दोबाटोका वृद्धहरू
चिहानमाथिको हाँगोमा बसेका दुई गिद्धझैँ
दोबाटो डिलमा बसेका दुई वृद्धहरू
ध्यानमा छन् कि समाधिमा ? केही पत्तो छैन
निश्चल र मौन छन् उनीहरू ।
समय थियो तर आफसमा भन्ने समय भएन
समय आयो तर आफसमा भन्ने कुरा रहेन
सधैँ सँगै हिडेका यात्रीहरूको सँगै भोगेका कुरा
नौलो केही थिएन ।
आँधी आयो, भेल आयो, कति पटक बाढी आयो
धैर्य र हिम्मत बोकेर जीवनजँघार पार लायो
चौतारीमा आई पुग्दा लेखाजोखा गर्न पायो
के कमाइयो ? के गुमाइयो ?
थोत्रो प्वालमा बसेका दुई उल्लुकाझैँ
खोप्रोमा टल्कने दुई जोर आँखाहरू
अनिमेष क्षितिज हेरी रहेछन्
फर्कदैनन् भन्ने जानेर पनि
"आउलान् कि" भन्ने आशात्यान्द्रो
माकुरालेझैँ तानी रहेछन् ।
असिनाले घायल पोथ्रामनिका जुरेलीझैँ
अशक ती एक अर्कालाई हेरी रहेछन्
रून पनि आँशु निख्री सक्यो
आफैँले आफैँलाई सम्झाई रहेछन्
"भ्याएनन् होला आउन, आउलान् नि एक दिन"
त्यही पुरानो पाटो पल्टाई रहेछन् ।
एक दिन खुलेन ढोका, बोलेन कोही
स्वभावैले छिमेकीले चासो लियो
अघाएको अजिंगर लम्पसारिएझँ
भित्र त पिडामुक्ति र शान्ति थियो;
समाचार दियो छिमेकीले धर्म ठानेर
जवाफ पनि तुरुन्तै पायो
"पैसा पठाई दिएका छौँ, अन्तिमसंस्कार गरी दिनु
आउन पाउन्नौँ हामी; हाम्रो मर्का बुझी दिनु ।"
कसले दियो दागबत्ती ?
कसले दियो पानी ?
जानेलाई त वास्तै भएन,
जीवनजँघार तरे पछि त
संसारको सार नै रहेन ।
तर अझै पनि
चिहानमाथिको हाँगोमा गिद्ध बसेझैँ
दोबाटो डिलमा बसेका छन् वृद्धहरू
ध्यानमा छन् कि समाधिमा केही पत्तो छैन
निश्चल र मौन छन उनीहरू ।
राम दाहाल
जोरपाटी - १, काठमाडौँ
No comments:
Post a Comment