Monday, December 19, 2011

संवृद्धिशास्त्र


संवृद्धिशास्त्रः मानव आवश्यकता

सामाजिक संरचना र सम्पन्नता

सबै चिज शुन्यबाट शुरु हुन्छ तर शुन्यबाट केही पनि प्राप्त हुदैन । शुन्य यस्तो एउटा विन्दु हो जसको कुनै अस्तित्व छैन तर अर्कोसँग गाँसिएर अर्कोको आकार वृद्धि गरिदिन्छ । गणितमा शुन्यको यो स्थिति छ । वास्तविकतामा मानव जीवनमा हाम्रा इन्द्रियले अनुभव गर्न नसक्ने स्थितिको  नाम शुन्य हो । जहाँ पदार्थको उपस्थिति छैन त्यो त्यसको शुन्यता हो । चलनचल्तीका भाषामा कुनै स्थानमा कुनै चिज या पदार्थको अनुपस्थितिले त्यो स्थानमा त्यो चिज या पदार्थको शुन्यता जनाउछ । वस्तु, पदार्थ या सुविधाका उपभोग्यता अनुरूप उनीहरूको मुल्य हुन्छ र तिनीहरू अनुपभोग्य छन् भने तिनको मुल्य शुन्य हुन्छ । मानिसका समय मुल्य पनि सोही अनुरूप कम, बढी र शुन्य हुन सक्छ तर समयमुल्य शुन्यताको स्थितिबारे थालनी गर्नु भन्दा पहिले समयमुल्यबारे नै विचार गरौ‌ ।

के हो त मानिसको समयमुल्य ?
समयमुल्यलाई हामी समय र मुल्य दुई शव्दलाई विच्छेद गरेर थालनी गरौं । यहाँ समय भन्नाले अनवरत समयको कुनै एक विन्दुलाई मानिन्छ अथवा मुल्य कुन समयमा किटान गरिने हो ? त्यो समयलाई जनाउछ । मुल्य शव्दले आवश्यकतापूर्तिको गहनतालाई बुझाउछ । यसरी दुई शव्दले समयमुल्यले मानिसको कुनै एक समयको आवश्यकतापूर्तिको क्षमतालाई बुझाउछ । मानिसको आवश्यतापूर्तिको क्षमता भन्नाले आवश्यकताको समयमा आवश्यक उपभोग्यतामाथि उसको पहुँच जनाउँछ । अनावश्यकतामाथिको पहुँचले उसको समयमुल्य बढ्दैन । उदाहरणकोनिम्ति, पाँच किलोग्राम सुन बोक्ने मानिस र पाँच लिटर पानी बोक्ने मानिस मरुभूमिबिच परे भने पाँच लिटर पानी बोक्नेको तत्कालिन समयमुल्य सुन बोक्नेको भन्दा बढी हुन आउँछ । त्यसैले पात्र, काल र स्थान अनुरूप समयमुल्य परिवर्तन भइरहन्छ ।

उपभोग्यता वस्तु र सुविधा दुई भागमा विभाजित हुन्छन् । वस्तु सुविधाको प्रत्यक्ष रूप हो भने सुविधा अप्रत्यक्ष । कोठा तताउन प्रयोग गरिने हिटर वस्तु हो तर त्यो तताउन चाहिने बिजुली सुविधा हो । वस्तुले आवश्यकता पूर्ति मात्र गर्छ, सुविधाले त्यसको प्रयोग सरल र आरामदायी बनाउछ ।

सामान्यत मानिस सोच्छन् कि उपभोग्यता सम्पत्तीबाट मात्र प्राप्त हुन्छ तर उपभोग्यता सम्पत्तीबाट माब पाइन्छ भन्ने सत्य होइन । देश, काल र पात्र अनुरूप उपभोग्यता सत्ता, शक्तिबाट पनि प्राप्त हुन्छ । अनिकालमा पनि राजा प्रजा झैं भोकै बस्दैन । उसको सत्ताले उसलाई खुवाउँछ । बीच मरुभूमीमा परेको राजाको र पाँच किलोग्राम सुनको धनीकोभन्दा पाँच लिटर पानीको धनीको समयमुल्य यसै बढी त हुन्छ नै तर तिनको भन्दा पनि बढी समयमुल्य बन्दुक हुनेको हुन्छ किनकि ऊ सबैबाट खोसेर उपभोग गर्न सक्छ । त्यसैले शक्ति पनि मुल्यवृद्धिको एउटा स्रोत हो ।

मानिसलाई कुनै पनि प्राणीलाई झैं भौतिक उपभोग्यताहरू चाहिन्छन् र मानिसलाई झैं वौद्धिक उपभोग्यताहरू पनि ऊ खोज्छ । अनिकाल र असुविधाका समयमा उपभोग्यतामाथिको उसको पहुँच घट्दै जान्छ र एक्लै रित्तोहात मरुभूमिबिच पुग्दा त उसको उपभोग्यता उसको सास फेर्ने हावा मात्र बाँकी हुन्छ । त्यो जहींतहीं र सित्तैं पाइने हावा उसको अन्तिम पहुँच हो उपभोग्यतमाथिको । त्यसैले पृथ्वीमा मृत मानिसको मात्र समयमुल्य शुन्य हुनसक्छ ।

सम्पन्नता र समयमुल्य
संवृद्धिशास्त्रमा सम्पन्नताका सिद्धान्तको पहिलो सिद्धान्तले भन्छ – ‘व्यक्तिको सम्पन्नता उसको समयमुल्यको प्रत्यक्ष अनुपातमा हुन्छ । तर यतिले मात्र सम्पन्नताको व्याख्या गर्न सकिन्न किनकि आनुपातिक संवन्धले जहिले पनि अर्को तुलनात्मक मात्रा खोज्दछ । त्यसैले वनमा बसे पनि स्वर्गमा बसे पनि तुलना गर्न अर्को व्यक्ति नहुदा एकल व्यक्तिको सम्पन्नता किटान गर्न सकिदैन । समूहमा कुनै एक व्यक्तिको समयमुल्यलाई इकाइ मानेर अरुको समयमुल्यसँग दाँज्दा बढी सम्पन्न र कम सम्पन्न छुट्याउन सकिन्छ । असम्पन्न या शुन्य समयमुल्य भएको मानि; भने कहिले पनि हुदैन । अर्कोतिर, मानव समाजमा जहिले पनि समानताका कुराहरू उठ्ने गर्दछन् तर के एउटा आर्थिक या राजनैतिक ढाँचाभित्र सबैलाई समान सम्पन्नता दिन सकिन्छ त ?

वस्तु या सेवाका मुल्य सेयर बजारका सेयर जस्तै समयसमयमा घटबढ भइरहन्छन् र त्यसरी नै फरकफरक हुन्छन् स्थानान्तरमा तिनका मुल्य पनि । पुष महिनाको आँपको मुल्य असार साउनकोसँग दाँजिन सम्भव छैन । जसरी बेजिङमा पाइने उपभोग्यता भित्री मंगोलिया या तिब्बतमा पाउन सकिन्न त्यसरी नै वासिंगटनको उपभोग्यता अलास्कावासीले पाउन सम्भव छैन । समयान्तरले झैं स्थानान्तरले पनि स्वत यी असमानता जन्माइ दिन्छन् र पात्रको महत्ता या प्रभूता पनि त्यहाँ पसि नै हाल्छ । सरकार या राष्ट्रप्रमुखले पाउन सक्ने पहुँच सर्वसाधारणको हुन सक्दैन । शक्ति, सत्ता र सम्पत्तीले दिने सम्पन्नता पनि स्थान, काल या पात्रका कारणले असमान बन्छन् ।

एकछिनको निम्ति एउटा सं‌सारको कल्पना गरौं जहाँ समाजका सबै सदस्यले समान उपभोग्यता पाउछन् सबै मानिसको उपभोग सामर्थ्य एकै नहुनाले पाएको भाग नपुग हुनेले त्यो समानतामा समानता देख्दैन र विकल्प खोज्छ । त्यो भाग भोग गर्न नसक्नेले उब्रिएको अंश संचिति गर्नु या त्यो भोग नगरन्जेल काम नगरी बस्ने विकल्प रोज्छ । संचितिले जहिले पनि त्यसको प्रयोगको बाटो खोज्छ जुन उत्पादनवादको बाटो हो । मार्क्सले यसलाई सच्याएर आवश्यकता अनुसारको उपभोगको ढाँचा प्रस्तुत गरे – सबैलाई आवश्यकतानुसार र सबैबाट सामर्थ्यानुसार । यदि मानिस जानवर जस्तै प्राणी मात्र भएको भए मार्क्सको यो ढाँचा अत्युत्तम थियो तर आजको मानिस प्राणी कम र मानिस धेरै हुनपुग्यो । उसलाई कुनै एउटा सीमाभित्र राखेर उसको भौतिक क्षमतानुसार ऊबाट भौतिक काम गराइन त सजिलो थियो तर उसलाई मानसिका र वौद्धिक खुराक ऊ बाहेक अरु कसैले पनि आँकलन गर्न सक्दैनथ्यो र त्यसरी नै उसको मानसिक र वौद्धिक उत्पादन पनि जोख्न सकिन्न थियो । आफ्नो उत्पादनको मतलव नराख्ने जानवर पनि त होइन ऊ । आफ्नो उत्पादनको प्रतिफल भोग्न नपाएपछि नकारात्मक सम्पन्नतावृद्धिको बाटोमा लाग्नु या कामचोर हुनु स्वभाविक पनि थियो किनकि सम्पन्नतावृद्धिको चाहना मानिसको जन्मजात स्वभाव हो । ७५ वर्षको सोभियत शाशन व्यवस्थाले यही कुरा प्रमाणित गरिदियो ।


मानिसका आवश्यकता – प्राणीजन्य र मानवजन्य

मानिसका आवश्यकता भौतिक र वौद्धिक दुई भागमा विभाजित छन् । भौतिक आवश्कता पनि प्राणीजन्य र मानवजन्य दुई भागमा विभाजित हुन्छ । सासफेर्नु, खानु, पिउनु, सन्तावृद्धिमा सहभागीहुनु यी प्राणीजन्य उपभोग्यताहरू हुन् । यी उपभोग्यताहरूलाई आवश्यकतानुसार पूर्ति गर्न सकिन्छ । मानिसका आवश्यकता विश्लेषण गर्दा मार्क्सको भनाइ यतिसम्ममा सत्य देखिन्छ । शिक्षा, स्वास्थ्य जस्ता मानव सिर्जित उपभोग्यताहरू पनि केही हदसम्म निर्क्योल गर्न सकिएला । मानविय कृयाकलापका यो भन्दा अरु वौद्धिक क्षमता र त्यसका उपज मापन गर्न नसकिएपछि मार्क्सको सिद्धान्त प्राणीजन्य आवश्यकतामा मात्र सीमित हुन्छ । राज्यको नियम र कानुनको दायराभित्र बसेको नागरिकको त्यो आवश्कताको पूर्ति गर्नु राज्यको जिम्मेवारी हो । पेट भर्न पाउनु नागरिकको मौलिक हक हो । कसरी? त्यो राज्यले व्ववस्था गर्ने काम हो । अरु भौतिक सुविधाहरू राज्यको जीवनस्तर सँगै उसले बढाउदै लैजाने प्रकृया हो ।
मानिसका वौद्धिक र मानसिक आवश्यकतारू उसको चाहनाका उपजहरू हुन् । आजभन्दा र अर्कोभन्दा धेरै र विकसित हुने चाहना नै मानिसको विकासको मूल स्रोत हो र यसले नै मानिसलाई अरु प्राणी भन्दा फरक बनाइदिन्छ ।



No comments: