Wednesday, November 06, 2013

शुन्यका यात्री(कविता)



शुन्यका यात्रीः हामी

शुन्यको गोरेटोमा हिडिरहेथेँ म
शुन्यबाट उनी झरिन् विन्दुविन्दुका खुटकिला टेकेर
शुन्यको दोबाटोम भेट भएथ्यो हाम्रो
र शुन्यको यात्रा शुरू भएथ्यो हाम्रो ।

सशरीर त छैन हाम्रो उपस्थिति
शुन्य नै छौँ हामी एकअर्का सामु
र यात्रा पनि लक्षहीन छ शुन्य जस्तै;
र कही पुग्ने आशा छैन हाम्रो
कहीँ पुग्ने चाह पनि छैन
तैपनि यात्राका साथी छौँ हामी
शुन्यका यात्राका साथी ।

दृष्टिविहीन छौँ हामी देख्दैनौँ एकअर्कोलाई
मुक छौँ हामी केही भन्न सक्दैनौँ
कानका बहिरा हामीले सुन्न सक्दैनौँ केही
अस्पर्श्य छौँ त छुन पनि सक्दैनौँ
तैपनि संवाद चलिरहन्छ हामी बीच
तैपनि निकटता रहिरहन्छ हामी भित्र
अनजान पथका बेजान यात्री
शुन्यपथमा हिडिरहेछौँ हामी ।

कहाँ टुंगिएला यात्रा थाहा छैन हामीलाई
टुंगियोस् त्यो भन्ने चाहना पनि छैन
नजाने पनि नचाहे पनि हामीले
तर टुंगिनै छ त्यो यात्रा;
कहीँ अर्को दोबाटोमा विन्दुविन्दुका खुटकिला टेक्दै
उनी उकालो लाग्लिन् शुन्य तिर
म भने सिधै हिडिरहुँला
शुन्यको गोरेटो समाएर
नितान्त एक्लै एक्लै
अतितलाई कथा बनाएर
या क्षितिजको घेरामा पुग्दा नपुग्दै
शुन्यमा नै बिलाउँने छौँ हामी ।

अनि त कहिले कहीँ पछाडि फर्केर हेर्दा
सम्झनाको घाउ कोट्टिएला अलिकति
मनको रङ उप्किएला अलिकति
तैपनि कुनै दिन भेटै भए पनि
चिन्ने छैनौँ हामीलाई हामी ।
राम दाहाल
जोरपाटी - १ काठमाडौँ
२०७० कार्तिक २०

No comments: