Friday, July 25, 2014

जीवनयात्रा ४



मेरी बजै, मेरा गुरु र मेरो पहिलो पाठशाला
मेरो जीवनको कखहरा मैले मेरी बजैको काँखबाट सुरु गरेको हुँ र मेरो शिक्षाको बाह्रखरी पनि मैले त्यहीं सिकेको हुँ। घाँस, दाउरा, मेलापात, चुलोचौको गर्नु पर्ने र काँखमा दुधखाने सानो छोरो पनि भएकी मेरी आमाले मलाई काँखमा लिने फुर्सद पाउन्नथिन् र म त्यसको माग पनि गर्दिनथें। म सार्‍है सानो थिएँ त्यस बेला। बल्दो बैसमा पनि १५५ सेन्टिमिटर उचाइ र ४५ किलोग्राम तौल हुने व्यक्ति ३।४ वर्षको उमेरमा कस्तो हुन सक्थ्यो? यसै अन्दाज गर्न सकिन्छ। मेरी आमा र अरूको भनाइ मान्ने हो भने म दुई वर्षको उमेरमा भैंसीले एकपल्ट गोब्य्राएको गोबर भन्दा अलिकति मात्रै बढी थिएँ रे। यसरी गोबरसँग जोख्दा गोबरभन्दा बढी भए सबै रोगव्याधी गएर बाँच्ने संभावना बढ्छ भन्ने लोकमान्यता अनुसार साँचै नै गोबरसँग जोखेका थिए रे मलाई। पल्लो कटेरोको भित्तामा सुकाएको गोबर त्यही मलाई जोखेको गोबर हो भन्थे सबै जना। 
मेरी बजै ठुलो जिउडालकी मोटी थिइन् र काँखमा बसेर खास्टोले छोपिदा म काँखमा नभएको देखिने। मलाई बाह्रखरी कण्ठस्थ गराउन मेरी बजै ठुलो स्वरले कराएर दोहोर्‍याउन लगाउथिन्। मेरी फुपू, बडाबा, बडीआमाहरूलाई त्यो चिच्याहट झर्को पनि लाग्थ्यो होला तर कसैले केही नभने पनि मेरी कान्छी फुपू त भनिहाल्थिन् —"'कति कराउनुहुन्छ, ए आमा? मूलबाटोमा हिडनेले पनि यो बुढी बौलाइछ भन्लान्।"
"भने भनुन् त। मेरो नाति पढाउदा पनि कसैले बुढी बौलाइछ भन्यो भने खाँच्चैसित"  भन्दै उनी मलाई रटाउन थाल्थिन्।  
हुनत अरू पनि नातिहरू थिए तैपनि मेरी बजै ममा नै बढी चासो राख्थिन्। मलाई लाग्छ – म मेरी बजैको मृगतृष्णाको एउटा त्यान्द्रो थिएँ र उनी आफ्नो मरेको कान्छो छोरोको जम्मै माया ममा पोखेर मातृत्व रिणबाट मुक्त हुन खोज्थिन्। उनी भन्थिन् — "म यसलाई पढाएर विद्वान पण्डित बनाउछु र यसले व्यासाशन बसेर पुराण सुनेपछि मात्रै मर्छु।'
मेरा ज्ञान र शिक्षाका कारकहरू धेरै छन् तर मेरी बजै त्यो चाहकी उत्प्रेरक हुन्। मेरो सम्झनाको पहिलो चरण नै मेरी बजैको काखमा बसेर बार्‍हखरी कण्ठस्थ गर्न लागेको अनुभूति हो। उनलाई म ठूलो मानिस बनेको देख्ने अभिलाषा थियो। टुहुरो नातिमाथिको बजैको अपहत्ते देखेर मेरा बडाबा, बडीआमा या अरू कसैको मुखबाट 'के के न बनाउँला भनेर यो अपहत्ते गरेको होला, हेरिहालुँ ला नि' भनेका शब्दले उनलाई पोल्थ्यो पनि होला । 
मैले मेरो भाषाका सावाँ अक्षर कहिले सिकें? थाहा छैन। म त बजैको काँखमा बसेर ती अक्षर भट्याएको मात्र सम्झन्छु। बजैको काँख छोडेर पाठशाला गएको मलाई थाहा छ र त्यो पाठशाला त्यो गाउँको नियमित पाठशाला थियो। गाउँका पण्डित नारद लामिछाने पाठशालाका गुरु थापिएका थिए र मेरो घर नजिकैको रामालय–शिवालयको पाटीमा परालको सुकुल ओछ्याएर हामी पढ्ने गर्थ्यौं। गुरुको आशनमा भने सुकुलमाथि एउटा सानो राडी पनि ओछ्याइएको हुन्थ्यो।  
मेरो पाठशालाको पहिलो पुस्तक, सचित्र ठुलो वर्णमाला हो। सावाँअक्षर, बाह्राखरी, अंक, दशमांक, दुनोट सबै यही पुस्तकबाट सिकेको हुँ मैले। काठको धुलौटोमा मसिनो धुलो पारेको रातोमाटो हालेर बाँसको डिको(छेस्को) ले हामी लेख्न सिक्थ्यौं र मैले पनि त्यसरी नै सिकेको हुँ। बाँसको कलम र बत्तीको गाजल र तितेपातीको झोल मिसाएर बनाएको मसीबाट लेख्न त निकै पछि थालिएको हो। मेरी बजै कहिलेकही पाठशालामा नै पनि पुग्थिन् र मेरो पढाइको खै गर्थिन्। बजै पाठशाला आएको देखेर मलाई सधैं डर भइरहन्थ्यो कि कहीं उनले मेरा गुरुलाई गाली गरेर मेरो अबगाल नपारून्।  
मेरी बजै, ठुलो वर्णमाला र नारदगुरु मेरो प्राथमिक शिक्षाका सूत्रधारहरू हुन्। मैले सधैं बिहानै पञ्चस्नान गरेर बजैले पुजा गर्दा गरिने पाठका श्लोकहरू सुन्नु पर्थ्यो र केही जान्ने भएपछि आफैंले पनि पढ्नु पर्थ्यो। बजैले मलाई निधारमा त्रिपुण्डक लगाइदिएर नैवेद्य खान दिन्थिन्। यी नित्यकर्म पछि म ठुलो वर्णमाला समाएर घोकन्ति विद्या गर्थें। बिहान खाना खाएपछि म त्यही वर्णमाला र धुलौटो समाएर पाठशाल पुग्थें। सावाँ अक्षरदेखि लघुकौमुदीसम्म एउटै गुरुले पढाउने हुनाले एउटै सुकुलमा कोही पाणिनीका सुत्रहरू घोकिरहेका हुन्थे भने कोही सावाँ अक्षर कोर्ने प्रयासमा हुन्थे। पाठशाला आइपुग्ने बित्तिकै गुरुलाई खुट्टामा शिर राखेर सरस्वती वन्दना गर्नु सधैंको नियम थियो र त्यो पनि प्रत्येक विद्यार्थीले अलग अलग गर्दथ्यो। सामुहिक वन्दनाको चलन थिएन त्यहाँ।  
दिनमाभन्दा रातमा बढी पढिन्छ भन्ने विद्यार्थी सोचाइ त्यो समयमा पनि थियो र कतिपय विद्यार्थीहरू खाना खाएर बेलुका पाठशालामा नै सुत्न आउथे। त्यसैको देखासिकी म पनि घरमा खाना खाएर घरबाट २।४ मिनटको बाटो परको पाठशालामा नै सुत्न थालें। रातिसुत्नेले बत्ती बाल्न मट्टीतेल ल्याउनु पर्थ्यो र त्यो दुर्गम पहाडी गाउँमा त्यो समयमा मट्टीतेल खर्चिलो सामग्री ठहरिन्थ्यो। हामीजस्ता सम्पन्न परिवारलेमात्र प्रयोग गर्न सक्ने हुदा त्यो जमातमा मेरा नजिकका काका र दाजु मात्रै धेरै थिए। नाताले म सबैभन्दा कान्छो थिएँ र उमेरको हिसाबले पनि म सबैभन्दा सानो थिएँ। सात वर्षको उमेरको म हुँदा उनीहरू मभन्दा १०।१२ वर्षसम्म जेठा पनि थिए। मेरो मट्टीतेलको पालो आयो कि मेरी बजै उनीहरूलाई भन्ने गर्थिन् — 'बाबु हो ! यो फुच्चेलाई किन तेलको पालो लगाउछौ? यो राति के पढ्छ र? सुतिहाल्छ। फेरि उठ्यो नै भने पनि तिमीहरूजस्तो ठुलो ठाउँ ओगट्ने होइन। यसो छेउबाट आएको उज्यालोमा पढ्ने त हो नि।'
तर बजैको त्यो भनाइले मेरो पालो हट्दैनथ्यो र म पनि 'तेरो तेल छैन, तँ बत्तीमा नपढ्' भनेर अपमानित हुनुभन्दा बजै र आमासँग रोइकराइ मट्टीतेल लिएर नै जान्थें। 
यसरी नै चलेथ्यो मेरो पहिलो पाठशाला। 
काठमाडौं, कुलेश्वर
२०५२।१०।१९

Thursday, July 24, 2014

विद्युतविकास र भारत



नेपाल-भारत विद्युतविकास सम्झौता

नेपाली छापामा आए अनुसार भारतले पठाएको विद्युतविकास सम्झौताको ड्राफ्टमा केही मूल कुरा संशोधन गर्नु पर्ने भन्ने राय देखिन्छ । नेपाल र भारत दुवैको निम्ति नेपालमा विद्युत विकास भएमा फाइदा हुने कुरामा शंका छैन  तर प्रत्येक जलस्रोत सन्धिमा आफू ठगिएको नेपालीले अनुभव गरेको र ती सन्धिहरू भारतिय कांग्रेसको कार्यकालमा भएकाले अहिलेको भारतिय जनता पार्टोको सरकारले त्यो आशंकालाई हटाउनु पहिलो आवश्यकता छ । नेपाली जनताको यो आशंकालाई नेपाली पक्षले प्रष्ट रूपमा भारतिय पक्ष सामु राखेर द्विअर्थी बुँदाहरूलाई प्रत्यक्ष रूपमा नकार्न सक्नु पर्छ । बिहारको साँधमा बाँध राखेर चेपुवामा अरुण नदीको जलाशय बनाउन पाइन्न भनेजस्ता शर्तहरू नेपालीलाई ग्राह्य हुने कुरा हुदैनन् । नेपालको विद्युतविकास नेपाल र भारतको सहयोगमा हुनेछ मात्र भनियो भने सजिलैसँग नेपालको विद्युतविकासमा भारतको सहयोगको अनिवार्यता देखाएर परिभाषा गर्न सकिन्छ र नेपला आफै या तेश्रो पक्षको सहयोगमा विद्युत निर्माण इन्कार गरिन सक्छ । "दुधका जला छाँछको फूककर पिता है" भएको छ नेपालको निम्ति । त्यसैले भारतको सहयोग नेपाललाई आवश्यक छ तर सहयोगको नाममा नेपालको जलस्रोतमा भारतको आधिपत्य या अग्राधिकार हुनु हुदैन भन्ने नेपाली चाहन्छन् । नेपालले पनि बुझाउन र भारतले पनि बुझ्न सक्नु पर्‍यो कि जुन रूपले विद्युतविकास भए पनि फाइदा त भारतलाई नै हुन्छ किनकि नेपालको बजार नै भारत हो किन्न पनि र बेच्न पनि । 

नेपाल-भारत बीचको विद्युतविकास सम्झौताम नेपाल, भारत दुवै पक्षले प्रशाशनिक भन्दा राजनैतिक सोचले निर्णय गर्नु पर्ने हुन्छ । गएको भारतिय सरकारको समयमा तत्कालिन प्रधानमंत्री मनमोहन सिंहसँग  राजनैतिक नेतृत्व नभएको र राजनैतिक नेतृत्व हुने सोनिया गांधीसँग नेपाल र भारतको निकटता बारे अनुभव नभएकोले दुई देश वीचको सम्बन्धमा भारतिय प्रशाशन हावी भएको कुरा सत्य हो । त्यसैले अहिलेको भारतिय सरकारले नेपालीको संवेदनशिलतालाई बुझेर सम्झौता गर्नु पर्छ र सो बुझिएन भने त्यसले नेपाल भारत दुवैको निम्ति दूरगामी दुष्परिणाम ल्याउन सक्छ ।

जोरपाटी १, काठमाडौँ
२०७१ श्रावण ८

जीवनयात्रा ३



मेरा बाबु

(१३ वर्षको उमेरमा मेरा बाबु)

बिहानीको ९ बजे पनि घाम अझै आँगनमा आइपुगेको थिएन। उठ्न लागेको घोडाजस्तो देखिने त्यो मकालु घाममा चुनले पोतेजस्तो टल्किए पनि त्यो उत्तरपश्चिम फर्किएको गाउँ भने अझै घामलाई पर्खेरै बसेको थियो। घाम नआइपुगे पनि जेठको महिना भएकोले बिहान चिसो त थिएन तर त्यो घरभित्र र बाहिरको वातावरण भने असाध्यै गर्‍हुँगो र चिसो थियो। आँगनभरि बसेका लोग्नेमानिसहरूमा विषाद थियो। उनीहरू हरिया बाँसको खटिया बनाइरहेका थिए। पूर्वपट्टिको तुलशीको मठमा मेरा बाबुलाई सेतो कपडाले पुरै छोपिदिएर सुताइएको थियो र घरभित्र आइमाईहरू रोइरहेका थिए। 

यो मैले देखेको दृश्य हुन पनि सक्छ अथवा धेरै लाश त्यसरी नै सुताएको देखेकाले वाल्यकालको मेरो कल्पना पनि हुन सक्छ। मेरा बाबुका बारेमा म यति मात्रै सम्झन्छु र अढाई वर्षको उमेरमा देखेको त्यो दृश्य मेरो वास्तविक सम्झना नभएर कल्पना नै हो भने पनि सो कल्पना यति स्पष्ट छ कि अहिले मलाई त्यो सत्य होइन भनेर मान्न गाहारो छ।  

मेरा बाबुलाई मैले कहिले पनि देखिनँ अथवा अबुझ हुदै देखेकाले उनको अनुहार, कद, बोलीचाली केही पनि सम्झन्नँ। उनको तस्विर पनि उनी १२/१३ वर्षको हुदाको देखेकाले बाबुका रूपमा म कल्पना गर्न सक्दिनँ र कल्पना गर्नु आवश्यक पनि ठानिनँ। बाइस वर्षको उमेरमा मरेका बाबु अढाई वर्षको बालकका निम्ति परचक्री जत्तिकै नौलो र पराया हुनु स्वाभाविक हो। त्यस्तो स्थितिमा बाबुको आवश्यकता बालकले अनुभव गर्न पनि सक्दो रहेनछ र उसको निम्ति बाबु व्यक्ति नभएर नाताको मात्र हुदो रहेछ। मैले बाबुसँगको नाता यस्तै अनुभव गरें।  

बाइस वर्ष पनि नपुगी विधवा हुने मेरी आमा र बुढेसकालमा जवान कान्छो छोरो मरेको देख्ने मेरी बजैको निम्ति त्यो मृत्यु ठूलो आघात थियो। मेरो निम्ति त त्यो शंख बजेको, मानिस जम्मा भएको दिन अवश्य पनि रमाइलो भयो होला र भित्र बाहिर गरिरहे हुँला। कुनै नातेदार आइमाईले मलाई रुँदै उठायो पनि होला र बाबु मरेको र आमा बेहोश भएकाले बेवारिसजस्तो भएको मेरो चार महिनाको भाइलाई पनि कुनै आइमाईले दुध खुवाएर अवश्य शान्त गरिन् होला। यी कुरा मलाई कसैले पनि भनेन। यो केवल मेरो कल्पना मात्रै हो तर पछिसम्म पनि मेरी जेठी बडिआमा भन्ने गर्थीन्  — "उता बाबुको लाश बाहिर लडाएर सबै रुवावासी गर्थे, यो भने दहीचिउरा खान पाइनँ भनेर मरिमरि रुन्थ्यो।" 

मेरी आमा भन्ने गर्थिन् — मेरा बाबु जुवाडे थिए। मेरी बडीआमाहरू भन्थे  — मेरा बाबु छुच्चा थिए। र मेरा फुपूहरू भन्थे  — मेरा बाबु छिटा र छरिता थिए। उनीहरूले यी कुरा कहिले रिसाएर र कहिले खुसाएर या कहिले ठट्टैमा र कहिले भने साँचै गरेर भन्थे। ससुराली गएको बेला आफूसँग भएको जम्मै पैसा जुवामा हारेर आफूसँग पैसा माग्ने लोग्ने नवविवाहिताका लागि जुवाडे लाग्नु पहिलो स्वाभाविक प्रभाव थियो। जुवा नखेल्ने परिवारमा हुर्किएकी मेरी आमाका निम्ति २ पैसाको जुवा पनि जुवाडेहरूको खेल सम्झेर ननिको लाग्यो होला। कान्छो छोरो भएर भाउजुहरूको पोल आमालाई सुनाएर छुच्याइँ गर्ने या देवरका नाताले भाउजूहरूलाई सास्ती दिन खोज्ने सबैभन्दा कान्छो देवरको उदण्डता भाउजूहरूले छुच्याइँ मान्न सक्थे। पिटपाट गरेर भाग्ने, दिदीबहिनीको भाग खोसेर खाने या प्रतिद्वर्‍न्दीलाई उछिनेर उम्कन सक्ने दाजुभाइ दिदीबहिनीहरूलाई छिटो लाग्नु आफ्नो रगतको बखान गर्नु स्वाभाविक थियो। मलाई लाग्छ – यी सबै कुरा मेरा बाबुमा अवश्य थिए होलान् किनकि एउटा सम्भ्रान्त बिर्तावालको बुढेसकालको कान्छो छोरो छिटो, छुच्चो र जुवाडे हुनु कुलिनताका चिन्ह मानिन्थे र मेरा बाबुको जन्म त्यस्तै परिवारमा भएको थियो। कसैसँग नदब्नु, नडराउनु र आक्रामक हुनु अर्को विशेषता र त्यो पनि त्यही कुलिनताको लक्षण मानिन्थ्यो। त्यसैले मेरा बाबुका समकालिन नातेदारले सुनाएसम्म कुराबाट म यति भन्न सक्छु कि मेरा बाबु नेपालको एउटा दुर्गम गाउँका आफूलाई कुलिन ठान्ने एउटा सम्भ्रान्त परिवारको तन्देरीको प्रतिनिधि पात्र थिए र त्यो कुलिनता र त्यो सम्पन्नता कति कुलिन र कति सम्पन्न थियो त्यो पछाडि स्पष्ट हुदै जानेछ। 

मेरा बाबुको मृत्यु कुन रोगबाट भयो? त्यसको स्पष्ट जवाफ मैले कसैबाट पनि पाइनँ। त्यो समयमा त्यो ठाउँमा व्यथालाई जरो आउने, पेट देख्ने, छाती दुख्ने, टाउको दुख्ने या घाउपिलो आदिमा विभाजन गरिन्थ्यो र जरो आएर नै मेरा बाबुको मृत्यु भएको हो भन्ने मात्र मैले सुनेँ। अरूको मुखबाट सुनेको जरोको लक्षण, अवधिबाट मैले मेरा बाबु टाइफाइबाट मरेका हुन् भन्ने अन्दाज काट्न सक्छु। जुन ठाउँमा ओखतीका नाममा तातोपानी, जिरामरिच, नुनबेसार र २।४ वटा झारपात मात्र थिए त्यहाँ मृत्युको निम्ति कुनै कारण पनि चाहिदैनथ्यो। 

बाबुका बारेमा मेरो ज्ञान अति सीमित छ।  आफूले नचिनेको, नजानेको व्यक्तिका बारेमा अर्को कहिलेकहीँ भनेको भरमा चित्रण गर्न यसै पनि गाहारो हुन्छ। त्यसमा पनि मेरा बाबुको जीवन त साँचै पानीको थोपाजस्तै छोटो थियो। किशोरावस्था नाघेर बैंसमा खुट्टा हालेको केही वर्षमा नै उनी बिदा भए। शास्त्र, साहित्य, कला, पुरुषार्थ या पौरख केही पनि नभएका मेरा बाबुलाई सम्झिने र सम्झाउने आधार पनि केही थिएन । त्यसैले उनको मृत्युपछि उनको अवशेषका रूपमा हामी मात्र बाँकी रहेका थियौं, केवल हामी  — मेरी आमा, मेरी दिदी, म र मेरो भाइ।