नfuरिक दैनिकमा शुक्रवार एकै दिन स्तम्भकार खगेन्द्र संग्रौला, पत्रप्रेषक डिल्लीराम पौडेल र मोफसलका पत्रकार सन्तोष न्यौपानेका लेखहरू एकैसाथ छापिएकाछन् र विषयवस्तु छ नेकपा(माओवादी भित्रको नेतृत्व संघर्ष। आफूलाई वाम भन्न रुचाउने सबैको पिरलो नै त्यही संघर्ष भएकोछ। बन्दुक बोकेर आजै लडन हिडने कि बन्दुक साथमा राखेर कुराकानी गर्ने कि कुराकानी गरौं न बन्दुक त पछि पनि बोके हुन्छ भन्ने यो एउटै कुरा तीन भाषामा भनिएको संघर्ष हो यो लफडा र यिनै विचार समाएर नेतृत्वमा पुग्ने या त्यसमा अडने प्रतिद्वन्दिता हो यो। त्यसैले माओवादी समर्थक विद्वानहरूले यसमा चित्त दुखाउनु पर्ने आवश्यकता नै देख्दिन म किनकि प्रतिद्वन्दिता प्राणीजन्य स्वभाव हो र मानिस माओवादी नै भए पनि आखिर प्राणी नै हो। कार्ल माकर्स जस्ता विद्वानहरू सम्पन्नता सम्पत्तीमा नै देख्दछन् तर संवृद्धिशास्त्र सत्ता र शक्तिलाई पनि सम्पन्नताको कारक मान्दछ। जसरी शान्तिको समयमा पैसा हुनेले कसैको पनि अगाडि हात फैलाउनु पर्दैन त्यसरी नै हातमा बन्दुक हुने मानिस अनिकालमा पनि भोकै मर्दैन र त्यसरी नै शाशन गर्नेले सामान्य मानिसले झैं बाँच्नृ पर्ने वाध्यता हुदैन। त्यसैले माओवादी नेताहरूको शिर्षस्थानमा पुग्ने प्रयाश सम्पन्नतावृद्धिका लागि प्राकृतिक प्रतिद्वन्दिता या संघर्ष मात्र हो। दोश्रो, माओवादीमा विकृति आयो भन्ने गुनासो पनि त्यति जायज छैन। विद्वानहरूलाई थाहा नै होला ग्रिसका स्पार्टाकहरूको सशस्त्र आचरण युद्धको निम्ति मात्र प्रयोग हो, शान्तिमा त सबैले एथेन्सवासीको जीवन बाँच्नुपर्छ जहाँ सम्पन्नताको निम्ति प्रतिद्वन्दिता हुन्छ र हार्नेले सम्पन्नता गुमाउछ र जित्नेले त्यो बढाउछ। आचरणको विषयमा विद्वानहरूले भारतिय कम्युनिष्ट लेखक यसपाल द्वारा इस्वी सम्वत्को पहिलो दशकको शुरुतिर लेखिएको 'दादा कमरेड' पढे कम्युनिष्ट नेताहरूको जीवन पद्धति छर्लङ्ग हुन्छ।
एकै छप्कोमा सबैलाई सर्वहारा बनाएर 'सामथ्य अनुरूप काम र आवश्यकता अनरूप दाम र माम' दिने वाचामा स्थापित सोभियत संघका जनता ढिँडोले पेट भरिने बित्तिकै एकदलिय तानाशाही दाम्लो छिनालेर वहुलवादी लोकतन्त्र खोज्न निस्कदा संघ नै विखण्डित भयो र इतिहासमा सधैं रुसको अभिन्न अंग भएर रहेका युक्राइना र श्वेतरुस समेत समेत छुटि्टएर गए भने माओवादी द्वारा जातिय आधारमा स्थापित गर्न खोजेको गणराज्यको टिकाउपन नै कति दिनको हुनसक्ला? त्यतातिर चिन्तनगर्नु उपयुक्त होइन र विद्वानहरूले?
वाम अथवा कम्युनिष्ट एकदलिय तानाशाहीलाई अग्रगामी मानेर आँखा चिम्लदै समर्थनगर्नु र वहुलवादी वहुदलिय लोकतन्त्रलाई मानेर हिडने नेपाली कांग्रेसलाई प्रतिगामी ठान्दै गालीगर्नु प्रगतिशिलताको नमुना भएको आजका स्थापित स्तम्भकारहरूमा। चाहे ती खगेन्द्र संग्रौला हुन् या राजेन्द्र महर्जन हुन् या सि.के. लाल या अरु नै किन नहुन्। मुमाराम खनाल या हरि रोकाजस्ताबाट त आशा पनि गर्नुहुन्न यी कुराको। उनीहरू विश्व सर्वहारावादका पक्षपाती नै हुन्। देश टुटे पनि त्यो वाद नटुटे पुग्छ उनीहरूलाई। तब किन गुनासो माओबादी आचरणका बारेमा? आफ्नो संवृद्धिको निम्ति माओवादी नेताले प्रतिद्वन्दीसँग शान्त संघर्षगर्नु प्राकृतिक नियम हो किनकि प्रतिद्वन्दिको सम्पन्नता नघटी आफ्नो सम्पन्नता नबढ्ने कुरा त संवृद्धिशास्त्रले भनेकैछ। प्रचण्डलाई तल नझारी वैद्य या भटराईले ठाउँ पाउदैनन् र यी दुईलाई नरोके प्रचण्ड आफ्नो स्थानमा बसिरहन सक्दैनन् भने एउटाले अर्कोका गल्ती र कमजोरी खोजीखोजी प्रस्तुत गर्नै पर्यो। विद्वानहरूलाई लाग्दो हो माओवादीको उछित्तो माओवादीले नै काढेपछि जनताले त्यसलाई पछ्याउने छैनन् र नेपाली कांग्रेस अघि आउने सम्भावना बढनेछ। त्यो त पक्कै हो किनकि नेपालको आजको सन्दर्भमा वहुलवादी लोकतन्त्रको पक्षमा रहेको नेपाली कांग्रेसलाई विस्थापित गर्ने अर्को लोकतान्त्रिक दल उदाएकै छैन र आजको संघर्ष जनतन्त्र, गणतन्त्र जेसुकै नाम दिए पनि एकदलिय तानाशाही र वहुलवादी लोकतन्त्रका बीचको हो। अब विद्वानहरूले रोज्ने बेला आएको छ कता उभिने आफू? एकदलिय तानाशाही शाशनको पक्षमा कि वहुलवादी वहुदलिय लोकतन्त्रको पक्षमा?
रामप्रसाद दाहाल
E-mail: dahalram@gmail.com