Friday, April 25, 2014

कुन बाटो रोज्ने ? श्रमप्रधान कि प्रविधिप्रधान ?



कुन बाटो रोज्ने ? श्रमप्रधान कि प्रविधि प्रधान ?

कुनै समयमा मानिसका सबै आवश्यकता एउटै गाउँमा पाइन्थ्यो र त्यसलाई स्वावलम्वी गाउँ भन्न मिल्थ्यो । त्यो बेला त्यो गाउँका आवश्यकता अति सीमित थिए । खाने अन्न, बस्ने ओतभन्दा अरू आवश्यकता त छदै थिएनन् भन्दा पनि हुन्छ । छोटकरीमा भन्दा त्यो गाउँका मानिस र पशुका आवश्यकताको अन्तर त्यति थिएन । थियो त हलो कोदालो । श्रम गर्थ्यो, खान्थ्यो । जन्मन्थ्यो, मर्थ्यो । न उपचार न शिक्षा । न आमोदप्रमोद न मनोरञ्जन । आजका कतिपय मानिस भन्छन् - "अहा ! कति सुखी जीवन ! न कोलाहल न दौडधुप । न धुलो धुवाँ न मारामार । स्वच्छ हावा, स्वच्छ पानी । तितोमिठो, सादा जीचन ।" तर अर्कोतिर मानिसलाई त्यसले सन्तोष दिएन र लगातार प्रयास गरी रह्यो आफ्नो सम्पन्नता वृद्धि गर्न । उसको प्रयासले प्रति दिन सम्पन्न हुदै गयो मानवसमाज तर उसको सम्पन्नताको सीमा पनि भएन । उसको प्रविधिको ज्ञान र त्यसको प्रयोग बढ्दै गयो र मानिस र पशु बीचको भिन्नता विशाल हुन पुग्यो । प्रविधिले मानिसको श्रमको क्षमता हजारौँ गुणा बढाई दियो ।

यहीँ आएर प्रश्न उठ्छ - अबको नेपालले विकासको बाटो श्रमप्रधान लिने कि प्रविधिप्रधान ?
एक थरीले भन्छन् - मानिसलाई जति भए पनि पुग्दैन । त्यसैले श्रम गरेर खान लाउन पाए पुग्छ र त्यसैमा सन्तोष गर्न सक्नु पर्छ किनकि लोभको सीमा हुन्न । उनीहरूको सोचाइ प्रविधिप्रधान ठुला उद्योगहरूले श्रमप्रधान कुटीर उद्योगहरूलाई मास्छन् भन्ने हो । सही छन् उनीहरू । गाडीबाटो बने भरियाको रोजगार मासिन्छ । फलाम कारखाना खुले कामीहरूको आरन बन्द हुन्छ । चिकित्साप्रविधि आए धामीझाँक्रीको कमाइखाने भाँडो टुंगिन्छ । तर यो सोच्दैनन् उनीहरू कि एउटा चरनमा घाँस सिद्धिए जानवर अर्को चरनतिर बसाइँ सरेझैँ मानिस पनि एउटा व्यवशाय बन्द भए विकल्पको रूपमा  अर्को पेशातिर बसाइँ सर्छ । मानिसको कार्य श्रमप्रधान त हो तर सो श्रमलाई उच्चतम प्रविधिसँग जोडे मात्रै उच्चतम उपलब्धि पाउछ उसले र आधुनिक उद्योग नै त्यो प्रविधिको उच्चतम प्रयोग हो । अपुग त मानिसलाई जहिले पनि हुन्छ । मैले थाहा पाउदा नै मेरै गाउँम वर्षभरि खान नपुग्नेलाई गरिब भनिन्थ्यो । पछि शिक्षा र स्वास्थ्यको सुविधा नपाउनेलाई गरिब भन्न थालियो । अहिले त हातमा कम्प्युटर बोक्नेले पनि आफूलाई गरिब भन्छ । आजका आवश्यकतापूर्तिका निम्ति आजका उच्चतम प्रविधि र उद्योगलाई प्राथमिकता दिन करै लाग्छ किनकि अबको समाज सानो गाउँमा सीमित रहेन । विश्वग्राममा परिणत भई सक्यो र सोही अनुरूपको प्रविधी र उद्योग ननिम्त्य्राउने हो भने हाम्रो प्रगति र विकासको बाटो रोकिन्छ । पशुको जस्तै श्रमप्रधान समाज त मानिस सभ्यताको आदिमकालदेखि नै थियो । मानिसको आजको सभ्यता त प्रविधिप्रधान हो र त्यसलाई नसमाए हामी जहीँकोतहीँ रहने छौँ ।
जोरपाटी - १, काठमाडौ
२०७१ वैशाख १२

No comments: