एकै हुदैन । झन उत्तर कोरियामा किम् परिवार त राजपरिवा नै भई हाल्यो । उसको सम्पन्नताको तुलना गाउँको आधापेट खाने किसानसँग गर्नु त्यो किसानको घाउमाथि नुन थप्नु मात्रै हो । त्यसैले समय-मुल्यको अन्तरलाई न्यूनिकरण गर्न सकिन्छ, निमिट्यान्न पार्न संभव छैन । मानिसलाई संपन्नतावृद्धिको मौका दिइएन भने मानिसले विशेष प्रयाश गर्नु पर्ने आवश्यकता ठान्दैन र विशेष प्रयाश विना मानिस र समाज दुवैको प्रगति हुदैन किनकि आजको मानवसभ्यता गाँस, वास र कपासमा सीमित छैन ।

Sunday, January 05, 2014

बिजुलीको कथा

४० को द्शकको शुरूतिरको कुरा हो । संखुवासभाको सदरमुकाम खाँदबारीको म बसेको होटलबाट तल झर्दा एक जना महानुभाव मलाई कुरेर ब्सेको कुरा होट्लमालिकले सुनाएर मसँग चिनापर्ची गराए । म बिजुली इन्जिनियर भएकोले उनको भर्खर खाँदबारी पुगेको बिजुलीले चल्ने कुटानीपिसानी मिल चल्न नसकेको कुरा सुनाएर हेरिदिन अनुरोध गरे।हाम्रो व्यवशायमा एउटाले गरेको काममा अर्कोले गएर हात हाल्न हुदैन। मेसिन जडानगर्नेलाई नै भन्नोस्" भन्दा "वहाले त मबाट हुदैन, अरूलाई लगाउनोस्" भन्नुभएको छ भन्दा मैले हेरिदिएँ। कुरा तारजोडाइको सामान्य डेल्टा/वाइको गल्ती रहेछ। मैले चलाई दिएँ र उनले आफ्नो १०/१५ हजार जोगियो भनेर धन्यवाद दिए।कुरा त्यतिमा नै सिद्धियो ।

आज मैले मुगुक १९ लघुजलविद्युत बन्द भएको समाचार पढेपछि त्यो घटनालाई सम्झेँ।कसैको सहयोग वा एक समूहको एक पल्टको जोशबाट निर्माण भएका ती लघुउत्पादक नियमित प्राविधिक सम्भार र मर्मत बिना चल्न नसक्नु स्वभाविक हो किनकी महंगो मर्मत र सम्भारखर्छ ती ३ देखी १३ कि.वा. सम्मका उत्पदकले धान्न सक्ने कुरा थिएन।मेरै गाउँ छेउमा पनि ३० को द्शकमा दिउसो घट्ट र राति बत्ती बाल्ने काम पनि भएको हो । चलुन्जेल चल्यो। बिग्रेपछी गयो ।लघुउत्पादनका योजनाहरू यस्तै झोलाका खोला हुन।

जलस्रोत छ, बिजुलीको पैसा तिर्न जनता तयार छ तर बिजुली छैन।बिजुली बिना आजको युग चल्दैन ।शिक्षा चल्दैन, स्वास्थ्य चल्दैन, उद्योग चल्दैन।अरू त अरू घिटघिट हुदा सास फेर्न चाहिने हावा चल्दैन, प्राणधारक पानी चल्दैन, जीवन धान्ने खाना पनि चल्दैन। अपार जलस्रोत हुने देशमा जलुत्पादन वितरणको विज्ञ योजनकार टोली हुन सक्नु पर्थ्यो त्यो छैन। चन्द्रज्योती भन्दा कति अघि छौ त हामी अहिले ? १०० मेगावाटको जलविद्युत निकाल्ने योजनाकार र निर्माणकर्ताको टोली कहाँ छ? मुगुवासीको  रुवाई हामी बुज्छौं, कसरी ?राजधानी जस्तो ठाउको दैनिक १६ घण्टे सकृयतामा ४ घण्टा बिजुली पाउछौँ त जेठामामाको भांग्राको धोती कान्छामामाको के गति ! हुने नै भयो ।

Wednesday, January 01, 2014

खस बाहुन(लेख)

खस बाहुननेपाल मण्डलको नेपाल उपत्यकामा जयस्थिति मल्लले वर्ण विभाजन गरेका हुन भन्ने इतिहासकारको भनाइलाई मान्ने हो भने त्यो भन्दा पहिले उपत्यकाका राज्यमा जात विभाजन थिएन भन्नु पर्ने हुन्छ । अर्को शव्दमा भनिदा त्यो समयको राज्यभाषा नेवारी बोल्ने समुदायमा हिन्दु प्रवेशले जातिय मान्यता जयस्थिति मल्ल पछि मात्र पाएको हो र नेवार समुदायका गैर्‍हहिन्दुहरू गैह्रनेवार समुदाय बाट छिरेका हुन भन्न पनि सकिन्छ । यसरी एउटा भाषाभाषी अर्को भाषाभाषीमा समाहित हुने कुरा नौलो पनि होइन । तर मैले भन्न खोजेको कुरा भाषाका वारेमा होइन, समाजमा सँस्कार या कुसँस्कारको विकाश र त्यसको निराकरणका उपायमा हो ।हिन्दु धर्ममा जात विभाजन आफै उव्जिएको होइन । यो त हिन्दुधर्मिय पद्धतिले सयौं र अझ हजारौं वर्ष लगाएर समाजमा स्थापित गरिदिएको सँस्कार र सँस्कृति हो । गलत हो वा ठीक ? आफ्ना आफ्ना पक्षकाले जे जस्तो तर्क पेश गरे पनि आजको विश्वमा शुद्र या दलितको परिभाषा दिएर एउटा समुहलाई मिल्काउनु नैतिक र मानविय दुवै हिसाबले अनैतिक र अमानविय हो । तर हजारौं वर्ष लगाएर समाजमा स्थापित भएको कुसँस्कार या कुरिति केही दिन, केही महिना या केही वर्षा नै बदलिन सक्दोरहेनछ भन्ने किरियापुत्रि आगनमा ल्याएर गिडदा पनि मानिसले किरिया गर्न नछाडेका र एकनिष्ठ बाहुनलाई गाई मारेर मासु कोचाउदा पनि बाहुनहरूले गाईको मासु खान शुरु नगरेका घटनाले नै प्रस्ट पारिदिएको छ । एउटा व्यक्तिलाई बल, धम्की र आतंक देखाएर केही क्षण परिवर्तन गरे पनि सिंगो समाजको सँस्कार र आस्था बाट त्यति सजिलै टस बाट मस हुदो रहेनछ भन्ने द्वन्दका समयमा अनुभूत भइ नै सकेको छ । सत्तरी वर्षसम्म धर्म अफिम हो भनेर राज्य द्वारा अपहेलित र नियन्त्रित भएको धर्म नमानी बसेको ठानिएको रुसी समाजमा कम्युनिष्ट शाशन ढलेको भोलि पल्ट नै त्यो समाजका गिर्जा घरका घण्टाहरू पूजिवादी देशका घण्टा भन्दा चर्को स्वरले बजे र त्यहाँका नागरिकहरूको धार्मिक आस्था कुनै पनि पूजिवादी देशको भन्दा कम देखिएन । त्यसैले सँस्कार परिवर्तन त जुग नै लगाउने प्रकृया रहेछ भन्ने यसै बाट बुझन सकिन्छ ।हिन्दु समाजमा गरिनु पर्ने परिवर्तनको लागि हिन्दुधर्मको विशेष स्वरुपलाई बुझन आवश्यक हुन्छ । हिन्दुधर्मको आदिम ग्रन्थ वेदमा व्राह्मणलाई आदि व्रह्मको मुख बाट, क्षत्रियलाई वाहु बाट, वैश्यलाई जङ्घाबाट र शुद्र पैताला बाट उत्पत्ति भएको मानेर व्राह्मणलाई सबै भन्दा उचो स्थान दिइएको छ । त्यही अनुरुप नै हिन्दु सँस्कार, सँस्कृति र पद्धति स्थापित भएको हो । अर्को धर्म मान्न गए अर्कै कुरा नत्र हिन्दु समाजमा बसेर व्राह्मणको धार्मिक श्रेष्ठतालाई नकारिदैन । बरु को व्राह्मण, को क्षत्रिय, को वैश्य या को शुद्र भनेर पुनः परिभाषित गर्न सकिन्छ । गैह्रहिन्दुले समाजमा व्राह्मणको आवश्यकता देख्न र बुझन पनि सक्दैन । हिन्दु समाजमा त जन्म देखि मृत्यु सम्मका सबै धर्म र संस्कार कार्यमा व्राह्मणको आवश्यकता हुन्छ र उसको निर्णय नै अन्तिम मानिन्छ । हिन्दु धर्म अरु धर्म जस्तो आस्था मात्र होइन, यो त धर्म भन्दा पनि सामाजिक र व्यक्तिगत जीवन पद्धति हो, संस्कार विधि हो ।यस्तै पद्धति नेपालका पहाडी हिन्दु समाजमा पनि छ । पहाडी बाहुन (जसलाई कतिपय नृवंशशास्त्रीहरू खस बाहुन भन्न रुचाउछन र म यही शव्दावली प्रयोग गर्न चाहन्छु) हरूको उत्पत्ति खोजिगर्ने सबै वंशावलीहरूलेवर्तमान नेपाल भित्र आफ्ना पर्खाहरूको प्रवेश महाकाली पारि बाट भएको हो भनेर टुंग्याएकाछन । त्यो भन्दा परको थलो भारतको कान्यकुव्ज र सारस्वत क्षेत्र तिर औल्याउछन । आफू ती स्थान बाट नआएकै भए पनि ती क्षेत्र बाट आएको धर्म अँगालेको हुनाले उनीहरूले आफूलाई त्यता तिर जोडनु आवश्यक ठाने ।पहाडी हिन्दुहरूको वर्ण विभाजन पनि बढो अनौठो छ । बाहुनहरू चुच्चो नाक गरेका आर्य नश्लका देखिन्छन भने नेप्टा नाक हुने मंगोल समुदायलाई वैश्यको समुदायमा हालेका छन । दई थरी छेत्री मध्ये एका तिर बाहुन बाबु र मंगोल आमाको सन्तानलाई खत्रीको दर्जा दिएर छेत्री समान बनाएका छन भने अर्को तिर मंगोलियन नश्लका ठकुरीहरू आफूलाई उचो दर्जाको छेत्रीमा दावी गर्दछन । शुद्ध मंगोल नश्लका छेत्री हिन्दुहरू भारतिय आर्य मूलका हुन नसक्ने हुनाले हिन्दर्धर्मको विस्तारको क्रममा बाहुनहरूले आफ्नो संरक्षण र सुरक्षार्थ तत्कालिन जनजातीका सानाठूला सबै शाशक वर्गका सदस्यलाई तागाधारी व्राह्मण कर्म गराएर क्षत्रिय वर्ण दिई धर्म विस्तार गरेको हुनु पर्छ । पुरातन सिन्जा क्षेत्र मानिएको अहिलेको कर्णाली र सो आसपासको क्षेत्रमा जनजातीहरूको तुलनामा बाहुन, अझ क्षेत्रीहरूको, वाहुल्य त्यतै तिर सङ्केत गर्दछ ।पहाडे हिन्दु समुदायको शुद्र वर्णमा राखेर अछुत मानिएका कामी, सार्की र दमाई अपवाद वाहेक मूलतः आर्य नश्लको देखिन्छ । यिनीहरूको भाषा बाहुनको जस्तै खस नेपाली भाषा हो । यिनका रिति, रिवाज, चाल, चलन, कर्मकाण्ड सबै नै खस बाहुनका जस्तै छन । अरु त अरु, त्यो समुदायको गोत्र र थर पनि बाहुन सँग मिल्छन र जहाँ बाहुन छन त्यहाँ मात्र उनीहरूको उपस्थिति छ र बाहुन द्वारा संरक्षित छन भने यसलाई बाहुनको एउटा हाँगो मान्नुको विकल्प पनि देखिदैन ।हिन्दुधर्ममा मानिस मात्र होइन सबै प्राणी नै ऋषि कश्यपका सन्तान मानिन्छन र सबै जीव कश्यप गोत्री हुन भन्ने गरिन्छ । कालान्तरमा वंश वंशमा युगपुरुषका नामका आश्रमहरू जन्मदै गए पछि तिनै आश्रमका अनुयायीहरूले युगपुरुषको नामका गोत्रहरू लिए । त्यसैले कुनै गैर्‍‍ह हिन्दुले हिन्दुधर्ममा प्रवेश गर्न चाहे या हिन्दुले गोत्र परिवर्तन गर्न चाहे उसले शुरुको काश्यप गोत्र लिन पाउछ । त्यसैले आफ्नो अलग्गै गोत्र हुने खस दलितहरू गैर्‍ह हिन्दु बाट प्रवेश गरेका होइनन । खसहरूमा तागाधारीका मात्र विभिन्न गोत्र छन र त्यति नै गोत्र छन खस दलितका पनि । वैश्य भनिएका जनजातीका त गोत्र हुने कुरा पनि भएन र भए पनि उनीहरू काश्यप गोत्री मात्र हुने भए । उत्तरी भारतका हिन्दु, गैर्‍ह हिन्दुको आफ्नो समूह चिनाउने प्रचलन भनेको थर हो । थर विभिन्न कारणले स्थापित हुन्छन । दुई गोत्रिय बाहुनका कहिले कहीं एउटै थर हुन सक्छ र थर कहिले कही जनजाती सँग पनि मिले पनि सबैको सबै सँग सधैं मिल्छ भन्ने छैन तर खस बाहुन र खस दलितको थर सधै मिल्नु संयोग मात्र पक्कै पनि होइन । त्यसैले खस बाहुनको उत्पत्ती खस दलित बाट हुन नसक्ने हुदा खस दलितको उत्पत्ती खस बाहुनमा खोज्नु पर्ने हुन्छ ।खस बाहुनहरू विजेता राजाले जस्तै आफूलाई चाहिने जति सबै नोकर चाकर, होमे-डोमे आदि लिएर पसेका होइनन । त्यसैले खस दलित उनीहरू सँगै आएका होइनन र खस बाहुनका थरहरू नेपाल बाहिर नपाइने हुनाले तिनीहरू यहीं उब्जिएका हुन भन्न कर पनि लाग्छ । आफूलाई चोखो ठान्ने बाहुनहरूले वाध्यता नभइ दलितलाई आफ्नो गोत्र र थर चलाउन दिन तयार हुने थिएनन र त्यो वाध्यता पनि कि त राजदण्डको भयले कि मायाले मात्र उत्पन्न भएको हुनु पर्छ । सो समयका समाजच्युत दलितलाई बाहुनले गोत्र, थर दुवै दिनु पर्छ भनेर वाध्य गराउन सक्ने सामर्थ्य सो समयको राज्यको थिएन र त्यो आवश्यकता पनि देखिदैन । बाहुनहरूले आफूखुशी स्वविवेकले नै दलितलाई गोत्र र थर दिएको निश्चित छ । तर, कारण के थियो त बाहुनले दलितलाई त्यत्रो माया गर्नु पर्ने ?नेपाल अधिराज्यको मुलुकी ऐन जंग बहादुर कुँवरले स्थापित गरे पनि हिन्दु धर्मव्यवस्था सिन्जा राज्य कालमा पनि थियो र जात च्युत गराउने व्यवस्था पनि थियो हिन्दु धर्मव्यवस्थामा । धर्म छोडने, म्लेच्छ संसर्ग गर्ने, अभक्ष खाने, हाडनाता करणीमा पर्नेहरूलाई जात च्युत गराइन्थ्यो र राज्य विरोध गर्नेहरू पनि त्यो समूहमा पर्दथे । जनजातीमा जातच्युतको व्यवस्था नै नभएकोले राज्यले जातच्युत भनिदिए पनि त्यो लागु हुन सक्ने समाज त बाहुन मात्रै थियो र जातच्युत भएर अछुत हुने बाहुनको जाने ठाउँ पनि कही नहुदा ऊ त्यही बाहुन समाजमा त्यही गोत्र र थर लिएर बस्थ्यो । आफ्नो स्वजन भएकाले बाहुन समाजले त्यसको विरोध गर्ने कुरा पनि भएन । सबै किसिमले खस बाहुन र खस दलितमा समानता देखिनुको कारण यो भन्दा अर्को हुनै सक्दैन ।अब आएर खस बाहुनको परिभाषा भित्र खोजी शुरु गरौं । उपाध्याय र जैशी दुई समूह त यसै पनि बाहुन भित्र परिरहेकै कुरा हो । पितृ सत्तात्मक हिन्दृ समाजमा खत्री छेत्री त बाहुनको परिभाषा भित्र पर्ने नै भए । कुनै समयमा पुर्खा बाहुन बाट च्युत भए पनि बाहुनकै समाज भित्र राखिएका बाहुनका सन्तान पनि बाहुन भन्दा फरक कसरी हुन सक्छन र ? फेरि जुन कारणले सो समयमा उनीहरू जातच्युत भएका थिए आज तिनै कारण बाट बाहुन जातच्युत भएर अछुत बन्दैनन भने त्यो समयको कारणलाई अहिले मान्यता दिनु सरासर वेइमानी हुन्छ । त्यसैले बाहुनका यी चार समूह एकै हुन भन्ने मान्यता स्थापित गर्दा हुन्छ । तर मान्यता आफै स्थापित हुदैनन । मान्यता खोज्नेले मान्यताको दावी गर्नु पर्छ र मान्यता दिन त्यो समाज पनि तयार हुनु पर्छ । उपाध्याय, जैशी र खत्री समुदायले त आफू बाहुन भएको दावी गरेकै हो र त्यो पाएको पनि छ । अब खस दलित मात्र बाँकि रहेकोले खस दलितले पनि आफू खस बाहुन भएको कुरा दावी गर्नु पर्‍यो र अरुलाई मनाउन प्रयाश पनि गर्नु पर्‍‍यो ।शुरुमा नै भनियो – हिन्दुधर्म व्राह्मणमा आधारित धर्म हो र हिन्दुधर्म भित्र रहुन्जेल यो मान्यतालाई इन्कार गर्न सकिदैन । थरका आधारमा मात्रै हिन्दु हुने भए व्राह्मण जातीलाई बुझाउने 'शर्मा' थर समाएर क्रिश्चियन पादरी बनेका यहीं भेटिन्छन । त्यसैले खस दलितहरू पनि बाहुन हुन भन्ने मान्यता अरु तीन समूहले दिनु पर्छ भन्ने मेरो जिकिर हो । जसरी भगवान देखि मानिस सम्म सबैले क्षत्रिय बाट तपोबलले बनेको विश्वामित्र व्राह्मण समूहलाई व्राह्मण मानिदिदा पनि वशिष्ठ व्राह्मण समूहले नमान्दा सम्म उनीहरू व्राह्मण बन्न सकेनन त्यसरी नै खसबाहुन समाजले नमानुन्जेल अरु जोसुकैले मान्यता दिए पनि खसदलित बाहुन समाजमा पस्न सक्ने छैनन । त्यसैले खस दलितले जनै पूणिर्माको डोरो बाँधिदिएनन भनेर बाहुन कुटुनु भन्दा बाहुन समाजको हुँ म भनेर दावी गर्नु बढी फलदायक हुन्छ र खसबाहुनले पनि आफ्नो एउटा अंगलाई काटेर फाल्नु भन्दा त्यसलाई आफूमा समाहित गराउन श्रेयकर छ । हिन्दु बिचको जातिय विभेद यसरी मात्रै मेटिदै जान्छ , कटुता बढाएर होइन।

Monday, December 30, 2013

शुन्यपथका यात्री हामी २

शुन्यपथका यात्री हामी २

बिनासाथका यात्री हामी
पहिचान बिनाका यात्री हामी
हिडिरहेथ्यौँएक अर्काको
स्पन्दन मात्र चिनेका हामी ।
वृन्दावनको एक्लो न्याउलीकोझैँ
नानीले तानेको विणाको तारकोझैँ
मुटु नै कुत्कुत्याउने
माधुर्य कानमा भरिदिने
तरङ्गित संगीत
बिजुलीझैँ आयो शुन्यबाट
सा रे ग म प सुर तानिएझैँ ।
झनझनायो मन आल्हादले
नाचूँ नाचूँ भयो तन उन्माद्ले
नपत्याऊँ त भन्यो एक मनले
थाम्न सकेन आफैलाई उसले
र तारले जोडेको त्यो साइनोमा
केही शब्द थप्यो चपल ओठले
र र्निस्कियो मन वृन्दावनको यात्रामा ।

Friday, December 20, 2013

सैरिता सागर(कविता)

 पहाड फोरी कसरी निस्क्यौ लिई वेगवती चाल ? 
कसरी आयो लहर तिमीमा ? कसरी आयो छाल ? 
जन्मदैमा कसरी पायौ चञ्चल काया तिमीले ? 
छोप्यौ किन लज्जावती भई यौवन तटका तरुले ? 
सुस्तसुस्त अघि बढायौ गजगामिनी चाला 
सङ्गम धेरै साथ भयो हो, साथमा को पो जाला ? 
लोभिइथ्यौ न्यानोपनमा चैतको घाम समाई 
छोडी हिँडिथ्यौ सागर चिसो बादल साथ लगाई । 
भन, सरिता, साथ दियोअ को यति लामो बाटोमा ? 
सागर तिम्रो पर्खिरहेछ त्यही ठाउँ त्यही माटोमा ।  

Monday, December 02, 2013

जलविद्युत विकास


विकासको आधार :जलविद्युत उर्जा विकास

-- राम प्रसाद दाहाल 

प्रश्न उठेको छ - के विकासको तीब्र गतिमा दौडिरहेका दुई विशालतम देशको बीचमा रहेको नेपालले उनीहरूको विकासको फाइदा उठाएर आफूलाई विकसित बनाउन सक्छ त?
किन नसक्नु? जस्ता सजिला उत्तर मैले धेरै सुनेको छु तर कार्यान्वयन भने त्यति सजिलो देखेको छैन। कार्यान्वयनको निम्ति थुप्रै कदमहरू पार गर्नु पर्छ, थुप्रै बाधाहरू हटाउनु पर्छ र ठुलै तयारीको आवश्यकता पर्छ।  

व्यक्ति र व्यक्तिव्यक्तिले बनेको समाज सम्पन्न हुनु विकास हो तर सम्पन्नता आफैं तुलनात्मक अभिव्यक्ति भएकोले केहीकसैसँग दाँजेर मात्र यसलाई अभिव्यक्त गर्न सकिन्छ। कुनै पनि देशको सम्पन्नता तत् समयको विश्वपरिवेशसँग तुलना गरेर निर्धारण गरिन्छ तापनि राज्यका नागरिकले प्राणीका रूपमा बाँच्न चाहिने सामग्री भने सम्पन्नताको न्यूनतम आवश्यकता हुनै पर्छ अन्यथा जंगली जनावरको हूल र राज्यका नागरिक समूह बीच अन्तर हुने छैन। राज्यको सम्पन्नता त्यहाँका नागरिकको औशत सम्पन्नता अरू राज्यका नागरिकको औशत सम्पन्नतासँगको तुलनाले निर्धारण गर्छ र व्यक्तिको सम्पन्नता राज्यको उत्पादनको वितरणमा भर पर्दछ। राज्यको सम्पन्नता जति वृद्धि भयो र राज्यको उत्पादन वितरण जति समानुपातिक हुदै गयो राज्य त्यति नै विकसित भएको ठहर्छ तर पूर्ण समानुपातिक वितरण भने असम्भव हुन्छ किनकि यस्तो समानताले पूँजिसञ्चिति हुदैन। बिना पूँजिसञ्चिति लगानीको जोखिम कसैले पनि उठाउन सक्दैन र लगानी बिना औद्योगिक विकास सम्भव छैन। 

आजको विश्वमा सामाजिक विकास औद्योगिक विकासले मात्र सम्भव छ र औद्योगिक विकाशका लागि लगानीको आवश्यकता पर्छ। लगानी, स्वदेशी होस् या विदेशी, त्यसले आफ्नो पूँजिको सुरक्षा चाहन्छ र काम गर्ने वातावरण खोज्छ। पहिलो त, लगानी गर्ने भूमिमा शान्ति, सुरक्षा र सुशाशन यी तीन चिजहरू चाहिन्छन्। शान्तिले लगानी द्वन्दको चपेटामा नपर्ने भूमि बनाइ दिन्छ। सुरक्षाले गैर्‍हकानुनी पीडकहरूबाट मुक्ति दिलाउछ र सुशाशनले अनावश्यक कानुनी झमेलाबाट जोगाउछ। नेपालको सन्दर्भमा यी तीनै अवयवहरू हालमा अनुपस्थित देखिन्छन्। हातमा बन्दुक हुने राजनैतिक दल र तथाकथित राजैनित समूहले शान्तिलाई हृदयदेखि नै स्विकार गरेका छैनन्। बन्दुक हातमा अुने दल नै जनविद्रोहको नारा उचालिरहन्छन् भने लगानीकर्ताहरू लगानी गर्न आउछन् भनेर मिथ्या सपना देख्न थाल्ने कसरी?  शान्ति भएर पनि सबल सरकार र सबल व्यवस्था नभएसम्म असुरक्षा रहन सक्छ। विहारकै उदाहरण लिन सकिन्छ। विहार ५० वर्षभन्दा बढी लगानीका निम्ति असुरक्षित नै रह्यो। सरकारले सुरक्षाका कडा कदम चालेपछि मात्रै स्थितिमा परिवर्तन आएको हो। नेपालमा पनि त्यो नियम लागु हुन सक्नु पर्ने हो तर 'जो मुखिया उही बाटो हगुवा' भने झैं धम्क्याएर खान पल्किएकाहरूलाई शान्तिबाटोमा नहिडाइ त्यस्तो बाटो सम्भव छैन र माओवादीले युद्धकालमा आफ्नो सुविधाका निम्ति बेथितिलाई प्रोत्साहन दिएकाले अहिले उसको हातबाट निस्किसकेकाहरूलाई उसैले लगाम लगाउन सम्भव पनि छैन। अरूलाई सुम्पन उनीहरूलाई राज्यको नियमित सुरक्षा संयन्त्रमा विश्वास छैन। सुरक्षाको जिम्मेवारी अरू कसैले दिएर माओवादीले आफूले सहायकको खेल खेल्नु बढी वास्तविक र सरल हुन्छ तर त्यो पनि त्यति पाच्य छैन उनीहरूलाई। लगानीको तेश्रो वातावरण हो सुशाशन। नेपाली कांग्रेस र नेकपा एमाले यही सुशाशनमा चुकेका हुन्। हाम्रा र राम्रा छुट्याउन नसक्नु र विधि र नियमलाई सरल र छोटो बनाएर त्यसलाई विकासकार्यमा लगाउन नखोजेर व्यक्तिगत र दलगत फाइदा खोज्नु नै सुशाशनमा देखापरेको कमजोरी हो। त्यसैले उनीहरूको शाशनमा भ्रष्टाचार मौलायो। विधि र पद्धति नमानिदा हाम्राले गरेका नकाम र भ्रष्टाचार सह्य हुन गए र ती दुई दलहरू स्वतः बदनाम हुन पुगेका थिए।
 
राजनैतिक पक्षमा पर्ने शान्ति, सुरक्षा र सुशाशनले त लगानीलाई आकर्षण गर्ने मात्र हुन्। लगानी भित्रिनलाई त उद्योगका लागि चाहिने प्राविधिक पक्षहरू स्थापित भइसकेका हुनु पर्छ। ती प्राविधिक पक्षमा पर्ने यातायात, संचार र बिजुली जस्ता प्राथमिक आवश्यकताहरू उद्योग स्थापना गरिन सक्ने स्थलमा पहिले नै पुगिसकेको या आवश्यक पर्दा पुर्‍याउन सकिने स्थितिमा हुनु पर्छ। तब मात्र उद्योग स्थापनाका सम्भावना देखा पर्छन्। रेडियो र टेलिप्रविधिले आजको युगमा संचारमाध्यम छिटो र छरितो भएकाले उद्योगका लागि नेपालमा त्यसको ठूलो समस्या नहोला र ट्राक्टर चल्नेसम्म भए पनि नेपालमा बाटाहरूको विकास भएकै मान्नु पर्ला तर उद्योगका निम्ति अत्यावश्यक उर्जाको अनिकाल नेपालमा हाहाकारका रूपमा विद्यमान छ। उद्योगका लागि उपयुक्त ठोसउर्जा मानिने कोइला हामीकहाँ छैन। तरलउर्जा तेल पनि हामीकहाँ थोपो छैन र छैन हामीकहाँ वायवियउर्जा  ग्यास पनि। हामीकहाँ प्रचुर मात्रामा उर्जास्रोत मानिने जलविद्युत चन्द्रज्योतिका दिनमा भन्दा गतिलो हालतमा छैन। तब विकास हुने कसरी? 

लगानीले जहिले पनि प्रतिफललाई हेर्दछ। आफ्नो लगानी नडुबोस् भन्ने चाहना त उसको हुन्छ नै र ऊ त्यसबाट लगानी अनुरूपको प्रतिफल प्राप्तिको आशा पनि त्यत्तिकै गर्दछ। लगानी नडुबे पनि प्रतिफल प्राप्त हुदैन भने ऊ लगानी गर्दैन। त्यसैले ऊ लगानी परिचालन पूर्व नै उद्योगका आर्थिक पूर्वाधारहरू तौलेर, ठोकेर परिक्षण गर्छ। राजनैतिक, प्राविधिक र आर्थिक तीनै वटा पक्ष ठिक भए मात्रै लगानीकर्ता लगानीको निम्ति तयार हुन्छ। 

राज्यको निति कस्तो हुने?
सके त राज्य आफैंले उद्योगमा लगानी गरे हुने हो तर गणतन्त्र चीनजस्तो विशाल र शक्तिशाली राज्यले त उद्योगमा आफैं सम्भावना देखेन भने नेपालजस्तो भ्रष्टाचारको जालोमा अडेको राज्यमा त्यो सम्भावना न्यून छ र नै भएका सरकारचालित उद्योगहरू मेटिदै गएका हुन्। त्यसैले उद्योगको संचालन निजी क्षेत्रलाई दिनु सबैभन्दा उपयुक्त ठहरिन्छ। कतिपय स्थितिमा सरकार र निजीक्षेत्र दुवैको सहभागितामा उद्योग संचालन हुन सक्छ। 

लगानी गर्ने केमा?
विकास उद्योगमा आफूकहाँ भएको या अर्काकोबाट ल्याएको कच्चा पदार्थ आफूले प्रशोधन गरी उपभोग या निर्यात गर्ने बाटाहरू हुन्छन्। दोश्रो बाटो हामीले प्रयोग गरेर हेर्‍यौ। विदेशी कपडा ल्याएर हामीले रेडिमेड लुगा निर्यात गर्‍यौं। विदेशबाट ऊन झकाएर हामीले गलैंचाको कारोवार पनि गर्‍यौं तर अर्कोले हामीलेभन्दा सस्तो दियो र हामी फेरि विस्थापित भयौं। हाम्रो पर्यटन उद्योग पनि त्यो भन्दा कुनै राम्रो स्थितिमा हुने छैन किनकि सस्तो र सुविधाजनक ठाउँ पाउने बित्तिकै पर्यटकहरू त्यतैतिर तानिन्छन् र हामी त्यसालाई रोक्न सक्दैनौ। प्रतिद्वन्दात्मक व्यापार उद्योगमा हामीले त्यस्तो स्थितिको कल्पना गर्नै पर्छ र त्यस्तै हुन्छ पनि। हामीले हिडेको पहिलो बाटो नै हेरौं। हामीले खाद्यान्न निकासी गरेर काम चलाएका थियौं तर अब हामीलाई नै खाद्यान्न नपुग्ने भएपछि त्यसको हामीलाई कुनै आश भएन। हाम्रा जडिबुटीले पनि हामीलाई धान्न नसक्ने भएपछि हामीले हाम्रा युवाहरू निकासी गर्न सिक्यौं। अहिले यही युवानिकासी नै हाम्रो राज्य धान्ने साधन भएको छ। हाम्रा युवाहरूले विदेशमा बगाएको पसिनाले हामी बाँचेका छौं। युवा पलायनको यो लहर पनि कुनै समयमा रोकिन सक्छ किनकि अर्को देशले हामीलेभन्दा सस्तो श्रमसेवा दिन थाल्यो भने त्यो घट्नु स्वाभाविक हुनेछ पनि। त्यसैले हामीले आज नै सोच्नु परेको छ कि हाम्रो सम्भावित स्थीर निर्यात के हुने? 

आजको विश्वको सबैभन्दा ठूलो माग उर्जा हो। उद्योग र जनसंख्याको वृद्धिसँगै यसको माग पनि बढ्दै जान्छ। नेपालमा जलस्रोत उर्जाको सम्भाव्यता प्रचुर भएकोमा कसैले पनि इन्कार गर्दैन। जलस्रोत उर्जा एकपल्ट प्रयोग भएर सिद्धिने पनि होइन। यो त अनवरत रूपमा प्राप्त भइरहने उर्जा हो। नेपालका दुईतिरका विशालतम राष्ट्र चीन र भारत द्रुत गतिमा उद्योगवृद्धि गरिरहेका छन् र उनीहरूलाई आवश्यकता पर्ने विद्युतउर्जा नेपालले निर्यात गर्न सक्ने कुरामा कुनै दुविधा छैन। नेपालको सजिलो र भरपर्दो निर्यात वस्तु त्यसैले विद्युत हो र यसैले नै नेपालको विकास गराउन सक्छ। भरपर्दो र अनवरत स्रोत र जति पाए पनि लिन नछोड्ने करेसोको बजार भएको सामग्री नै हाम्रो विकासको आधार बन्न सक्छ तर त्यसको प्रवर्धन र निकासीको निम्ति बजारक्षेत्रसँग सुमधुर सम्बन्ध भने सधैं कायम हुनु पर्छ।  

कसरी गरिने त जलउर्जा प्रवर्धन? 
अरू उद्योगलेजस्तै विद्युतउद्योगले पनि लगानीको माग गर्छ र नेपालजस्तो गरीब मुलुकले सानातिना विद्युत आयोजना आफूले परिचालन गरे पनि विद्युतलाई निर्यात उद्योगका रूपमा परिचालन गर्न बाहिरिया लगानीकर्तालाई ननिम्त्याइ सुख छैन। राजनैतिक पूर्वाधार ठिक भएमा लगानीमा उनीहरूको चासो बढ्छ। त्यसको लागि राज्यले राजनैतिक परिपक्वता, व्यवहारिक सुझबुझ देखाउनु पर्छ र राज्यको दीर्घकालिन उर्जानिति तर्जुमा हुनु पर्छ। आवेशमा आएर सम्झौता गर्दैमा समस्या समाधान हुने होइन। राजनैतिक आवेगमा बजारको विरोध गरे त झन् त्यसको दुष्परिणाम राज्यले लामो समयसम्म भोग्नु पर्ने हुन्छ। स्थापित हुन गइरहेका हालका परियोजनाहरूमा राजनैतिक दलहरूको उक्साहटमा स्थानियहरूका विरोध र मागहरूले परियोजनाहरूलाई लम्ब्याउनु, बन्द गर्नु परेका उदाहरण देशभित्र देखिन्छन् र यसका परिणामहरू लामो समयसम्म रहिरहने छन्। 

ठुला आयोजनाहरूका निम्ति विदेशी लगानीकर्ताहरूलाई निम्त्याउनु परे पनि सानातिना आयोजनाका देश आफैले संचालन गर्न सक्छ। यो आवश्यक पनि छ किनकि झण्डै एक लाख मेगावाट हाराहारी उर्जास्रोतको दावी गर्ने हामीले उर्जाकेन्द्र डिजाइन र निर्माणदेखि उर्जा उत्पादन र वितरणसम्मका निम्ति सशक्त प्राविधिक टोली सिर्जना गर्न यस्तो संचालनको आवश्यकता पर्छ। तर यसो भन्दैमा 'सीत टिपेर घैला भर्ने' सपनामा झोलामा खोला लिएर टुकी बाल्ने आयोजनाहरूबाट विद्युत उद्योग हुन्छ भन्ने निति लिएर देश विकास हुदैन। २।४ घरका टुकी हट्लान्, त्यति मात्रै हो। चन्द्र शमशेरका समयमा ८०० किलोवाटको फर्पिङ केन्द्र ठुलै मानिएको थियो होला। कुलेखानी पहिलो बन्दा हामी बिजुली कहाँ फाल्ने भन्ने संकटमा पनि पर्‍यौं होला तर फर्पिङ एक शताब्दी अघिको कुरा हो र कुलेखानीले पनि तीन दशक पार गरिसकेको छ। हिजो बत्तीको उज्यालोको निम्ति बिजुली ल्याइएको थियो, आज उद्योग उर्जा निकाशीको सोचमा आइपुगेका छौं हामी। अन्तर त्यहीं छ। ५००० मेगावाटसम्म विद्युत उत्पादन सामर्थ्य भइसक्दा एउटा सशक्त प्राविधिक टोली सिर्जना गर्न सकिएमा भविष्यका लागि त्यो टोली नेपालमा मात्र होइन कि विश्वमा नै दक्ष मानिन सक्छ र त्यसले विश्वबजारमा आफ्नो भूमिका खेल्न सक्छ। सोच त्यति परसम्म राख्न सकिए जलस्रोत उर्जा प्रवर्धन गरेर नेपाल सम्पन्न बन्न सक्छ। जलस्रोत उर्जाको विकाससँगै अरू उद्योग पनि विकास हुदै जानेछन्। भत्काएर अहिले नै बनाउछु भन्नेले त्यो परको दृष्टि राख्न सक्दैन पनि र सबैलाई बराबर बाँड्छु भन्यो भने हातमा केही पनि हुदैन र सबै भताभुङ्ग हुन्छ। त्यसैले देश विकासको पहिलो कदम नै शान्ति, सुरक्षा र सुशाशन हो। दूरगामी योजना र दृढ निश्चय दोश्रो पाइला हो र यस्तो निश्चयकासाथ जो राजनितिज्ञ अगाडि आउछ उसैले विकासको थालनी गर्छ। 

विद्युतउर्जा विकासले उर्जा विकास मात्र हुने होइन। यसले आफूसँग थुप्रै उद्योगका माध्यमहरू आफूसाथै त्याउछ। उदाहरणको निम्ति, हामी अरुण तेश्रो जलविद्युत योजनालाई लिन सक्छौ। पचासको दशकमा त्यो आयोजनामा राजनैतिक विरोध नभई आउन सकेको भए त्यस अन्तर्गत भारत-चीन जोड्ने एउटा राजमार्ग तयार हुने थियो जसले अरुण उपत्यकाका सबै जिल्लाहरूमा सहायक राजमार्गको निम्ति त्यही दशकमा बाटो खोलिदिने थियो। साथै त्यो आयोजनाका निम्ति कृषिजन्य उत्पादनको वृद्धि यसै पनि हुने थियो। माइक्रो हाड्रोले देश झलमल्ल पार्ने सपना देख्ने वामपन्थीहरूले माओको 'घरघरमा इस्पात' को 'महान अग्रगामी छलाङ' को असफलताबाट कहिले पनि सिक्ने प्रयास गरेनन् र ठुला आयोजनाहरूको विरोध यो वा ऊ वामपन्थीहरूले गरि नै रहे। उनीहरूले समग्र विकासका निम्ति ठूला परियोजनाहरू अत्यावश्यक छन्  र तिनैबाट नै श्रमिकहरूको विकास हुन्छ भन्ने पटक्कै सोचेनन्। ४०।५० को दशकमा माले, एमालेबाट यस्ता वाधा देखिएका थिए भने ५०।६० का दशकमा माओवादीहरूलाई यो बुझ्न अझै पनि गाहारो परिरहेको छ।  

विकास एउटा जटिल प्रकृया हो। त्यसमा पनि मानवसमाजको विकास त झन् जटिल छ। एउटा व्यक्तिको सम्पन्नता बढ्दैमा विकास हुने होइन। राज्यको औद्योगिक क्षमता बढेरै मात्रै पनि सामाजिक विकास हुन्छ भनेर ठोकुवा गर्न सकिन्न। विकासको पहिचानको पहिलो लक्षण राज्यको आफ्ना नागरिकलाई पुर्‍याउन सक्ने क्षमता हो। राज्यसँग नै छैन भने नागरिकको विकास सम्भव छैन किनकि एक्लो नागरिकको उपभोग्यतामाथिको पहुँचले विकास देखाउदैन र एक्लो नागरिकको मात्र पहुँच हुन पनि सक्दैन। दोश्रो लक्षण, राज्यले आफूसँग भएको उपभोग्यता समानुपातिक रूपमा वितरण गर्नु हो। राज्यसँग भएको उपभोग्यता सर्वसाधारणमा पुग्न सक्दैन भने उत्पादिक उपभोग्यता 'आकाशको फल आँखा तरी मर्' हुन जान्छ। आयातमा बन्देज र निर्यातमूखी औद्योगिक कारोवारमा लिप्त राज्यमा राज्य सम्पन्न र जनता गरिब हुने समस्या देखा पर्छ। विकासको स्तर त उपभोक्ताले उपभोग गर्न सक्ने उपभोग्यताको मात्रा र गुणले निर्धारण गर्छ। त्यो गुण र मात्रा जति बढ्दै गयो त्यति नै समाज विकसित हुदै गएको ठहर्छ। विद्युत खपत देश विकासको सूचक हो। प्रति व्यक्ति १२००० किलोवाट घण्टा उपभोग गर्ने अमेरिका सबै भन्दा शक्तिशाली र विकसित हुनु त्यसैले स्वभाविक छ। त्यसको दाजोमा २६०० किलोवाट घण्टा प्रति व्यक्ति खपत गर्नेमा चिन आइ पुग्छ भने नेपाल त केवल १८४ किलोवाट घण्टा मात्र उपभोग गर्छ। त्यसैले देशका प्रतिव्यक्ति विद्युतको मात्रा जति बढ्दै गयो त्यति नै त्यो देश बढी विकसित भएको ठहर्छ किनकि उर्जा औद्योगिक विकासकोे प्राणधारक हा र उर्जाको खपतले व्यक्तिको विकासको मात्रा र गुण देखाउछ।  

१००० मेगावाटको जलविद्युत केन्द्रले ५० प्रतिशत क्षमता फ्याक्टर लिदा वर्ष दिनमा २.१६ अरब किलोवाट घण्टा विद्युत उर्जा उत्पादन गर्न सक्छ र त्यसको प्रति युनिट १ पैसा राजस्व लिए पनि २ करोडभन्दा बढी आउँछ। त्यसैलाई बढाएर राजस्व निर्धारण गर्न सकिन्छ। अझ कसैले २० प्रतिशत बिना मुल्य राज्यलाई दिन्छु भन्छ भने त रुपयाँका भाउले पनि अरबमा मोलमा आइपुग्छ। राजस्वले मात्रै पनि अरबौं र अझ खरब पनि कमाउन स्थितिमा बनाउन सकिन्छ।  भारत र चिनको उर्जा खपतको माग अन्धाधुन्ध बढिरहेको छ र हामीसँग उसको मागलाई पुरा गरिदिने क्षमता छ भने हामीले किन यसको सदुपयोग नगर्ने? प्रजातन्त्रवादीले प्रजातन्त्रवादीसँग र वामपन्थीले वामपन्थीसँग मात्र कारोवार गर्नु पर्छ भन्ने जमाना त स्तालिन र माओका अवसान पछि नै टुंगिसकेको छ। फेरि भारतले हाम्रो उत्पादनलाई इन्कार गर्नु पर्ने कारण पनि छैन। छिमेकमा भएको पानी पँधेरो छोडेर कोही पनि समुद्रतिर दौडदैन। त्यस्तो बुद्धिले भलै सिद्धान्त चल्ला, उद्योग चल्दैन र गणतन्त्र चिनले त त्यो निति छोडिसक्यो भने भारत त्यो बाटोमा जान सक्ने सम्भावना त झन् न्यून छ। फेरि भारतसँग राम्रो विकास सम्बन्ध रहँदा हामीले बांग्लादेश र पाकिस्तासम्म पनि भारतको विद्युत संजाल मार्फत उर्जा निकासी गर्न सक्छौं। आजको विश्वमा उर्जाबजारको कुनै कमी छैन। 

अन्ततः विकासको यो कार्यक्रम भने क्रमिक रूपमा गरिनु पर्छ। समान अधिकारका नागरिक बनाउन सकिएन भने शान्ति कायम हुन सक्दैन। नागरिक बीच भेद गर्ने शाशनले समानता दिदैन र विकासको बाटो पनि खोल्दैन। शान्तिबिना सुरक्षा हुदैन र झन् सुशाशनको त आशै गर्नु पर्दैन। त्यसैले, प्रथमत, देशमा राजनैतिक पूर्वाधाररू स्थापित हुनु पर्छ। एक पक्षिय नितिले विभेद जन्माउछ। एक्काइसौं शताव्दिमा आएर न सोभियत संघको उपमा दिएर लेलिन वा स्तालिनको एकै रातमा सर्वहारा बनाउने नितिले विकास हुन सक्छ, न गणतन्त्र चीनको साँस्कृतिका क्रान्तिको नारा दिएर सबै समतल बनाउने सिद्धान्तले देश उकालो लाग्छ। न त गोरेलाई विशेष अधिकार र कालेलाई ढिँडो गुन्द्रुक भन्दै देशको एउटा समूहलाई पाखा लाउने जर्ज वासिंगटनको संविधानले नै विकासमा लछारपाटो लाउछ। दोश्रो, लगानीकर्ता र दाताहरूलाई राजनैतिक पूर्वाधारहरू स्थापित भएको अनुभूति दिलाउनु पर्छ। तेश्रो, उद्योग स्थापनाका प्रकृयामा नोकरशाहीका तगाराहरू हटाएर एकद्वार निति संचालन गर्नु पर्छ। तब लगानीकर्ताहरू भित्रिन सक्छन् तर त्यो स्वयम् सरकारको नितिमा भर पर्छ। नेपालका सन्दर्भमा विद्युतउर्जा प्रवर्धन 'जान्नेलाई श्रीखण्ड नजान्नेलाई खुर्पाको बिँड' हुन सक्छ। विद्युतउर्जा विकास हुने वित्तिकै देशमा त्यसको साथसाथै अरू उद्योगहरू स्वत आउन थाल्छन्।

जोरपाटी, काठमाडौं
ई-मेलः dahalram@gmail.com

Wednesday, November 06, 2013

शुन्यका यात्री(कविता)



शुन्यका यात्रीः हामी

शुन्यको गोरेटोमा हिडिरहेथेँ म
शुन्यबाट उनी झरिन् विन्दुविन्दुका खुटकिला टेकेर
शुन्यको दोबाटोम भेट भएथ्यो हाम्रो
र शुन्यको यात्रा शुरू भएथ्यो हाम्रो ।

सशरीर त छैन हाम्रो उपस्थिति
शुन्य नै छौँ हामी एकअर्का सामु
र यात्रा पनि लक्षहीन छ शुन्य जस्तै;
र कही पुग्ने आशा छैन हाम्रो
कहीँ पुग्ने चाह पनि छैन
तैपनि यात्राका साथी छौँ हामी
शुन्यका यात्राका साथी ।

दृष्टिविहीन छौँ हामी देख्दैनौँ एकअर्कोलाई
मुक छौँ हामी केही भन्न सक्दैनौँ
कानका बहिरा हामीले सुन्न सक्दैनौँ केही
अस्पर्श्य छौँ त छुन पनि सक्दैनौँ
तैपनि संवाद चलिरहन्छ हामी बीच
तैपनि निकटता रहिरहन्छ हामी भित्र
अनजान पथका बेजान यात्री
शुन्यपथमा हिडिरहेछौँ हामी ।

कहाँ टुंगिएला यात्रा थाहा छैन हामीलाई
टुंगियोस् त्यो भन्ने चाहना पनि छैन
नजाने पनि नचाहे पनि हामीले
तर टुंगिनै छ त्यो यात्रा;
कहीँ अर्को दोबाटोमा विन्दुविन्दुका खुटकिला टेक्दै
उनी उकालो लाग्लिन् शुन्य तिर
म भने सिधै हिडिरहुँला
शुन्यको गोरेटो समाएर
नितान्त एक्लै एक्लै
अतितलाई कथा बनाएर
या क्षितिजको घेरामा पुग्दा नपुग्दै
शुन्यमा नै बिलाउँने छौँ हामी ।

अनि त कहिले कहीँ पछाडि फर्केर हेर्दा
सम्झनाको घाउ कोट्टिएला अलिकति
मनको रङ उप्किएला अलिकति
तैपनि कुनै दिन भेटै भए पनि
चिन्ने छैनौँ हामीलाई हामी ।
राम दाहाल
जोरपाटी - १ काठमाडौँ
२०७० कार्तिक २०