५. चिन्तनको खडेरी
कुनै पनि देशको विकासको कुरा गर्दा 'त्यहाँका जनताको जीवन स्तर कस्तो छ?' भनेर खोज्नुभन्दा 'त्यहाँका बुद्धिजीवीहरूको
सोच कस्तो छ?' भनेर हेर्नु पर्दछ। नेपालको सन्दर्भमा पनि यही सोचको कुरा लागु हुन्छ। चाहे
राजनितिज्ञहरू हुन, चाहे योजनाकारहरू हुन, या चाहे हामीले बुद्धीजीवी भन्ने गरेका कुनै पनि क्षेत्रका
हस्तीहरू हुन, उनीहरूको सोच नै समाज विकासको मापदण्ड हो
किनकि व्यक्तिको सोचाइको स्तर उसको
वरिपरिको सामाजिक वातावरणले निर्धारण गर्दछ र आफूले आर्जेको ज्ञानको प्रयोग पनि आफ्नै
सामाजिक परिवेशको आधारमा गरिन्छ। संसारको कुनै पनि कुनाबाट ज्ञान चोरेर या कमाएर
ल्याए पनि प्रयोगको थलो नै त्यसको उच्चताको कसी बन्दछ। अमेरिकी विद्यावारिध
डाक्टरहरूलाई निख्खर सुनको टुक्रा ठानिएर धेरै ठूलो महत्वका साथ नेपालका विभिन्न
महत्वपूर्ण क्षेत्रमा उनीहरूको प्रयोग भए पनि उनीहरूको कार्यउपलब्धि पनि राणाकालिन खर्दार , मुखियाकोभन्दा ठूलो देखिन नसक्नु
सामाजिक सोचको विकास नभएकोले नै हो। देखिन्छ पनि त्यस्तै। आजभन्दा दुई दशक अगाडि
एउटा सोच राख्ने योजनाकार विज्ञहरूको सोचलाई नै आज रेडियो र टेलिभिजन च्यानेलहरूले
प्राथमिकताकासाथ स्थान दिएको देख्दा यो
दुई दशक भित्र कुनै नया सोचको विकास हुन सकेन र राजनैतिक परिवर्तन भए पनि
अहिलेसम्म त्यही पुरानो सोच नै समाजका हरेक क्षेत्रमा हावी रहेको छ भन्न कर लाग्छ।
परिवर्तनको रूप भन्नु नै सामाजिक सोचको परिवर्तन हो र त्यो सोचको अग्रणी
राजनितिज्ञ हो। वौद्धिक चिन्तकहरू त उसका पथप्रदर्शकहरू मात्र हुन् तर नेपालको
सन्दर्भमा भने राजनितिज्ञहरूले आदर्शवादी चिन्तकहरूलाई गुरु मान्नुको साटो सबुत
फेला नपारुन्जेल दोषी नठहरिने तर्कले अपराधीको वचावट गर्ने वकिलहरूलाई गुरु माने।
त्यसैको परिणाम स्वरूप नेपालको राजनितिमा विपक्षिलाई गाली गलौज गर्नु बाहेक एउटा
पनि राजनैतिक दर्शनको सिर्जना हुन
सकेन। ४६ सालको परिवर्तन पछि जेलनेल र यातनाले खारिएको ठानिएका प्रजातन्त्रवादीहरूबाट एउटा अर्कै खालको राजनैतिक दर्शनको प्रादुर्भाव
होला भन्ने आशा थियो तर उनीहरू त्यागको
बाटो छोडेर भौतिक उपलब्धि थुपार्न व्यस्त भए र आफूलाई दोषी प्रमाणित गर्ने चुनौति
दिन लागे। आजको सत्ता परिवर्तन त्यसैको उपज हो तर यो कुनै सकारात्मक उपज भने होइन
किनकि वहुदलिय व्यवस्थाको निकृष्ट तहमा पुग्न जसरी पूर्व प्रधानमन्त्री शेरबहादुर
देउवाको ठूलो भूमिका छ त्यसरी नै पंचायत कालको अन्तिमतिर राजनितिलाई ओहोदाको
तावेदार बनाउने प्रकृयाको आरम्भमा हाल प्रधानमन्त्री लोकेन्द्र बहादुर चन्दको
त्यति नै ठूलो भूमिका छ। त्यसैले यो सरकारको कार्य तावेदारीमै सीमित रहनेछ। त्योभन्दा
पर यसबाट आशा गर्न सकिन्न र आशा गर्नु पनि हुन्न।
माओवादीहरूको अनाशातित सफलताको कारण पनि यही अग्रगामी बौद्धिक चिन्तनको
खडेरीमा उनीहरूले अगाडि सारेको दर्शन हो। जतिसुकै हिंसावादी भनिए पनि माओवाद एउटा
निश्चित दर्शन हो र नेपालको सन्दर्भमा एउटा नया मार्गदर्शन पनि हो। विकल्पहीन अवस्थामा माओवादीहरूले अगाडि सारेको
समानताको दर्शनले सुरु सुरुमा सर्वसाधारण जनतालाई यति प्रभावित पार्यो कि
बहुसंख्यक ग्रामिण युवाहरू त्यसमा तानिएर माओवादी कहलाइए र अहिले कतिपयले चाहेर
पनि सो जमात छोडन सकेका छैनन्। यो चिन्तनको खडेरीको बेलामा माओवादको विकल्पमा कुनै
पनि राजनैतिक नेताहरूले नया दर्शन र आदर्शको व्याख्या नगर्नाले सर्वसाधारणले उनीहरूको
पछि लाग्नु पर्ने कारण देखेका छैनन् र सर्वसाधारणको समर्थन बिना कसैले पनि
राजनितिको सागर पार गर्छु भनी ठान्नु दिवास्वप्न हो।
राजनैतिक चिन्तनको अभाव पत्रकारितामा समेत देखिन्छ। नेकपा एमाले र मालेको
बिचको खिचातानीमा चेपुवामा परेको 'जन आस्था' ले मर्यादित पत्रकारिताको आदर्शबाट विचलित हुदै हुदै एउटी
आइमाईको हुर्मत लिने नराम्रो बाटो समाएर नैतिक पतनको भासमा ओर्लनु पत्रकारको
अनैतिकताभन्दा समाजको नैतिक विचलनको उदाहरण प्रस्तुत गर्दछ। बेइज्जतीभन्दा मृत्यु
रोजेर एउटी आइमाईले आफ्नो नैतिकताको परिचय दिई र 'त्यत्रो बेइज्जती भयो भने मेरी
स्वास्नी या छोरीले पनि त्यही बाटो समाउन वाध्य हुनुपर्छ' भन्ने सोच ती सम्पादक या
पत्रकारमा भएको भए एउटी आइमाई, जो मर्नाले कसैलाई फाइदा थिएन, बाच्न पाउने थिई। आज मैले मारेको
होइन , मारेको
प्रमाण के छ ? भनेर के हुन्छ र ? आजका राजनितिज्ञले जन अदालतको कठघरामा उभिनु परेझैं
पत्रकार पनि त उभिनु नै पर्यो। राजनैतिक चिन्तनको अभावले समाजमा यति धेरै विचलन
ल्याइदियो कि सौरव र शिव अधिकारी जस्ता स्थापित विद्वान स्तम्भकारहरूसमेत विवेचनात्मक चिन्तन प्रस्तुत गर्नुको
साटो व्यक्ति गालीगलौजको भाकामा र्लिए।
चिन्तन भन्नु नै विकल्पको स्वरूप हो र माओवाद नेपाली राजनितिमा एउटा उग्र
विकल्पको रूपमा आएको छ। अब नेपाली राजनितिज्ञहरूको सामु एउटा मात्र विकल्प बाँकि छ
माओवादलाई स्विकारगर्नु या यसकोप्रतिकार गर्नु। अघिल्लो बाटो त जसले पनि समाउन
सक्छ तर पछिल्लो रोजाइ त्यति सुगम छैन। समानताको नारा दिएर जुन उग्र बाटो समाएर
हिडेको छ माओवाद 'त्यो. समानता शान्तिपूर्वक पनि यसरी दिन सकिन्छ' भनेर दिइने उदाहरण चाहिएको छ।
राजनिति गर्नेहरू, चाहे ती राजा हुन् या प्रजा, उदाहरणिय बन्नै पर्छ।
नेपालको राजनितिमा अब तीन चिन्तनहरू प्राथमिक रूपमा आएकाछनः १. माओवाद,
२. राजावाद र ३.
संसदवाद। माओवादले बाँकी दुवै वादलाई अस्विकार गर्छ। सहअस्तित्व र सहभागिता
माओवादको उद्देश्य, लक्ष र निति होइन र प्रतिस्पर्धात्मक राजनिति पनि होइन उसको। उसको अस्तित्व नै
एकलवाद हो। ऊ आफूलाई पूजिवादभन्दा पर पुग्ने माध्यम त ठान्दछ तर उसको बाटो कसरि
त्यहाँ पुग्छ ? त्यो कहीँ पनि स्पष्ट छैन। त्यही अन्योलले गर्दा राज्यपूँजिवादसम्म पुगेर
सोभियत संघ पतन भयो र चिन आधा बाटोमा नै पूजिवादतिर लाग्यो। त्यसैले नेपालमा
माओवादको विजय त सम्भव छैन तर माओवादी विद्रोहले
समाजमा एउटा परिवर्तन भने अवश्य ल्याउँछ। अबका दिनहरू पहिलेका जस्ता हुने
छैनन्। माओवादको परिणाम नेपालमा सामन्तवादको अन्त्य हो।
राजावादका समर्थक यो अथवा ऊ रूपमा राजाको सकृय नेतृत्व कायम गराउन चाहन्छन्।
यो देशलाई पृथ्वीनारायण शाहको आर्जन ठान्नेहरू राजाको सकृय नेतृत्वबाट फाइदा हुने
दरवारिया मात्र होइन दल भित्रका मानिसहरू पनि छन्। राजा बाहेक अरु कसैप्रति पनि
जिम्मेवार हुनु नपर्ने हुनाले राजालाई रिझाउने प्रवृत्तिका मानिसहरूको बोलबाला
हुन्छ र यसमा राजदरवारिया या नाता गोता या टुक्रेटाक्रे सामन्त जमिन्दार या सैनिक
पदाधिकारीहरू नै राज्यका निर्णयका सहायक हुन्छन। थोरै भए पनि सामन्ती सँस्कार
बोकेका मानिसहरूमा राजा रिझाउने सँस्कार यति बलियो हुन्छ कि 'तिमी त इन्दिरा गान्धी
जत्तिकै हा'ै भनेर सन्काई दिदा आफैले टेक्ने धरातल भत्काउनु र फेरि 'चुनाव जितेर मन्त्री
बन्न पाए भएन ?'
भनेकै भरमा आफ्नै राजनैतिक धरातल भएका मन्त्री जस्ताले पत्याउनु र 'राजाको साढु भाइ पो त ,
राजाले सघाए पछि
सेना र पुलिसले यसै पुर्याउछ सत्तामा' भनेर पछि लाग्ने कार्यकर्ता हुनु एउटा गुलामी
प्रवृत्तिको अनुपम उदाहरण हो। 'एउटै आस्थाका छाता मनि हुर्किएका मानिसको निम्ति पक्ष
विपक्ष विपरित हुन सक्दैनन्' भनेर सोच्न नसक्नु आफूमा कुनै आस्था र चिन्तन नहुनु हो र
आज पनि जो मन्त्री हुन गएका छन ती सबैको पृष्ठभूमि बाहुल्यमा कहीं न कहीं कुनै
आस्था र चिन्तन नहुने सामन्ती व्यवस्थाको ओहोदामा हुर्किएकै मानिसहरूको छ।
तेश्रो पक्ष हो प्रजातान्त्रिक चिन्तन। प्रजातान्त्रिक चिन्तनको मूल पक्ष नै
सार्वभौम जनता हो। यसको मूल मन्त्र नै जनता माथि शाशनगर्ने अधिकार जनता स्वयंको हो र प्रतिस्पर्धात्मक
राजनितिमा उसले एउटा वादको विकल्पमा अर्को वादलाई छान्न सक्छ। 'व्यक्तिभन्दा सिद्धान्त
मुख्य हो'
भन्ने यो चिन्तनको सोच हो।
प्रजातन्त्रले राजावादलाई ठाडै इन्कार गर्दछ। शाशनमा राजाको हस्तक्षेप त्यसैले
प्रजातान्त्रिक नै होइन। जनता राजा बिना पनि अस्तित्वमा रहन्छ र अझ कहिले कहीं त
देश बिना नै पनि अस्तित्वमा हुन्छ तर जनता बिना त देश त हुदैन भने राजाको त कुरै
छोडिदिऊँ। त्यसैले जनताले राजावादलाई स्विकार गर्नैपर्ने कुनै कारण छैन तैपनि
राज्यको निम्ति एउटा राज्याध्यक्षको जरुरत पर्ने र राजसंस्थाले शाशन व्यवस्थामा
जनप्रतिनिधिको कार्यमा हस्तक्षेप नगर्ने शर्तमा कतिपय देशहरूमा राजसंस्थालाई राष्ट्राध्यक्षको
रूपमा स्विकार गरिएको हो। त्यसैले प्रजातन्त्रवादीहरूले यसमा पनि आफ्नो चिन्तनलाई
प्रस्ट्याउनु आवश्यक भएको छ।
राजनैतिक आस्थाको राजनिति गर्नेहरू बिच चिन्तनको खडेरी शुभ चिन्ह होइन। यसले
हिजो शेर बहादुर देउवा जन्मायो, आज कमल चौलागाई जन्माएको छ र भोलि अरु कोही जन्माउन सक्छ।
महेश आचार्य या डा.रामशरण महतको अर्थनितिको आस्थाहीन प्रयोगको कारण नेपाली
कांग्रेस आफ्नो शाशनको उपलब्धि लिएर जनता सामु जान सक्ने स्थितिमा छैन। छेउ न
टुप्पाको अन्धानुधुन्ध पश्चिमी अनुकरणले स्थापित उद्योगलाई त तहसनहस बनायो नै कुनै
नया उद्योग पनि स्थापना हुन सकेन र जनतालाई दिइएको सग्लो वस्तु शायद केही पनि छैन।
नेकपा एमाले पनि त्योभन्दा राम्रो स्थितिमा छैन। उसको १२ वर्ष पनि रचनात्मकभन्दा विध्वंसात्मक
बढी देखियो र सत्तामा पुग्ने प्रयाशमा भविष्य नदेख्ने नेतृत्वको विकास भयो। आज कमल
चौलागाई मात्र गए तर धेरैले त सोचेका थिए के. पी. ओली या वामदेव गौतम नै जानेछन।
शुभ भयो -
आजसम्म कोही गएका छैनन। जनमानसमा नेता र दलप्रति यस्तो अविस्वासको धारणा
बन्नु दलको निम्ति र प्रजातन्त्रकै निम्ति
पनि हानिकारक छ।
तुलशी गिरी र केशर जंग रायमाझीहरू जन्मिइरहन्छन , यो चिन्ताको विषय होइन। चिन्ता त
नेतृत्व पंक्तीमा विचलन आउनु हो र विचलन आउनुको मुख्य कारण आस्था बिनाको सत्ताको
प्रयोग हो , चिन्तन बिनाको नेतृत्व हो। आज चिन्तनको खडेरी छ , भोलि नहोस। यही शुभकामना छ।
बागडोल, ललितपुर
२०५९। ८। १२
No comments:
Post a Comment