Monday, June 25, 2007

माओवादी र मध्यमवर्ग

गर्भमा रहेको छोरो भविष्यको तारा देखिन सक्छ तर जन्मेर सँगै बसेपछि लठुवा या दुर्जन निस्कियो भने सपना चकानाचुर हुन्छ र सार्‍है नै चित्त दुख्छ । जंगलमा बसेका माओवादी माथि आस्था र आशा राख्ने थुप्रै मध्यम वर्गियहरू खुलामा आएपछिका माओवादीका क्रियाकलापले त्यस्तै आहत स्थितिमा पुगेकाछन । वादका जुनसुकै विवाद उठाए पनि र जुनसुकै वादको प्रभुत्व भए पनि देशको शाशन शहरिया मध्यम वर्गियहरूको सहमति र सहयोग बिना चलाउन खोजियो भने कम्बोडियाली पोल पोटको नियति भोग्नु पर्दछ भन्ने माओवादीले नबुझेको प्रेस माथिको उनीहरूको आक्रमणले देखाउछ । अप्का हाउस, कान्तिपुर प्रकाशन र अब कामना प्रकाशनमा पुगेको माओवादी भातृ संगठनहरूको प्रेस माथिको आक्रमणले स्वतन्त्र समाचार माध्यम चाहने माओवादी समर्थक मध्यमवर्गियहरूलाई तर्साउन थालेको छ । जसरी एउटा मेलम्ची आयोजना माओवादीहरूको सहरी काठमाडौं उपत्यका प्रतिको अवधारणाको पर्याय बन्न पुग्यो त्यसरी नै छापाखाना माथिको व्यवहार वौध्दिकवर्ग माथिको व्यवहारसँग पर्याय हुनसक्छ । २१सौं शताव्दिमा उन्नाइसौं शताव्दिको मार्क्स र वीसौ‍को मध्यको माओका सिध्दान्तका आधारमा बिना मध्यमवर्गिय सहयोग कति शाशन गर्न सकिन्छ ? त्यो वर्ग विस्तारै माओवादी बाट टाडिदै गयो भने त्यो वादलाई सर्वसाधारण सम्म पुर्‍याउने माध्यम रहन्न भन्ने माओवादीले अझै नबुझे झैं देखिन्छ ।