आउन
सक्छ त्यो दिन
आउन सक्छ
त्यो दिन जब
हामी
थुनिएको गोठभित्र
आफूखुशी
उफ्रने छौँ,
हाम्रा
सिङ र खुरले
भित्तो र
जमिन फोर्ने छौँ,
आफूआफू
बीच पनि
कुस्ती
खेल्न पाउने छौँ
र बाहिर
गोठालाले भन्ने छन् -
"स्वतन्त्र
छन् यिनीहरू
जे गर्न
पनि स्वतन्त्र छन् ।"
आउन सक्छ
त्यो दिन जब
सुकेको खर
या हरियो दुबोले
भरिने छ
हाम्रो पेट,
नलको होस्
या नालीको पानीले
मेटिने छ
हाम्रो तिर्खा,
अनभिज्ञ
बाहिरी संसारसँग
उग्राएर
बस्ने छौँ हामी
र हाम्रा
गोठाला भन्ने छन् -
"सुखी
छन् यिनीहरू
खुशी छन्
यिनीहरू ।"
आउन सक्छ
त्यो दिन जब
कलिला
हाम्रा पाठालाई
सिद्धान्तमन्त्र
पढाइने छ,
'सबैका
मुक्तिका लागि' भन्दै
बलीवेदीमा
चढाइने छ,
तिनका
नाममा शालिक पनि ठड्याइने छ
र
खुशियालीमा हाँस्न र नाच्न
हामीले सकेसम्म
पाइने छ
केवल
अभागीनी आमालाई
रुन
बन्देज लगाइने छ
र बाहिर
गोठालाले भन्ने छन् -
"देख्यौ
कत्रो त्याग छ यो गोठप्रति ?
महान छन्
माउ आमाहरू !"
No comments:
Post a Comment