सुन्दा पत्यार नलाग्न सक्छ तर हामी फोहोरसँग यति अभ्यस्त भइसकेका छौं कि प्रत्येक गाँसमा फोहोर खाएको हामीलाई थाहा नै हुदैन । न्युरोड कर्नरको गुँदपाख भण्डार त हाम्रो त्यो सहज बानीको लाभ उठाउने एउटा दुश्चरित्रको नमुना मात्रै हो । हामी झिंगालाई फोहोरको नमुना नै मान्दैनौ । त्यसैले हाम्रा घर भित्र चर्पीदेखि भान्सा र पूजाकोठामा घुमिरहेका झिंगा हाम्रोनिम्ति सामान्य ठहरिन्छ । आज पो सहरमा हुनेखानेकोमा फ्रिजमा राखेर मासु खालान् । नहुने र गाउँघरमा दशैंताका हुनेखानेले पनि गनाएको मासु खाने चलन उहिलेदेखिको चलेकै छ । जति सुकुटी गनायो उति राम्रो भन्ने अहिले पनि छन् । हात धुनुको अर्थ हामी पखाल्नु ठान्छौ । फेसबुक र ब्लगमा भर्त्सना गरिए धेरै तर एउटा सामान्य बटुवालाई सोध्दा ‘बिग्रेको भए पनि मिठाईकै बनाएका रहेछन्, राम्रै भएछ’ भनिदिए । तिनलाई कारवाही होला त भन्ने प्रश्नको उत्तरमा उनले ठाडै जवाफ दिए – ‘कारवाही त के होला र, नानी, यो देशमा त्यै पनि बिग्रेको मिठाइ खुवायो भनेर । ढलको पानी खुवाउनेलाई केही हुदैन । अरुका कुरा ।’
चोकचोकमा हेर्नोस् मासु कसरी बिक्छ ? काठमाडौको जोरपाटी चोकको नमुना नै लिऊँ । चोकैमा मासु पसलका लाइन छन् । मासु सडकको पेटीमा पछारेको देखिन्छ त्यहाँ । मासुको रास भन्दा तीन मिटर परको ढलमा नेपालीभाषाको सबैभन्दा फोहोर शव्द ‘गुहु’ बगिरहेको नांगा आँखाले प्रस्टै देखिन्छ त्यहाँ र हाम्रा चेलीबेटी घरमाइत गरे झैं झिंगा ढल र मासुमा ओहोर दोहोर गरिरहेका हुन्छन् । कसैले वास्ता गर्दैन त्यसलाई । किन्नेको घुइचो नै हुन्छ सधै । वीस मिटर पर यो सबै हेर्ने गाउँ विकास समिति छ । सँगैमा प्रहरी चौकी छ कसैको आँखा पुग्दैन । माछा मासु सांसद त्यहीबाट किन्छन् । नेता त्यही जान्छन् । उनीहरूलाई वास्ता छैन । सर्वसाधारणको त कुरै छोडिदिऊँ । यो त एउटा नमुना मात्रै हो । गाविसका त कुरा महानगरपालिका सबै मासु पसलको धेरथोर यही हालत छ भने हामी फोहोर खान अभ्यस्त भएका होइनौ र ? तब फोहोर भन्ने केलाई ?
No comments:
Post a Comment