के हो मेरो दर्शन ?
मलाई कसैले पनि प्रश्न गरेको थिएन तर तेरो सिद्धान्त के हो भनेर ? र मैले आफूलाई व्याख्या गरिरहनु परेको थिएन तर मेरो जीवनको छैठौ दशक पार गरेपछि मेरो तेश्रो पुस्ताको युवाले प्रश्न राखिनैहाल्यो – मेरो जीवनको राजनैतिक र आर्थिक दर्शन के हो ?बाटोमा हिड्ने कुनै युवाले यो प्रश्न तेर्स्याएको भए म यो वा ऊ बिङ्गो लगाएर पन्सन सक्ने थिए होला तर आफ्नै घरको तेश्रो पुस्ताको उत्तराधिकारीले यस्तो प्रश्न राखेपछि उत्तर नदिई उम्कन सजिलो भएन । त्यसैले मात्रै म जवाफ लेख्न बसेको हुँ अन्यथा यो प्रश्नमा म घोत्लिरहने थिइनँ ।
मलाई भनिएको छ — मानिस प्राणी हो । मेरो शिक्षा र अनुभवले पनि मानिसलाई प्राणीभन्दा अर्को श्रेणीमा राख्न सक्दिन । त्यसैले सबै प्राणीलाई चाहिने भौतिक आवश्यकता मैले पनि पाउनु पर्ने कुरामा शंका छैन । खानु, पिउनु, सासफेर्नु, सन्तान वृद्धि गर्नु मानिसका यी न्युनतम आवश्यकता हुन् । मलाई यो पनि भनिएको छ कि मानिस अरु प्राणीभन्दा फरक वौद्धिक प्राणी हो अथवा ऊ मानिस हो । त्यसैले ऊ आफ्नो धारणा, विचार र मान्यता अभिव्यक्त गर्न चाहन्छ । अरु प्राणी जहीको तहीं रहिरहेको र मानिसले प्रगतिमा ठुलै फड्को मारेकाले उसको वौद्धिकताले अरु प्राणीलाई उछिनेको कुरा पनि इन्कार गर्न मिल्दैन । यिनै आधारमा मैले आफूलाई र अरु सबै मानिसलाई प्राणी र अझ वौद्धिक प्राणीको श्रेणीमा राख्ने गर्छु । मेरो निम्ति प्राणी हुनुको भाव मेरो भौतिक अस्तित्वसँग जोडिएको छ र मानिस हुनुको भाव वौद्धिक अस्तित्वसँग ।
मानिस सामाजिक र अति विकसित प्राणी भएकोले उसका सामाजिक मान्यता पनि त्यस्तै किसिमका छन् । ती मान्यताका आधारमा मानिसले कुनै सीमितक् क्षेत्र रहेका राज्यहरूको सिर्जना गरेर आफूलाई व्यवस्थित गरेको छ । मानिसको भौतिक पक्षका निम्ति आर्थिक मान्यता कायम भएका छन् र वौद्धिकपक्षका निम्ति राजनैतिक सिद्धान्त । मेरो सिद्धान्त यिनै दुई मान्यताका सेरोफेरोमा घुमेको म पाउछु ।
मानिस राज्यको विधि र विधानलाई मानेर कुनै राज्यको सीमभित्र बस्छ भने राज्य प्रति उसको जिम्मेवारी छ र राज्यको पनि त्यत्तिकै ऊ प्रति जिम्मेवारी हुनुपर्छ । त्यसैले उसको आफ्नो भौतिक अस्तित्वको निम्ति उसले साधन जुटाउन सकेन भने राज्यले त्यसको जिम्मेवारी लिनुपर्छ भन्ने मेरो पहिलो मान्यता हो । बाँच्न सबैले पाउनु पर्छ भन्ने मेरो मान्यताका कारणले मलाई मेर प्रजातन्त्रवादी मित्र र नातागोताहरू मलाई अधिनायकवादी वामपन्थी भएको आरोप लगाउछन् । बाँच्नकानिम्ति चाहिने सामग्री समान हुनुपर्छ भन्नेमा मलाई विश्वास छैन तर ढिंडोले नै सही पेट सबैले टन्न भर्न पाउनु पर्छ भन्ने मान्यता भने मेरो हो । राज्यको विकाससँगै त्यो ढिडोको गुणस्तर बढाउदै लैजानु पर्छ भन्ने मान्यता पनि राख्छु म ।
अघि नै भनिसकियो कि मानिस प्राणी मात्रै होइन, वौद्धिक मानिस पनि हो । ऊ चिन्तन, मनन गर्दछ र त्यसलाई अभिव्यक्त गर्न पनि चाहन्छ । मानिसको विकास नै उसको वौद्धिक क्षमताबाट भएको हो । त्यसैले शान्तिपूर्ण अभिव्यक्तीमा रोक लगाउन हुन्न भन्ने मेरो विचारधाराका आधारमा मेरा वामपन्थी मित्र र नातागोता मलाई बुर्जुआ र अप्रगतिशिलका नामले सुशोभित गर्छन् । अथवा नेपालकै सन्दर्भमा नेपाली कांग्रेसका केन्द्रिय समितिका मेरा मित्र र चिनाजानहरू कम्युनिष्ट बिल्ला लगाइदिन्छन् भने नेपाली कम्युनिष्ट नातागोता बुर्जुआ कांग्रेसको हिमायती ठान्छन् । मेरै टोलमा पनि म यी दुई विचारधारको मानिसमा गनिन्छु राजनैतिक चासो राख्ने मानिसका मेरा छिमेकीहरूका बीचमा ।
No comments:
Post a Comment