Tuesday, August 20, 2013

पुराना लेख - १



भ्रष्टाचार विरुद्ध अभियान 

म प्रत्येक दिन बिहानी अखवारको पाना पल्टाउछु र मध्यपानामा लेखिने लेख पढछु। देशका जल्दाबल्दा समस्याहरूको विवेचना नै यस्ता मध्यपानाका लेखहरूको उद्देश्य हुनु पर्ने हुनाले म मध्यपानालाई प्रथम पाना भन्दा प्राथमिकता दिने गर्दछु। मेरो यो सोच राष्ट्रिय र अन्तरराष्ट्रिय दुवै अखवारहरूको अनुभवबाट आएको हो। अन्तरराष्ट्रिय अखवारहरूमा त यो पानाका स्तम्भकारहरूको पहुँच केन्द्रिय राजनितिज्ञहरूमा समेत हुन्छ र यसका लेखहरूले केन्द्रिय नितिका लक्षणहरू समेत इङ्गित गर्दछन। नेपालको संदर्भमा पनि कतिपय स्तम्भकारहरूको सम्बन्ध केन्द्रिय नेतासम्म पनि पाइन्छ तर त्यो पत्रकारिताको कारणले नभएर राजनैतिक कारणले हुने गरेको देखिन्छ। 

नेपाली पत्रिकाहरूका मध्यपानामा सबै किसिमका विषय वस्तु छोइएको पाइए पनि नेपालको विकासको अवरोधको मूल समस्यालाई कसरी रोकथाम गर्ने ? त्यो बारे कही पनि छलफल गरेको पाइन्न। पहिले मैले सोचेको थिएँ शायद त्योबारे स्तम्भकारहरूको दृष्टि नपुगेको हुन सक्छ। तर समयले के देखाइदियो भने हाम्रा स्तम्भकारहरू आँखा अगाडिको सत्यलाई देख्न नसक्ने मुर्ख होइनन। उनीहरूले त्यसमा चाहेर नै दृष्टि नदिएका हुन। जुन विषय वस्तु खोतल्नाले आफ्नो राजनैतिक आस्थामा धक्का लाग्न सक्छ या आफ्ना निकट राजनितिज्ञहरूको स्वार्थ्यमा वाधा पुग्न सक्छ त्यो विषयमा उनीहरू मौन बस्ने प्रवृत्ति शायद पत्रकारिता नभए पनि प्राकृतिक भने हो। 

नेपालको विकास हुन नसक्नुको एउटै मात्र कारण भ्रष्टाचार हो र भ्रष्टाचारका जरा यत्रतत्र सर्वत्र देश भरि छरिएका छन। यसबाट म चोखो छु भनेर कसैले पनि दावी गर्न सकने परिस्थिती आज छैन। जो भ्रष्टाचारमा संलग्न भएको छैन उसले पनि भ्रष्टाचारलाई समाजको एउटा स्विकृत दिनचर्याको भाग ठान्ने परिस्थितिको वातावरण बन्नु नै भ्रष्टाचार एउटा समाज स्विकृत अपराधहुन पुगेको देखिन्छ। यसो नहुदो हो त '्रष्टाचार गरे पनि यसो एउटा घर घडेरी जोडन हुने भ्रष्टाचार पो गर्नहुन्छ त' भन्ने आशयको अभिव्यक्ति भ्रष्टाचार निवारण आयोगका मुख्य आयुक्तको मुखबाट आउने थिएन।  

कतिपयले सोचेका छन भ्रष्टाचारले नेपालीहरूलाई मात्र छुने गरेकोछ तर वास्तविकता त्यो भन्दा पर छ। गरीब देशका मानिसहरूलाई पैसाले किन्न सकिन्छ भन्ने कुरा विदेशीलाई पनि थाहा छ र त्यसमा प्रयोग हुने पैसामध्ये केही भाग यो नाम या ऊ नामले नेपाल सँग सम्बद्ध विदेशीले पनि यो देशमा उपभोग गर्दछ जुन कुरा आफ्नो देशमा गर्न सक्दैन। आफ्नै हातले नेपालीलाई दिन हुने राशी त ऊ तालिम, भ्रमण आदि अनावश्यक कार्यक्रम मार्फत उपलब्ध गराउछ नै, सो बाहेक ठेकेदार, कम्पनिप्रतिनिधि आदिद्वारा कमिशन रकम राशी पनि जुटादिन्छ। त्यसैले ऊ भ्रष्टाचारको माध्यम पनि बनदिन्छ कहिले कहीं। 

नहुनेले मात्र भ्रष्टाचार गरेको छ भन्ने पनि होइन। धनसम्पन्न र सत्तासम्पन्नले पनि उत्तिकै भ्रष्टाचार गरेका छन। राजादेखि जनतासम्म जो कोही पनि मौका पाउने बित्तिकै त्यो आहालमा पौडी खेलेकै छन। राजाको बोलीमा कानुन हुने पंचायती व्यवस्थामा राजपरिवारलाई त यसै पनि छुट थियो नै , नुनको सोझो गर्ने कालेबाजे या अरु यस्तै सबैको निम्ति भ्रष्टाचार छुट थियो। ०३६ सालको जनमतसंग्रहमा त थापा काजीहरूले इतिहासमा नै नाम राख्नसक्ने विकृत भ्रष्टाचारको रूप देखाइदिए। त्यसैको देखासिकी जनप्रतिनिधि भएर सत्तामा आइपुगेका दलिय मन्त्रीहरू पनि सत्तामा पुगेपछि सात खत माफ हुन्छ भन्ने विकृत धारणाले पतनको बाटोमा ओरालो लागे र पंचायती मानसिकतामा तालिम भएका कर्मचारीहरू उनीहरूका मार्गदर्शक बने। धन नभए सत्ताबाट ओर्लिए पछि केले राजनिति गर्ने ? भन्ने एउटा त्राश उनीहरूको मनमा ल्याइदिएर उनीहरूलाई भ्रष्ट बनाइयो। अन्यथा चिरञ्जीवी वाग्ले या खुम बहादुर खडका सर्य बहादुर थापा भन्दा भ्रष्टाचारको निम्ति मलिलो माटो त कसै पनि होइनन। 

अब विषय प्रशङ्गतिर जाऊँ। भ्रष्टाचारको अन्त्य नभई देश विकासगर्ने आशा एउटा दिवास्वप्न हो र भ्रष्टाचार एउटा अति निष्कृष्ट कार्य हो भनेर भ्रष्टाचारीलाई समाजमा हेयको वस्तु मानिने जनधारणाको विकास नहुन्जेलसम्म भ्रष्टाचार रोकिने सम्भावना छैन। एउटा मासिक रु.५००० कमाउने मानिसले पाँच वर्ष भित्र पचास लाखको घर किन्छ र कानुनी दृष्टिमा अपराध गरेको छैन भनेर उसलाई छुट दिइन्छ भने त्यो कानुनले भ्रष्टाचारलाई प्रोत्साहन गर्दछ र छुट दिनेलाई नै पनि भ्रष्टाचारी भनेर कारवाही गरे हुन्छ किनकि मागेर त गौंथलीको गुँड पनि बन्दैन , गुँड पनि सिन्को सिन्कोले मात्र जोडिन्छ। आँखा अगाडिको सत्यलाई नियम र कानुनको छिद्रमा हालेर असत्य बनाउने प्रयाशै पनि भ्रष्टाचार हो। 

कसले भ्रष्टाचार गरेको छ र कसले छैन त्यो समाजमा घाम जस्तै छर्लंग देखिन्छ। हरेक भ्रष्टाचारको अन्तिम लक्ष त्यसको भौतिक उपभोग नै हो र समाजमा भ्रष्टआर्जन उपभोगको खोजी र पर्दाफासको निम्ति समूह गठन हुने बित्तिकै भ्रष्टाचार धेरै नै घटछ र ती समूहले कोही कसैको पर्दा च्यात्ने बित्तिकै धेरैलाई त्यसले सचेत गराउछ। त्यसैले भ्रष्टाचारको निरिक्षण र भण्डाफोर  गर्न सचेत नागरिकहरूको टोली पहिलो आवश्यकता हो। 

दोश्रो , न्यायप्रतिपादन पनि भ्रष्टाचार रोक्ने एउटा बलियो माध्यम हो तर यसले राम्रो काम गरेन भने यसले रोक्ने भन्दा बढाउने गर्दछ। नेपालको सन्दर्भमा पहिलो भन्दा पछिल्लोले धेरै काम गरेकोछ। नियम र कानुनका प्वाल नै खोज्ने हो भने त्यसलाई जहिले पनि र जसले पनि आफ्नै किसिमले परिभाषित गर्न सक्छ र त्यो भएको छ पनि। भ्रष्टाचार विरुद्धको अभियानमा त्यहाँ पनि चौकसीगर्ने समूहको आवश्यकता छ अन्यथा व्यवशायको इमान्दारीमा भन्दा कमाउने पेशामा लागेका व्यक्तिहरूले भ्रष्टाचारीको कमाइमा हिस्सेदार भएर भ्रष्टाचारीलाई छुटाउने र छुट दिनेछन। भ्रष्टाचार निवारण आयोगले समाएका सम्पन्न र शक्तिशाली व्यक्तिहरू अदालतसम्म नपुग्नु वा पुगेर पनि दण्डित नहुनुको मुख्य कारण नै न्यायप्रतिपादनको समयमा  जन चौकसीको अभाव हो। 

तेश्रो, बिरुवा जस्तो छ फल पनि त्यस्तै पाइने हो। 'जसरी कमाए पनि हुन्छ , कमाउनु चाहिं पर्छ' भन्ने बाबुको छोरो भ्रष्टाचार गर्न हिचकिचाउदैन। यो त देखिएको , भोगिएको सत्य हो। 'आजको युग व्यक्तिवादी युग हो , मान्छेको प्रगति भए देश त्यसै प्रगति हुन्छ' भन्ने गुरुका चेलाचेलीले गुरुको तलव लुटेर खान्छन। यो आजको वर्तमान हो। त्यसैले प्रजातन्त्रको नाममा बालकहरूको बिद्यालयमा मनपरी शिक्षादिने छुट दिनुहुन्न। शिक्षानितिमा नैतिकताको निश्चित माप र दायरा राख्नै पर्छ किनकि जसमा नैतिकता र माटोको माया छैन त्यो व्यक्ति देशमा हुने भ्रष्टाचारप्रति सचेत हुन पनि सक्दैन या जो बालक अर्काको मानु खाएर वा अर्को देशको भक्ति गीत गाएर पढाइ गर्छ त्यसमा यो देशप्रति माया र वफादारी हुनुपर्ने वाध्यता छैन र यो उसको देाष  पनि होइन। आफ्ना छोराछोरीलाई तिरङ्गा या स्टार एण्ड स्ट्राइप को हावा खुवाएर सोलुको भोटे या दाङको थारुको छोराको बराबरी राष्टि्र्यता ल्याउछु भनेर सपना देख्नेहरू भ्रष्टाचारका अर्का नमुनाहरू हुन। 

भ्रष्टाचारको अर्को ठूलो स्रोत वैदेशिक सहायता भएको छ। दाताहरूका परामर्शदाताहरूमा निश्पक्षताको कमी र वैदेशिक ठेकेदारहरूको अपारदर्शी कमिशन प्रणाली लोभ्याउने र भ्रष्टाचार निम्त्याउने माध्यम भएको छ। कमिशन दिन सकिने तर त्यो रकम खुला देखाइनु पर्ने र त्यसको झुटो विवरण दिएमा ठेकेदार दण्डितहुने व्यवस्था दाताहरूसँग नै तय गर्नु दुई पक्ष  बिचको नैतिक इमान्दारी हो र यसले उच्च पदस्थ अधिकारीबाट हुन सक्ने भ्रष्टाचारलाई रोक्दछ। यस्तो व्यवस्थाको निम्ति पनि सजग समूह सक्रिय हुनु आवश्यक छ। 

एक थरीको सोचाइ छ भ्रष्टाचारको मूल जरो व्यवस्था हो। तर उनीहरू के सोच्न सक्दैनन भने भ्रष्टाचार हिजो पनि आज भन्दा कम थिएन। उडने र गुडने घर हिजो पनि बनेका थिए , नेपालमा सय वर्षमा पनि नजन्मिएका सर्पका छाला हिजो पनि निकासी भएका थिए। त्यसरी नै रातारात लाखौं बिगाहा बन स्वाहा भएका थिए। हिजो पनि आज जस्तै एउटा देश हिडेका प्रधानमन्त्री अर्कै देश पुगेका थिए। राष्ट्रबैंकबाट स्विसबैंकमा व्यक्तिको नाममा रकम उडेको पनि हिजो नै हो र नमिता र सुमिताले न्याय नपाएको पनि त्यही हिजोको दिनमा हो। फरक कति मात्र हो भने हिजोका दिनमा कानुन बनाउनेलाई कानुनले समाउन सक्दैनथ्यो भने आज स्वयम कानुन बनाउनेहरू त्यही कानुनको दाम्लोले बाँधिएर आफूलाई निर्दोष प्रमाणित  गर्नु पर्ने वाध्यताले जेल भित्र परेकाछन। शिशु अवस्थामा नै भएकोले यसका कमी , कमजोरी भए पनि  प्रजातन्त्रको विशेषता भन्नु नै यही हो। व्यवस्थामा परिपक्वता आउन त समय लाग्दछ। त्यसैले प्रजातन्त्रप्रति आस्था राख्नु हाम्रो परिपक्वताको परिचय हो। 

बागडोल , ललितपुर
२४ मार्ग २०५९

Friday, August 16, 2013

PROSPEROLOGY



मानव विकास

संसारमा लाखौँ किसिमका जीवहरू छन् र तिनको आफ्नै अस्तित्व छ । कतिपय सन्तहरू भन्छन् - तिनीहरूको पनि मानिसको जत्तिकै बाँच्ने अधिकार छ । पशुअधिकारका निम्ति संघर्ष गर्ने त बराबर भेटिई नै रहन्छन् । भुस्याहा कुकुर, बिराला, बेवारिसे गाईवस्तु आदिलाई संरक्षण गर्नेको नाम पनि सुनेका छौँ । अझ मुसाको मन्दीर नै बनाएर मुसालाई दानापानी पुर्‍याउनेहरू पनि छन् यो ससारमा तर त्यो दया  मानिसको उत्पत्ती भएपछि मात्रै, प्राणीअधिकारका कुरा नआए पनि, पशुअधिकारको कुरा निस्किएकोमा शंका छैन । त्यो भन्दा अगाडि त एक कोषिय जीवदेखि मानिससम्मको लामो अन्तरालमा प्राणीले विकासको एउटा लामो यात्रा तय गरेको छ बिना कसैको दया र माया । संघर्ष भएको छ प्रकृतिसँग, बेजाति प्राणीहरूसित र आफ्नै जातिको प्राणीसँग पनि । जसले प्रकृति अनुरूपको संघर्षमा आफूलाई उपयुक्त बनाउन सक्यो त्यो बाँच्यो, नसक्ने मेटिएर गयो । मानववंशकै पुर्खाहरूमा पनि विकासका क्रममा कति प्रजातिहरू मेटिएर गए । अन्ततः मानवप्राणी अरू प्राणीभन्दा सफल भयो र पृथ्वीमाथि अधिकार जमाएर बस्यो । कतिपय प्राणी उसैले नष्ट गर्‍यो, कतिलाई आफ्नो सुविधाको निम्ति जोगाएर राख्यो ।
अरू प्राणीमाथि विजय पाएपछि मानिस मानिस बीचमा प्रतिद्वन्दिता शुरू भयो र एक व्यक्तिले अर्को व्यक्तिलाई, एक जातिले अर्को जातिलाई नष्ट गर्ने द्वन्द पनि चल्यो तर मानिसले बुझ्दै गयो कि यस्तो द्वन्दले एक अर्कालाई मास्दै जाने छ र नै सहअस्तित्वको सिद्धानतलाई स्विकार गरेर जाति जातिका बीचमा सीमा कोरिन थाल्यो । जमिनको स्वामित्व, राज्यको उत्पत्ती र पछि सम्पत्ती माथिको अधिकार पनि यसै आधारमा भएको थियो । खालि बलशालीले धेरै लियो, निर्धोले थोरै पायो ।
असमानता भयो मानव समाजमा । राजादेखी रङ्कसम्म, धनकुवेरदेखि कङ्गालसम्म भए त्यहाँ । प्राणी सबै एकै हुन् तिनीहरूमाथि समान दया, माया हुनु पर्छ भन्ने धार्मिक आस्थावान त जुगदेखि नै चलिरहेका थिए तर सबै मानिस समान हुन् र सबैले आफूलाई चाहिएको पाउनु पर्छ भन्ने कार्ल मार्क्स नै भए । सबैलाई "सके अनुसार र चाहिए अनुसार" उनको व्याख्यालाई समर्थन गर्न उनले नयाँ दर्शन नै प्रस्तुत गरे । केही नहुने सर्वहाराको अधिनायकवादमा त्यस्तो साम्यवादी समाजको निर्माण गर्न सकिने धारणा पनि सार्वजनिक गरे उनले । सोभियत संघ र पूर्वी युरोपमा र अरू देशमा पनि सर्वहारा अधिनायकवादी शाशन स्थापित भए पनि ती सफल हुन सकेनन् ।
अर्थराजनीतिको पछिल्लो दर्शन मार्क्सवाद हुन थालेपछि प्रश्न उठ्यो - 'त्यस्तो राम्रो विचार बोकेको दर्शन किन सफल भएन ?' यसका उत्तरमा सुधारिएको मार्क्सवादका थुप्रै उत्तर आए तर तिनले उत्तर भन्दा समस्या ल्याई दिए । ती उत्तरहरू न हाँसको चाल न कुखुराको चाल जस्ता बेतुकी भए । उनीहरूले मार्क्सको दर्शनलाई यथावत मानेर त्यसमा उत्तर खोज्न गए । मार्क्सवादमा गल्ती पनि नदेख्ने या देख्न नखोज्ने र यसलाई सिंगै अठ्याउन पनि नसक्ने चालले गति लिन सकेन । त्यसैले अनुत्तरित रह्यो त्यो प्रश्न ।
अगाडि नै भनियो ‍- मानिस प्राणी हो । यसमा कसैको विवाद हुन सक्दैन । दोश्रो, मानिस मानव पनि हो । यसमा पनि कसैले विवाद गर्ने कुरा रहदैन । त्यसैले मानिसका बारेमा सोचिदा उसको द्वैध चरित्र नियाल्नु पर्ने हुन्छ । प्राणी भएकोले उसको चरित्र, उसका आवश्यकता प्राणीवत् हुनु अनिवार्य छ । यिनीहरू ऊबाट हटाउन चाहे पनि हट्दैनन् । उसको पहिलो आवश्यकता सबै प्राणिले जस्तै सास फेर्ने हावा पाउनु हो । त्यो नपाए ऊ १० मिनट पनि बाच्न सक्दैन । दोस्रो आवश्यकता पिउने पानी हो । पानी नपाए ऊ २।४ दिन मात्र बाँच्न सक्छ र तेश्रो आवश्यकता खाना नहुदा ऊ एक डेढ महिना भन्दा बढी नबाँच्ला । पाएँ भनेर मानिस यी चिजहरूलाई असीमित प्रयोग गर्न पनि सक्दैन । सास फेर्ने हाव ऊ त्यति मात्रै लिन्छ जति फोक्सो अटाउँछ र उसको फोक्सो सानै छ । खाना र पानी खाने पेटको आयतन पनि सीमित छ उसको । सबै प्राणीको जस्तै उसको भौतिक आवश्यकता नाप्न सकिन्छ । सासफेर्नयोग्य हावा, पिउनयोग्य पानी, खानयोग्य खाना फोक्सोभरि र पेटलाग्दो पाए पुग्छ मानिसलाई । प्राणीको शारीरिक माग र सन्तानवृद्धिको निम्ति अत्यावश्यक चौथो आवश्यकता हो यौन जो एउटा भालेका निम्ति एउटी पोथी पर्याप्त हुन्छ । प्राणीका निम्ति ओत, छोप्ने पदार्थ आदि त पछिका पूरक आवश्यकताहरू हुन् । यी सबै आवश्यकताहरू प्राणीजन्य आवश्यकता हुन र यिनीहरू मानिस र अरू प्राणीका समान छन् ।
मानिस प्राणी मात्र होइन, ऊ मानव पनि हो । प्राणीजन्य आवश्यकता पूर्ति हुने बित्तिकै ऊ अरू प्राणीझैँ उग्राएर बस्न सक्दैन । पेट भरेपछि उसका मानवजन्य चाहनाहरू जन्मन थाल्छन् र ती चाहना परिपूर्तिका निम्ति मानव आवश्यकताहरू जन्मन्छन् । ढिँडोले भएन, मसिना चामल खानु पर्छ । पानीले पुगेन, कोक पिउनु पर्‍यो । शरिरले खाँडी होइन, मलमल खोज्यो, आदि इत्यादि । चाहनाले कार्यक्षमता ल्याउछ, क्षमताले प्रयास गराउछ, प्रयासले उपलब्धि दिलाउछ, सन्तोष र संवृद्धि दिन्छ र फेरि नया चाहना शुरू हुन्छ । मानिसको सभ्यताको विकास नै असन्तोषीहरूको कारणले भएको हो, सन्तोष गरेर जंगलमा बस्ने सन्तहरूबाट भएको होइन ।
मार्क्सले जुन समयमा जसका कारणले आफ्नो दर्शन प्रस्तुत गरे त्यो हिसाबमा उनी सही छन् । अठारौँ र उन्नाइसौँ शताब्दिका मजदुरहरू १६।१७ घण्टा काम गरेर पनि राम्रो खान र बस्न पाउदैन थिए । प्राणीजन्य आवश्यकता नै पूर्ति हुदैनथ्यो उनीहरूको आवश्यकतानुसार । मार्क्सको दलिल प्राणिजन्य आवश्यतासम्म मात्रै सीमित थियो । पछि उनका अनुयायीहरूले बलजफ्ती मानवजन्य आवश्यकताहरू त्यहाँ लगेर जोड्न थाले र सफल भएनन् उनीहरू । अहिले एक्काइसौँ शताब्दिमा आई पुग्दा प्रस्ट भएको छन् यी धारणाहरू । प्राणीजन्य आवश्यकता परिपूर्ति भएपछि मानवसभ्यताका विकासका क्रममा चाहिने मानवजन्य आवश्यकतामा बन्देज लगाउने बित्तिकै विकासको गति रोकिदो रहेछ भन्ने बुझ्न शुरू भयो । त्यो विकासको निम्ति मानवजन्य आवश्यकतापूर्तिमा असमानता स्वत आउछ र मात्रै प्रतिस्पर्धा हुन्छ मानिस मानिस बीच । बिना प्रतिस्पर्धा बुद्धिजीवी प्राणी अगाडि बढदैन र विकास पनि हुदैन । आफ्नो सफलतामा तुलनात्मक उपलब्धि पाएन भने ऊ काम पनि गर्दैन ।  
अन्ततः दुई सिद्धान्तहरू स्वतः आई पुग्छन् मानवसमाजमा । पहिलो, प्राणीजन्य आवश्यकतापूर्तिमा मार्क्सवाद लागु हुन्छ भने मानवजन्य विकासका लागि संवृद्धिका सिद्धान्त अर्थात् संवृद्धिवाद । यी दुई दर्शनका आधारमा नै मानवसमाज र मानवसभ्यता अडिएको छ र विकसित भएको छ ।
राम दाहाल
जोरपाटी -१ काठमाडौँ
२०७० साउन ३२

Thursday, August 15, 2013

मेरो टोल (लेख)



विचित्रको छ मेरो टोल

जनसंख्या र आम्दानीको हिसाबले नेपालको सबै भन्दा ठुलो गाउँ विकास समिति हो जोरपाटी गाविस । विशालता त छँदैछ यसको साथै विभितता र विशेषता पनि छ यसमा । यो मेरो गाविसमा एउटै कुर्सीमा दुईटा सचिव बस्छन् । जानुपर्ने मरे जान मान्दैन र आएको "भई गयो त" भनेर फर्कदैन पनि । किन ? भनेर नसोध्नोस् । एउटै फूलमा दुईटा भमरा कुस्ती खेल्छन भने रस त त्यहाँ पक्कै छ भनेर बुझ्नोस् ।
उहिले गोकर्ण र साँखुबजार जाने दोबाटोमा दुई वटा पाटी थिए जसलाई जोरपाटी भनिने गर्थ्यो र तिनै जोरपाटीको नाममा त्यसका वरीपरीका बस्तीलाई पनि जोरपाटी भनिन्थ्यो । समयान्तरमा ती जोरपाटी त रहेनन् । तिनका ठाउँमा एउटा नया पाटि र गाविस भवन बन्यो तर जोर पाटी नभए पनि त्यो नामले भने विस्तार पाएर काठमाडौँ महानगरपालिकाको बौद्धदेखि गोकर्ण छेउ पुग्दै वागमती पनि नाघ्यो र जोरपाटी उपत्यकाको काँठको एउटा सानो बस्ती राजधानीको वृद्धिसँगै राज्यकै सबै भन्दा ठुलो गाविसमा परिणत भयो । तब त, न यो सहर नै बन्न सक्यो न गाउँको रूपमा नै रही रह्यो । यहाँ त कहीँ सहरका नियम चल्न थाले कहीँ गाउँका । घर बनाउन सहरमाझैँ नक्सा त चाहिने भयो तर त्यो नक्सा निर्माण डिटेल नभएर बाहिरी रूप मात्र भए काम चल्छ र त्यसलाई एकातिर पन्साएर आफूखुसी बनाउदा आपत्ती गर्ने कोही पनि हुदैन । टहराका नाममा नक्सा बनाई रहनु पर्दैन र सडक मिचे पनि हुन्छ, कसैले केही बोल्दैन ।
कुरा जोरपाटी गाविसको केन्द्र त्यस गाविस कार्यालयको भवनबाट नै शुरू गरौँ । गाविस भवन र त्यसमा बस्ने प्रहरीपोस्टको ५० मिटर भित्र नै मासुपसल छन् सडकको किनारमा र यी पसलमा खुला रूपमा माछामासु बेचिन्छ । माछामासु ल्याएर पछार्ने पनि त्यहीँ सडकको पेटीमा नै हो र पेटीसँगै जोडिएको खुला ढलबाट मलमुत्र पनि बगी रहेकै हुन्छ । अलिकति घाम लाग्यो कि झिँगाका बथानहरू ढल र माछामासुमा हुलका हुल भएर माइत-मावल गरी रहेका हुन्छन् । त्यसलाई कसैले फोहोर ठान्दैन र किनमेल चली रहेकै हुन्छ ।
जोरपाटीको सडकमा, ढलमा फोहोर फाल्नु, पसल अगाडि पेटीमा बेच्ने सामान राखेर पैदल यात्रीको बाटो रोकी दिनु या अझ साइकल, मोटरसाइकल, गाडी मर्मत कारखाना खोलेर पेटी र सडक अवरुद्ध गर्न पाउनु शाश्वत अधिकार ठानिन्छ यहाँ र बाटो या पेटीमा हिड्नेले त्यसमा आपत्ती उठायो भने "यो सडक, पेटी तिम्रै मात्रै हो र ?" भनेर उफ्रनेको कमी हुदैन । यहाँ सडकको पेटी पनि घरधनीले आफ्नो निजी ठान्छन् । त्यसैले त्यसलाई अल्गो बनाउन, होच्याउन, खाडल पार्न ढिस्को उचाल्न सबै छुट छ यहाँ । त्यति मात्रै होइन । लामा दूरीका गाडीको ग्यारेजको काम पनि जोरपाटीका सडकले गरी दिएका छन् । १७ फुटे बाटोमा लामा दूरीका १०।१५ वटा गाडी पालो नआउन्जेल दिनरात तेर्स्याउनु गाडीवालको अधिकार ठानिन्छ यहाँ र दिनमा ५।७ पटक ओहोरदोहोर गर्ने ट्राफिक प्रहरले पनि यसलाई मतलव राख्दैनन् । ट्रक किन्नोस्, पिकअप किन्नोस् तर त्यसका निम्ति गाडी राख्ने डिपोको व्यवस्था गर्नु पर्दैन गाडीधनीले । सरकारले बन्दोबस्त गराई दिनु पर्छ भनेर सडकमा गाडी तेर्स्याउदा हुन्छ ।
गाउँ र सहरको संगम हो जोरपाटी गाविस । गाउँको जस्तो यहाँ खेतीपाती छैन र गाउँको जस्तो गाईवस्तु चराउने चरन पनि छैन तैपनि आफ्नो घडेरीको एक एक इन्च कंक्रिटले ढाके पनि अर्काको घडेरीमा, खोलाका बगरमा, सडककिनाराका हरियाली सोतोहरूमा या बोरामा माटो भरेर घरको छतमा तरकारी, मकै लगाउने चलन भने छ । अर्काको घडेरीमा भए पनि गाई पालेर दुध खाने गाउँले चलन पनि छ यहाँ । एक डेढ फुटको गोरेटोमा हिडेका गाउँलेहरूले ८।१० फुटका बाटालाई बिशाल राजपथ ठानेर घडेरी किन्ने चलन गाउँले भए पनि त्यो ८।१० फुटको बाटोको २.५।३ आनाको घडेरीमा छिमेकीको घरसँग टाँसेर ५।७ तलाको घर बनाउने र त्यसमा बनेका ९' x १०' को कोठामा भाडा लगाउने चलन भने पक्का काठमाडौँको सहरिया रूप हो मेरो गाविसको ।
मेरो गाविसको टोल आधुनिक छ । यसमा दहीमोही भन्दा निगार बढी बिक्छ र आधा किलोमिटर बीचमा एउटा दहीमोही बेच्ने डेरी छ त १३ वटा भट्टीपसल छन् । मेरो टोलमा किराना पसलमा बियर र रक्सी छैन भने त्यो पसललाई पसल नै गनिदैन । पाँचवर्षे नानीले १०० रूपयाँको नोट बोकेर पसलमा आयो भने त्यो नानीले चोरेको नठानेर बाबु या आमाले चुरोट किन्न पठाएको भन्ने जाने हुन्छ । बियर र रक्सी त ती नानीहरूले बोक्न सक्दैनन् । त्यसैले ती चिज किन्न भनेर पठाइन्न ।
जोरपाटी गाविस सिंगो नेपालको प्रतिनिधि क्षेत्र पनि हो । यो ठाउँमा अहिले पनि काँठे भनिने पुराना रैथानेहरू छन् गाउँबाट सहरिया बन्न पसेका पाखेहरू छन् । साथै सहरबाट पाखा लागेका तर बाटोमा पसल थाप्ने सहरिया बानी नछुटेका बाटेहरू पनि छन् । बाटेहरू, साना ठुला जे हुन्, बाटोमा पसल थापेर बसेकै छन् । काँठेहरू पाखेलाई २।४ आनाका दरले जग्गा बेचेर उनीहरूलाई 'दुईआने' भन्दै आफू जमिन्दार भएको रोब राखी रहेका छन् त पाखेहरू झन् के कम ? तिनै २।४ आनाका टुक्रा घडेरीमा टावर खडा गरेर काँठेहरूलाई "खान नपाउने काँठे" भनेर होच्याई रहेका हुन्छन् । बाटेहरू सहरियाझैँ वरपरको त्यति चासो राख्दैनन् । काँठेहरू सीमित भएकोले अब तिनीहरूको प्रभाव पनि सीमित हुदै गएको छ र यहाँ सहरिया बन्न आएका पहिलो पुस्ताका पाखेहरूको नै बोलवाला बढी छ र सँस्कृति पनि पाखे नै विकास भएको छ ।
अहिले पाखे सँस्कृतिमा शिक्षाको ठुलो चासो देखिन्छ । आफू खाई नखाई छोराछोरीलाई पाखेहरूले नै चलाएका बोर्डिङ भनिने लम्बरी अंग्रेजी स्कूलमा पढ्न पठाउछन् र नर्सरीको ३ वर्षे नानीले १ महिनामा A देखि Z सम्म कण्ठ पार्न सकेन भने "झुर स्कूल रहेछ" भनेर शिक्षकलाई झम्टन पुग्छन् । बोर्डिङ संचालक काँठे पनि अरू काँठे भन्दा झन् बाठा छन् र "नानीलाई डे बोर्डर गराउनु पर्छ" भन्दै दिनमा १२ घण्टा दुधमुखे नानीहरूलाई शिक्षकको त्राशमा राख्छन् र तिनका अभिभावकबाट दुई गुणा खर्च असुल गर्छन् ।
मेरो गाविसमा दलको राजनीति भन्दा दाजुभाइको नाता चल्छ । बाबु राजावादी भए छोराहरू कांग्रेस, एमाले र माओवादी बन्छन् र पैसा कमाउने मौका आएपछि राजनीतिको आस्था बिर्सिएर एउटै दल हुन्छन् । धन जसरी कमाए पनि हुन्छ भन्ने सिद्धान्त लागु हुन्छ यहाँ । गाउँमा जस्तै फलानो र ढिस्कानोको खाल भन्ने नियम लाग्छ । यो जातको र त्यो जातको भन्ने समूह बन्छ । एक अर्काको नालीबेली विस्तार र बद्ख्वाइँ पनि चल्छ यहाँ । गाउँघरको गाईभैँसीको दुध सम्झेर डेरीको दुध नखाने पनि छन् यहाँ र डेरीको दुधमात्रै खाने पनि छन् । जोरपाटीचोकको मासु किनेर खानेदेखि वागमती बगरमा भाग लाएको मासु खाने पनि छन् । दिनहुँ रक्सी चाहिने पनि छन् र रक्सी छुदै नछुने पनि छन् । यो मेरो गाविस र यो मेरो टोल विचित्रको छ । म यही विचित्रको गाविस र टोलमा बस्छु । मेरो गाविस, मेरो टोल घुम्नु भएको छैन भने घुम्न आउनोस् एक पल्ट । पुरै मनोरञ्जन पाउनु हुनेछ तपाईले ।
राम दाहाल
जोरपाटी - १, काठमाडौँ
२०७० साउन ३

Wednesday, August 14, 2013

विषम छ मेरो टोल (कविता)



विषम छ मेरो टोल

कट्टु लगाई कुदेकी तरुनी हेरेर बुढी भन्छे -
"नकच्चरी लाज नभएकी नाङ्गै नाङ्गै हिड्छे
कोही पनि किन नसक्ने भुत्ल्याएर राख्न
कस्ता आमाबाबु होलान् लुगा नदिने ढाक्न ?"
केटी झन् के कम्ती हुन्थी भुत्भुताई भन्छे
"नकचरी बुढी आफू भने झन् आधा नाङ्गै हुन्छे
चार अमलको चोलो लाउछे भुँडी नाङ्गै पार्छे
सकेसम्म भ्याएसम्म फरियाँ तल झार्छे ।"

धन्य, भगवान ! जुधेका छैनन् जुधेमा के पो होला
विषम छ मेरो टोल, विषम छ यसको चाला ।

आठ बज्यो कि निन्द्रा लाग्ने बाजे सुत्न जान्छ
"अब पो बल्ल ढुक्क भयो" - नाति मख्ख पर्छ
रातचर्या शुरू हुन्छ त बाजे उठ्दा सुत्छ
शंखघण्टले उसलाई सधैँ सधैँ नै पिर्छ ।
"सुताहा, अल्छी के गरी खाला ?" - बाजे सधैँ नै भन्छ
"पापी बुढा सुत्न दिदैनन" - नाति झन्‍झन् झर्कन्छ ।

धन्य, भगवान ! जुधेका छैनन् जुधैमा के पो होला ?
विषम छ मेरो टोल, विषम छ यसको चाला ।

खेल्ने ठाउँ त्यही एउटा सिङ्गो नदीकिनारा
सकी नसकी सफा गर्छन् टोलका लालाबाला
दुई चार पैसा जम्मा गर्छन्, बल पनि ल्याउछन्
भोलि खेल्ने तालिकाको चिनो पनि लाउछन्
अँध्यारो भयो कि टोलको लर्को त्यही ठाउँ दाग्छ
बिहानी त नदीकिनारा पहिल्यै जस्तै लाग्छ
"मारी दिनेथ्यौँ फोहोर फाल्ने त्यसलाई भेटे"
चिच्याउछन् केटाकेटी सबै नै रुन्चे स्वरले ।

धन्य, भगवान ! भेटेका छैनन्, भेटेमा के पो होला ?
विषम छ मेरो टोल, विषम छ यसको चाला ।

जोरपाटी, काठमाडौ
२०७० वैशाख ८