इन्जिनियरिङ अध्ययन
संस्थानमा चोरी
३० को दशकको शुरूतिरको कुरा हो । इन्जिनियरिङ अध्ययन
संस्थान, पुल्चोकमा अचम्म भयो । तीन ताला भित्रको रकम चोरी भयो । त्योभन्दा पनि
ठुलो अचम्म त ताला यथास्थानमा लागेको लागेकै थिए दराज भित्रको पैसा थिएन ।
हल्लीखल्ली भयो, पुरै क्याम्पस पढाइ समेत बन्द गर्नु पर्ने स्थिति आयो ।
सिमेष्टर प्रणाली लागु थियो त्यो बेला र जाँचमा उत्तर
पुस्तिकाहरू शिक्षकहरूले परिक्षानियन्त्रण कार्यालयमा नै जाँच्दथे र दस्तुर पनि
जाँचेको उत्तरपुस्तिकाको अनुपातमा पाउथे । शिक्षकहरूको कसैप्रति मोलाहिजा पनि थिएन
र 'म यो कपी जाँच्छु' भन्ने रोजाइ पनि थिएन । कतिपय विवाद आएमा सामुहिक छलफलद्वारा
समस्या समाधान गरिन्थ्यो । परिक्षा नियन्त्रकले उत्तरपुस्तिका जाँचेको दस्तुर
तत्कालै दिनको निम्ति रकम पहिले नै निकासा लिएर सो रकम आफ्नो कार्यालयको दराजमा
राखेका हुन्थे । त्यो दिनको पैसा दिएर पठाउथे र रहेको बाँकी त्यही दराजमा हुन्थ्यो
। दराजको मात्रै होइन, दराज भएको कोठाको ढोकामा पनि ताला लाग्थ्यो र त्यो ढोकासम्म
पुग्ने अर्को बाहिरी कोठाको ढोकामा पनि ताला लाग्थ्यो । सबै ढोकाका २/२ वटा साँचा
थिए र परिक्षानियन्त्रक र सह-परिक्षानियन्त्रकले १/१ सेट बोक्दथे । रकमको
जिम्मेवारी भने सह-परिक्षानियन्त्रकको थियो ।
सधैँझै सह-परिक्षानियन्त्रक आए र काम शुरू गरे तर दराज
खोलेर हेर्दा रकम पाएनन् । हल्लीखल्ली भयो । सोचे सबैले सोचे - चोरी भयो नियन्त्रकको
साँचो । नियन्त्रक आएपछि थाहा भयो उनको साँचोको झुत्तो कार्यालयको बाहिरीकोठाको
दराजमा यथास्थानमा छ । कसैले उनको नियतमाथि शंका गरेन तर उनी आफैले अप्ठ्यारो माने
।
प्रहरी आयो, निरिक्षण गर्यो र निष्कर्शमा पुग्यो कि रातभर
चौकिदारी हुने क्याम्पसभीत्र चोर आउनसक्ने संभावना नभएकाले चोर त्यहीँको भीत्रिया
हुनुपर्छ । त्यति पैसाको निम्ति सबैको बयान लिने पक्षमा संस्थान गएन । बरु भित्रभित्रै
खोजीनीतिको पक्ष लियो र केही दिनमा एउटा जानकरी आयो परिक्षानियन्त्रण कार्यालयमा
सह-परिक्षानियन्त्रकले माया गरेर राखेको १८ वर्षे पियनकेटोले रेडियो किनेको कुरा ।
कमाइ हुनेको निम्ति पनि शोख ठहरिने सो समयको रेडियो पिउनकेटाका हातमा शंका ल्याउने
नै भयो । सोधपुछ गरियो क्याम्पस भित्रै तर भरपर्दो जवाफ दिन सकेन उसले । प्रहरीको
पञ्जामा परेपछि भने कुरा प्रस्ट भयो ।
यो प्रशङ्गको विवरण दिनुपर्दा अर्को एउटा घटना पनि सँगै आउछ
। इन्जिनियरिङका कक्षामा २/४ जना विद्यार्थी थिए जो पढाइमा अति कमजोर देखिन्थे तर
परिक्षामा अति राम्रो गर्थे । शिक्षक इन्जिनयरहरूको निम्ति यो एउटा बुझ्नै नसकिने
पहेली भएको थियो । उत्तरपुस्तिका लिइन्थ्यो, ताला लगाएर राखिन्थ्यो र २/४ दिनपछि
कपी जाँच्न शुरू गरिन्थ्यो । चाबी सधैँ परिक्षानियन्त्रकसँग हुन्थ्यो । उनीहरूको
इमान्दारीमाथि शंका गर्न सकिन्नथ्यो ।
पियनकेटोको बयान दुवै घटना प्रस्टिन थाले ।
परिक्षानियन्त्रक नया इन्जिनियर थिए केवल २/४ वर्ष पुराना । सहनियन्त्रक धेरै वर्ष
काम गरेका पुराना । त्यसैले जिम्मेवारी धेरै सह-नियन्त्रकमा नै हुन्थ्यो । उनी कडा
थिए हत्तपत्त कसैलाई विश्वास नगर्ने । त्यसैले उनको साँचोको झुप्पो सँधै खल्तिमा
हुन्थ्यो । आलाकाँचा नियन्त्रक सबैलाई विश्वास गर्थे । त्यसैले बाहिरी ढोकाको
साँचो लिएर अरू चाबी आफ्नो टेबलको ड्रअरमा राख्दा रहेछन् ऊनी । बाहिरी कोठका दुई
ढोका थिए । एउटामा भित्रबाट गजबार लगाइन्थ्यो र अर्कोमा बाहिरबाट ताला मारिन्थ्यो
। पर्दा दुवै ढोकामा थिए । नियन्त्रकहरू पियनलाई ढोका बन्द गर्न अराउथे । विश्वास
थियो पियन माथि उनीहरूको । तर पियनले त्यो दिन गजबार हालेन । राति भएपछि गजबार
नहालेको ढोकाबाट भित्र पस्यो । नियन्त्रकको ड्रअरबाट चाबी निकाल्यो, ताला खोल्यो,
पैसा निकाल्यो र फेरि सबै चिज यथावत राखिदियो । भोलि आउने नियन्त्रकहरूले केही
पत्ता पाएनन् ।
त्यो केटाकेटी पियनले यो सबै अक्कल गर्यो भन्ने पत्याएनन्
अनुसन्धानकर्ताले र 'कसरी जानिस् तैँले ?' भनेर केर्न थाले । पहिले त आनाकानी गर्यो
तर कडाइ गरेपछि बक्यो उसले । त्यहीँ एकजना हाकिमको छोरो पढ्थ्यो । पढाइमा सारै
लद्दु तर परिक्षमा सार्है अव्वल । प्रश्नपत्रमा शिक्षकहरू सार्है कडा । त्यसैले
अगाडि नै प्रश्नपत्र प्राप्त गर्न सक्ने संभावना नभएपछि हाकिमले अर्को बाटो
अपनाएछन् । त्यसलै उनले सिकाएका रहेछन् पियनलाई त्यो अक्कल । प्रश्नपत्र पाएपछि
एउटा विज्ञले उत्तर तयार गर्दो रहेछ । छोरोले नया उत्तर पुस्तिकामा विज्ञको लेखन
सार्दो रहेछ र पियनको सहायताले परिक्षकेन्द्रबाट ल्याएको पुरानो उत्तरपुस्तिकाको
बाहिरी पन्ना त्यसमा लगाएर पुरानोको ठाउँमा राख्न लगाउदा रहेछन् । यसरी नै छोराका
सबै परिक्षा अव्वल गराएका रहेछन् उनले र छोराका केही मित्रले पनि सो फाइदा उठाएछन्
। यसरी उत्तिर्ण भएका ती र तिनका केही साथी पछि इन्जिनियर बन्न पुगे र अहिले त
जागिरबाट रिटायर पनि भइसके होलान् । यस्तैबाट आएको रहेछ पियनलाई रकम चोरीको आँट ।
पियनका बाबु आए, रोए, कराए र केही रकम तिरेर थोरै रकम
चोरीमा मात्र उसलाई पारियो तर हाकिमलाई केही भएन । एउटा चोरीको कथा यसरी नै
टुंगियो ।
जोरपाटी - १
काठमाडौ
२०७१ जेठ ९