विचित्रको छ मेरो टोल
जनसंख्या र आम्दानीको हिसाबले
नेपालको सबै भन्दा ठुलो गाउँ विकास समिति हो जोरपाटी गाविस । विशालता त छँदैछ यसको
साथै विभितता र विशेषता पनि छ यसमा । यो मेरो गाविसमा एउटै कुर्सीमा दुईटा सचिव
बस्छन् । जानुपर्ने मरे जान मान्दैन र आएको "भई गयो त" भनेर फर्कदैन पनि
। किन ? भनेर नसोध्नोस् । एउटै फूलमा दुईटा भमरा कुस्ती खेल्छन भने रस त त्यहाँ
पक्कै छ भनेर बुझ्नोस् ।
उहिले गोकर्ण र साँखुबजार जाने
दोबाटोमा दुई वटा पाटी थिए जसलाई जोरपाटी भनिने गर्थ्यो र तिनै जोरपाटीको नाममा
त्यसका वरीपरीका बस्तीलाई पनि जोरपाटी भनिन्थ्यो । समयान्तरमा ती जोरपाटी त रहेनन्
। तिनका ठाउँमा एउटा नया पाटि र गाविस भवन बन्यो तर जोर पाटी नभए पनि त्यो नामले
भने विस्तार पाएर काठमाडौँ महानगरपालिकाको बौद्धदेखि गोकर्ण छेउ पुग्दै वागमती पनि
नाघ्यो र जोरपाटी उपत्यकाको काँठको एउटा सानो बस्ती राजधानीको वृद्धिसँगै राज्यकै
सबै भन्दा ठुलो गाविसमा परिणत भयो । तब त, न यो सहर नै बन्न सक्यो न गाउँको रूपमा
नै रही रह्यो । यहाँ त कहीँ सहरका नियम चल्न थाले कहीँ गाउँका । घर बनाउन सहरमाझैँ
नक्सा त चाहिने भयो तर त्यो नक्सा निर्माण डिटेल नभएर बाहिरी रूप मात्र भए काम
चल्छ र त्यसलाई एकातिर पन्साएर आफूखुसी बनाउदा आपत्ती गर्ने कोही पनि हुदैन । टहराका
नाममा नक्सा बनाई रहनु पर्दैन र सडक मिचे पनि हुन्छ, कसैले केही बोल्दैन ।
कुरा जोरपाटी गाविसको केन्द्र
त्यस गाविस कार्यालयको भवनबाट नै शुरू गरौँ । गाविस भवन र त्यसमा बस्ने
प्रहरीपोस्टको ५० मिटर भित्र नै मासुपसल छन् सडकको किनारमा र यी पसलमा खुला रूपमा
माछामासु बेचिन्छ । माछामासु ल्याएर पछार्ने पनि त्यहीँ सडकको पेटीमा नै हो र
पेटीसँगै जोडिएको खुला ढलबाट मलमुत्र पनि बगी रहेकै हुन्छ । अलिकति घाम लाग्यो कि
झिँगाका बथानहरू ढल र माछामासुमा हुलका हुल भएर माइत-मावल गरी रहेका हुन्छन् ।
त्यसलाई कसैले फोहोर ठान्दैन र किनमेल चली रहेकै हुन्छ ।
जोरपाटीको सडकमा, ढलमा फोहोर
फाल्नु, पसल अगाडि पेटीमा बेच्ने सामान राखेर पैदल यात्रीको बाटो रोकी दिनु या अझ
साइकल, मोटरसाइकल, गाडी मर्मत कारखाना खोलेर पेटी र सडक अवरुद्ध गर्न पाउनु शाश्वत
अधिकार ठानिन्छ यहाँ र बाटो या पेटीमा हिड्नेले त्यसमा आपत्ती उठायो भने "यो
सडक, पेटी तिम्रै मात्रै हो र ?" भनेर उफ्रनेको कमी हुदैन । यहाँ सडकको पेटी पनि
घरधनीले आफ्नो निजी ठान्छन् । त्यसैले त्यसलाई अल्गो बनाउन, होच्याउन, खाडल पार्न
ढिस्को उचाल्न सबै छुट छ यहाँ । त्यति मात्रै होइन । लामा दूरीका गाडीको ग्यारेजको
काम पनि जोरपाटीका सडकले गरी दिएका छन् । १७ फुटे बाटोमा लामा दूरीका १०।१५ वटा
गाडी पालो नआउन्जेल दिनरात तेर्स्याउनु गाडीवालको अधिकार ठानिन्छ यहाँ र दिनमा ५।७
पटक ओहोरदोहोर गर्ने ट्राफिक प्रहरले पनि यसलाई मतलव राख्दैनन् । ट्रक किन्नोस्,
पिकअप किन्नोस् तर त्यसका निम्ति गाडी राख्ने डिपोको व्यवस्था गर्नु पर्दैन गाडीधनीले
। सरकारले बन्दोबस्त गराई दिनु पर्छ भनेर सडकमा गाडी तेर्स्याउदा हुन्छ ।
गाउँ र सहरको संगम हो जोरपाटी
गाविस । गाउँको जस्तो यहाँ खेतीपाती छैन र गाउँको जस्तो गाईवस्तु चराउने चरन पनि
छैन तैपनि आफ्नो घडेरीको एक एक इन्च कंक्रिटले ढाके पनि अर्काको घडेरीमा, खोलाका
बगरमा, सडककिनाराका हरियाली सोतोहरूमा या बोरामा माटो भरेर घरको छतमा तरकारी, मकै
लगाउने चलन भने छ । अर्काको घडेरीमा भए पनि गाई पालेर दुध खाने गाउँले चलन पनि छ
यहाँ । एक डेढ फुटको गोरेटोमा हिडेका गाउँलेहरूले ८।१० फुटका बाटालाई बिशाल राजपथ
ठानेर घडेरी किन्ने चलन गाउँले भए पनि त्यो ८।१० फुटको बाटोको २.५।३ आनाको घडेरीमा
छिमेकीको घरसँग टाँसेर ५।७ तलाको घर बनाउने र त्यसमा बनेका ९' x १०' को कोठामा भाडा लगाउने चलन भने पक्का काठमाडौँको सहरिया
रूप हो मेरो गाविसको ।
मेरो गाविसको टोल आधुनिक छ ।
यसमा दहीमोही भन्दा निगार बढी बिक्छ र आधा किलोमिटर बीचमा एउटा दहीमोही बेच्ने
डेरी छ त १३ वटा भट्टीपसल छन् । मेरो टोलमा किराना पसलमा बियर र रक्सी छैन भने
त्यो पसललाई पसल नै गनिदैन । पाँचवर्षे नानीले १०० रूपयाँको नोट बोकेर पसलमा आयो
भने त्यो नानीले चोरेको नठानेर बाबु या आमाले चुरोट किन्न पठाएको भन्ने जाने हुन्छ
। बियर र रक्सी त ती नानीहरूले बोक्न सक्दैनन् । त्यसैले ती चिज किन्न भनेर
पठाइन्न ।
जोरपाटी गाविस सिंगो नेपालको
प्रतिनिधि क्षेत्र पनि हो । यो ठाउँमा अहिले पनि काँठे भनिने पुराना रैथानेहरू छन्
गाउँबाट सहरिया बन्न पसेका पाखेहरू छन् । साथै सहरबाट पाखा लागेका तर बाटोमा पसल
थाप्ने सहरिया बानी नछुटेका बाटेहरू पनि छन् । बाटेहरू, साना ठुला जे हुन्, बाटोमा
पसल थापेर बसेकै छन् । काँठेहरू पाखेलाई २।४ आनाका दरले जग्गा बेचेर उनीहरूलाई 'दुईआने'
भन्दै आफू जमिन्दार भएको रोब राखी रहेका छन् त पाखेहरू झन् के कम ? तिनै २।४ आनाका
टुक्रा घडेरीमा टावर खडा गरेर काँठेहरूलाई "खान नपाउने काँठे" भनेर
होच्याई रहेका हुन्छन् । बाटेहरू सहरियाझैँ वरपरको त्यति चासो राख्दैनन् ।
काँठेहरू सीमित भएकोले अब तिनीहरूको प्रभाव पनि सीमित हुदै गएको छ र यहाँ सहरिया
बन्न आएका पहिलो पुस्ताका पाखेहरूको नै बोलवाला बढी छ र सँस्कृति पनि पाखे नै
विकास भएको छ ।
अहिले पाखे सँस्कृतिमा शिक्षाको
ठुलो चासो देखिन्छ । आफू खाई नखाई छोराछोरीलाई पाखेहरूले नै चलाएका बोर्डिङ भनिने
लम्बरी अंग्रेजी स्कूलमा पढ्न पठाउछन् र नर्सरीको ३ वर्षे नानीले १ महिनामा A देखि Z सम्म कण्ठ पार्न सकेन
भने "झुर स्कूल रहेछ" भनेर शिक्षकलाई झम्टन पुग्छन् । बोर्डिङ संचालक
काँठे पनि अरू काँठे भन्दा झन् बाठा छन् र "नानीलाई डे बोर्डर गराउनु
पर्छ" भन्दै दिनमा १२ घण्टा दुधमुखे नानीहरूलाई शिक्षकको त्राशमा राख्छन् र
तिनका अभिभावकबाट दुई गुणा खर्च असुल गर्छन् ।
मेरो गाविसमा दलको राजनीति भन्दा
दाजुभाइको नाता चल्छ । बाबु राजावादी भए छोराहरू कांग्रेस, एमाले र माओवादी बन्छन्
र पैसा कमाउने मौका आएपछि राजनीतिको आस्था बिर्सिएर एउटै दल हुन्छन् । धन जसरी
कमाए पनि हुन्छ भन्ने सिद्धान्त लागु हुन्छ यहाँ । गाउँमा जस्तै फलानो र
ढिस्कानोको खाल भन्ने नियम लाग्छ । यो जातको र त्यो जातको भन्ने समूह बन्छ । एक
अर्काको नालीबेली विस्तार र बद्ख्वाइँ पनि चल्छ यहाँ । गाउँघरको गाईभैँसीको दुध
सम्झेर डेरीको दुध नखाने पनि छन् यहाँ र डेरीको दुधमात्रै खाने पनि छन् ।
जोरपाटीचोकको मासु किनेर खानेदेखि वागमती बगरमा भाग लाएको मासु खाने पनि छन् ।
दिनहुँ रक्सी चाहिने पनि छन् र रक्सी छुदै नछुने पनि छन् । यो मेरो गाविस र यो
मेरो टोल विचित्रको छ । म यही विचित्रको गाविस र टोलमा बस्छु । मेरो गाविस, मेरो
टोल घुम्नु भएको छैन भने घुम्न आउनोस् एक पल्ट । पुरै मनोरञ्जन पाउनु हुनेछ तपाईले
।
राम दाहाल
जोरपाटी - १, काठमाडौँ
२०७० साउन ३
No comments:
Post a Comment