Tuesday, June 11, 2013

मेरो जीवनयात्रा -१५



१५. विद्यालय र शिक्षक

१

विद्यालय त केवल पढ्ने थलो न हो। यसका जीवन त शिक्षक र विद्यार्थी नै हुन्। विद्यार्थी त थियौं हामी त्यहाँ तर गोपालसर गएपछि शिक्षकका अभाव प्रस्ट भयो। गोपालसर नै पनि कुनै विशेषज्ञ त होइनन्, केवल एस.एल.सी.सम्म मात्र पढेका हुन् तर हामी विद्यार्थी र हाम्रा अभिभावकहरूका लागि त कमै पाइने मोतीमध्येका थिए। त्यो दुर्गम गाउँमा शिक्षक भएर जान को चाहन्थ्यो र सहरमा बसेकाहरूमध्ये? इलामको कुरा मलाई थाहा भएन तर पूर्वी पहाडी जिल्लाहरूमा त केवल धनकुटामा मात्र एउटा हाइस्कूल(अहिलेको माध्यमिक विद्यालय) थियो भने शिक्षक आउन सक्थे कहाँबाट? सँस्कृतमा प्रथमा गरेका भीमगुरु(पं.भीमप्रसाद दाहाल)ले कार्यवाहक प्रधानाध्यापकको काम चलाउन थाले। फेरि अभिभावकहरूलाई खटपटी हुन थाल्यो। शिक्षकका निम्ति दौडादौड गर्न थाले उनीहरू। यस्तै दौडादौडमा दार्जिलिङबाट एक जना बी. ए. गरेका र अर्का आइ.ए. गरेका उदयप्रकाश र उदयचन्द्र दुई छेत्री बन्धुहरू ल्याइए तर उनीहरू छ महिना पनि नबित्दै एक दिन रातारात गरेर कसैलाई थाहा नै नदिई सबै चिज छोडेर त्यहाँबाट पलायन भए र हामी फेरि ‘पुनः मुसिको भवः’ भयौं। उनीहरू दुईबारे कमै ज्ञान भयो हामी विद्यार्थीलाई। हाम्रा अभिभावक फेरि शिक्षक खोजीमा लागे। शिक्षक खोजी गर्नेमा पं.नन्दिशंकर र पं.अनन्तराम नै हुने गर्थे किनकि पढेलेखेकामा उनीहरू नै गनिन्थे र सबैको उनीहरूमा नै आश हुन्थ्यो। पं.भीमप्रसादको जिम्मेवारी विद्यालय कायम राख्नुतिर नै हुन्थ्यो। अरू पण्डितहरू त आङ्ल शिक्षाका यसै विरोधी नै थिए। 
शिक्षक होस् या नहोस् हाम्रो कक्षा बढ्दै जान्थ्यो। विद्यालयलाई एकै कक्षामा राखिरहन पनि सकिदैनथ्यो। यस्तै खोजमा दार्जिलिङदेखि ल्याइए शिक्षक पी.डी. राई। सार्‍है भलादमी व्यक्ति थिए उनी छक्कापंजा नजान्ने। उनी शुरूका १।२ कक्षाका लागि सार्‍है उपउक्त। हामीलाई आँगनमा उभ्याएर सिपाहीलाई झै परेड खेलाउथे, व्यायाम गर्न लगाउथे। अंग्रेजीमा नाम सोध्ने, उत्तर दिने गर्न लगाउथेँ याने अंग्रेजी बोल्न सिकाउथे तर हामी त ७ कक्षा पुगिसकेका थियौ र हामीलाई त पढाउने शिक्षक चाहिएको थियो। त्यसैले राईसर उपयुक्त भएनन् हाम्रा लागि। तैपनि ‘न मामाभन्दा कानु मामा निको’ भन्ने उखान अनुसार हाम्रा अभिभावक वाध्य थिए उनलाई राख्न।
चल्दै थियो यसरी नै। एक दिन अकस्मात आकाशबाट अमृतफल झरे झैं टुप्लुक्क आइपुगे नवेन्दु गोस्वामी, पढेलेखेका एउटा बंगाली। नवेन्दु गोस्वामी जोगीजस्ता मानिस, दार्‍ही पालेका, कपाल बढाएका। वस्त्र पनि उनको गेरु नै थियो। उनको साथमा केही पनि थिएन र केही पनि मागेनन्। औंशी पूर्णिमाका होमहोमादी गर्थे। प्रत्येक दिन ध्यान, जप र बलिवैवस्वत गर्थे। प्रत्येक कुरा देख्दा सबैले भन्थे – उनी आत्मज्ञानी हुन्। शायद चुरोट भने खान्थे उनी। फिरन्ते जोगीजस्तै आइपुगेका थिए भोकले र थकाइले विरामीजस्तै भएर। उनी थोरै हिन्दी बोल्थे, अंग्रेजी धेरै। अनकन्टारको त्यो दुर्गम पहाडमा एउटा विद्यालय देखेर उनी त्यसैमा आकर्षित भए र स्वेच्छाले निशुल्क शिक्षा दिने प्रस्ताव राखे। हाम्रा अभिभावकलाई ढुंगा खोज्दा देउता मिलेजस्तो भयो। यो नाम पनि उनको नहुन सक्छ तर हाम्रो गाउँमा उनी यही नामले नै बसे र यही नामले नै गए।
नवेन्दु गोस्वामीको आगमनले फेरि विद्यालयमा रौनक ल्यायो। नेपाली नजाने पनि कनिकुथी हिन्दी त बोली हाल्थे। यही नै पर्याप्त थियो हाम्रा लागि। कतिसम्म पढेका थिए उनले त्यो कसैले पनि जान्न चाहेन, उनले पनि भनेनन् होला। हाम्रा अभिभावकहरूले उनको प्रमाणपत्र खोजिरहेनन् र उनीसँग ती प्रमाणपत्र थिएनन् पनि। एउटा अंग्रेजी बोल्न सक्ने, विद्यालयको विषय पढाउन सक्ने व्यक्ति भए पुग्यो हाम्रा अभिभावकलाई। 
राईसर रामालय–शिवालय पाटीको माथिल्लो तलामा बस्थे। बेलाबखत सुरापान पनि गर्नु पर्ने उनको निम्ति बाहुनहरूको घरमा बास सजिलो नहुने ठानेर नै उनले त्यो ठाउँ रोजेको हुनुपर्छ। अन्यथा गोपालसर जीवप्रसाद, लीलानाथहरू कहाँ बसेका थिए। उदयचन्द्र छेत्री, नवेन्दु गोस्वामी र पछि आउने मृणालकान्ति बर्मन पनि त्यही नै बसे। उदयप्रकाश छेत्री पं.भोलानाथकोमा बसेका थिए भने पछि आउने सुधिन्द्रमोहन मजुम्दार पं.अनन्तरामकोमा। 
हाम्रा अभिभावकहरूले सोचे –  ‘राईसरको काम छैन अब  र उनलाई विदा दिनु नै उपयुक्त हुन्छ।’ त्यही प्रस्ताव ल्याइयो राइसरको अगाडि तर बिचरा राइसर बल्लबल्ल पाएको एउटा जागीर छोडेर जाउन् पो कता। त्यसैले यो संदर्भमा अलि चर्काचर्की पनि पर्‍यो राईसर र हाम्रा अभिभावक बीच तर दिनेले नदिने भएपछि राईसर बसिरहन सकेनन् र आखिर लेनदेन मिलाएर बिदा गरिए। 
हामी आठौं कक्षामा के उक्लिएका थियौं नवेन्दु गोस्वामीले विदा लिने भए। वर्षाको दुई महिने बिदा शुरू भएकेा थियो। हाम्रा लागि शिक्षक आवश्यक थियो र शिक्षक पाउन गाहारो। त्यसैले हाम्रा अभिभावकहरूले नवेन्दु गोस्वामीको साथमा गएर कलकत्ताबाट शिक्षक ल्याउने निर्णय गरे । शायद नवेन्दु गोस्वामीले कलकत्तामा जति भने पनि शिक्षक पाइन्छन् भनेर राय पनि दिएका थिए होलान्। आखिर त्यही मेसोमा अनन्तराम बा नवेन्दु गोस्वामीको साथ लागेर शिक्षक लिन कलकत्ता गए।
२
विद्यालय र शिक्षकका बारेका कुरा गरिनु पर्दा सो समयको मादीबिर्ताको सामाजिक परिवेशलाई पन त्यत्तिकै केलाउनु पर्ने हुन्छ। अगाडि नै भनियो कि मादीबिर्ताको आवादी चार तहमा विभाजित थियो। जमीनका मालिक बिर्तावाल थिए तर बिर्तावालमध्ये नै पनि आफ्ना आफ्ना खाल थिए। त्यहाँ पनि बढी सम्पन्न थिए, कम सम्पन्न थिए। सम्पन्नमध्ये नै पनि धान हुन्थ्यो ढुकुटीमा, सेफमा पैसा नहुन सक्थ्यो। दोश्रो तहमा, धर्मकार्य संचालनको निम्ति त्यहाँ बसाइएका पण्डित, पुरोहितका सन्तानहरू थिए। लेखपढ गर्न त उनीहरू जान्दथे तर आङ्लभाषामा भने उनीहरूको त्यति रुची थिएन। तेश्रो तहमा, रैती बसाइएका मतवाली गनिन्थे जसको एउटा पनि जमीनको टुक्रा थिएन र शिक्षामा उनीहरूको चासो पनि थिएन र सामर्थ्य पनि थिएन। चौथोमा, सेवाका निम्ति राखिएका दमाई, कामी, सार्की थिए जसको जीवन सेवाग्राहीबाट वार्षिक अनुदानको रूपमा तोकिएको बाली भनिने अन्नबाट चल्थ्यो जो अन्न थन्क्याउने समयमा नै उनीहरूले लिएर जान्थे। त्यसैले सो समयमा आङ्ल शिक्षाको निम्ति खर्च गर्ने सामर्थ्य र चाहना दाहाल परिवारसँग मात्रै र दाहाल समाजभित्र पनि बाहिरी दुनियाको केही ज्ञान भएकासँग मात्रै थियो र शिक्षकको बन्दोवस्त र पालन पनि उनीहरूलाई नै गर्न कर लाग्थ्यो। विद्यालय पनि उनीहरूले नै स्थापना गरेका थिए र त्यसलाई बचाउनु पनि उनीहरूको नै जिम्मेवारी थियो तर त्यो जिम्मेवारीका विषयमा सम्पन्नहरू बीच नै विभाजन भएको थियो। गाउँका सम्पन्न मुखिया श्रीप्रसाद विद्यालयको समर्थनमा आएनन्। हुनत पहिलो विद्यालय संचालक समितिको अध्यक्ष उनलाई तोकिएको थियो तापनि उनले त्यसमा सक्रिय सहभागिता देखाउन चाहेनन् या सकेनन्। यसो हुनुको कारण स्वयम् उनको पृष्ठभूमि जिम्मेवार थियो जस्तो लाग्छ मलाई। उनी श्रीनारानका छोरा भए पनि श्रीनारानखालका आफ्नै भाइभतिजा, नातिहरूको समेत तर्साएर, धम्क्याएर र कतिपय स्थितिमा लुटेर पनि खाएका थिए उनले र त्यसको प्रतिकारमा उनको समर्थनको राणाशाशन ढलेपछि ती बन्धुहरू त्यसको प्रतिशोध र मुआबजा चाहन्थे। उनले सो दिने कुरा नै भएन। विवादको चुरो यसमा अल्झिएको थियो र सोही विवाद विद्यालय संचालनमा पनि पुग्यो। गोपालसरको समयमा विद्यालय तालाबन्दीको घटनापछि त विद्यालय समर्थक र विद्यालय विरोधी दुई कित्तामा बाँडिन पुग्यो मादी दाहाल परिवार। एकातिर श्रीप्रसाद र उनका छोरा र एक दुई जना भतिजाहरू भए भने अर्को तिर उनकै भतिजा र नातिहरू। यस्तै क्रममा श्रीप्रसाद बाका घरमा आवतजावत निषेधको स्थितिसम्म पनि आइपुग्यो र यसलाई श्रीप्रसाद विरुद्धको हडताल भनिने गर्थ्यो। कटुता थियो श्रीनारानखाल आफै बीच। अरू खालले त त्यो आगोमा घिउ मात्र थपिदिएका हुन्। यही कटुता विद्यालयको निम्ति भने वरदान भयो किनकि श्रीप्रसादबाको विरोधीहरूले जसरी भए पनि त्यो विद्यालय बचाउनु नै पर्ने थियो र बचाए पनि। यो कुरा पछाडि प्रशङ्गमा बुझिदै जानेछ। खाल त यसै पनि विभाजित थियो। त्यसमा पनि दलिय विचार आएपछि कांग्रेस र कम्युनिष्ट दुई भाग त यसै पनि हुने नै भयो। म आफै पनि दुई भागमा विभाजित थिएँ। कांग्रेस लीलानाथ बा मेरा अभिभावक झैं थिए। उनलाई चिढाउनु पनि मैल हुन्नथ्यो। सर्वहाराका गतिला किताबमा लेखेका कुरा पढेर म धनीहरूको शत्रु त यसै बनेको थिएँ। एउटा १०।११ वर्षको बालकलाई आगाको फिलुंगोजस्तो धपधपाउदो क्रान्तिकारी बनाउन त्यति गाहारो पनि थिएन। म यस्तै नै रहने थिएँ होला तर जीवनको बाटोलाई परिवर्तन गर्न भारत विभाजनका पिडित ई बंगाली मोसाइ विद्वानहरू हाम्रो गाउँ आइपुगे। 
३
प्रत्येक वर्ष हामी कक्षा चढ्दै गयौं र हामीसँगै विद्यालय पनि उक्लदै गयो। विद्यालयको तह बढ्नुको कारक हामी विद्यार्थी भएका थियौं। हामीसँगसँगै विद्यालयको तह पनि नबढेको भए कि हामीले घर छोडेर परदेश जानु पर्ने थियो कि पढाइ छोडेर घर बस्नु पर्ने स्थिति आउने थियो। हाम्रा अभिभावकहरूलाई ती दुबै स्थिति सह्य थिएनन् र उनीहरूविद्यालयको स्तर बढाइरहेका थिए।
जति कक्षा हामी उक्लदै जान्थ्यौं त्यति नै स्तरिय शिक्षको आवश्यकता थियो हामीलाई। प्रकाशसर नजिकैका थिए, आए र उनले सक्ने शिक्षा दिएर गए। गोपालसरको स्तर पनि विद्यालय स्थापनाको निम्ति आवश्यक नै भए पनि त्योभन्दामाथिको निम्ति उनी पर्याप्त थिएनन्। नवेन्दु गोस्वामी गएपछि हामी फेरि भीमगुरुकै मातहतमा परिणत भएका थियौं। उपयुक्त पढाइ हुन नसकेकोमा भीमगुरु दुखमनाउ त गर्थे तर उनको सामर्थ्य नेपाली र सँस्कृत पढाउनु र दुखमनाउ गर्नु बाहेक अरू गर्न सक्ने थिएन।
पं.अनन्तराम बा नवेन्दु गोस्वामी अघि लगाएर शिक्षक लिन कलकत्ता गएका एक डेढ महिनापछि भदौको चुहुँदो झरीमा दुई जना धोती फेरेका विदेशीहरूलाई लिएर हाम्रो गाउँमा आइपुगे। दुर्दशा थियो ती दुई महानुभावहरूको। ओठ र मुख सुकेका थिए। बसेपछि उठ्न सक्दैनथे र उठेपछि बस्न नसक्ने। हामी आइमाई केटाकेटीलाई पाँच दिन लाग्ने धरानदेखि हाम्रो गाउँसम्मको बाटो उनीहरूले बल्लबल्ल आठ दिनमा तय गरेर आएका थिए। काला, कृशकाया वर्ष तीस पनि नपुगेका थिए एक जना। अर्का केही गोरा, केही मोटा, केही पाका थिए। कसरी लिएर आए ती शिक्षकहरूलाई पण्डितबाले त्यसको अर्कै कथा छ तर ती शिक्षक किन आए होलान्? त्यतापिट्ट मात्र म जान चाहन्छु।
त्यो समयसम्म हाम्रो विद्यायलयमा जो आए ती सबै नेपाली समाज बुझेका, नेपाली सँस्कृति र सँस्कार बुझेका नेपाली थिए। नवेन्दु गोस्वामी त बाटामा भेटिएका जोगी थिए जसको आउनुको लक्ष जीविकोपार्जन थिएन तर पण्डिबाका साथमा आउने सुधिन्द्रमोहन मजुम्दार र मृणालकान्ति बर्मन आफ्नो र परिवारको जीवन धान्न अर्थोपार्जनको निम्ति आएका व्यक्तिहरू थिए। कलकत्ताजस्तो सुसँस्कृत र सुविधसम्पन्न स्थानमा बसेका व्यक्तिहरू एउटा नचिनेको उनीहरूको भाषासम्म पनि नबुझ्ने मानिसका साथमा लागेर तीन दिन रेल र मोटरमा बिताउदै साउने झरीमा उर्लदा खोलानाला नाघेर ७।८ दिन पहाड पैदल हिडेर मेरो गाउँजस्तो अति दुर्गम ठाउँमा आइपुगेका थिए। यसैबाट थाहा हुन्छ कि भारत विभाजनको समयमा पूर्वी बंगालबाट कलकत्ता आइपुगेका शरणार्थीहरू जीवन कति कष्टकर रहेछ र जीवन धान्नका निम्ति कसरी पातमाथि ज्यान राखेर दौडन वाध्य रहेछन्। तर संसार यसरी नै चलेको छ। एउटाको कष्टले अर्कोलाई सुख दिदो रहेछ, एउटाको वाध्यताले अर्कोलाई फाइदा पुर्‍याउदो रहेछ। नवेन्दु गोस्वामीको वाध्यता के थियो? त्यो थाहा नपाए पनि हामीले उनीबाट निशुल्क शिक्षा पायौँ र सुधिन्द्र र मृणालसरहरूको वाध्यता त हाम्रो लागि वरदान नै भयो। यसै प्रशङ्गमा म यो पनि भन्न चाहन्छु कि यस कार्यमा हाम्रा अभिभावहरू त्याग र बलिदान पनि कम सर्‍हानिय छैन। एक तोला सुनको सय रूपया पनि नपर्ने त्यो जमानामा आफ्ना सन्तानको शिक्षाका निम्ति प्रति महिना प्रत्येक शिक्षकलाई तीन सय रूपयाँ दिने कबोलमा शिक्षक भित्य्राउनु कम ठुलो बलिदान होइन। ती अर्को सँस्कार, सँस्कृति र सभ्यताका ती बंगाली भद्रपुरुषहरूलाई पाल्ने पं.अनन्तराम र जीवप्रसादको योगदानको उल्लेख नगर्नु पनि अपराध हुनेछ।

 (साभार रामप्रसाद दाहालको अप्रकाशित 'मेरो जीवनयात्रा' बाट)

Friday, May 31, 2013

कविता(जिन्दगी)



परदेसी माया

जिन्दगी पनि के जिन्दगी बैँसभरि एक्लै हुने
झण्डै आयु बिते पछि त्यही बैँसको लागि रुने ।
तनले भोग्न पाएन भने मन मारेर के हुने
चालिसेले छुन नपाई बुढोले झैँ झोक्राउने ।
माया पनि के माया तनले स्पर्श पाएन भने
बजारका रसभरी सम्झी घरमै मुख मिठ्याउने ।
कमाइ पनि के कमाइ आफैँ भोग्न पाएन भने
बबुरो जवानी के जवानी माया प्रीति लाएन भने ।
घरको जोडी पनि के जोडी सागर वारी पारी भए
कति पो चित्त दुखी हाल्ला र भई बिरानो छोडी गए ।
आशा नै पनि के आशा फर्केला दिन भनी पर्खी दिने
आशामा नै बैँस बितेको जीवन बितेको पत्तो नहुने ।

राम दाहाल
जोरपाटी, काठमाडौँ
२०७० जेठ १७

Wednesday, May 29, 2013

उहिले बाजेका पालामा(कविता)



उहिले बाजेका पालामा

उहिले उहिले बाटोमा
बिस्कुन सुकाउथे आमैहरू र
कतै 'भोँ पूँ' स्वर सुने
हतारिदै सोहोर्थे बिस्कुनहरू;
अहिले हाम्रो पालामा
ग्यारेज खोल्छौँ बाटो छेकी
अनि बिचरा भोँपूँहरू
पाखा कुद्छन् बाटो नभेटी ।

उहिले बाजेका पालामा
रछेनमा फोहोर हाल्थ्यौँ
अहिले हाम्रा पालामा
सडकमा बिस्कुन पार्छौँ;
त्यो पनि पाइएन भने
छिमेकीको छतमा फाल्छौँ ।

उहिले उहिले बाटोमा
गुच्चा खेल्थे नानीहरू
बाटो माग्थे नानीसँग
गाडीवाल साहुहरू;
अहिले गाडीसाहुहरू
नानीलाई कहाँ टेर्छन् ?
बाटो काट्ने नानीलाई
बीच बाटोमा नै पेल्छन् ।

उहिले बाजेका पालामा
तुलशीमठमा लाश सुताइन्थ्यो
लाश उठाउने मलामीलाई
आँगनभरि बसाइन्थ्यो;
अहिले हाम्रा पालामा
सडकपेटीमा लाश तेर्स्याउछौँ र
आवतजावत बन्द गरेर
मलामी बाटोमा बसाउछौँ ।

उहिले बाजेका पालामा
दशैँपिच्छै मूलबाटो खन्थे
हिड्ने बाटा जति सबै नै
सबैको साझा सम्पत्ती भन्थे;
अहिले हाम्रा पालामा
पारी छिमेकी आधा लिन्छन्
बाँकी रहेको आधा बाटो
वारी छिमेकीमा दिन्छन् ।

घर छ हामीसँग बास बस्ने
लाश राख्ने ठाउँ छैन
पेवा हाम्रो सडक छ खाली
नानी खेल्ने ठाउँ छैन;
खाना खाने भान्साघर छ
फोहोर फाल्ने थलो छैन
सहरिया भए छौँ हामी
जीवन किन्तु भलो छैन ।

Monday, May 27, 2013

महानगर


महानगर : एक रातकी नायिका
 —— राम दाहाल

रात मध्यतिर छुन लागेको थियो र महानगर भनिने सहरहरू सुनसान र निस्प्राण हुनु पर्ने समय अझ भई नसके पनि काठमाडौं सहर भर्खर प्रहरी छापा परेको रण्डीकोठी जस्तै निस्तेज र चिसो थियो। सडकको बत्तीको प्रकाशमा देखिने धमिलो हुस्सुले त्यो भयावहता र चिसोपनमा अझै मात्रा थपी दिएको थियो। टोलका भुस्याहा कुकुर छिडी, कोप्चो अन्तरकन्तरमा लुक्न पुगी सके पनि कहींकहींबाट अल्छि पाराको भुक्क, भुक्क भने सुनिंदै थियो। हावा थिएन, त्यसैले तापको चिसोपन त कम नै थियो तापनि वातावरणको गर्‍हुँगोपन भने सडकमै ओछ्याइए जस्तो लाग्थ्यो। यही आर्द्र र भारी सडकको छातीमा आफ्ना जुत्ताको डाम छोड्दै माधवी छिटो चालले पाइला चाली रहेकी थिई। महानगरभन्दा पनि बत्ती बालेर सडक ओछ्याइएको गाउँ जस्तो निर्जीव र निस्तेज काठमाडौं जो उसको जन्म थलो थियो, उसको कामकाजको थलो थियो र यसलाई जति नै मन नपराए पनि छोडेर जान सक्दिनथी ऊ। 
                  *                 *                 *          
        आज झमक्क साँझ परे देखि नै माधवीलाई आफ्नो घर छोड्न मन थिएन र उसले शृङ्गार पनि गरेकी थिइन। आज दिन धेरै उज्यालो थियो र पछिल्लो प्रहर झ्यालको डण्डी समाएर वाहिर मानिसको सिलिङमिलिङ ओहोरदोहोर हेर्दै बिताएकी थिई। त्यस्तो भिडमा उसलाई जहिले पनि विरक्त लाग्थ्यो र मानिसको हुलमा हिंड्नु पर्दा ऊ पाइलै पिच्छे तर्सन्थी। साँझ पर्दै गएपछि भने मानिसको चहलपहल सेलाउँदै गयो र झमक्क साँझ पर्दा त फाट्टफुट्ट मात्र मानिस देखा परेथे। यसरी मानिस हतारहतार आफ्नो ओसारोमा घुस्रेको देखेर अचम्म लागेथ्यो उसलाई। 
        किन ? किन ? माधवीलाई लागेथ्यो – ‘ कोही त आउनु पर्ने हो। को ? थाहा छैन उसलाई। प्रतिक्षा त एउटा चाहनाको अनुभूती मात्र थियो। मनको भित्री कुनामा एउटा सजीव मूर्ति आउनु पर्ने आभाष हुन्थ्यो तर त्यो मूर्तिको रूप आँखासम्म आएर अड्किएको थियो। यस्तो हुन्थ्यो उसलाई यदाकदा ।  
चारुमतिको फोन आउँदा माधवी सोफामा लम्पसार परेकी थिई र घन्टी सुनेर सोफाबाट हात तन्काएर रिसिभर उठाउँदै अल्छि पाराले भनेकी थिई – “माधवी हेयर !"
        उसको स्वर सुनेर चारुमतिले भनी – “तँ तुरुन्त तयार भएर यहाँ आइज त। यहीं म कहाँ ।”
        माधवीले आलस्य भरिएको स्वरले भनी – “आज मलाई केही गर्न मन नै छैन ।”
        “त्यसो भन्नै मिलेन, माधवी। ग्राहक आज अलि बढी नै छन्, त्यसमा पनि सेवा अस्विकार गर्नै नमिल्ने ग्राहकहरू। बरु यसो गरौँला। तँ पार्टटाइम गर, फूलटाइम अरूलाई दिउँला ।” – चारुमतीले सुझाव राखी। 
        पेशा आखिर पेशै ठहर्‍यो ढाडै अस्विकार गर्न नमिल्ने। आपसी सहयोग अत्यावश्यक थियो। त्यसैले उसले चारुमतीको प्रस्ताव अस्विकार गर्न नसकेर हतारहतार सिंगार गरेर घरवाट निस्किएकी थिई।  
      *                 *                 *                 *
        माधवीका अभ्यस्त कानले कहींवाट आएका पदचाप सुने। निशाचर भएपछि रातमा निस्कने कुनै आवाजलाई सुनेर छुट्याउन पर्ने हुनाले प्रत्येक पदचापलाई सुनेर पनि चिन्न सक्नु पर्थ्यो। मानिसका पदचापसँग माधवी सधैं सशंकित हुन्थी त्यसमा पनि प्रहरीका पदचाप सँग। प्रत्येक निशाचरका आतङ्क पनि यिनै पदचापहरू हुन्छन् ।
        आफ्ना पछाडी प्रहरी पछ्याइरहेको छ भन्ने बुझे पछि माधवीले आफ्नो पाइला अझ छिटोछिटो बढाई। उसलाई थाहा थियो – ‘केही समय पछि नै उनीहरूको बीचको दूरी क्रमश घट्दै गएर मेटिने छ तर त्यो समयलाई जति लम्ब्याउन सक्थी त्यती नै उसको उम्कन सक्ने सम्भावना बढ्न सक्थ्यो।
     पहिलो पटक ऊ अनुभव नहुनाको कारणले प्रहरीको हातमा परेकी थिई। अज्ञात व्यत्तिहरूद्वारा जिस्क्याइएकी र लखेटिएकीले ऊ शरण लिन प्रहरीकहाँ पुगेकी थिई। उसलाई देख्ने वित्तिकै पहिलो प्रहरीले भनेथ्यो – “के पर्‍यो, बहिनी, यो राती ?"
        माधवी यस्ता प्रश्नको निम्ति तयार थिइन। ऊ त असिना पर्दा नजिकैको ओतमा लुक्न पुगेकी थिई र त्यहाँ प्रश्न हुन सक्छन् भन्ने सोचेकी पनि थिइन। 
        “को हो, ए माने ?” – कसैले भित्रवाट प्रश्न गरेथ्यो। 
        “अरू को हुन्छ होला र, साप, यो मध्य रातमा ? उही त होला नि ।” –  मानेको भनाइमा व्यंग्यात्मक मुस्कुराहट थियो। 
        त्यसपछिको केरकार, अश्लिल शब्द र त्यसपछिको अनुभव स्वयम् एउटा कथा थियो। त्यो अनुभव दोहोर्‍याउन नचाहे पनि फेरी एक पटक गल्तीले र अर्को पटक दुर्भाग्यले प्रहरी पन्जामा परेकी थिई। अहिले ऊ बच्न चाहन्थी र त्यो कुरा भाग्यमा निर्भर थियो। त्यो भाग्यलाई ऊ आफ्नो पक्षमा ल्याउन चाहन्थी। 
        पदचाप वढ्दे क्रमश नजिक हुदै आइरहेका थिए। माधवीले चारैतिर कान लगाई। कहीं कोही बराबराई रहेको थियो। 
        “राधा पियारी, भनेको मान्दिनौ, राधा पियारी ।”
        माधवीले सोची ऊ बचावटको ढाल बन्न सक्थ्यो। ऊ छिटोछिटो पाइला चालेर उसको नजिक पुगी। जँड्याहा बत्तीको खम्बालाई अँगालो मारेर भट्भट्याई रहेको थियो। 
        “सत्ते, गाली नगर न। आज साथीभाईले 'खाऊँ न' भनी हालेर पो त, नत्र म खाने नै थिइनँ ।”
        माधवीले उसलाई घच्घच्याएर भनी – “हिंड, हिंड, घर हिंड। कति घिच्नु परेको ? आधारातसम्म यसरी बस्नु हुन्छ ?”
        एकाएक प्रत्यक्षमा स्वास्नी अगाडि उभिएकी देखेर जँड्याहा जिल्लियो, तर्सियो र विनित भावमा भन्न थाल्यो – “हेर न, राधा। अव त सत्ते खान्न नि। तेरो मासु खाने खान्न ।”
        माधवीले राधाको नक्कल गर्दै भनी – “मुखले त कहिले पो किरिया हाल्दैनौ र ? कामले सधैं घिचेकै छौ ।”
        जँड्याहालाई एक काँधतिर भर दिएर माधवीले उठाउन खोजी र जँड्याहा लरबरिदै उठ्यो। जँड्याहा भारी थियो, निकै भारी तर त्यो भार उठाउन माधवी तयार थिई।
“तलव पा’को कि अनि पो यस्तो भयो त ।” – उसको स्वरमा क्षमायाचना थियो।
पदचापहरू नजिक आईपुगे। एउटा स्वर सुनियो।
“ए ! को हँ तिमीहरू यो आधी रातमा ?”
माधवीले एउटी गृहिणीको नकल गर्दै भनी – “मेरा जहान, सा’प। अलि बढी खाएछन् आज। घर लिएर जान लागेकी।
“कहाँबाट आएका त यो आधी रातमा ?”
“हिड्दै ढिलो भयो, सा’प। फेरि फलामेढिको जस्ता गर्‍हौँ छन् यी ।” – माधवीले कति पनि नआत्तिई जवाफ दिई। समय र वाध्यताले उसलाई परिपक्व बनाएको थियो।
“के घिसार्छेस् त यो मोरालाई ? बैंस त छ त अझै ।” – एउटाले व्यंग्य कस्यो।
“के गर्नु, हजुर ? घरका दुईटा छाउराका निम्ति पनि घिसार्नै परेको छ ।” – माधवीले वाध्यता देखाई।
जँड्याहाको आधा नसा प्रहरीको उपस्थितिले नै हराई सकेको थियो तापनि मरेको मुर्दा झैं भएर माधवीको काँधमा अडेस लागेको थियो। कति पटक भोगी सकेको चिसो छिँडी फेरि भोग्न उसलाई रहर थिएन। माधवी स्वास्नी होइन भन्ने निश्चित भए पनि त्यसलाई स्विकार गर्न श्रेय ठानेर ऊ मौन थियो। 
“त्यो जँड्याहाकी स्वास्नीलाई के केरकार गर्छस्, ए हस्ते ? बरु त्यो अघिकी माल कता लागी सोध् न ।” – हस्तेको साहेबले भन्यो।  
“एउटी आइमाई यता लागेकी थिई । कता गई, हँ ? देखिस् तैंले?” – हस्तेले माधवीलाई सोध्यो।
“यी घोक्रो फुटुन्जेल कराउदै थिए म सँग । कोही आए गएको थाहा पाईनँ, सा’प। यो फलामे ढिको बोकेको बेला त बरियातै गएको पनि के थाहा हुन्छ र ?” – माधवीले दुखेशो पोखी।
“पुर्‍याई दिऊँ त यसलाई हामी ?” – एउटाले ठट्टा गर्‍यो।
“भै हाल्यो । सा’पहरूलाई किन दुख ? यहाँसम्म घिसारें भने अब त कति नै छ र ? फेरि जिन्दगी भर घिसार्नु पर्नेले यति दुख के दुख मान्नु ?” – माधवीले कृत्रिम पीर व्यक्त गरी।
प्रहरी पदचापहरू हट्न शुरू गरे। अघि मरेजस्तो गरेर चलमलाउन छोडेको जँड्याहा बिउँझदै गयो र नजानिदो किसिमले माधवीको शरिरसँग खेल्न थाल्यो। माधवीले कुनै आपत्ति गरिन। त्यो शरिर भनिने काँचो मासु एउटाले आधारातसम्म मोल तिरेर लुछेको थियो र त्यो मासु सित्तै खान खोज्ने एक हुललाई एक छिन अघि मात्रै शब्द र अभिनय जालले पन्साएर पठाएकी थिई। अघि भर्खरै मात्र लुछिएको जुठो सिनोलाई एउटा लोभी श्यालले मौका पाएर चाट्दैमा उसलाई के आपत्ति हुन सक्थ्यो र ? त्यसलाई त ऊ जहिले पनि पन्साउन सक्थी तर अहिले नै पन्साउन चाहन्नथी किनकि उसको अँगालोमा बाँधिएर एकछिन उसकी स्वास्नी बनिदिदा ऊ अरूबाट सुरक्षित थिई।
जँड्याहा माधवी सँग डोहोरिदै गयो।
“राधा पियारी, भनेको मानिनौ, राधा पियारी ।”
माधवीको घर आई पुग्न अब धेरै टाडा थिएन। प्रहरी पनि बिलाइसकेका थिए तर जँड्याहाको हातपात भने बढ्दै गइरहेको थियो। त्यो देखेर माधवीले मनमनै हाँस्दै भनी – “ए , के गरेको ? बोलाई दिऊँ प्रहरी ?”
जँड्याहा अलिकति हच्कियो तैपनि भन्दै थियो– “तिमी, राधा पियारी ।”
माधवीले दह्रो स्वरमा भनी – “जाँड खाएर जो भेट्यो त्यसैलाई राधापियारी भन्दै हिड्ने ? जुत्ताले बजाउछु थाप्लोमा अनि ।”
“तिमीले अघि स्वास्नी भनेको होइन ?” – जँड्याहाले सुरका कुरा गर्‍यो। 
“लौ। 'हिड्नै सकिनँ' भन्यो भनेर यहाँसम्म लिएर आइदिएँ त झन् उल्टो मलाई नै स्वास्नी भन्ने ? बोलाऊँ मेरा टोलका केटाहरूलाई ?” – माधवीले पर सरेर धम्क्याई।
आधी नसा छुटेको जँड्याहा ‘कस्ता कस्ता हुन्छन् आइमाई पनि?’ भन्दै धरफरिदै आफ्नो बाटो लाग्यो। माधवी एक्लै हाँस्दै घरको मूलढोका भित्र पसी र आफ्नो कोठाको साँचो खोल्न थाली। उसको ढोका बजेको सुनेर घरपटी बूढीले सोधिन्– “आज किन चाँडै त, नानी ?”
“पेट दुखेकोले छुट्टी लिएर आएकी, आमा। आज जान मन नै थिएन। अफिसबाट फोन आयो र मात्रै गएकी ।” – माधवीले जवाफ दिई। 
“खै ! भनेको मान्नुहुन्न रातिको डिप्टी नगर्नोस् भन्दा। राति काम गर्दा त जिउ पो बिग्रन्छ त ।” – बुढीले आफ्नो राय प्रकट गरिन्।
माधवीले जवाफ दिइन। बुढिया फेरि निदाइन्। माधवी पनि ओछ्यानमा गएर पल्टिई। सहर मरे जस्तै सुनसान थियो। रात क्रमश छिप्पिदै गयो। 

  ----- 000-----