Thursday, September 29, 2011

तीन प्रश्न



कतिपय छापाहरूमा देश विकासबारे विज्ञहरूका लेख र टि भी र रेडियोहरूमा अन्तर्वार्ताहरू पढिन्छन्, देखिन्छन् र सुनिन्छन् । ठुलाठुला आर्थिक विज्ञहरूले त अन्तर्राष्ट्रिय मौद्रिक नितिदेखि लिएर झारपात उत्पादजसम्मका उडन्ते गफ पनि दर्‍होसँग केलाएर व्याख्या गर्छन् तर सर्वसाधारणका मूल समस्या के हुन् भनेर सोच्न पट्टि नलागी आफ्नो विद्वत्ता देखाउनतिर जोड दिन्छन् । अझ राजनैतिक विज्ञहरू नै भए भने त सामान्य मानिसले के चाहन्छ या सोच्छ भन्ने हेक्का नै नराखी आफ्ना लेख र अन्तर्वार्तामा एउटा स्वर्गको कल्पना नै गरिदिन्छन् । यो देश नेपालको समस्या नै यही हो । त्यसैले सबभन्दा पहिले नागरिकका मूल आवश्यकतामाथि उठ्ने तीन प्रश्नको समाधानतिर नै छलपःल गरौं ।

सामान्य एउटा व्यक्तिको पहिलो चाहना हुन्छ — म र मेरा लालाबाला भोकै नमरून् । विकासको पहिलो खुट्किला नै यही हो । सम्पत्ति हुनु भन्दा पनि भोकै मर्नु नपर्ने स्थितिमा आफू बस्न पाउनु बढी सुरक्षित ठान्छ आफूलाई आम नागरिकले । कोही भोकै मर्नु पर्ने स्थिति पशुभन्दा पनि तल्लो तहमा गुज्रनु पर्ने अवस्था हो । त्यसैले ‘के बनाउने ?’ भन्ने प्रश्नको उत्तर राज्यका सबै अंगले राज्यलाई भोकविहिन बनाउनु हो र त्यो बनाउने जिम्मेवारीको नेतृत्व गर्ने सरकार हो तर हाम्रो यहाँ त सरकारले ‘कोही भोकै रहने स्थिति छ वा छैन ?’  सो निर्क्योल कहिले पनि गरेको पाइदैन र आर्थिक विज्ञ र सामाजिक कार्यकर्ताले सो बारे सरकारलाई सुझाव र सल्लाह दिएको पनि भेटिदैन ।
खान नै नपाएर मर्न वाध्य मानिसका निम्ति आवास, स्वास्थ्य, शिक्षा जस्ता कुरा धेरै परका हुन् । बाँच्नै नपाउने हो भने के गर्छन् र ती सुविधाहरूले । झन किन चाहलान् र उनीहरू अभिव्यक्ति स्वतन्त्रता या अरु यस्तै स्वतन्त्रता । मानविय स्वतन्त्रताको माग त प्राणीजन्य भोकको समाधानपछि मात्रै आवश्यक हुन्छ । 

‘कस्तो बनाउने? आधुनिक राज्यका दोश्रो प्रश्न हो । केले पेट भर्ने ? केले आँङ ढाक्ने ? मिठो मसिनो खाने, राम्रो लाउने सबैको चाहना हुनसक्छ तर त्यो चाहना मात्रै हो । खान हुने र पोषण पुग्ने कुनै पनि चिजले पेट भर्न पाए हुन्छ । बासमती नै हुनपर्छ भन्ने छैन । ढिँडो भए पनि हुन्छ । मलमल चाहिन्छ भन्ने पनि छैन, खाँडी भए पनि चल्छ । कसैलाई बासमती र मलमल नै चाहिन्छ भने त्यो चाहना पुरा गर्न उसले आफ्नो सम्पन्नता वृद्धि गर्नतिर लाग्नु पर्छ । त्यसैले कस्तो ? भन्ने प्रश्नमा राज्यले न्युनतम आवश्यकताको मात्र ग्यारेन्टी गर्छ । त्योभन्दा बढीको लागि त व्यक्ति स्वयम् जिम्मेवार छ आफ्नो संवृद्धिको निम्ति ।
‘कसरी बनाउने ?’ यो आधुनिक राज्यको तेश्रो प्रश्न हो । यहीं आएर अल्झन्छ राजनैतिक विवाद । साम्यवादीहरू भएकोलाई शक्तिको बलमा ध्वंस गरेर त्यो जगमा साम्य अथवा समानताको गृह निर्माण गर्न सकिन्छ भन्ने सोच राख्छन् र सो प्रयाश गरिएको पनि हो तर त्यसले कस्तो बनाउने ? भन्ने प्रश्ननको उत्तरमा आदिम समानता मात्र शृष्टि गर्न सक्यो । अर्थात् ढिडो र खाँडीको प्राणीजन्य सपना त पुरा भयो, मानवजन्य स्वतन्त्रताको लेस पनि देखागरेन । व्यक्तिको संवृद्धि नगरी समाजको संवृद्धि गर्ने सपना देखियो, अर्थात् गाईलाई बढी दुधालु नबनाई गाईगोठको दुध बढ्दैन भन्ने सोचिएन । अर्कोतिर, मानविय स्वतन्त्रता खाएर कोही पनि बाँच्दैन भन्ने ज्ञान प्रजातन्त्त्र या लोकतन्त्रवादीमा पस्न गाहारो भयो । जडसुत्रवादी साम्यवादी र यथास्थितिवादी लोकतन्त्रवादी बाहेक दुवै पक्षकाले अब यो समस्यालई बुझ्न थाले र आफूलाई सच्याउन थालेका  पनि सही कुरा हो तर त्यो सच्चिन चाहदैमा मूल सुत्रलाई छोडेकै हुन् त भनेर कसैले सोध्यो भने ‘त्यो मैले छोडें‘ भनेर भन्न भने उनीहरू सक्दैनन् किनकि त्यो छोडेँ भनेर भन्ने सामर्थ्य उनीहरूमा हुँदैन । प्राणीजन्य आवश्यकता पूर्ति गर्दै मानव स्वतन्त्रता कायम राख्ने विकल्प त अर्को सिद्धान्त र अर्को  वाद हो । त्यो विकल्प रोजेँ अथवा त्यो वादमा गएँ भन्न उनीहरूलाई गाहारो छ तर त्यो राजनैतिक विकल्प कार्यान्वयनमा गएपछि मात्रै —कसरी बनाउने ?‘ प्रश्न समाधान हुन थाल्छ ।

मानिसका आधारभूत पशुजन्य र मानविय आवश्यकता पूर्ति हुदैमा मानिसका सबै आवश्यकता पूर्ति हुदैनन् । समाजको विकास अनुरुप उसका आवश्यकता मात्रा पनि र गुण पनि बदलिदै जान्छ । राज्यले मानिसलाई उसका विकसित आवश्यता पूर्तिकालागि खुला प्रतिस्पर्धामा छोडिदिन्छ र उसले पाएको उपलव्धिको केही अंश समाजका अल्पविकशित सदस्यकालागि राज्यले आफ्नो हातमा लिन्छ । बढी विकसितको केही अंश समाजमा वितरण भएर नै समाज विकसित हुदै गएको हो । विकसित समाजको राज्यले —किन? कस्तो ? कसरी ?‘ का प्रश्नहरूको दायरा बढाउदै नागरिकका आधारभूत सुविधा स्वत बढाउदै लान्छ र समानता विहिन समाजलाई कल्याणकारी राज्य बनाउछ जहाँ समानता एउटा हदसम्म मात्र कायम हुन्छ ।

अरु विस्तार पछि ।

Tuesday, September 27, 2011

सुशाशनको सुरुआत


दक्षयज्ञ विध्वंस पछि सेलाएका महादेवसँग दक्षपक्षका तर्फबाट क्षमायाचना गर्दै दाँत भाचिमागेका पुषाकालागि देवताले सोधेछन् – भगनान् ! पुषाका दाँत भाचिएका छन् । उनले खानेकुरा कसरी खाने? देवताहरूले सोचेका थीए – भगवान खुशी भएर दाँत उमारी दिनेछन् तर बाठा महादेवले सोझै भनिदिएछन् – दाँत नहुनेले पिसेर खाने । प्रधानमन्त्रिको स्वागतार्थ गोरखामा गरिने सम्मेलनमा त्यो बाटोका सबै बस माओवादी कार्यकर्ता त्यहाँ पुर्‍याउन कब्जा गरिएकोमा सर्वसाधारण यात्रु केमा जाने भन्ने पत्रकारको जिज्ञासामा माओवादीका त्यहाँका जिल्ला सेक्रेटरी चुडामणी खड्काले पनि भनिदिएछन् – बाहिर जाने माइक्रो बसमा जान सक्छन् । आदिदेवको बौलाहा सुशाशन दक्षयज्ञबाट शुरु भए झैं हाम्रा प्रधानमन्त्रिको सुशाशन गोरखाबाट शुरु हुन थालेको छ । पुषाले त महादेवके विरोध गरेका थिए, जनताले त बाबुरामको विरोध गरेका थिएनन् । जनताले पत्याएका थिए कुनै समयमा माओवादीलाई । ९ महिने शाशन र त्यसपछिको उदण्डताले त्यो ओरालो लाग्यो । जनताको त्यसमा कुनै दोष छैन ।अहिले बाबुरामलाई पत्याएका हुन् माओवादीलाई होइन। यस्तै हो भने त्यो ओरालो लाग्न महिना कुर्नु पर्ने छैन । दिनगन्ती नै शुरु हुन थाल्नेछ । केको निम्ति हो गोरखाको यो तामझाम भूतपूर्व राजाहरूको सवारीमा जस्तो जनतालाई दुख दिएर ? राजाले बकस बाँडे झैं गोरखालाई त्यो सम्मेलनमा केही दिने घोषणा गर्ने भए बढे राजा मानेका जनताले छोटे राजा पनि मानिदेलान् तर पंचायतकालिन शेरे धनुषा सत्तामा हुदा हजारौं हजार अगाडि पछाडि जनता भए पनि मर्दाका मलामी दाजुभाइमा मात्र सीमित भए ।
प्रधानमंत्री भएको महिना दिन नपुग्दै संसार देखेर आएका बाबुरामको लोली र बोली फेरिन थाल्यो । ४५ दिनभित्र सेनासमायोजन गर्ने गफ चुटेर हिडेका बाबुरामले न्युयोर्कमा उत्तर र दक्षिणका नेतालाई के भेटेथे उनको मुखबाट त ‘बबुरा म’ भएर जालसाँज गर्न मिल्ने काइते भाकाको बोली निस्कन थाल्यो । सबै सहमति भए ४५ दिनमा समायोजन गरिसक्छु भनेको पो त मैले, पत्रकारले पो उल्टो कुरा बनाइदिएभनेर नेपालको भूमि पैतालाले छुने बित्तिकै उनले बोली फेर्दै आफू चोखो र संचारमाध्यमलाई बदमास ठहर्‍याइ दिए । अब आश लागेको केटो पनि जेठाजु परेपछि जनताले पत्याउनयोग्य कोही नेता बाँकी रह्यो त ?