मानव विकास
संसारमा लाखौँ किसिमका जीवहरू छन् र तिनको आफ्नै
अस्तित्व छ । कतिपय सन्तहरू भन्छन् - तिनीहरूको पनि मानिसको जत्तिकै बाँच्ने
अधिकार छ । पशुअधिकारका निम्ति संघर्ष गर्ने त बराबर भेटिई नै रहन्छन् । भुस्याहा
कुकुर, बिराला, बेवारिसे गाईवस्तु आदिलाई संरक्षण गर्नेको नाम पनि सुनेका छौँ । अझ
मुसाको मन्दीर नै बनाएर मुसालाई दानापानी पुर्याउनेहरू पनि छन् यो ससारमा तर त्यो
दया मानिसको उत्पत्ती भएपछि मात्रै,
प्राणीअधिकारका कुरा नआए पनि, पशुअधिकारको कुरा निस्किएकोमा शंका छैन । त्यो भन्दा
अगाडि त एक कोषिय जीवदेखि मानिससम्मको लामो अन्तरालमा प्राणीले विकासको एउटा लामो
यात्रा तय गरेको छ बिना कसैको दया र माया । संघर्ष भएको छ प्रकृतिसँग, बेजाति
प्राणीहरूसित र आफ्नै जातिको प्राणीसँग पनि । जसले प्रकृति अनुरूपको संघर्षमा
आफूलाई उपयुक्त बनाउन सक्यो त्यो बाँच्यो, नसक्ने मेटिएर गयो । मानववंशकै
पुर्खाहरूमा पनि विकासका क्रममा कति प्रजातिहरू मेटिएर गए । अन्ततः मानवप्राणी अरू
प्राणीभन्दा सफल भयो र पृथ्वीमाथि अधिकार जमाएर बस्यो । कतिपय प्राणी उसैले नष्ट
गर्यो, कतिलाई आफ्नो सुविधाको निम्ति जोगाएर राख्यो ।
अरू प्राणीमाथि विजय पाएपछि मानिस मानिस बीचमा
प्रतिद्वन्दिता शुरू भयो र एक व्यक्तिले अर्को व्यक्तिलाई, एक जातिले अर्को जातिलाई
नष्ट गर्ने द्वन्द पनि चल्यो तर मानिसले बुझ्दै गयो कि यस्तो द्वन्दले एक अर्कालाई
मास्दै जाने छ र नै सहअस्तित्वको सिद्धानतलाई स्विकार गरेर जाति जातिका बीचमा सीमा
कोरिन थाल्यो । जमिनको स्वामित्व, राज्यको उत्पत्ती र पछि सम्पत्ती माथिको अधिकार
पनि यसै आधारमा भएको थियो । खालि बलशालीले धेरै लियो, निर्धोले थोरै पायो ।
असमानता भयो मानव समाजमा । राजादेखी रङ्कसम्म, धनकुवेरदेखि
कङ्गालसम्म भए त्यहाँ । प्राणी सबै एकै हुन् तिनीहरूमाथि समान दया, माया हुनु पर्छ
भन्ने धार्मिक आस्थावान त जुगदेखि नै चलिरहेका थिए तर सबै मानिस समान हुन् र सबैले
आफूलाई चाहिएको पाउनु पर्छ भन्ने कार्ल मार्क्स नै भए । सबैलाई "सके अनुसार र
चाहिए अनुसार" उनको व्याख्यालाई समर्थन गर्न उनले नयाँ दर्शन नै प्रस्तुत गरे
। केही नहुने सर्वहाराको अधिनायकवादमा त्यस्तो साम्यवादी समाजको निर्माण गर्न
सकिने धारणा पनि सार्वजनिक गरे उनले । सोभियत संघ र पूर्वी युरोपमा र अरू देशमा
पनि सर्वहारा अधिनायकवादी शाशन स्थापित भए पनि ती सफल हुन सकेनन् ।
अर्थराजनीतिको पछिल्लो दर्शन मार्क्सवाद हुन थालेपछि
प्रश्न उठ्यो - 'त्यस्तो राम्रो विचार बोकेको दर्शन किन सफल भएन ?' यसका उत्तरमा
सुधारिएको मार्क्सवादका थुप्रै उत्तर आए तर तिनले उत्तर भन्दा समस्या ल्याई दिए ।
ती उत्तरहरू न हाँसको चाल न कुखुराको चाल जस्ता बेतुकी भए । उनीहरूले मार्क्सको
दर्शनलाई यथावत मानेर त्यसमा उत्तर खोज्न गए । मार्क्सवादमा गल्ती पनि नदेख्ने या
देख्न नखोज्ने र यसलाई सिंगै अठ्याउन पनि नसक्ने चालले गति लिन सकेन । त्यसैले अनुत्तरित
रह्यो त्यो प्रश्न ।
अगाडि नै भनियो - मानिस प्राणी हो । यसमा कसैको
विवाद हुन सक्दैन । दोश्रो, मानिस मानव पनि हो । यसमा पनि कसैले विवाद गर्ने कुरा
रहदैन । त्यसैले मानिसका बारेमा सोचिदा उसको द्वैध चरित्र नियाल्नु पर्ने हुन्छ ।
प्राणी भएकोले उसको चरित्र, उसका आवश्यकता प्राणीवत् हुनु अनिवार्य छ । यिनीहरू ऊबाट
हटाउन चाहे पनि हट्दैनन् । उसको पहिलो आवश्यकता सबै प्राणिले जस्तै सास फेर्ने
हावा पाउनु हो । त्यो नपाए ऊ १० मिनट पनि बाच्न सक्दैन । दोस्रो आवश्यकता पिउने
पानी हो । पानी नपाए ऊ २।४ दिन मात्र बाँच्न सक्छ र तेश्रो आवश्यकता खाना नहुदा ऊ
एक डेढ महिना भन्दा बढी नबाँच्ला । पाएँ भनेर मानिस यी चिजहरूलाई असीमित प्रयोग
गर्न पनि सक्दैन । सास फेर्ने हाव ऊ त्यति मात्रै लिन्छ जति फोक्सो अटाउँछ र उसको
फोक्सो सानै छ । खाना र पानी खाने पेटको आयतन पनि सीमित छ उसको । सबै प्राणीको
जस्तै उसको भौतिक आवश्यकता नाप्न सकिन्छ । सासफेर्नयोग्य हावा, पिउनयोग्य पानी,
खानयोग्य खाना फोक्सोभरि र पेटलाग्दो पाए पुग्छ मानिसलाई । प्राणीको शारीरिक माग र
सन्तानवृद्धिको निम्ति अत्यावश्यक चौथो आवश्यकता हो यौन जो एउटा भालेका निम्ति
एउटी पोथी पर्याप्त हुन्छ । प्राणीका निम्ति ओत, छोप्ने पदार्थ आदि त पछिका पूरक
आवश्यकताहरू हुन् । यी सबै आवश्यकताहरू प्राणीजन्य आवश्यकता हुन र यिनीहरू मानिस र
अरू प्राणीका समान छन् ।
मानिस प्राणी मात्र होइन, ऊ मानव पनि हो ।
प्राणीजन्य आवश्यकता पूर्ति हुने बित्तिकै ऊ अरू प्राणीझैँ उग्राएर बस्न सक्दैन ।
पेट भरेपछि उसका मानवजन्य चाहनाहरू जन्मन थाल्छन् र ती चाहना परिपूर्तिका निम्ति
मानव आवश्यकताहरू जन्मन्छन् । ढिँडोले भएन, मसिना चामल खानु पर्छ । पानीले पुगेन,
कोक पिउनु पर्यो । शरिरले खाँडी होइन, मलमल खोज्यो, आदि इत्यादि । चाहनाले कार्यक्षमता
ल्याउछ, क्षमताले प्रयास गराउछ, प्रयासले उपलब्धि दिलाउछ, सन्तोष र संवृद्धि दिन्छ
र फेरि नया चाहना शुरू हुन्छ । मानिसको सभ्यताको विकास नै असन्तोषीहरूको कारणले
भएको हो, सन्तोष गरेर जंगलमा बस्ने सन्तहरूबाट भएको होइन ।
मार्क्सले जुन समयमा जसका कारणले आफ्नो दर्शन
प्रस्तुत गरे त्यो हिसाबमा उनी सही छन् । अठारौँ र उन्नाइसौँ शताब्दिका मजदुरहरू
१६।१७ घण्टा काम गरेर पनि राम्रो खान र बस्न पाउदैन थिए । प्राणीजन्य आवश्यकता नै
पूर्ति हुदैनथ्यो उनीहरूको आवश्यकतानुसार । मार्क्सको दलिल प्राणिजन्य आवश्यतासम्म
मात्रै सीमित थियो । पछि उनका अनुयायीहरूले बलजफ्ती मानवजन्य आवश्यकताहरू त्यहाँ
लगेर जोड्न थाले र सफल भएनन् उनीहरू । अहिले एक्काइसौँ शताब्दिमा आई पुग्दा प्रस्ट
भएको छन् यी धारणाहरू । प्राणीजन्य आवश्यकता परिपूर्ति भएपछि मानवसभ्यताका विकासका
क्रममा चाहिने मानवजन्य आवश्यकतामा बन्देज लगाउने बित्तिकै विकासको गति रोकिदो
रहेछ भन्ने बुझ्न शुरू भयो । त्यो विकासको निम्ति मानवजन्य आवश्यकतापूर्तिमा
असमानता स्वत आउछ र मात्रै प्रतिस्पर्धा हुन्छ मानिस मानिस बीच । बिना
प्रतिस्पर्धा बुद्धिजीवी प्राणी अगाडि बढदैन र विकास पनि हुदैन । आफ्नो सफलतामा
तुलनात्मक उपलब्धि पाएन भने ऊ काम पनि गर्दैन ।
अन्ततः दुई सिद्धान्तहरू स्वतः आई पुग्छन्
मानवसमाजमा । पहिलो, प्राणीजन्य आवश्यकतापूर्तिमा मार्क्सवाद लागु हुन्छ भने
मानवजन्य विकासका लागि संवृद्धिका
सिद्धान्त अर्थात् संवृद्धिवाद । यी दुई दर्शनका आधारमा नै मानवसमाज र
मानवसभ्यता अडिएको छ र विकसित भएको छ ।
राम दाहाल
जोरपाटी -१ काठमाडौँ
२०७० साउन ३२
No comments:
Post a Comment