Saturday, September 27, 2014

Journey to Life: मेरो पहिलो पाठशाला

मेरी बजै, मेरा गुरु र मेरो पहिलो पाठशाला

मेरो जीवनको कखहरा मैले मेरी बजैको काँखबाट सुरु गरेको हुँ र मेरो शिक्षाको बाह्रखरी पनि मैले त्यहीं सिकेको हुँ। घाँस, दाउरा, मेलापात, चुलोचौको गर्नु पर्ने र काँखमा दुधखाने सानो छोरो पनि हुनाले मलाई मेरी आमाले काँखमा लिने फुर्सद पाउन्नथिन् र म त्यसको माग पनि गर्दिनथें। म सार्‍है सानो थिएँ त्यस बेला। बल्दो बैसमा पनि १५५ सेन्टिमिटर उचाइ र ४५ किलोग्राम तौल हुने व्यक्ति ३।४ वर्षको उमेरमा कस्तो हुन सक्थ्यो? यसै अन्दाज गर्न सकिन्छ। मेरी आमा र अरूको भनाइ मान्ने हो भने म दुई वर्षको उमेरमा भैंसीले एकपल्ट गोब्य्राएको गोबर भन्दा अलिकति मात्रै बढी थिएँ रे। यसरी गोबरसँग जोख्दा गोबरभन्दा बढी भए सबै रोगव्याधी गएर बाँच्ने संभावना बढ्छ भन्ने लोकभावना अनुसार साँचै नै गोबरसँग जोखेका थिए रे मलाई। पल्लो कटेरोको भित्तामा सुकाएको गोबर त्यही मलाई जोखेको गोबर हो भन्थे सबै जना। 

मेरी बजै ठुलो जिउडालकी मोटी थिइन् र काँखमा बसेर खास्टोले छोपिदा म काँखमा नभएको देखिने। मलाई बाह्रखरी कण्ठस्थ गराउन मेरी बजै ठुलो स्वरले कराएर दोहोर्‍याउन लगाउथिन्। मेरी फुपू, बडाबा, बडीआमाहरूलाई त्यो चिच्याहट झर्को पनि लाग्थ्यो होला तर कसैले केही नभने पनि मेरी कान्छी फुपू त भनिहाल्थिन् — "कति कराउनुहुन्छ, ए आमा? मूलबाटोमा हिडनेले पनि यो बुढी बौलाइछ भन्लान्।

"भने भनुन् त। मेरो नाति पढाउदा पनि कसैले 'बुढी बौलाइछ' भन्यो भने खाँच्चैसित।" भन्दै उनी मलाई रटाउन थाल्थिन्।  

हुनत अरू पनि नातिहरू थिए तैपनि मेरी बजै ममा नै बढी चासो राख्थिन्। मलाई लाग्छ म मेरी बजैको मृगतृष्णाको एउटा त्यान्द्रो थिएँ र उनी आफ्नो मरेको कान्छो छोरोको जम्मै माया ममा पोखेर मातृत्व रिणबाट मुक्त हुन खोज्थिन्। उनी भन्थिन् — "म यसलाई पढाएर विद्वान पण्डित बनाउछु र यसले व्यासाशन बसेर पुराण सुनेपछि मात्रै मर्छु।

मेरा ज्ञान र शिक्षाका कारकहरू धेरै छन् तर मेरी बजै त्यो चाहकी उत्प्रेरक हुन्। मेरो सम्झनाको पहिलो चरण नै मेरी बजैको काखमा बसेर बार्‍हखरी कण्ठस्थ गर्न लागेको अनुभूति हो। उनलाई म ठूलो मानिस बनेको देख्ने अभिलाषा थियो। टुहुरो नातिमाथिको बजैको अपहत्ते देखेर मेरा बडाबा, बडीआमा या अरू कसैको मुखबाट 'के के न बनाउँला भनेर यो अपहत्ते गरेको होला, हेरिहालुँ ला नि !" भनेका शब्दले उनलाई पोल्थ्यो पनि होला उनलाई। 

मैले मेरो भाषाका सावाँ अक्षर कहिले सिकें? थाहा छैन। म त बजैको काँखमा बसेर ती अक्षर भट्याएको मात्र सम्झन्छु। बजैको काँख छोडेर पाठशाला गएको मलाई थाहा छ र त्यो पाठशाला त्यो गाउँको नियमित पाठशाला थियो। गाउँका पण्डित नारद लामिछाने पाठशालाका गुरु थापिएका थिए र मेरो घर नजिकैको रामालय-शिवालयको पाटीमा परालको सुकुल ओछ्याएर हामी पढ्ने गर्थ्यौं। गुरुको आशनमा भने सुकुलमाथि एउटा सानो राडी पनि ओछ्याइएको हुन्थ्यो।  

मेरो पाठशालाको पहिलो पुस्तक 'सचित्र ठुलो वर्णमाला' हो। सावाँअक्षर, बाह्राखरी, अंक, दशमांक, दुनोट सबै यही पुस्तकबाट सिकेको हुँ मैले। काठको धुलौटोमा मसिनो धुलो पारेको रातोमाटो हालेर बाँसको डिको(छेस्को) ले हामी लेख्न सिक्थ्यौं र मैले पनि त्यसरी नै सिकेको हुँ। बाँसको कलम र बत्तीको गाजल र तितेपातीको झोल मिसाएर बनाएको मसीबाट लेख्न त निकै पछि थालिएको हो। मेरी बजै कहिलेकही पाठशालामा नै पनि पुग्थिन् र मेरो पढाइको खै गर्थिन्। बजै पाठशाला आएको देखेर मलाई सधैं डर भइरहन्थ्यो कि कहीं उनले मेरा गुरुलाई गाली गरेर मेरो अबगाल नपारून्।  

मेरी बजै, ठुलो वर्णमाला र नारदगुरु मेरो प्राथमिक शिक्षाका सूत्रधारहरू हुन्। मैले सधैं बिहानै पञ्चस्नान गरेर बजैले पुजा गर्दा गरिने पाठका श्लोकहरू सुन्नु पर्थ्यो र केही जान्ने भएपछि आफैंले पनि पढ्नु पर्थ्यो। बजैले मलाई निधारमा त्रिपुण्डक लगाइदिएर नैवेद्य खान दिन्थिन्। यी नित्यकर्म पछि म ठुलो वर्णमाला समाएर घोकन्ति विद्या गर्थें। बिहान खाना खाएपछि म त्यही वर्णमाला र धुलौटो समाएर पाठशाल पुग्थें। सावाँ अक्षरदेखि लघुकौमुदीसम्म एउटै गुरुले पढाउने हुनाले एउटै सुकुलमा कोही पाणिनीका सुत्रहरू घोकिरहेका हुन्थे भने कोही सावाँ अक्षर कोर्ने प्रयासमा हुन्थे। पाठशाला आइपुग्ने बित्तिकै गुरुलाई खुट्टामा शिर राखेर सरस्वती वन्दना गर्नु सधैंको नियम थियो र त्यो पनि प्रत्येक विद्यार्थीले अलग अलग गर्दथ्यो। सामुहिक वन्दनाको चलन थिएन त्यहाँ।  

'दिनमाभन्दा रातमा बढी पढिन्छ' भन्ने विद्यार्थी सोचाइ त्यो समयमा पनि थियो र कतिपय विद्यार्थीहरू खाना खाएर बेलुका पाठशालामा नै सुत्न आउथे। त्यसैको देखासिकी म पनि घरमा खाना खाएर घरबाट २।४ मिनटको बाटो परको पाठशालामा नै सुत्न थालें। रातिसुत्नेले बत्ती बाल्न मट्टीतेल ल्याउनु पर्थ्यो र त्यो दुर्गम पहाडी गाउँमा त्यो समयमा मट्टीतेल खर्चिलो सामग्री ठहरिन्थ्यो। हामीजस्ता सम्पन्न परिवारलेमात्र प्रयोग गर्न सक्ने हुदा त्यो जमातमा मेरा नजिकका काका र दाजु मात्रै धेरै थिए। नाताले म सबैभन्दा कान्छो थिएँ र उमेरको हिसाबले पनि म सबैभन्दा सानो थिएँ। सात वर्षको उमेरको म हुँदा उनीहरू मभन्दा १०।१२ वर्षसम्म जेठा पनि थिए। मेरो मट्टीतेलको पालो आयो कि मेरी बजै उनीहरूलाई भन्ने गर्थिन् — "बाबु हो ! यो फुच्चेलाई किन तेलको पालो लगाउछौ? यो राति के पढ्छ र? सुतिहाल्छ। फेरि उठ्यो नै भने पनि तिमीहरूजस्तो ठुलो ठाउँ ओगट्ने होइन। यसो छेउबाट आएको उज्यालोमा पढ्ने त हो नि।" तर बजैको त्यो भनाइले मेरो पालो हट्दैनथ्यो र म पनि 'तेरो तेल छैन, तँ बत्तीमा नपढ्' भनेर अपमानित हुनुभन्दा बजै र आमासँग रोइकराइ मट्टीतेल लिएर नै जान्थें।  

यसरी नै चलेथ्यो मेरो पहिलो पाठशाला।

Friday, September 26, 2014

Journey to Life: हाम्रो घर



हाम्रो घर


(यो लेख मूलघर हुदै लेखिएकाले यसको अस्तित्व यहाँ देखाएको छ तर नेकपा माओवादीले यसलाई ध्वस्त पारिसकेकाले मूलघरको अस्तित्व अब छैन।)

भन्ने गर्छन् हाम्र्रो घर सम्पन्नताको प्रतिक हो। यो घरमा बस्नेले आफूसँग केही नभए पनि सम्पन्नताको पदवी पाउछ। हामी दाजुभाइ परदेश बस्न थालेपछि हामीले घरकुरुवा राख्यौ र त्यो सम्पन्नताको झुटो पगरीले उनीहरूलाई सधैं नै पिरोल्यो। उनीहरूलाई त्यो घरमा आइपुग्ने जोसुकैले पनि असम्पन्न मान्न सकेनन्। हात्ती चढेर हिडनेका घरमा अन्नको दाना छैन पत्याउनै गाहारो हुन्थ्यो। मेरा बाजेको मृत्युपछि असम्पन्नतातिर लागेको त्यो घर चालिस वर्षपछि त्यो घरमा बस्ने पछिल्लो व्यक्ति त्यो घरकी कान्छी बुहारी, मेरी आमा, मरेपछि त्यो घर उजाड भयो। घर छोडेर समयको दौडसँगै कुदेका हामी दुई दाजुभाइ घरतिर फर्कन सकेनौं र बेवारिसजस्तो त्यो घरलाई  घरकुरुवाको भरमा छोडियो। 
पर्ल.एस.बकले ठीकै चित्रण गरेकी छन् कि सम्पन्नताले मानिसलाई दुर्व्यशनतिर धकेल्छ। मेरा घरकुरुवाहरूलाई पनि त्यही रोगले छोयो। एउटाले हुँदोखाँदोको सुखी परिवार छोडेर आफ्नो आधा उमेरी केटी टिपेर मुग्लान भासियो। घरमा नातिनाति भएकी अर्की आफूभन्दा १०।१५ वर्ष कान्छो केटो टिपेर बेपत्ता भई। तेश्रो, परिवारको झटिमिटी सि्रध्याएर बहुलाउदै बेपत्तियो। पाखो खोरिया खोस्रेर पनि खान नपाउने मानिसहरू त्यो घरभित्र पसेपछि सित्तैमा पाएका जमिनमा पाटा गरा खनजोत गर्न गाहारो मानेर खेताला खोज्न थाल्दथे। भनिन्छ त्यो घरभित्र पस्ने वित्तिकै सम्पन्नताको मद चढ्छ र त्यो मदले उनीहरूलाई विकृत बनाउछ।
मेरी बजै भन्ने गर्थिन् — "यो घरको मूलीलाई खान्छु भनेर मसानले सधैं हेरिरहेको हुन्छ। त्यसैले त्यसले कि खाएर नै छाड्छ कि बुद्धि भ्रष्ट पार्छ।"
हाम्रो घरको जस्केलोबाट निस्किने बित्तिकै मायाखोल र पिलुवा खोलाको राम्बेनी भन्ने दोभान देखिन्छ र दोभानमै सधैँ लाश पोलिने चप्लेटी परेको ठुलो ढुंगो पनि देखिन्थ्यो। मेरी आमाले पनि दोहोर्‍याउने गरेको सासूको त्यो भूतको कारण नै त्यही मसान थियो। औषधीमुलो बिनाको त्यो दुर्गम गाउँमा अकाल मृत्यु आइरहन्थ्यो र मृत्युसँग सधैँ नै डर थियो सबैलाई। दोश्रो, गाउँको परिवेशमा त्यो सम्पन्नताको प्रतिक घरभित्र पस्ने बित्तिकै त्यो घरले दिलाउने मर्यादालाई असम्पन्नले धान्न गाहारो थियो र ढिकीमनिको धनराशिमाथि उभिएकी कंगालको धनअभिमान बढेजस्तै अभिमान बढेर सम्पन्न झैं व्यवहार गर्ने प्रयाश गर्थ्यो जसलाई धान्न नसकेर बुद्धि भ्रष्ट हुन्थ्यो। घरमालिकदेखि कुरुवासम्म कि मृत्युको शिकार भए कि दुर्बुद्धिको। 
मेरा बाजेले घर बनाउन सुरु गर्दा त्यो सय रोपनीभन्दा बढीको कित्तालाई घर, बगैंचा, बारी र खेत गरी चार भागमा विभाजन गरेका थिए र घर, बारी र बगैंचालाई चारैतिरबाट अल्गो ढुगांको पर्खालले घेरेका थिए। घरहरूको क्षेत्र घेर्ने भित्री कम्पाउन्ड बनाए र बाहिरी कम्पाउन्डले बारी र बगैंचासमेतलाई घेर्छ। बाहिरी कम्पाउन्डको दक्षिण र पश्चिमतिर खेतहरू थिए त्यो बेला र कम्पाउन्डसँगै जोडिएर समानान्तरमा उत्तर र पूर्वमा ढुंगा छापेर सिँढी बनाएको चैनपुर र तेरथुम सदरमुकाम जोड्ने मूलबाटो अझै छँदैछ।
चालिस हात लम्बाइ र पच्चिस हात चौडाइको हाम्रो मूलघर छ। दुई हात मोटो दिवाल भएको त्यो घरमा चार तला छन्। घरलाई चौडाइतिर तीन भागमा बाँडिएको छ र लम्बाइतिर पाँच भागमा। त्यसैले घरलाई तीन कवल भएको भन्दा हुन्छ। यो विभाजन त्यो घरलाई थाम्नु पर्ने दिवाल र खम्बाहरूले निश्चित गरेका छन्। भैंतलाको अगाडिपिट्ट चार ठाउँमा जोर थाम(खम्बा) र थाममाथि जोर निदाल राखिएका छन् र यिनै थाम र निदालले चार तलासम्म थामेका छन्। घरको लम्बाइपिट्टको पहिलो खण्डलाई हामी दलान भन्ने गर्छौ। दलानको थामबाहिरपिट्टको छानोले छोपेको भागलाई पिँढी भन्छौं हामीहरू। दलानको अन्त्यमा भएको मूलढोकाबाट भित्र छिरेपछि दायाँपिट्ट भरेङ छ जो घरको बुइँगलसम्म पुग्छ। बायाँपिट्ट पानीका गाग्राहरू राख्ने गग्रेटो छ र गग्रेटोभन्दा पर बाहिर निस्कने जस्केलो छ। घरको तेश्रो र चौथो खण्डमा दायाँपिट्ट भान्साचौका र वायाँपिट्ट चारैतिरबाट आगो ताप्न हुने गरी बनाएको  अँगेनाको एकातिर घरका लोग्नेमानिस र मूलमहिला बस्ने स्थान बनाइएका छन् र अर्कोतिर  आवतजावतका निम्ति बीचको भाग मझेरीको नाममा खाली राखिएको छ। अन्त्यको पाँचौं खण्ड चारैतिर दिवाल लगाएर कोठा बनाइएको छ जसको मझेरीकै सामु खुल्ने ढोका भए पनि भित्र कुनै झ्याल छैनन्। यसलाई भँडारकोठा भनिने गरिन्छ। त्यही अँध्यारो कोठाको पल्लो छेउको भरेङबाट उक्लदा माथि गुप्तीकोठामा पुगिन्छ। पहिले गुप्तीकोठामा पुग्ने त्यही एउटा बाटो मात्र थियो पछि मेरी आमाले त्यो कोठामा अर्को ढोका राखेर ठुलो भरेङबाट पनि पुग्न सकिने बनाइ दिइन्। पहिलो तलामा यस्तै विभाजन भए पनि मझेरी र भान्साखण्ड धान राख्ने ढुकुटीमा परिणत भएकाछन् तर आज धान छैनन् र ढुकटी रित्ता छन। बाँकी खण्डहरू कोठामा। तेश्रो तलामा मानिस सुत्ने कोठाहरू मात्रै छन् जहाँ भैंतलाको भान्साखण्डमाथि आवतजावतको निम्ति खुला राखिएको छ। चौथो तला जसलाई हामी बुइँगल तला भन्छौ दलानमाथि एउटा र भँडारकोठामाथि एउटा गरी दुई कोठा बनाइको अरू खाली छोडिएको छ। मेरा बाजेका पालामा त्यहाँ पनि धानढुकुटी थियो रे। मैले देखिनँ। मेरो थाहा पाउदा त अहिले काम नलागे पनि पछि काम लाग्न सक्छ भनेर राखिएका सामान मात्र हुन्थे त्यहाँ।
घरको प्रत्येक तलको उचाइ आठ फुट छ जो त्यो समयमा अल्गो नै मानिनु पर्छ। घरमा ठूलो मात्रमा साल र चाँपोका काठ प्रयोग भएका छन्। घरमा लगाइएका चालिसभन्दा बढी झ्याल र ढोकाहरू काठमाडौं उपत्यकाका सिकर्मी प्रयोग गरेर बनाइएका थिए जो वीसौं शताव्दिका अभिलेख्य कलाका नमुना बन्न सक्छन्। घर झँगटीले छाइएको छ र घरको दोश्रो तलाको दक्षिण र पश्चिम तिर बार्दली बनाइएको छ र सो तलाका सबै कोठाबाट त्यहाँ निस्कन मिल्छ।
मूलघरको अगाडि ढुंगा छापेको ठूलो आँगन छ र आँगनको पल्लोछेउमा हामीले मतान भन्ने गरेको मूलघरसँग मिल्दो जुल्दो सानो तीनतले घर छ। यो घरमा दलान र बार्दली भने छैनन्। अगाडि लाछी छानो भएको पिँढी भने मूलघरको भन्दा फराकिलो छ। मतानको पश्चिमपिट्ट खरको छानोले छाएको ढिकी, जाँतो र बाख्राको खोर घर थियो जुन पछि मेरी आमाले भत्काएर अर्कै ठाउमा सार्न लगाइन्। मतानको पश्चिमपिट्ट ढुंगा छापेको बाटोभन्दा पर दुईतले घर थियो जसलाई हामी पल्लो कटेरो भन्ने गर्थ्यौ जसको भैंतलामा गाईवस्तु र घोडा बाँधिन्थे र मेरा बाजेका पालामा त्यहाँ पनि धानको ढुकुटी थियो रे। सो भने मैले देखिनँ। मैले थाहा पाउदा त त्यो माथिल्लो तलामा पराल राखिन्थ्यो। मूलघरको उत्तरपश्चिमपिट्ट पनि गाईवस्तु बाँध्न र पराल, काठपात आदि राख्न अर्को दुईतले कटेरो थियो। त्यसलाई पनि आर्थिक असामर्थ्यता बढ्दै गएपछि मेरी आमाले भत्काएर फालिदिइन्। 
हाम्रो बगैंचा ठूलो थियो। त्यहाँ सुन्तला जातका अमिला फलफूलको वाहुल्यता भए पनि नासपाती, अनार, खन्युँ, अन्जिर आदि फलका बोट पनि थिए त्यहाँ। हामी केटाकेटी छँदा बिहानै खन्युँका जरा खोतलेर फल टिपेको सम्झना छ। फूल पनि पर्याप्त थिए त्यहाँ। आवधिक फूलहरू त यसै हुने नै गर्थे। सो बाहेक जाई, जुही, चमेली, कटरचम्पा, कनकचम्पा, हसना आदि स्थायी फूलका बोट पनि थिए। घरको पूर्वतिर थियो बगैंचा र बेलुकीपख पूर्वी हावा चल्दा घरै मगमग हुन्थ्यो। मेरी आमाको मृत्युपछि भने त्यसको खास रेखदेख गर्ने मानिस नभएपछि त्यो क्रमश मासिदै गएको छ।
मूलघरको पश्चिमतिर लामा मैदान गराहरू छन् र तिनलाई बारी भन्ने गरिन्छ जहाँ हरिया खानका निम्ति मकै, तरकारीका निम्ति फर्सी, काँक्रा, घिरौंला आदि लगाइन्थ्यो र केटाकेटीमा हामी काक्राका झ्याँगमा झुत्ती खेल्थ्यौं। हिउँदका दिनमा ती लामा पाटा गरामा फुलेको तोरीले त्यो पाटो नै पहेँलपुर हुन्थ्यो। आफ्नो कित्ताको प्रत्येक कुनामा मेरा बाजेले बाँसका झ्याँग लगाएका थिए र ती मौलाएका बाँसहरू अझै पनि छन्।
मेरा बाजेले कसो गर्थे त्यो मलाई थाहा छैन तर उनको सेखपछि भने मेरी बजै र पछि मेरा बडाबाहरूले पञ्चैबाजा बजाउदै बेठी लगाएर खेत त्यहाँको खेत रोपाएको र सबैले मासुभात खाएको मलाई थाहा छ। 
मेरा बाजेबजैको यो घर, जग्गा अंशबण्डा भयो र बगैंचा र खेतको माथिल्लो भाग जेठा बठाबाको भागमा पर्‍यो र खेतको तल्लो ठूलो भाग साँहिला बडाबाको अंशमा गयो। जेठा बडाबाको घर बगैंचाको सिरानमा बन्यो र साँहिला बडाबाको घर कम्पाउन्ड अगाडिको खेतमा। त्यसैले बाँकी रहेको जमिन र मेरा बाजेले बनाएको सबै निर्माणको जिम्मेवारी, मेरा बाबु म अढाई वर्षको र मेरो भाइ चार महिनाको हुदै २२ वर्षको उमेरमा मरेकाले, मेरी आमा लिन वाध्य भइन् र उनले आफ्नो जीवनभर यथासम्भव त्यसलाई सँभाल्न प्रयास गरिरहिन्।
आज ती पल्लो, तल्लो कटेरो, ढिकीजातोघर कुनै पनि छैनन्। छन् त सुक्न लागेका फलफूलका बोटहरू। घर मर्मत हुदै गएको र घरकुरुवा घरमा बस्दै गरेकाले घर त यथावत नै छ तर कम्पाउन्डका पर्खाल लड्न थालेका छन् र छापिएका ढुंगा उप्कन थालेका छन्। साँहिलाबाबुको घर जग्गा त बेचि नै सके। जेठाबाबुका छोरा एक्लै घरमा बसेका छन्। त्यो घर र जग्गाका एकएक बित्ताका निम्ति 'तेरो र मेरो' भन्दै झगडा गर्ने मेरी आमा र मेरा बडाबाहरू छैनन् र हामी उनीहरूका सन्तान अब त्यो ठाउँ बस्ने सम्भावना पनि छैन। 

Thursday, September 25, 2014

Me: Nanda Prasad(poem)

Me : Nanda Prasad Adhikari

Some one may cry over my body
Destined to do so
Cruelty may howl relief and release
They have just a go.

Was it not bound to fall the hell
Nor heaven could be gloomed
I fought the war loney and alone
And knew it to be doomed.

The game is gone my duty done
Flag never drop to lie.
Hover it over, justice be covered
Let it not ever die.


मादीवीर्ता (Journey to Life)



मादीबिर्ता

आजभन्दा करिब सवा दुई सय वर्ष पहिले वत्स गोत्री दाहाल थरका चार व्राह्मणपुत्रहरू पाती सिउरदै मंगलवाचन गर्दै अरुणपूर्वको लिम्बुआनको एउटा पाखोमा पुगे। उनीहरूको लक्ष यस्तो एउटा पाखोको खोजी थियो जसलाई आवाद गरेर बसोबास गर्न सकियोस्। त्यो बेआवाद इलाकामा बेआवाद पाखाको त कमी थिएन तर पारिलो र पानीको मूल भएका पाटाहरू अगाडि बस्ने र आउनेहरूले ओगटिसकेका थिए र बाँकी रहेका पाटाहरू पनि उनीहरूका थर्‍याँइ र किपटभित्र पर्ने हुनाले उनीहरूको स्विकृति या मन्जुरी लिएर मात्र आवाद गर्न सकिन्थ्यो। फेरि शाहवंशको शाशनकाल भर्खर सुरु भएकोले आफ्ना समर्थकहरूलाई लिम्बुआन बसोबास गराउनु पनि शाशकहरूको निम्ति अत्यावश्यक थियो। त्यो कुरा बुझेर नै ती व्राह्मण पुत्रहरू उपयुक्त भूमिको खोजीमा निस्किएका थिए र आफूलाई काम लाग्ने तर अरूहरूले बेकामे ठहर्‍याएर आवाद नगरेको पाटो फेला पारेर शाशक समक्ष आवादीका निम्ति माग गरे। 

सामन्तीव्यवस्थाको जुनसुकै काल र जुनसुकै राज्यमा पनि आफ्ना मातहतका भाइ, भारदार, सिपाही, नोकरचाकर या पण्डित, पुरोहित सबैलाई उनीहरूले आफ्नो सेवा गरे बापत या धर्मकामार्थ क्षेत्रफल तोकी जमिन दिने चलन इतिहासमा भएकै हो। यसरी दिइएको जमिनलाई तत् कालमा बिर्ता भनिने चलन थियो। यस्ता बिर्ताहरू बिर्ता पाउनेका पूर्ण स्वामित्वमा हुन्थे र आफूखुशी त्यहाँ बस्ने कसैलाई पनि बसोबास या उठिबास गराउन पाउथे। शाशक या राजालाई तोकिएको रकम जिन्सी या नगदीमा बुझाउथे। लिम्बुआनमा पनि लिम्बु र राईहरूले सरकारलाई धुरीकर बुझाएर भोगचलन गर्थे र उनीहरूको किपट धितोका रूपमा लिन सकिन्थ्यो तर राजिनामा गर्ने चलन थिएन। व्राह्मणहरूलाई दानस्वरू दिइएको कुशबिर्ताको भने राजस्व लिइन्नथ्यो।  

दाहाल व्राह्मणपुत्रहरूले विक्रम संवत् १८२९ मा चौदण्डीका सेन मकवानी राजाबाट ओखलढुंगाको कुलागाउँ बिर्ता पाएका थिए तर त्यो बिर्ता पहिले नै आवादी भइसकेको र अरू बढ्ने ठाउँ पनि नभएकाले त्यो आवाद बिर्ता फिर्ता दिएर नयाँ शाशकहरूबाट टाडाको कुनै बेआवाद जमिन बिर्ता लिन चाहेका थिए। आवाद भएको बिर्ता रैकरमा परिणत गरेर जंगल बिर्ता माग गर्दा शाशकलाई आपत्ति हुने कुरा पनि थिएन। बरु आवाद जमिनबाट मालपोत उठ्ने र लिम्बुआनमा बाहुनहरू बस्दा त्यहाँ आफ्नो समर्थन पनि वढ्ने हुनाले दोहोरो फाइदा हुने थियो। त्यसैले आवाद कुलागाउँको बिर्ताको सट्टामा लिम्बुआनको दश मझिया क्षेत्रको मादी गाउँको एउटा अल्लो र जंगली रूखपातले भरिएको उत्तर-पश्चिमी पाटो कुशबिर्तामा परिणत भयो र झण्डै दुई सय वर्षसम्म 'मादीबिर्ता' को नामले दाहालहरू बिर्ता रह्यो। 

मादीबिर्ता सामान्यत मायाखोलो र पिलुवाखोलाका बीचमा रहेको पाटो हो तर यसको कुनै पनि पानीढलो माया खोलातिर नभएकाले यसलाई पिलुवाको पानीढलो भन्दा हुन्छ। उत्तर पश्चिमतिर ढल्केर सिधा मकालु हिमाल र सगरमाथा हेर्ने हुनाले जाडोका दिनमा बिहानी दश नबजी यो पाटोमा घाम पनि देखा पर्दैन। त्यसैले यो पाटोको जमिन पर्याप्त मात्रामा चिसो रहन्छ र फेरि जहींतहीं पानीका सानातिना मुहान हुनाले खेतीका निम्ति यो पाटो रसिलो रहन्छ। चिसो र तीरदेखि शिरसम्म धान फल्न सक्ने हुनाले मादीबिर्ता धानखेतीका निम्ति प्रसिद्ध रह्यो। त्यसैले धेरैकालसम्म मादीबिर्ताका पाखो साउन-भदौमा तलदेखि माथिसम्म हरियो देखिन्थ्यो भने मंसिर आइपुग्दा सुनौला बालाले ढाकेर पाखो कञ्चनमय हुन्थ्यो। मादीबिर्तामा सानाठुला सबैले घर चुनले पोत्ने र घरको तल पटुका बेरे झैं रातोमाटो पोत्ने हुदा पहेंलो पृष्ठभूमिमा उभिएका घरहरू सुन्दरीका निधारमा झुन्डिएको शिरबन्दीमा हिरा टल्के झैं टल्कन्थे घरहरू। 

सम्पन्न हुनुभन्दा पनि सम्पन्न देखिनुमा विशेषता थियो मादीबिर्ताको। घर त सबैले चुनले पोतेकै हुन्थे र गरिबभन्दा गरिबले पनि धानकै भात खान्थ्यो त्यहाँ। दाहालहरू बिर्तावाल नै भइहाले तर त्यो गाउँमा बिर्तावालका आश्रयमा बस्नेहरूले पनि वरपर आफ्ना नातागोताकहाँ आफूलाई बिर्तावालजस्तै प्रस्तुत गर्न खोज्थे। वातावरणले उनीहरूलाई पनि कुलिन बन्न रहर थियो।  

शिरमा भिजेको कपाल झैं हरियो जंगला या पाताल, तल नुहेका धानले पहेँलपुर भएका खेतहरू, कहींकहीं बाँस, बिरुवा र बगैँचाले मरुद्यानजस्ता देखिने हरियालीहरू र तिनका बीचमा टलक्क टल्कने सेता घरहरू मंसिरका दिनमा परबाट हेर्दा सुनौला चुनरीमा बुट्टा हालेजस्ता देखिन्थे। ती खेतका बीचबाट उठेर उड्ने चराका बथानहरू आतसबाजीका बेला चम्किएका झल्काजस्ता देखिन्थे। यो मेरो आफ्नो जन्मथलोको बखानमा मबाट भएको अतिशयोक्ति भए पनि स्वयम् दृश्य भने अतिशयोक्ति होइनन्।  

कुलागाउँको आवादी कुशबिर्तासँग चैनपुर सिवाई भित्रको जंगल, पाखो साट्न दौडधुप गर्ने मबाट आठौं पुस्ता पहिलेका महिपतिका पुत्र कुलानन्द थिए र उनले आफ्ना छोरा नारदका नाउँमा बिर्ताको लालमोहोर गराएका थिए। मादीबिर्तामा आउदा भने सुरुमा महिपतिका तीन छोरा - कुलानन्द, प्रमानन्द र उदयानन्द - र महिपतिका भाई गंगाधरका छोरा दुर्गादाश आएका थिए। पछि महिपतिका जेठा छोरा पनि आफ्नो बेचबिखन गरेर बसाइ सरेका थिए। मादीबिर्ताका दाहालहरू यिनीहरूकै सन्तान हुन्। यी सन्तानहरू दिन दुई गुना रात चौगुना गर्दै लिम्बुआनभन्दा पर दार्जिलिङ, सिक्किम, आसाम हुदै बर्मासम्म पनि छरिन पुगे महाजन, साधु, सन्तदेखि चोर, डाकासम्म पनि भए। 

दाहाल थरको उत्पत्तीका बारेका विद्वानहरूको कुनै एक मत छैन। वंशावलीका एक विद्वानको भनाइमा दाहाल थर दैलेखको दहगाउँबाट भएको भनाइ राख्छन् भने बालर्कष्ण पोखरेलजस्ता नृवंशशास्त्री विद्वान यो थर खस आर्यसँगै मध्य एसियाबाट आएको हो भन्ने राय दिन्छन्। मस्टो पूजा गर्ने हुनाले दाहालहरू हालको भारतिय व्राह्मणभन्दा फरक र ककेसियन मूलका खससँग बढी नजिक देखिन्छन्। 

जे होस् मेरो बाल्यकालमा आइपुग्दा मादीबिर्तामा चार थरीका मानिसहरूको आवादी थियो। १.विर्तावाल दाहालहरू २.बिर्तावालमा आश्रित पण्डित, पुरोहितहरू ३.रैतीका रूपमा बसाइएका मतवालीहरू ४. सेवाका लागि बसाइएका दमाई, कामी र सार्कीहरू। बिर्ताका जग्गामा दाहाल बाहेक अरू कसैले स्वामित्व लिन पाउदैनथ्यो। दान, दातव्य बाहेकका अरू जग्गाहरू गैर्‍हदाहालले त ठेग, कुत, अँधियामा मात्र कमाउन पाउँथे। आफ्नो भन्नु त उनीहरूको निजी परिवार पनि हुदैनथ्यो र ठेकी, बेठीको रूपमा उनीहरूलाई सित्तै काममा पठाउनु पर्थ्यो। सेवाको निम्ति वार्षिक बाली तोकिएको हुन्थ्यो र परिवार र सो परिवारको कामकाज र सम्पन्नता हेरी बाली तोकिन्थ्यो। गाउँलाई समष्टि रूपमा हेर्दा मादीबिर्तामा नुन, तेल, कपडा मात्र बाहिरबाट ल्याउनु पर्थ्यो। आजका अर्थशास्त्रीहरूको परिभाषामा भन्ने हो भने त्यो गाउँ स्वावलम्वी सामन्ती गाउँ थियो  जहाँ हुने र नहुनेका बीचमा ठुलो अन्तर थियो। 

बिर्तावालहरूमा सामन्ती शाशकका सबै दुर्गुणहरू थिए। उनीहरू शक्तिको पूजा गर्थे, बली चढाउथे। काँचो मासु खान्थे र मौका पर्दा अर्काको सम्पत्ती पनि लुट्थे। सोझा, निमुखा र आइमाई, केटाकेटीको सर्वस्व पनि गर्थे। शक्ति प्रदर्शनमा काटाकाट, मारामार पनि गर्न भ्याउथे। जुवा खेल्नु, परस्त्री समाउन जानु पनि नाजायज ठहर्दैनथ्यो। जातै जाने भएर मात्रै भएर होला, जाँडरक्सी भने उनीहरू खादैनथे। यति दुर्गुण भएर पनि पूर्वका सम्पन्न बाहुनहरूको चलन भएको र आठराइ पुग्दा त एउटा सँस्कृति नै बनिसकेको वहुविवाहका भने उनीहरू कट्टर विरोधी थिए। त्यसैले मरिमराउले अभर परेको स्थितिमा बाहेक वहुविवाह गरेनन्। त्यसैले पनि होला मादीबिर्ताका दाहालहरूको आठ पुस्ता बित्दा पनि मादीबिर्तामा दाहाल छेत्रीका दुई घरभन्दा बढी थिएनन्। 

अन्ततः विक्रम संवत् २०१६ बिर्ता उन्मुलन एैन आएपछि बिर्तावालले आफ्नो हैकम छोडिदिए र यत्रतत्र छरिन लागे। पंचायत कालिन समयमा आइपुग्दा त मादीबिर्ता नाम पनि मेटिएर मादीराम्बेनी परिणत भयो।  

Wednesday, September 24, 2014

मेरा बाबु (Journey to Life)



मेरा बाबु

(१३ वर्षको उमेरमा मेरा बाबु)

बिहानीको ९ बजे पनि घाम अझै आँगनमा आइपुगेको थिएन। उठ्न लागेको घोडाजस्तो देखिने त्यो मकालु घाममा चुनले पोतेजस्तो टल्किए पनि त्यो उत्तरपश्चिम फर्किएको गाउँ भने अझै घामलाई पर्खेरै बसेको थियो। घाम नआइपुगे पनि जेठको महिना भएकोले बिहान चिसो त थिएन तर त्यो घरभित्र र बाहिरको वातावरण भने असाध्यै गर्‍हुँगो र चिसो थियो। आँगनभरि बसेका लोग्नेमानिसहरूमा विषाद थियो। उनीहरू हरिया बाँसको खटिया बनाइरहेका थिए। पूर्व पट्टिको  मठमा मेरा बाबुलाई सेतो कपडाले पुरै छोपिदिएर सुताइएको थियो र घरभित्र आइमाईहरू रोइरहेका थिए। 

यो मैले देखेको दृश्य हुन पनि सक्छ अथवा धेरै लाश त्यसरी नै सुताएको देखेकाले वाल्यकालको मेरो कल्पना पनि हुन सक्छ। मेरा बाबुका बारेमा म यति मात्रै सम्झन्छु र अढाई वर्षको उमेरमा देखेको यो दृश्य मेरो वास्तविक सम्झना नभएर कल्पना नै हो भने पनि सो कल्पना यति स्पष्ट छ कि अहिले मलाई 'त्यो सत्य होइन' भनेर मान्न गाहारो छ।  

मेरा बाबुलाई मैले कहिले पनि देखिनँ अथवा अबुझ हुदै देखेकाले उनको अनुहार, कद, बोलीचाली केही पनि सम्झन्नँ। उनको तस्विर पनि उनी १२/१३ वर्षको हुदाको देखेकाले बाबुका रूपमा म कल्पना गर्न सक्दिनँ र कल्पना गर्नु आवश्यक पनि ठानिनँ। बाइस वर्षको उमेरमा मरेका बाबु अढाई वर्षको बालकका निम्ति परचक्री जत्तिकै नौलो र पराया हुनु स्वाभाविक हो। त्यस्तो स्थितिमा बाबुको आवश्यकता बालकले अनुभव गर्न पनि सक्दो रहेनछ र उसको निम्ति बाबु व्यक्तिगत नभएर नाताको मात्र हुदो रहेछ। मैले बाबुसँगको नाता यस्तै अनुभव गरें।  

बाइस वर्ष पनि नपुगी विधवा हुने मेरी आमा र बुढेसकालमा जवान कान्छो छोरो मरेको देख्ने मेरी बजैको निम्ति त्यो मृत्यु ठूलो आघात थियो। मेरो निम्ति त त्यो शंख बजेको, मानिस जम्मा भएको दिन अवश्य पनि रमाइलो भयो होला र भित्र बाहिर गरिरहे हुँला। कुनै नातेदार आइमाईले मलाई रुँदै उठायो पनि होला र बाबु मरेको र आमा बेहोश भएकाले बेवारिसजस्तो भएको मेरो चार महिनाको भाइलाई पनि कुनै आइमाईले दुध खुवाएर अवश्य शान्त गरी होला। यी कुरा मलाई कसैले पनि भनेन। यो केवल मेरो कल्पना मात्रै हो तर पछिसम्म पनि मेरी जेठी बडिआमा भन्ने गर्थीन् — "उता बाबुको लाश बाहिर लडाएर सबै रुवावासी गर्थे, यो भने दहीचिउरा खान पाइनँ भनेर मरिमरि रुन्थ्यो।

मेरी आमा भन्ने गर्थिन् मेरा बाबु जुवाडे थिए। मेरी बडीआमाहरू भन्थे मेरा बाबु छुच्चा थिए। र मेरा फुपूहरू भन्थे मेरा बाबु छिटा र छरिता थिए। उनीहरूले यी कुरा कहिले रिसाएर र कहिले खुसाएर या कहिले ठट्टैमा र कहिले भने साँचै गरेर भन्थे। ससुराली गएको बेला आफूसँग भएको जम्मै पैसा जुवामा हारेर आफूसँग पैसा माग्ने लोग्ने नवविवाहिताका लागि जुवाडे लाग्नु पहिलो स्वाभाविक प्रभाव थियो। जुवा नखेल्ने परिवारमा हुर्किएकी मेरी आमाका निम्ति २ पैसाको जुवा पनि जुवाडेहरूको खेल सम्झेर ननिको लाग्यो होला। कान्छो छोरो भएर भाउजुहरूको पोल आमालाई सुनाएर छुच्याइँ गर्ने या देवरका नाताले भाउजूहरूलाई सास्ती दिन खोज्ने सबैभन्दा कान्छो देवरको उदण्डता भाउजूहरूले छुच्याइँ मान्न सक्थे। पिटपाट गरेर भाग्ने, दिदीबहिनीको भाग खोसेर खाने या प्रतिद्वन्दिलाईउछिनेर उम्कन सक्ने दाजुभाइ दिदीबहिनीहरूलाई छिटो लाग्नु आफ्नो रगतको बखान गर्नु स्वाभाविक थियो। मलाई लाग्छ यी सबै कुरा मेरा बाबुमा अवश्य थिए होलान् किनकि एउटा सम्भ्रान्त बिर्तावालको बुढेसकालको कान्छो छोरो छिटो, छुच्चो र जुवाडे हुनु कुलिनताका चिन्ह मानिन्थे र मेरा बाबुको जन्म त्यस्तै परिवारमा भएको थियो। कसैसँग नदब्नु, नडराउनु र आक्रामक हुनु अर्को विशेषता मानिन्थ्यो र त्यो पनि त्यही कुलिनताको लक्षण मानिन्थ्यो। त्यसैले मेरा बाबुका समकालिन नातेदारले सुनाएसम्म कुराबाट म यति भन्न सक्छु कि मेरा बाबु नेपालको एउटा दुर्गम गाउँका आफूलाई कुलिन ठान्ने एउटा सम्भ्रान्त परिवारको तन्देरीको प्रतिनिधि पात्र थिए र त्यो कुलिनता र त्यो सम्पन्नता कति कुलिन र कति सम्पन्न थियो त्यो पछाडि स्पष्ट हुदै जानेछ। 

मेरा बाबुको मृत्यु कुन रोगबाट भयो? त्यसको स्पष्ट जवाफ मैले कसैबाट पनि पाइनँ। त्यो समयमा त्यो ठाउँमा व्यथालाई जरो आउने, पेट देख्ने, छाती दुख्ने, टाउको दुख्ने या घाउ-पिलो आदिमा विभाजन गरिन्थ्यो र जरो आएर नै मेरा बाबुको मृत्यु भएको हो भन्ने मात्र मैले सुनेँ । अरूको मुखबाट सुनेको जरोको लक्षण, अवधिबाट मैले मेरा बाबु टाइफाइबाट मरेका हुन् भन्ने अन्दाज काट्न सक्छु। जुन ठाउँमा ओखतीका नाममा तातो पानी, जिरा-मरिच, नुन-बेसार र २।४ वटा झारपात मात्र थिए त्यहाँ मृत्युको निम्ति कुनै कारण पनि चाहिदैनथ्यो। 

बाबुका बारेमा मेरो ज्ञान अति सीमित छ।आफूले नचिनेको, नजानेको व्यक्तिका बारेमा अर्को कहिलेकहीँ भनेको भरमा चित्रण गर्न यसै पनि गाहारो हुन्छ। त्यसमा पनि मेरा बाबुको जीवन त साँचै पानीको थोपाजस्तै छोटो थियो। किशोरावस्था नाघेर बैंसमा खुट्टा हालेको केही वर्षमा नै उनी बिदा भए। शास्त्र, साहित्य, कला, पुरुषार्थ या पौरख केही पनि नभएका मेरा बाबुलाई सम्झिने र सम्झाउने आधार पनि केही थिएन । त्यसैले उनको मृत्युपछि उनको अवशेषका रूपमा हामी मात्र बाँकी रहेका थियौं, केवल हामी मेरी आमा, मेरी दिदी, म र मेरो भाइ।