जडान सीसीटीवीको
"अब त आमादानी सुकी हाल्ने भयो नि ।" -
भद्रमानले चियोको सुर्को तान्दै मुख बिगारेर भन्यो ।
"किन के भयो र" - कृष्णप्रसादले
लेख्दालेख्दै गरेको कागजबाट हात उठाएर सोध्यो ।
"यो पनि गोँज नै छ । त्यत्रो हल्लाखल्ला छ । अहिलेसम्म
पत्तै छैन यसलाई ।" - राजकुमारले बीचैमा कुरा काट्यो ।
"लेखनदास न ठहर्यो । लेखेपछि दाम आईहाल्छ ।
उसलाई के छ र ? जति धेरै फारम उति धेरै नाफा उसलाई । हामी यसो बीचमा कमाइ गर्ने पो
मासिने भयौँ त।" - रेवतीरमणले ईर्ष्या देखायो ।
कृष्णप्रसादले अरूका कुरा तिर ध्यान नदिएर
भद्रमानलाई फेरि सोध्यो - "होइन के भयो र भद्रमान दाइ ?"
"अरू त केही होइन, कृष्णप्रसाद । CCTV राख्छन् रे अब यहाँ ।" - भद्रमानले सम्झाउन
खोज्यो ।
"के भयो त त्यसले ? हामी गरीखानेलाई त्यसले
रोक्छ र ?" - कुरो नबुझेको कृष्णप्रसादले फेरि प्रश्न गर्यो ।
"गर्छ कि गर्दैन त्यो त थाहा छैन । यहाँ
प्रयोगात्मक परिक्षाको शुरूदेखि अन्त्यसम्मको फिल्मी रिकड राख्छ रे CCTV ले ।" -
भद्रमानले बिना निचोड कुरा राखिदियो । तैपनि उसको मुखबाट एउटा बाक्य भने फुत्की
हाल्यो - "गरीखान नदिने भए चोरहरूले ।"
CCTV
राख्ने हल्ला कार्यालय भरी फैलिएको थियो त्यही हल्ला कार्यालय बाहिरका दलाल,
लेखनदास र परिक्षार्थीसम्म पुगेको थियो । सबैको मुखमा एउटै कुरा थियो - गरीखान
दिदैनन् चोरहरूले ।
बैठक बस्यो दलालहरूको । CCTV जान्नेले
व्याख्या गर्यो - " CCTV ले सबैको परिक्षाको शुरूदेखि अन्त्यसम्म फिलिम खिचेर राख्छ
र पास फेल त्यहीबाट निधो हुन्छ । परिक्षार्थीले गरेको सबै काम त्यही देखिन्छ
।"
"अनि त्यो कसले हेर्छ नि ?" - एउटा
जिज्ञासुले प्रश्न उठायो ।
"अरू कसले ? कार्यालयको हाकिमले नि ।"
"फेरबदल गर्न मिल्दैन त्यसमा ?" - अर्को
जिज्ञासुले प्रश्न उठायो ।
"खै, मिल्दैन भन्छन् । खास त आउने विज्ञलाई
सोध्दा थाहा होला ।" - जान्नेले कुरा टुंग्यायो ।
कार्यालय भित्र पनि CCTV कै कुरा चलिरहेको थियो । राय भने फरक
किसिमको थियो ।
" CCTV राख्ने यो माथिको आदेश हो । अनियमितता भयो रे धेरै हाम्रो
कार्यालयमा । यसलाई रोक्न CCTV राख्न अनिवार्य भयो भन्नु हुन्छ वहाँहरू ।" - हाकिमले
कुरा राख्यो ।
"कहाँ अनियमितता हुन सक्छ हाम्रो जस्तो खुला
परिक्षण लिने ठाउँमा ?" - दोश्रो तहको हाकिमले प्रतिवाद गरी हाल्यो ।
"खुला ठाउँमा सबैले देख्ने गरी परिक्षा लिने हामी तैपनि हामीलाई नै दोष !" - मुख्य
परिक्षकले पनि आपत्ती उठाउन ढिलो गरेन ।
"राख्नै पर्ने हो त CCTV, सर ?" - फाँटवाला सुब्बाले कुरालाई फेरि ठाउँमा ल्यायो ।
"राख्नै पर्ने रे ।
सार्है वदनाम भयो भन्नुभयो सचिवज्युले पनि ।" - उत्तर दियो हाकिमले ।
"वहाँको भनाइको भाव
कस्तो थियो नि ?" - कुरामा खप्पिस सुब्बाले फेरि सोध्यो ।
सुब्बाको भनाइको आसय बुझेर
हाकिमले भन्यो - "भाव त सकारात्मक थिएन तर नकारात्मक कुरा पटक्कै गर्नु भएन ।
बरू 'मगाई हाल CCTV र
राख्ने कसरी हो मिलाएर राख' भन्नुभयो
।"
हाकिमको अन्तिम वाक्यमा
नैराश्यता थियो ।
"किन्नलाई बजेट
कहाँबाट आउँछ ?" - लेखापालले प्रश्न तेर्स्यायो ।
"केन्द्रबाट नै किनी
सकियो । भुक्तानी त हाम्रै खाताबाट दिनु पर्छ अब ।" - हाकिमले सोझो उत्तर
दियो ।
"जडान गर्ने नि
?" - कसैले प्रश्न उठायो ।
"मानिस आउछ ।" -
हाकिमले छोटो उत्तर दियो ।
"त्यसोभए आजको कुराको
निचोड बुँदागत हिसाबमा राखूँ त, सर ?" - फाटवाला सुब्बाले बैठकलाई नियमित
बनाउन सोध्यो र केही समयपछि विषयलाई बुँदागत रूपमा प्रस्तुत गर्यो ।
"आजको भएको छलफलमा
निम्न निष्कर्श निस्कियो ।
बुँदा नं १ CCTV राख्नै पर्ने ।
बुँदा नं २ खरिद भएर
आइसक्यो ।
बुँदा नं ३ जडान गर्न
प्राविधिज्ञ आउछ ।
बुँदा नं ४ लेख्नु भन्दा
पहिले म सबैका सामु एउटा प्रश्न राख्न चाहन्छु । हाम्रा लागि त्यो CCTV राख्नु राम्रो कि नराख्नु राम्रो ?" - मजवुन लेख्न सिपालु फाँटवालाले
गम्भीर प्रश्न राखिदियो ।
बैठक एकदम शान्त भयो । कोही
पनि अगुवा भएर निस्कन तयार थिएन । त्यो देखेर कोठाको पल्लो छेउमा ढोकाको नजिकै उभिएको
पिउनले आफ्नै स्वरमा भन्यो - "त्यो ठाँडोले सबै देख्छ भने चलखेल गर्ने ठाउँ
कहाँ हुन्छ र हजुर ?"
"हो, सीतारामले भनेको
कुरा सही हो । चलखेल गर्ने ठाउँ नभएपछि गरीखाने कसरी ? CCTV राख्ने कुरामा त सचिवज्युको भाव पनि सकारात्मक थिएन ।" - कुरामा छिटो
सही थाप्नु पर्ने खरदारले पिउनको कुरामा सही थाप्यो ।
"हो नि कुरा त । आखिर
थैलो त वहाँ पनि जान्छ ।" - कुरा खुल्दै गएकोमा कसैले प्वाक्क भन्यो ।
कुरा छिचरो हुन थालेकोले
हाकीमले त्यसलाई रोक्दै भन्यो - "त्यो हाम्रो विषय होइन । त्यता पट्टि नजाऊँ
। CCTV राख्ने पट्टि जाऊँ ।"
र फाँटवाला सुब्बातिर
फर्केर सोध्यो - "तपाईको चौथो बुँदा के रे ?"
सुब्बाले एकपल्ट आफ्नो
घाँटी साफ गर्यो र चारैतिर सबैको अनुहार हेर्यो । त्यसपछि भन्न शुरू गर्यो -
"मैले सबैको अनुहार हेरेँ । कसैबाट पार लाग्ला जस्तो लागेन । त्यसैले मेरो
बुँदा नं ४ - त्यो CCTV संचालन, मर्मतसम्भार गर्ने कसले ?"
"एकपल्ट जडान गरेपछि
केही पनि गर्नु पर्दैन रे ।" - कसैले सुनेको कुरा भनिदियो ।
"त्यो त बेच्नेले
भन्ने कुरा । गाडी किनेपछि आफू चलाउन नजान्नेले चालक राख्नु परेन ? कोही त
जिम्मेवार हुनु पर्यो त्यसको । त्यस्तै हो यो पनि ।" - सुब्बाले सिधै उत्तर
दियो ।
सुब्बाको चौथो बुँदाको आसय
बुझेको हाकिमले मुसुक्क हाँस्दै भन्यो - "त्यसोभए CCTV चलाउन एउटा प्राविधिक दरवन्दी आवश्यक पर्यो । होइन ?"
"हो, हजुर, हो ।
हजुरले ठिक मर्जी भयो । दरवन्दीमा बजेट रकम पनि उल्लेख गर्नु पर्ला कि ?" -
सुब्बाले आफ्नो प्रस्तावलाई हाकिमको प्रस्तावमा परिणत गरिदियो ।
"त्यसो भए यो वर्ष
दरवन्दी सिर्जना पनि हुदैन, बजेट पनि आउदैन ।" - कुनै बाठोले निर्णय गर्यो ।
"होइन । आउछ, आउछ ।
अत्यावश्यक वस्तु हो नि यो । यो वर्ष नआए पनि अर्को वर्ष त पक्कै आउछ ।" -
हाकिमले आफ्नो दृढता छुटाएन ।
कसेले आपत्ती गरेन ।
उनीहरूसँग आपत्ती गर्ने कारण पनि थिएन । त्यही मौनताको समयमा हाकिमले आफ्नो कुरा
राख्यो - "अब निर्णय लेखौँ त ?"
सबैले सहमतीमा टाउको
हल्लाएकाले हाकिमले भन्यो - "सुब्बासाहेब ! अब निर्णय लेख्नोस् ।
निर्णय नं १ कार्यालयको परिक्षणस्थलमा
अत्यावश्यक भएकोले CCTV जडान गर्ने ।
निर्णय नं २ CCTV संचालन गर्नको निम्ति प्राविधिज्ञ नभएकोले बजेट सहित दरवन्दी माग गर्ने
निर्णय नं ३ खरिद भएको CCTV जतनसाथ भण्डारण गरी राख्ने ।
निर्णय नं ४ CCTV अत्यावश्यक भएको संबन्धित सबैमा जानकारी गराइने ।"
विस्तारै निर्णय बाहिरिदै
आयो र सबैले सन्तोषको लामो सास फेरेर भने - " CCTV त राम्रो हो
नि । सबै कुरा छर्लङ्ग देखिने ।"